विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' ले डिजिटल प्लेटफर्ममा पनि उस्तै लोकप्रियता पाइरहेको छ। सिनेमा हलमा सुपरहिट व्यापार गरेको फिल्मले युट्युबमा पनि लोभलाग्दो भ्युज पाइरहेको हो।
गत बैशाखमा प्रदर्शनमा आएको फिल्मले नेपालमा १२ करोड रूपैयाँमाथिको व्यापार गरेको थियो।
आर्टमाण्डुको प्रस्तुति रहेको 'ऊनको स्वीटर' ६ दिनअघि युट्युबमा सार्वजनिक गरिएको थियो, जसलाई बुधबार बेलुकासम्म ६२ लाखभन्दा बढीपटक हेरिएको छ।
दर्शकहरूले यसको कथावस्तु, संगीत र अभिनयको खुलेर प्रशंसा गरिरहेका छन्। २ लाख ३६ हजार बढीले लाइक गरेका छन् भने १५ हजार बढी प्रतिक्रिया आएका छन्।
फिल्मका लेखक तथा निर्देशक नवीन चौहानले डिजिटल रिलिजमा पनि नसोचेको प्रतिक्रिया पाएको भन्दै खुसी व्यक्त गरे।
युट्युबमा फिल्मले पाएको प्रतिक्रियाबारे उनले भने, 'युट्युबमा यति धेरै पोजेटिभ प्रतिक्रिया आउँछ भन्ने ठ्याक्कै सोचेको थिइनँ। धेरै दर्शकले हेर्न खोज्नुभएको छ भनेर युट्युबमा रिलिज गरेका थियौं। यद्यपि, यस्तो फिडब्याक आउला भन्ने मेरो अपेक्षा नै थिएन।'
उनका अनुसार अहिलेको चुनावी माहोलमा फिल्म ओझेलमा पर्छ कि भन्ने आशंका थियो। 'अहिले चुनावी माहोल भएको बेला फिल्म हराउने त होइन भन्ने लागेको थियो। तर भ्युज, प्रतिक्रिया नसोचेको पाएँ', नविनले भने।
युट्युब प्रतिक्रियाले आगामी फिल्मबारे गम्भीर सोचमा पारेको उनी बताउँछन्।
'झन्डै ८० प्रतिशत युट्युब दर्शकले सिक्वेल आउनुपर्छ भनेर प्रतिक्रिया दिनुभएको छ। यसले सोच्न बाध्य बनाउँदो रहेछ', नविनले भने, 'यसको कन्टिन्यु के हुनसक्छ भनेर म सोचिरहेको छु। सिक्वेल नै हुन्छ कि नयाँ नाममा बनाउने छिट्टै निर्णय लिनेछु।'
उनले युट्युबबाट आएको प्रतिक्रियाले आफूलाई हदैसम्म उत्प्रेरित र भावुक बनाएको बताए।
दर्शकको अपेक्षालाई लिएर आफू सचेत रहेको समेत बताउँछन्। 'युट्युबमा आएका प्रतिक्रियाले मलाई अत्यन्तै पोजेटिभ ऊर्जा, भावुकता र प्रेरणा दिएको छ', उनी भन्छन् 'दर्शकले ऊनको स्वीटरलाई जसरी मन पराउनुभयो। जसरी फिल गर्नुभयो, अब उहाँहरूको अपेक्षा बढेको छ। त्यो अपेक्षा र भावना म्याच गर्न सक्छु कि सक्दिनँ भन्ने प्रश्नमा म आफैं सोचिरहेको छु। नयाँ फिल्मबारे छिट्टै निर्णयमा पुग्छु।'
विपिन कार्कीले दिए दर्शकलाई धन्यवाद
फिल्म युट्युबमा पनि निकै रूचाइएसँगै अभिनेता विपिन कार्कीले दर्शकहरूप्रति आभार व्यक्त गरेका छन्। उनले एक भिडिओ सार्वजनिक गर्दै लेखेका छन्–
प्रिय दर्शकहरू,
यदि यहाँहरूले धरणीधरलाई माया नगर्नु भएको भए,
मैले फूलका निम्ति लेखेका शब्दहरू सायद कागजमै सीमित हुने थिए।
ऊनको स्वीटर मार्फत मेरो मौनता, मेरा कमजोरीहरू, मेरो प्रेमलाई तपाईहरूले देख्नुभयो अनि महसुस पनि गर्नुभयो।
म पो निशब्द भको छु हौ।
यस मायाको उत्तरमा म सँग शब्दहरू त कम छन्।
तर आभार साँच्चै गहिरो छ अनि प्रेम उत्तिकै गाढा छ।
लु धेरै–धेरै धन्यवाद छ है।
उही तपाईंहरूको धरणीधर