नवलपुर गैँडाकोटमा जन्मेर पोखरालाई कर्मक्षेत्र बनाउनुभएकी गौरी तमु बहुमुखी प्रतिभाकी धनी स्रष्टा हुन्। मैले गौरीलाई पत्रकारका रूपमा चिनेकी थिएँ। गुरुङ भाषाका विभिन्न कार्यक्रमका साथै गुरुङ समाचार पढ्ने गौरी कुशल उद्घोषक पनि हुन्।
समयले मलाई गौरीको साहित्यका विविध पाटाका बारेमा पनि जानकारी दियो। गौरी समय–समयमा विभिन्न विषयमा लेख्छिन् भन्ने थाहा थियो। गत साल गौरीले सामाजिक सञ्जालमा कवितासंग्रह छापिन लागेको जानकारी गराइन्। पछि लोकार्पणका तस्बिरहरू पनि सार्वजनिक गरिन्।
मैले उनका कविता पढेकी थिइनँ, तर पढ्ने इच्छा थियो। काठमाडौँमा खोज्दा सैँप्रोल भेटिएन। असार १५ को कार्यक्रममा पोखरा जाँदा किनेर ल्याएँ। हिमालय रिडर्स कर्नरमा पोखराका स्रष्टाहरूको छुट्टै कुना रहेछ। कवितासंग्रह सैँप्रोल खोज्न पनि अप्ठ्यारो परेन।
गौरीसँग मेरो प्रत्यक्ष भेट भएको छैन। पोखराको एफ.एम. रेडियोमा ‘आशिमलाँ---’ भनेको सुनेकी थिएँ। आज उनलाई पढ्दै छु। उनका कवितामा विद्रोही चेतना पाएँ। त्यति बेला मेरो बाल्यकाल बितेको बाझापाटनमा गुरुङ समुदायको बाक्लो बसोबास थियो।
सिक्लेस गाउँनजिकै रहेको कुडहँरमा मेरा धेरै गुरुङ साथीहरू थिए। उनीहरूको सङ्गतमा मैले गुरुङहरूको रहनसहनका बारेमा धेरै कुरा सिक्ने मौका पाएकी थिएँ। सबैभन्दा मेरो मनमा गडेको कुरा त्यो समुदायको मातृप्रधान परिवार थियो। सबै पारिवारिक निर्णयमा महिलाको उपस्थिति बलियो हुने कुरा साथीहरूले मलाई सुनाउँथे। मातृसत्ताको त्यो रैथाने परम्परा आजभोलि पितृसत्ताको प्रभावमा परेकोमा गौरीले चिन्ता दर्शाएकी छिन्:
उज्यालो थियो
त्यो सृष्टिकाल
.................
जब आमाहरू
योजनाबद्ध
महान् बनाइए
(योजना, पृ. १७)
सैँप्रोल सटीक र छोटा कविताहरूको सँगालो हो। मुक्तकको संरचनाजस्तै लाग्ने कविताहरू पढिरहन मन लाग्ने खालका छन्। निकै थोरै शब्द खर्चेर लेखिएका यी कविता अलि लामा भएका भए कस्तो हुन्थ्यो होला जस्तो पढ्दा लाग्छ। पृष्ठ ७० सम्म छोटा कविताहरू छन् भने पृष्ठ ७१ देखिका पछिल्ला पृष्ठमा प्रस्तुत गरिएका कविता अलि लामा छन्। गौरी शिक्षिका पनि हुन्। आफ्नो अध्यापन अनुभवलाई कविता शिल्पमा उतारेर उनले लेखेकी एउटा नौ लाइनको कविता 'शिक्षा' हो:
अँध्यारो कक्षाकोठाबाट
ल्याएर नानीहरूलाई
...........................
देखाउँदै छु कमिलाको ताँती
.......................
अनुशासित (पृ. ६८)
जम्माजम्मी ७४ वटा कविता सङ्कलित यो पुस्तक केही घण्टाको पढाइमा सकिन्छ। आदिवासीहरूको पहिचानको मुद्दामा कविताहरूले सशक्त आवाज उठाएका छन्। तमुहरू वास्तवमा प्रकृतिको पूजा गर्ने आदिवासी समुदाय हुन्। सकेसम्म प्रकृतिको विनाश नगरी आफ्ना आवश्यकता पूर्ति गर्ने यो मौलिक परम्परामाथि आक्रमण भइरहेको छ। पर्यावरणीय विषयको संवेदनशीलतालाई उपेक्षा गरेर ल्याइएको डोजरे विकासले पर्यावरणसँगै आदिवासीको पहिचान र संस्कृतिमा प्रत्यक्ष प्रभाव पारेको छ:
वर्षौँपछि पसेको छ गाउँमा
विकासको लहर।
..............
पसेपछि गाउँमा विकास
हराएको छ
आदिवासी पहिचान
(विकास, पृ. ८४)
'सैँप्रोल अर्थात् प्रतिरोध' शीर्षक अन्तर्गत गौरीले आफ्ना कुरा राख्दै यस किताबका बारेमा विस्तृत रूपमा उल्लेख गरेकी छिन्। आफ्ना बारेमा, गुरुङ भाषा र यसको उत्पत्तिको कथा तथा कविता लेखनको प्रसव–अनुभूति यहाँ पढ्न पाइन्छ। विभिन्न कवितामा प्रयोग भएका गुरुङ भाषाका शब्दावलीको परिभाषा उनले फुटनोटमा उल्लेख गरेकी छिन्। गुरुङ भाषाको सामान्य जानकारी पनि नभएका मजस्ता पाठकलाई भने कतैकतै पढ्न नसकिने जस्तो लाग्छ।
पोखरा सेरोफेरोमा गुरुङ जातिलाई उदार दिल भएको सज्जन समुदायका रूपमा चिनिन्छ। मानिसप्रति मात्र होइन, प्रकृतिका चराचर जगत्प्रति नै उदार हुनु गुरुङ समुदायको मौलिकता हो। तर राज्यसत्ताबाट यो समुदाय उपेक्षित हुनु दुःखद कुरा हो। यस जातिका विविध मौलिक संस्कारको जगेर्ना गर्न समुदाय आफैँ पनि सचेत हुनु आवश्यक छ। वास्तविकता नबुझी गुरुङहरूको रोधी संस्कारलाई बदनियतपूर्वक बदनाम गर्नेहरूलाई गौरी कवितामार्फत खबरदारी गर्छिन्:
आदिम सभ्यताको सुरुवातमा
..........................................
नफैलाऊ महोदय दूरदराजसम्म अफवाह।
...........................................
चुहिरहेछन् तप्प तप्प
आदिम विश्वासहरू।
(रोधीँ, पृ. ७५)
सैँप्रोल कवितासंग्रह भित्र सङ्कलित कविताहरूले स्व–अस्तित्व, आदिवासीको पहिचान र हक–अधिकार, प्रकृति र पर्यावरण, महिलाको अस्तित्व र पहिचानको मुद्दा साथै आदिवासी महिलाले भोग्नुपरेका समस्याजस्ता विविध विषयवस्तुलाई बुलन्द गरेका छन्। राज्यसत्ताबाट गरिएको भेदभावपूर्ण नियमको कुराले कविको संवेदनालाई छुँदा 'क्यालेन्डर' (पृ. ९५) कविता जन्मिएको छ।
संरचना र सिद्धान्तका कुरा गर्ने सिद्धहस्त समालोचकहरूले गौरीका कविताको विभिन्न कोणबाट समालोचना गर्नेछन्। गौरी तमुका कविता छोटा, सटीक र सरल छन्। सामान्य साक्षर पाठकले पनि सजिलै पढ्न सक्ने खालका छन्। छोटा कविता पाँच-छ लाइनका छन् भने लामा कविता पनि पन्ध्र-बिस लाइनको संरचनामा रचिएका छन्।
सबै कविता मुक्त लयमा रचिएका छन्। इन्डिगो इन्क प्रालिले प्रकाशन गरेको सैँप्रोल कवितासंग्रहको आवरण राजन काफ्लेको कुचीबाट कोरिएको चित्रले सजिएको छ। २०८२ साल मंसिर महिनामा प्रकाशित यो किताबको मूल्य रू. २७५ राखिएको छ।
