बेलायतको प्रसिद्ध युनिभर्सिटीमा इन्जिनियरिङ पढ्ने तयारी थियो।
पढाइ, सुविधा, भविष्यको सम्भावना — त्यहाँ उनका लागि यी सबै कुरा थिए।
तर उनको मन स्थिर थिएन।
प्रियाना आचार्यभित्र एक किसिमको खालीपन थियो। आफैसँगको अन्तरद्वन्द्वले उनलाई भित्रभित्रै खाइरहेको थियो।
उनले मनमनै आफैलाई धेरै पटक सोधेकी थिइन् — म यहाँ खुसी छु र?
तत्काल जबाफ पाउँथिन् — अहँ!
अन्ततः उनले एक दिन आफैसँगको अन्तरद्वन्द्व जितिन्।
र, निर्णय लिइन् — म आमाका लागि इन्जिनियर बनूँला तर यहाँ रमाउन सक्दै सक्दिनँ। ममीलाई बरू जसरी पनि मनाउँछु। म नेपाल नै फर्किन्छु।
उनी वर्षौंको बेलायत बसाइ बिट मारेर नेपाल फर्किइन्।
उद्देश्य थियो — बाल्यकालमै नेपालमा रोपेको कलाकारिताको बिउ हुर्काउने, बढाउने।
सेतोपाटीसँगको भिडिओ कुराकानीमा प्रियानाले भनिन्, 'मैले कलाकारिताको बिउ नेपालमा रोपेकी थिएँ। त्यसलाई पानी हालेर फलाउँछु, फुलाउँछु भनेर फर्किएँ।'
प्रियाना दर्शकमाझ 'मुन्नी' नामले चर्चित छिन्। यो नाम उनले टेलिसिरियलमा काम गरेपछि पाएकी हुन्।
नाटक, सिरियल र म्युजिक भिडिओमार्फत धेरैको मन जितेकी उनी पछिल्लो समय फिल्ममा उदाएकी छिन्।
धेरैलाई थाहा नहुन सक्छ, कुनै समय प्रियाना चर्चित बालकलाकार थिइन्।
चितवनमा जन्मिएकी प्रियानाले ६ वर्षको उमेरमै नाटक 'मैना' मा अभिनय गरेकी थिइन्। त्यहाँको नारायणी कला मन्दिरको अभिनय, नृत्य र संगीत प्रशिक्षणको माहोलमा हुर्किएकी प्रियानालाई बाल्यकालदेखि नै कलाकारिताप्रति मोह बढ्यो।

'बच्चैदेखि नाच्न र गाउन मनपर्थ्यो। स्कुलका कार्यक्रमहरूमा, चितवन महोत्सवहरूमा नाचेकी थिएँ,' उनले सम्झिइन्, 'आठ वर्षको उमेरमा लिटिल क्वीन इन मास्टर किङ नामक पेजेन्टमा भाग पनि लिएकी थिएँ।'
प्रियानाले बाल्यकालमै 'निगरानी' बाट फिल्ममा डेब्यु गरेकी थिइन्। 'नाइँ नभन्नू ल', 'मनमनै मन पराएँ' मा पनि बालकलाकारका रूपमा अभिनय गरिन्।
उनको आत्मविश्वास र सहज अभिनय देखेर धेरैले भन्थे रे — यो नानी पछि गएर हिरोइनी बन्छे!
सानो उमेरमै उनमा पनि रूचि पलाइसकेको थियो — म पछि गएर हिरोइनी बन्छु!
तर परिवारसहित बेलायत पुगेपछि प्रियनाको त्यो लय टुट्यो।
उनकी आमा नर्स हुन्। उज्ज्वल भविष्यका लागि भनेर आमाले उनलाई लिएर बेलायत गइन्। त्यो बेला प्रियाना दस वर्षकी थिइन्। बेलायतमा पनि उनी सांगीतिक कार्यक्रमहरूमा नाच्थिन्, गाउँथिन्।
आठ वर्षको बेलायत बसाइ सधैंका लागि छाडेर नेपाल फर्किँदै गर्दाको क्षण प्रियानाका लागि जीवनको सबभन्दा चुनौतीपूर्ण समय थियो।
'त्यो उमेरका साथीहरू युनिभर्सिटी जान्छन्, म नेपाल फर्किएँ। धेरैले कुरा काटे। परिवारमा पनि सबै जना डराउनुभएको थियो,' उनले भनिन्।
त्यस बेला उनको हातमा कुनै आश्वासन थिएन, थियो त केवल कलाकारिताप्रतिको भोक।
प्रियानाले बुझेकी थिइन् — सुरू शून्यबाटै हुन्छ।
उनी वरिष्ठ रंगकर्मी सुनील पोखरेलको सानिध्यमा पुगिन्। नाटक प्रशिक्षण लिइन्। सँगै नृत्य र भोकल कक्षा (स्वर कक्षा) लिन थालिन्। केही समयमै दर्शकले भरिभराउ थिएटरको मञ्चमा देखिन थालिन्।
रामबाबु रेग्मी निर्देशित नाटक 'विकास भर्सेस निकास' उनी दुइटा पात्रको भूमिकामा देखिइन्।
संयोग कस्तो भने, सो नाटकमा मुख्य भूमिकामा रहेका दीपकप्रसाद आचार्य (काकु) मार्फत प्रियाना त्यस बेलाको टेलिसिरियल 'भद्रगोल' मा जोडिएकी थिइन्।

उसो त उनले त्यसअघि कहिल्यै उक्त सिरियल हेरेकी थिइनन्। कुरा त आयो तर खेल्ने कि नखेल्ने भन्ने दुबिधा भयो।
सेटमा पुग्दासम्म पनि उनी सोच्थिन् — फिल्म खेल्न भनेर आएकी म, सिरियल खेल्न हुँदैन थियो कि!
तर जब सिरियल प्रसारणमा आयो, प्रियानालाई दर्शकले चिन्न थाले।
एकदिन उनी नाटकमा अभिनय गरेर फर्किरहेकी थिइन्। बाटोमा फर्किरहेकी प्रियानालाई एक जनाले 'तपाईं त मुन्नी होइन र' भनेर सोधे।
उनी अचम्म परिन्।
'दुई एपिसोडमा काम गरिसक्दा त लगातार फोन आउन थालेको थियो,' प्रियानाले सुनाइन्।
'भद्रगोल' हुँदै 'सक्किगोनि' मा प्रियानाले निर्वाह गरेको 'मुन्नी' मधेसको पात्र थियो।
मधेसी लवज बोल्ने, आधुनिक र पढेलेखेकी युवतीको भूमिका निर्वाह गर्दा उनले पर्दामा मधेसी मूलको पात्रलाई देखाइने एक खालको परम्परागत अभ्यास पनि तोडिन्।
पात्रबारे उनी भन्छिन्, 'मधेसको पात्र भनेपछि रङ अलि कालो बनाउन त्यस्तै मेकअप गरिदिने, अलि अनपढ देखाउने चलन थियो। हामीले भने मधेसी पात्र भन्दैमा रङ बदल्नुपर्दैन, छोरीहरू पनि पढेलेखेका हुन्छन् भन्ने देखाऔं भन्ने सल्लाह गरेर काम गर्यौं।'
मुन्नीको बोलीचाली, हाँसो, चञ्चलता, अन्य कलाकारसँगको कमेस्ट्री दर्शकहरूले निकै रूचाए। सिरियलमार्फत प्रियाना रातारात चर्चामा आइन्। दर्शकको घरघरमा पुगिन्।
उनलाई वास्तविक नामले चिन्ने कम भए, मुन्नी नै भन्न थाले।
प्रियानाले कलाकारिता क्षेत्रमा अडिने ठाउँ बनाइन्।
त्यसपछि उनी म्युजिक भिडिओहरूमा देखिन थालिन्। एक समय थियो, प्रियाना हरेक दिनजसो म्युजिक भिडिओको काममा व्यस्त हुन्थिन्। तर भिडिओको सन्दर्भमा आफू अलि 'लक्की' नभएको हो कि जस्तो उनलाई लाग्छ।

भन्छिन्, 'काम त धेरै आयो तर चर्चा पाउने राम्रो अवसर खासै पाइनँ। राम्रो अडिओ भएको गीतको अझै लोभ लाग्छ।'
उनले रियालिटी शो 'डान्सिङ विथ द स्टार्स' बाट पनि ख्याती कमाइन्। यो शोमा उनको टिम सेकेन्ड रनरअप भएको थियो। गाह्रो भए पनि यसबाट धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछिन्।
सिरियल, म्युजिक भिडिओ, रियालिटी शोमा काम गरेकी प्रियानाको मुख्य गन्तव्य भने फिल्म नै थियो।
उनी जे सपना देखेर नेपाल फर्किएकी थिइन्, त्यो पूरा हुन उनले पूरा ६ वर्ष पर्खिनुपर्यो।
गत वर्ष फिल्म 'लाज शरणम्' मा सानो भूमिकामा देखिएकी उनी अब 'झरीपछिको इन्द्रेणी' मा देखिँदै छिन्। यस पटक उनी सानो उपस्थितिमा सीमित छैनन्, फिल्मका शीर्ष पात्रमध्ये एक हुन्।
अर्जुन घिमिरे (पाँडे) निर्देशित यो फिल्मलाई लिएर प्रियाना निकै आशावादी छिन्।
'अडिसन दिएर, वर्कसपमा बसेर काम गरियो,' उनले भनिन्, 'मेहनत पर्दामा देखिने समय आएको छ। एकदमै उत्साहित छु।'
उनका अनुसार फिल्मले वर्तमान राजनीतिक अस्थिरताले युवा, समाज र देशलाई पारेको असरको कथा भन्छ।
'यो फिल्मले व्यक्तिको मात्र नभएर सबै नेपाली नागरिकको कथा बोकेजस्तो लाग्छ,' उनले भनिन्, 'पारिवारिक विषयवस्तु पनि छ। जेनजी आन्दोलनपछि अझ सान्दर्भिक भएको जस्तो लाग्छ।'
प्रियाना अब फिल्मी करिअरलाई निरन्तरता दिन चाहन्छिन्। आफूलाई निखार्दै अगाडि बढ्ने उनको योजना छ।
गीत गुनगुनाउन पनि रूचि राख्ने उनी भन्छिन्, 'गीत रेकर्ड गराउने चाहना भित्री मनमा छ। केही सिर्जना बोकेर आउन मन छ।'
सबै तस्बिरहरू: नवीनबाबु गुरूङ/सेतोपाटी