गुड फ्राइडे सिनेमा
एक दिन चिहानघाटमा एक अज्ञात महिला आइपुग्छिन्। गर्भवती ती महिलाले छोरा पाउँछिन् र उनको मृत्यु हुन्छ। चिहानका रक्षकले ती बच्चा हुर्काउँछन्।
चिथन शवहरूको बीचमा हुर्किन्छन्। त्यसैले उनको स्वभाव अनौठो हुन्छ। मानिसहरू र समाजसँग उनको सम्पर्क निकै कम हुन्छ। उनको व्यवहार मानसिक रूपमा विकास नभएको जस्तो देखिन्छ।
उनी जनावरझैं घारघुर गर्छन्, त्यसरी नै दौडिन्छन्। तर भावनात्मक सम्बन्ध बनाउन र बुझ्न सक्ने स्वभावका हुन्छन्। मुख्य कुरा, उनी बफादार हुन्छन्।
एक दिन उनका रक्षकको पनि मृत्यु हुन्छ। चिथन विक्षिप्त हुन्छन्।
केही समयपछि खाना खोज्दै उनी नगरमा पुग्छन्। तर उनलाई चिहानमा काम गर्ने भनेर हेलाहोचो गरिन्छ। उनलाई पैसा दिएर, किनेर खानुपर्छ भन्ने पनि थाहा हुँदैन। सो क्रममा उनी त्यहाँ मारपिटमा ओर्लिन्छन्।
त्यही बेला गोमथी नामकी सानो स्तरमा गाँजा बेच्ने एक महिलाले उसलाई बचाउँछिन्। खान दिन्छिन्। चिथन उनलाई पछ्याउँदै उनको घरसम्मै पुग्छन्।
चिथनको बफादारी देखेर गोमथीले उनलाई आफ्नो मालिक सेकर वासुदेवन कहाँ काममा लगाइदिन्छनि्। वासुदेवन ठूलो स्तरमा गाँजा खेती गर्ने व्यक्ति हुन्। पछि लागुऔषध छापामा चिथन पक्राउ पर्छन् र जेल पुग्छन्।
अर्कोतिर शक्ति नामका ठग हुन्छन्। उनले मञ्जु नामकी महिलालाई डाइसको खेलमा धोका दिएर सबै सामान लुट्छन्। पछि शक्ति पनि जेलमै पुग्छन्।
जेलमा शक्ति र चिथनको भेट हुन्छ।
शक्तिले सहानुभूति देखाउँछन् र 'जंगली' स्वभावका चिथनको रक्षा गर्छन्। शक्तिको मायाका कारण चिथनले उनीप्रति दिलोज्यानले बफादारिता देखाउँछन्।
तर यो माया र बफादारिताको सम्बन्धले अप्रत्याशित मोडहरू ल्याउँदै जान्छ।
उनीहरूको यो अनौठो सम्बन्ध कसरी अगाडि बढ्छ?
यसका लागि फिल्म 'पिथामगन' हेर्नुहोला।
तमिल भाषाको यो फिल्म सफल भएको थियो। समीक्षकहरूले पनि यसलाई 'युनिक' फिल्मको संज्ञा दिँदै प्रशंसा गरेका थिए।
यसमा चिथनको भूमिकामा विक्रम र शक्तिको भूमिका सूर्याको अभिनय छ। यस फिल्मबाट विक्रमले नेसनल फिल्म अवार्डसहित धेरै पुरस्कार पाएका थिए।
आज विक्रमको जन्मदिनको अवसरमा हामीले उनकै फिल्म सिफारिस गरेका हौं। हेर्नुस् युट्युबमा-