स्थापित राष्ट्रिय गन्तव्यको सूचीमा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरु केही वर्ष अघिमात्र जोडिएका छन्। मुख्यतया शुक्लाफाँटा र खप्तड राष्ट्रिय निकुञ्जको विषेश चर्चाबाहेक महाकाली र कर्णाली नदी, घोडाघोडी ताल, अपि-सैपाल हिमाल र ९ वटा जिल्लाका केही मठमन्दिर, तालतलैयामा पर्यटकीय गतिविधिको सम्भावनाबारे चासो हुने गरेको छ।
यसै सूचीमा थप पर्यटकीय गतिविधिसहित पर्यटन आर्कषित गर्न तराई र चुर क्षेत्रलाई समेट्ने गरि नयाँ पदमार्ग ‘काली-कर्णाली चुरे पदमार्ग’ बारे यहाँ प्रस्ताव गरिएको छ।
‘काली-कर्णाली चुरे पदमार्ग’उष्ण हावापानी, तराईको समथर फाँटदेखि पहाडी भूभागसम्म विस्तारित भूगोल, बाक्लो उष्ण प्रदेशीय वन क्षेत्र, प्रसस्त नदीनाला तथा छरिएका तालतलैया एवम् सिमसार क्षेत्र र विभिन्न प्रजातिका जीवजन्तुका कारण कैलाली र कञ्चनपुर जैविक विविधताका दृष्टिकोणले धनी छ।
कैलाली र कञ्चनपुरको उत्तरी भूखण्ड चुरे पहाडको फेदीका केही स्थानहरूमा धार्मिक, प्राकृतिक, जैविक सम्पदासँगै स्थानीय वासिन्दाको रहनसहन र संस्कृतिलाई जीवन्त हेर्ने सकिन्छ।
स्थानिय गाउँमा होमस्टे, ईको लज आदि पूर्वाधारको विकासमा लगानी गर्यो भने पर्यटकीय गतिविधिको माध्यमद्वारा स्थानीयको आर्थिकस्तर बढाउन सकिन्छ।
यो पदयात्रा सुदूरपश्चिमको चुरे फेदीमा प्रस्तावित रहेकोले सामान्यतयाः यहाँको वातावरण सधै शितल र हरियाली हुन्छ। यो पदयात्राका लागि नौलो एवम अविस्मरणीय हुनेछ।
यस चुरे पदमार्गले सुदूरपश्चिम प्रदेशको पूर्व र पश्चिम क्षेत्रको प्रवेश स्थानलाई समेट्नेछ। पर्यटकहरू भारतबाट महेन्द्रनगर बजारहुँदै महाकालीको तिरमा रहेको ब्रह्मदेव बजारबाट प्रवेश गर्न सक्छन्। त्यस्तै प्रदेशको पूर्वी प्रवेशद्धार कर्णाली नदीको तिरमा रहेको चिसापानी बजारबाट यस चुरे पदमार्गको पदयात्रा सुरू गर्न सक्नेछन्।
प्रस्तावित पदमार्ग कञ्चनपुरको महेन्द्रनगर, भासीचोकहुँदै ब्रह्मदेव बजार पुगि सिद्धनाथ बाबाको दर्शन गरेर काली-कर्णाली चुरे पदमार्गको यात्रा शुरु गर्ने सकिन्छ।
![](https://upload.wikimedia.org/wikipedia/commons/thumb/a/ab/New_Siddhanath_Photo_of_the_Kanchanpur.jpg/1280px-New_Siddhanath_Photo_of_the_Kanchanpur.jpg)
नेपालको ब्रह्मदेव बजारसँगै जोडिएको टनकपुरको पुलबाट सिमापारि टनकपुर बजार हुँदै माथि पहाडी क्षेत्रमा पूर्णागिरि माताको मन्दिर छ। बिहान पूर्णागिरि माताको दर्शन गरेर बेलुका नेपालमै फर्किन सकिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/277555503_5230865180293278_8259984985151725088_n.jpg)
पूर्णागिरि माताको मन्दिर उत्तर भारतको एक प्रसिद्ध शक्ति पीठमध्ये एक हो। पूर्णागिरि माताको दर्शनपछि नेपालस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गरेपछि मात्र पूजाको पूर्णता हुने र फल पाईने विश्वास छ। त्यसैले लाखौं भारतीय तिर्थालु ब्रह्मदेव र महेन्द्रनगर बजार आउँछन्।
ब्रह्मदेव बजारको सिद्धनाथ मन्दिरमा दर्शन गरेपछि बजारबाट ८ कि.मी दूरिमा रमणीय झिलमिला ताल छ। झिलमिला ताल वरपर विभिन्न जातिका चराको वासस्थान छ। तालसम्म पुग्न मोटर बाटो, ताराकोट भन्ने स्थानसम्म पुगेको छ।
झिलमिला तालतारकोटबाट ७०० मिटर तलदेखि सिँढी चढेर तालसम्म पुग्न सकिन्छ। यस काली-कर्णाली चुरे पदयात्रामा झिलमिला तालपछि ३ कि.मि. दक्षिण पूर्वमा भम्का क्षेत्र आउँछ। जसलाई भम्केनीधामसमेत भनिँदै आएको छ। यहाँ शिद्धनाथ र वैजनाथका मन्दिररू छन्। यस भम्केनीधाममा, नेपाल माताको ७५ फिट अग्लो अष्टधातुको मूर्ति बनिरहेको छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/vamkeni.png)
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/vv2.png)
त्यसपछि ३ कि.मि. दक्षिणमा पुगिन्छ विष्णु भगवानको प्राचिन मन्दिर, त्यहाँ उत्खनन गर्दा प्राप्त भएका भगवान विष्णु र लक्ष्मी माताका विभिन्न प्राचिन मूर्तिहरु संकलन गरि मन्दिर, धर्मशाला र प्राकृतिक पोखरी बनाई धार्मिक स्थलको निर्माण भएको छ।
यात्रामा अघि बढदा १.५ कि.मि.पूर्वमा रौटेलाको प्राचिन बैजनाथ मन्दिर छ। त्यहाँ प्रचीन भग्नावेशसहितको भगवान शिव बैजनाथको मन्दिर र अन्य देवीदेउताका प्राचिन मन्दिरको भग्नावेश छन्। यहाँ वर्षको विभिन्न समयमा ठूला मेला लाग्ने गरेका छन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/10.jpg)
त्यसपछि ४ कि.मि. पूर्वमा पुगिन्छ, लिंगा धार्मिक स्थल,जहाँ छन् माटाका प्राकृतिक रुपमा भगवान शिवको प्रतिक स्वरूप माटाका लिंगाहरू। उक्त स्थानमा शिवमन्दिर पनि छ। यस धार्मिक स्थलको दर्शनले मानवको सम्पूर्ण मनोकामनाहरु पूर्ण हुन्छन् भन्ने जनविश्वास छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/8.jpg)
लिंगाधामपछि ३ कि.मि. पूर्वमा बेतकोट ताल छ। प्राकृतिक जंगलबीच पहाडमा सुन्दर बेतकोट ताल छ। वेदऋषिले ध्यान गरि बसेको ठाँउ रहेकाले तालको नाम बेदकोट रहन गएको हो।
ताल किनारमा बैजनाथ भगवानको प्राचिन मन्दिर छ। बेतकोट ताल छेउबाट माथि भित्री मधेश जोडपुडा, पर्शुराम नगरपालिकाहुँदै डडेल्धुरा जाने आउने पुरानो बाटो छ। यस पवित्र ताल वरपर विभिन्न प्रकारका वनस्पति र चराचुरूङ्गीको वासस्थान रहेकोले उक्त स्थान प्रसिद्ध पर्यटकीयस्थलको रुपमा स्थापित छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/Betkot_Lake.jpg)
यस यात्रामा अघि बढ्दा पुगिन्छ हात्तीथला। यस क्षेत्रमा हात्तीको झुन्ड पनि देखिने गर्छ। यो क्षेत्रलाई हात्ती तथा अन्य वन्यजन्तुको दक्षिण उत्तर जाने कोरिडोरस्थलको रूपमा मानिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/Hatti.jpg)
यस क्षेत्रमा रैथाने थारू जातिको पनि बसोवास रहेकोले यहाँका गाँउमा होमस्टे वा ईको लज बनाई पर्यटकहरु लाई राख्न सकिन्छ। त्यसपछि, जंगलको बाटोहुँदै चम्पापुर बस्ती र शुक्लाफाँटा निकुञ्ज क्षेत्रको हिरापुर क्षेत्र पुगेर जैविक विविधता हेर्न सकिन्छ। हिरापुरको कृष्णसार संरक्षित क्षेत्रमा बाह्रसिंगे, कृष्णसार,चित्तल, हात्ती आदि वन्यजन्तुहरुको बासस्थान हेर्न सकिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/2.jpg)
हिरापुर पारि अर्जुनी नदी किनारमा वन समितिमाथि संगम चोक हुँदै शुक्लाफाँटाको उत्तरी वन जंगल हेर्दै पिताम्बर, स्टेशनपुर हुँदै रमणीय मुर्डका ताल (सुनदेवीताल) र बैजनाथ मन्दिरको दर्शन गर्न सकिन्छ। केही पर बतासे झरनाको मनमोहक दृश्य रहेको छ। आजभोलि पर्यटकीय दृष्टिकोणले बतासे झरना क्षेत्र अति रमणीय स्थलको रुपमा विकास भईरहेको छ।
बतासे झरना क्षेत्र पछिको यात्रामा चुरेको फेदमा कञ्चनपुरको कृष्णपुर बाइसी समैजीको मन्दिर र औलानी गाउँ पर्छ। थारू जातिको बाहुल्यता रहेका यी गाउहरुँमा सास्कृतिक गतिविधि, रहन सहन,खाँनपीनको आनन्द लिन सकिन्छ। औलानी कृष्णपुरसम्म कञ्चनपुरको क्षेत्र पर्छ। त्यस पछि कैलालीको गोदावरी क्षेत्र पर्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/4.jpg)
यस पदमार्गमा कैलालीको उत्तरमा चुरे पर्वत श्रृङ्खला अन्तर्गतको भावर भूभाग तथा दक्षिणी भेगमा समथर तराई फाँट रहेको हुँदा पहाडी र तराई क्षेत्रको उचाइगत भिन्नता का कारण यहाँ फरक फरक किसिमको हावापानी पाइन्छ।
यस यात्रामा, कञ्चनपुरको कृष्णपुर क्षेत्रपछि चुरेमा गोदावरी धार्मिक स्थल पर्दछ, त्यहाँ पवित्र गोदावरी नदी, तालतलैयासँगगै भगवान शिवगंगाको मन्दिर छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/IMG20190126150532.jpg)
गोदावरी क्षेत्रमा जैविक वनस्पति छन् ।यो परापूर्वकालदेखि नै धार्मिक महत्व बोकेको क्षेत्र मानिन्छ। भगवान श्रीकृष्ण र पाण्डवहरु यस क्षेत्रको विचरण गरि यसै नदिमा स्नान गरि ज्ञान समेत हासिल गरेको विश्वास गरिन्छ। यस क्षेत्रमा मकर संक्रातिमा मेला लाग्छ र स्थानीयहरु विवाह व्रत आदि कार्यहरु पनि यही गर्ने गर्दछन्।
कैलाली जिल्लामा २३५ प्रजातिका फूल साथै करिब २४४ किसिमको वनस्पति पाइन्छन्। करिब ३४ प्रकारका स्तनधारी, १४० प्रकारका चरा, २७ जातीका माछा र विभिन्न किसिमका उभयचर तथा सरीश्रृपहरू पाइन्छन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/12.jpg)
जिल्लाको पूर्वमा बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतको दूधवा राष्ट्रिय निकुञ्जसँग जोडिएको हुँदा यहाँ विभिन्न किसिमका वन्यजन्तुहरू आउने जाने भइरहन्छ र हिउँदमा साईबेरियाबाट समेत चराहरू यहाँ आएको पाइन्छ ।
कैलाली क्षेत्रको पदयात्रा गोदावरी धार्मिक स्थलबाट शुरू भई चौमाला, मसूरिया (कैलाली) गौरीगंगा नगरपालिकाको उत्तरी भूखण्ड हुँदै घोडाघोडी तालका विभिन्न तालहरुको मुहान क्षेत्रमा सिमथरी क्षेत्र पर्छ।
त्यही तालको क्षेत्रमा माघी होमस्टे छ । घोडाघोडी ताल २५६३ हेक्टर क्षेत्रमा रहेको र अनुमानित ४ मिटर गहिरा १३ वटा साना ठूला तालतलैया तथा सिमसार क्षेत्र पर्छन्।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/13.jpg)
घोडाघोडी ताल क्षेत्रमा ३८८ प्रकारका वनस्पति र विभिन्न वन्यजन्तुसहित १४० जातिका चराचूरूङ्गी हेर्ने सकिन्छ। ताल वरपर विभिन्न गाँउहरु रहेकोले स्थानीय संस्कृतिसहित प्राकृतिक सम्पदा र वन्यजन्तुहरुको अवलोकन गर्दै तराई र शिवालिक चुरे जोडने क्षेत्रहरु हुँदै यो पदयात्रा अघि बढाउन सकिन्छ।
सिमसार क्षेत्र, तालतलैया तथा पोखरीहरूको दृष्टिकोणले कैलाली जिल्ला समृद्ध रहेको छ। घोडाघोडी ताल २०६० साउन २८ गते विश्व रामसार सूचीमा सूचीकृत भएको थियो। जिल्लामा १९३ वटा तालतलैया छन्।
घोडाघोडीको चुरे क्षेत्र पछि बर्दगोरीया क्षेत्र पर्छ यस क्षेत्र सुदूरपश्चिमको पहाडी क्षेत्र खप्तड जाने सेती राजमार्गसँसग जोडिन्छ। यो मार्ग मध्यपहाडी राजमार्गसँग जोडिएकोले आउने दिनमा छोटो समयमा तराईबाट पहाडी क्षेत्रका गन्तव्यमा पुग्ने मार्ग हुन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/Ghodaghodi.png)
लम्कीचुहा नगरपालिका-१ बाट मोटर गाडीमा मोहन्याल गाउँपालिका-७ राजकाँडाको फेदमा पुगिन्छ। मोहन्याल गाउँपालिकामा समैजी देवताको मन्दिर छ।
बर्दगोरीया क्षेत्रपछि चुरे गाउँपालिका हुदै मोहन्याल गाउँपालिका पर्छ त्यहीँबाटो हुँदै राजकाँडाको डाँडामा पुगिन्छ। राजकाँडाको डाँडाबाट हिमालहरु र कर्णालीपुलको मनमोहक दृश्य देख्न सकिन्छ। डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने हो भने चन्द्रागिरि डाँडा जस्तै हुनसक्छ। राजकाँडाको फेदबाट ८ किलोमिटरमा चिसापानी कर्णालीपुलको क्षेत्रमा पुगिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/7.jpg)
कैलालीका रमणीय स्थान, घोडाघोडी ताल, गोदावरी, मोहन्याल मन्दिर, गार्भा दरवार, कोइलही ताल, वर्दगोरिया मन्दिर, बुलबुले सिम, शिवगंगा, पर्यटकीय सम्भावना बोकेका स्थान हुन्।
चिसापानी क्षेत्रलाई काली-कर्णाली चुरे पदमार्गको अन्तिम वा यात्रा सुरू गर्ने स्थानको रुपमा लिन सकिन्छ।
चिसापानी पुलको पश्चिम पट्टिको क्षेत्रमा जलक्रिडाको पनि त्यतिकौ सम्भावना छ। चिसापानी पुलदेखि ठूलो मोटरबोटबाट पर्यटकलाई कर्णाली नदिको उत्तरी भाग साजपेसरी, कुईनेसम्म लग्न सकिन्छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/14.jpg)
यस्तै चिसापानीपुलदेखि दक्षिणमा टिकापुर पार्कसम्म मझौला आकारको मोटरबोटमा जलक्रिडा गर्ने सकिने सम्भावना छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमति र स्थानीय सरकारको पहल र पर्यटन व्यवसायको लगानीमा चिसापानी पुलको वरिपरिको क्षेत्रमा थप पर्यटन व्यवसायको विकास गर्न सकिन्छ। रातिको समयमा चिसापानी पुलमा विजुलीको सजावट गरि सिमित स्थान भित्र रेस्टुरेन्ट, रिर्सोटको अनुमति दिई विच टुरिजमको अनुभूति दिने पर्यटकिय गतिविधि गर्न सकिने सम्भावना छ।
![](https://www.setopati.com/uploads/editor/Photos/2022/Ghumphit/supa/15.jpg)
विभिन्न तालतलैया जोड्दै, धार्मिकस्थलको भ्रमण गराउँदै झरना, पहाड, खोला नाला, वनजंगल घुमाउँदै स्थानीय जनजातिको गाउँ अवलोकनसँगै उनीहरूको खानपान, संस्कृति, नाचगान देखाउँदै सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरुको अविस्मरणीय यात्राको नौलो अनुभव यस पदमार्गमा दिनेछ।
स्थानीय सरकार, प्रदेश सरकारको विशेष पहल र निजी क्षेत्रले यस प्रस्तावित काली-कर्णाली चुरे पदमार्ग लाई प्रवर्द्धन गर्दै सरोकारवाला संस्थाले केही स्थानमा पूर्वाधार र जनशक्तिलाई तालिम दिने हो भने बढी समय नलिई तत्काल यस पदमार्गको केही खण्ड शुरु गरी यस परियोजनालाई पूर्णता दिन सकिन्छ।