फूलपातीको अवसर पारेर शनिबारदेखि फिल्म 'छ माया छपक्कै २' प्रदर्शनमा आएको छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको यो फिल्मले दसैंको बिदालाई लक्षित गर्दै प्रदर्शन यात्रा सुरू गरेको हो।
दीपेन्द्र लामा निर्देशित 'छ माया छपक्कै २' सामाजिक विषयवस्तुमा आधारित रोमान्टिक-कमेडी ड्रामा हो। फिल्ममा दीपकराज र दीपाश्रीसँगै केकी अधिकारी, सनिशा भट्टराई, कर्मा शाक्य, रिहान गिरी, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, रविन्द्र झालगायत कलाकारको अभिनय छ। सामाजिक कथावस्तुसँगै प्रेम र हास्यलाई समेटिएको फिल्मको रनटाइम २ घण्टा ३७ मिनेट छ।
फिल्मको निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी छन्।
फिल्मको कथा निर्देशक दीपेन्द्र लामा र दीपकराज गिरीले तयार पारेका हुन् भने पटकथा र संवाद दीपकराजकै हो। त्यस्तै, छायांकन निर्देशन सुसन प्रजापति र आलोक शुक्लाले गरेका छन् भने छायाँकारमा विशाल प्रजापति छन्। सम्पादन विपिन मल्लले गरेका हुन्।
फिल्म '१२ गाउँ २' र 'आ बाट आमा २' शुक्रबारदेखि नै प्रदर्शनमा आइसकेका छन्। यी दुई फिल्मले प्रदर्शन सुरू गरेको भोलिपल्ट 'छ माया छपक्कै २' थपिएसँगै हलमा तीन नेपाली फिल्मबीच प्रतिस्पर्धा सुरू भएको छ।
यसअघि रिलिज केही नेपाली र विदेशी फिल्म समेत हलमा प्रदर्शनरत छन्।