‘पागल हुन कहाँ सजिलो छ र?’ कविता संग्रहको विवेचना
‘पागल हुन कहाँ सजिलो छ र?’ पुस्तकको यो शीर्षक नै अनौठो लाग्यो र मलाई पनि पढ्न मन लाग्यो। त्यति मात्र होइन केही लेख्न पनि जाँगर चल्यो। अपितु म राजनीति र सुशासनका विषयमा कलम चलाउने मान्छे हुँ कहिलेकाहीँ साहित्यमा पनि लेख्ने प्रयास गर्दछु।
‘पागल हुन कहाँ सजिलो छ र?’ कवि बिसुकुमार के.सी.को हालै प्रकाशित कविता संग्रह हो। ५७ ओटा कविताहरूको माला उनिएको यो सङ्ग्रहशिखा बुक्सले प्रकाशन गरेको हो।
पागल शीर्षक र विषयमा सायद धेरै साहित्यकारहरूले विभिन्न विधामा रचनाहरू गरेका छन्। तर मलाई भने महाकवि लक्ष्मी प्रसाद देवकोटाको चर्चित ‘पागल’ कविताको याद आयो। ‘जरूर साथी म पागल। यस्तै छ मेरो हाल। म शब्दलाई देख्दछु। दृश्यलाई सुन्दछु। बासनालाई स्वाद लिन्छु। आकाशभन्दा पातला कुरालाई छुन्छु।’
महाकविको यो कविता गहन दार्शनिक भाव र चट्टानी चेतनायुक्त छ।
यसैले त सार्वकलीक छ यो कविता। पागलपनको यही गम्भीर भाव र स्वभावलाई सरल र मर्मस्पर्शी पारामा कवि बिसुकुमार के.सी.ले संग्रहको शीर्ष कविता ‘पागल हुन कहाँ सजिलो छ र ?’ मा प्रस्तुत गरेको पाएँ।
जस्तो कि-
‘बगरै बगर बग्नु पर्छ
आफूले आफैलाई ठग्नु पर्छ
अरे यार! पागल हुन कहाँ सजिलो छ र ?
बुगुल्टो निल्नु पर्छ
अगुल्टो ओकल्नु पर्छ
चेतनालाई च्यात्नु पर्छ
चिन्तालाई च्याप्नु पर्छ
जिउँदै मुर्दा बन्नु पर्छ
मुर्दा जसरी जिउनु पर्छ
अरे यार! पागल हुन कहाँ सजिलो छ र ?’
(पागल हुन कहाँ सजिलो छ र? बाट)
यो कविताका विषयमा कवि आफै भन्छन्, ‘कहिलेकाहीँ जिन्दगीदेखि वाक्क दिक्क भएर भन्छन् ‘पागल हुन पाए पनि हुन्थ्यो’ भन्छन् तर यथार्थमा ‘पागल हुन कहाँ सजिलो छ र?’।
वास्तवमा यो शीर्ष कविता वर्तमान समाज र परिवेशप्रति व्यङ्ग्यमात्र होइन विद्रोह पनि हो। कसैले विचार नगरेको कुरा ‘पागल त विल्कुल मौलिक’ हुनुपर्ने तथ्य कविले उजागर गरेका छन्।
अरूलाई झैं कवि केसी.लाई पनि बालापन र उतिबेलाको परिवेश, प्रकृति तथा संस्कृतप्रतिको मोह तीव्र रहेको देखिन्छ। ‘जिन्दगीः जस्ताको तस्तै’ ‘खल्ती’ ‘दशैं आएको मज्जा’ आदि कविताले बालापनको मज्जा र मिठासले नोस्टाल्जिक बनाएको भान हुन्छ। ‘मर्निङ वाक’ कवितामा कवि रूखपात हावासँगै हिँड्छन् र प्रकृति विनाश गरेर जमिनको व्यापार गर्नेहरूप्रति रोष प्रकट गर्दछन्। चाहे विकासको नाममा होस् या बस्ती विस्तारक्रममा होस् पुरानो काँठक्षेत्रको हालको दुर्दशालाई ‘बिग्रेको क्यामेरा’ शीर्षकको कवितामा यसरी फोटो खिचेका छन्।
अहिले त मेरो क्यामेरा
खोलातिर तेस्र्याउँदा ढलको फोटो खिच्छ
हेर्दा पनि गन्हाउने,
मल बगेको दृश्य देखाउँछ
लाजले सडक ओडेको रहेछ खोलाले
त्यसै माथि धुँवा र धुलो उठाउँदै मोटर गुडेको
निस्सासिने भिडिओ खिच्छ मेरो क्यामेराले। (‘बिग्रेको क्यमेरा’ शिर्षकको कविताबाट )
कवितामा राजनीतिक विडम्बनाको व्यङ्ग्यात्मक प्रस्तुति पनि छ। व्यंग्यको धारिलो प्रयोगले कवितालाई सामाजिक आलोचना फाँटमा पनि प्रभावकारी बनाएको छ। ‘फूलको नियति’, ‘कृष्ण तिमी कहाँ छौ’, ‘फरक पर्छ’, ‘सच्याउनुस् सूचना, ‘फुकाल्नु पर्ने कुरा’ आदि कवितामा समाजका आडम्बर र सामन्ती सोचका विरूद्ध सशक्त व्यङ्ग्य गरेका छन्।
सरल शब्दमा सभ्य तरिकाले तिखो व्यङ्ग्य गर्न सक्नु कविको विशेषताका रूपमा लिन सकिन्छ। उदाहरणका लागि रनबहादुरले राहत पायो शीर्षकको कवितालाई लिन सकिन्छ। विपतका बेला राहतका नाममा गरिने राजनीति र समाजसेवी भनाउन गरिने स्वाँङको खोक्रो चित्र यस कवितामा यसरी प्रस्तुत गरेका छन्-
‘बाढी पहिरोको त उसलाई चिन्तै छैन
भत्केर भग्नावशेष भएको मन छ
भुइँचालोको पनि उसलाई रत्ति डर छैन
सधैं आइसोलेसन मै छ उसको जिन्दगी
कोरोना सोरोनाको उसलाई परबाह छैन
यस्तो बेलामा बरू
यसरी राहत पाइन्छ
समाजको आँखामा आइन्छ
रने खुसी पो भएको छ
उसले आज राहत पाएको छ।’ (‘रनबहादुरले राहत पायो’ शिर्षक कवितावाट)
पत्रकार तथा समीक्षक केशवराज पाठक भन्नुहुन्छ ‘यस संग्रहका कविताहरूले पाठकलाई भावनात्मक मात्र होइन, बौद्धिक रूपमा पनि चुनौती दिन्छन्। कविले समाजका यथार्थहरूलाई ऐनाजस्तो प्रस्तुत गरेका छन्, जसमा पाठकले आफ्नै अनुहार देख्छ। कविताले प्रश्न उठाउने शक्ति बोकेको छ भने कवितामा आशाको स्वर पनि छन्। निराशाबीच पनि कवि अझै स्वतन्त्रताको खोजमा उभिन्छन्, जुन नेपाली समाजका लागि प्रेरणादायी छ।’ (केशव पाठक ‘नागिरक’ शनिवार २०८२ पुस १२)
यो कविता संग्रहको भव्य विमोचन समारोहमा मन्तव्य राख्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पनि भन्नुभएको थियो, ‘कवि के.सी.का प्रत्येक कविताले प्रश्न जगाउँछन् र मनलाई हलचल गराउँछन्। कृतिमा प्रकृति र समाजका विभिन्न परिवेशसँग जोडिएका विषयवस्तु समेटिएको छ।’
समाजलाई सही दिशातर्फ सचेत गराउन चोटिलो, धारिलो र सभ्य शब्दको चयन गरेर कविताको ओजलाई कविले अझ खँदिलो तुल्याइएको उनको भनाइ थियो।
हो, कविता संग्रहका कवितामा राजनैतिक नारा वा आग्रह पूर्वाग्रह छैन तथापि कविको लोकतन्त्र र स्वतन्त्रताप्रतिको मोह भने झल्किन्छ। यसैले त वरिष्ठ कवि श्रवण मुकारुङले भन्नुभएको होला ‘लोकतन्त्रका गायक कवि बिसुकुमार के.सी.का कवितामा जीवन जगतप्रतिको गहिरो मीमांसा अभिब्यञ्जित छन्।’
यसै गरेर समीक्षक दिपक लोहनीका अनुसार ‘बिसुकुमार के.सी.ले कविताको नाममा नारा लुकाएर विचार बोलेका छन्। त्यसैले पनि पागल हुन कहाँ सजिलो छ र? भित्रका कविताहरू पढ्दा पाठकहरू आनन्दित हुन्छन्। यहाँ सजिएका कविताहरू सरल तर चोटिला छन्। हरेक कविताले हरेक पाठकलाई अपनत्वको आभास दिलाउँछ। (कविता संसार कात्तिक २०८२)’
साहित्यकारहरूले अभिव्यक्तिको विधा जे रोजे पनि अखिर विषयवस्तुका रूपमा प्रकृति र संस्कृति, जीवन र जिजिविषा, प्रेम र प्रणय, विचार र दर्शन, समाज र व्यबहार आदि इत्यादि नै हुन्छन्। ‘पागल हुन कहाँ सजिलो छ र?’ कविता संग्रहमा पनि यिनै र यस्तै विषय, भाव र अभिव्यञ्जनाहरू पाइन्छन्। कवि के.सी.ले त विषय र भाव अनुसार संग्रहलाई खण्डीकरण गरेर सात खण्डमा विभाजन नै गरेर प्रस्तुत गरेका छन्।
जिन्दगी र जिन्दगीहरू, प्रकृति र परिवेश, समाज र सास्ती, आफू र आफन्तहरू, माया र मनहरू तथा अन्तमा जस्ता खण्डका नामहरूले नै पाठकहरूलाई कविताका भावभूमि तथा विषवस्तुबारे जनाउ दिने प्रयत्न गरेका छन्। कविलाई जिन्दगी बालापनमा जस्तै विन्दास र बेफिक्री जिउन मन लाग्छ तर जिन्दगी जिउन जिन्दगीकै व्यापार गर्नुपर्ने बाध्यता, पागल हुन पनि सजिलो नहुने बिडम्वना र कटु यर्थाथ कविताहरूमा अभिव्यक्त गरेका छन्।
कवि भन्छन्-
‘जिन्दगीको परिभाषा
रोजाइले होइन भोगाइले गर्दो रहेछ
सोचाइले होइन सताइले गर्दो रहेछ।’ (जिन्दगीः फरक फरक अनुभूति कविताबाट)
संग्रहका कविताहरूमा सशक्त रूपमा प्रस्तुत गरिएका कुराहरूमा नारी पात्रहरूप्रतिको दृष्टिकोणलाई लिनु पर्दछ। यस्ता कविताहरू सङ्ग्रहका सबै खण्डहरूमा छरिएर रहेका छन्।
प्रेमिकालाई ‘वेलगाम माया’ माया गर्न रहर गर्ने कवि जिस्कन भने ‘बतास हुन मन’ गर्दछन् तर प्रियसी नहुँदा संसारै साँघुरो र अधुरो लाग्छ पनि भन्दछन्।
साथै कर्मशील महिलाहरूप्रति सम्मान र सकारात्मक अभिव्यक्ति दिन कवि पछि परेका छैनन्। कवयित्री, तरकारीवाली, मेरो आँगनमा फुलेको सयपत्रीको फूल आदि कविता यसका उदाहरण हुन्। छाउगोठ कविताले नारीहरूको पीडाप्रति संवेदनशील हुँदै सुधारका लागि व्यङ्ग्यसहित व्यावहारिक सुझाव पनि दिएका छन्।
कविको नारीप्रतिको धारणा र प्रस्तुतिको नारीहरूले नै प्रशंसा गरेको उदाहरणका रूपमा कवयित्री तथा समीक्षक सुशीला पौडेलको भनाइलाई लिन सकिन्छ। जस्तो उहाँ लेख्नु हुन्छ, ‘अझै भन्नुपर्दा महिला सशक्तीकरणका लागि लेखिएको ‘मेरी छोरी अब अगाडि बढ्छे’ कविता नेपाली कविताको इतिहासमा भिन्नै गरिमा बोकेको कविताको रूपमा लिन सकिन्छ । (‘काव्यमा जीवनदृष्टि’ सुशीला पौडेल, मङ्सिर २०, २०८२ शनिबार, अन्नपूर्णपोस्ट फुर्सद)
कविले परिवार र प्रेमका नाममा पनि कविताहरू समर्पित गरेका छन्। यी कविताहरूले प्रेम समर्पण र सदभावका उच्चतम् अभिव्यञ्जनाहरू प्रस्तुत गर्नुका साथै सम्मान र आभार समेत प्रकट गरेका छन्। प्रेमपरक कविताहरूमा ओभर रोमान्टिकता नभै अत्यन्त साधारण र स्पर्श गर्न सकिने यथार्थ पाइन्छ। कविका लागि प्रेम केवल रोमाञ्चित गर्ने विषयमात्र नभएर याद, अभाव, अपेक्षा र अन्तरद्वन्द सबै मिलेर बनेको एक भवनात्मक भूगोल हो।
गाउँ, घर, समय र समाजप्रति कवि अत्यन्त संवेदनशील भएर प्रस्तुत भएका पाइन्छन्। गाउँमा दौडदा कविताले सहर र गाउँको जिन्दगीको मार्मिक भिन्नता चित्रात्मक रूपमा पेस गर्न सफल भएका छन् भने संग्रहका कविताहरूमा आँगन कविताले गाउँघरको जीवनमा आँगनसँगको सम्बन्ध जन्मदेखि मरणसम्म नै कसरी आबद्ध रहेको छ भन्ने दार्शनिक र व्यावहारिक दुवै पाटोबाट नियालेका छन्। जस्तोः
‘म जन्मँदा समय त थियो नि
तर घडी थिएन
आँगनमा परेको छाया हेरेर बनाइएको थियो
मेरो जन्म कुण्डली
त्यसैले म जन्मेको घडी पला योग नक्षत्र
सबै थाहा छ मेरो आँगनलाई’ (आँगन कविताबाट)
सङ्ग्रहका सबै कविता गद्यमा छन् तर आन्तरिक लय भने कायम राखेका छन्। के.सी.का कविताका शैली र प्रस्तुतिको ढाँचा पचासका दशकका नेपाली कविताहरूको अनुशरण गरेको प्रतित हुन्छ। कविले मुक्तक शैलीलाई बढी मन पराएको जस्तो देखिन्छ। विम्बहरूको प्रयोग हिसावले पनि सङ्ग्रहका कविताहरू प्रशंसनीय छन्। धेरै नवीन विम्बहरू कविले कविताहरूमा छरेका छन्। ती विम्बहरू सरल र बोधगम्य हुनु आर्को विशेषता हो। कविताका भाषा सरल छन्, कविता गैह्रसाहित्यिक पाठकहरूले पनि सजिलै बुझ्ने खालका छन् तर भाव, विचार, सन्देश र दर्शन भने गहिरा छन्। रमरम बौद्धिकता र दार्शनिक विचारको लेप लगाएर कविले कविताहरूलाई उजिल्याउने प्रयत्न पनि गरेका छन्। वैचारिक पक्षमा स्वतन्त्रता र लोकतन्त्रको पैरवी गरे पनि दार्शनिक पक्ष केलाउँदा कता कता शून्यवादबाट प्रभावित हुन् कि भन्ने भान हुन्छ। यस्तो भाव अरू कविताहरूमा लुकेको भएता पनि अन्तिम कवितमा भने यो दुनियाँसित निरपेक्ष रहेर ‘अलप हुँन पाए’ भन्ने कामना नै गरेका छन्।
कविताको मिठास र सन्देश पाठकै पिच्छे फरक पर्न सक्छ। मेरो विचारमा सबै कविता राम्रा र उत्तिकै वजनदार पनि छैनन्। सङ्ग्रह नै ल्याउँदा कविले ख्याल राख्नुपर्ने कुरा हो यो। कतै कतै लय टुटेको र भावहरू बहकिएका पनि छन्। हुनत कवि बिसुकुमार के.सी.ले साहित्य लेखनमा एउटा चिनारी बनाइसकेका छन् र पनि आफ्नो पहिचान र स्तरलाई उकास्न कविले भविष्यमा थप मेहनत र परिष्कार गर्न अल्छी मान्नु हुँदैन भन्ने मेरो सल्लाह छ।
कवि बिसुकुमार के.सी. सरकारी सेवामा लामो समय व्यतीत गरेर अवकाश प्राप्त पूर्व कर्मचारी हुन्। त्यसैले यो कविता सङ्ग्रहका सन्दर्भमा उहाँकै सहकर्मी पूर्वकर्मचारी तर सुपरिचित साहित्यिक व्यक्तित्वहरूको भनाइहरू पनि यहाँ समेटन मनासिव लाग्यो ।
पूर्वसहसचिव तथा सुप्रसिद्ध नियात्राकार प्रतीक ढकालका शब्दमा ‘बिसु जीवनका कवि हुन्, दृष्टिका कवि हुन् र समग्रमा जिन्दगीकै एक सफल चित्रकार पनि हुन्। पढेपछि थाहा हुन्छ यी उनका कविता मात्र होइननः जीवनका भावनामयी अनुभूतिका पृथक र यथार्थ छायाचित्र पनि हुन्।’
यसै गरेर पूर्वसहसचिव तथा साहित्यकार भागवत भन्नुहुन्छ- ‘तर, यो (बिसु) त एउटा निजामती कर्मचारी हो। कतै बनावटी कवि पो हो कि! आडम्बरी पो हो कि! सङ्गत गर्दै जाँदा थाहा भयो, बिसु साँचो अर्थमा विनम्र रहेछन्। नम्रताको अलङ्कार पहिरेर हिँड्ने ‘निजामती कवि !’ (१२खरी शनिवार २०८२ पुस १२) अन्तमा वरिष्ठ पत्रकार विश्वमणि सुवेदीको भनाइ यहाँ राख्दै यो लेखको बिट मार्दैछु।
‘यो कविता कृतिले समकालीन समाजमा एउटा मान्छे कसरी गुज्रिरहेको छ भन्ने कुराको प्रतिनिधित्व गरेको छ।’