दैलेखको एक सामान्य किसान परिवारमा जन्मिएको पहिलो सन्तान म। जेनतेन दु:खसुख गर्दै २०६९ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भएँ। अब कुन विषय पढ्ने भन्ने कुराले घरमा तरंग नै छायो।
जे पढ्ने सोचे पनि अन्तिममा समस्या आर्थिककै आउँथ्यो। सरकारी शिक्षालयमा कम शुल्कमा बाको साथीको छोरा भरत केसी पढ्ने भएकाले उहाँको सल्लाह बमोजिम कर्णाली प्राविधिक शिक्षालय जुम्ला जाने निर्णय भयो।
बाले सुर्खेतबाट हवाईजहाजमा जुम्ला जाने बन्दोबस्त मिलाइदिनु भयो। म जुम्ला पुगेँ, २०७० साल साउन १० गते। दाजु भरत केसीकै कोठामा बसेर प्रवेश परीक्षा दिएँ। सिटिइभिटीले दश दिन जतिमा नतिजा निकाल्यो, मेरो प्रथम सूचीमै नाम आयो।
घरबाट पैसा पठाइदिनु भयो, म सिभिल ओभरसियरमा भर्ना गरेर घर फर्किएँ। मङ्सिर ४ गतेबाट नयाँ कक्षा संचालन हुने सूचना थियो।
यता घर आएपछि पहिलो दिनमै भेट्न गएँ मेरी प्रेमिका, मेरो पहिलो माया सबिना (नाम परिवर्तन) लाई। उनी धनी खान्दानकी छोरी, काठमाडौंमा विज्ञान विषय पढ्ने निधो भएछ। उनी खुसी थिइन् काठमाडौं जाने भनेर तर म चाहिँ दुखी थिएँ हाम्रो प्रेम छुट्छ कि भनेर।
दसैं-तिहार मनाएर म जुम्ला लागेँ, उनी काठमाडौं। हाम्रो गन्तव्य फरक हुन पुग्यो। अनि त्यसपछि हाम्रो भेट हुन छोड्यो। मसँग मोबाइल नभएका कारण हाम्रो कुरा हुने कुरै भएन। एक वर्षपछि हाम्रो भेट भयो दसैंमा तर उनी परिवर्तन भएको मैले महसुस गरेँ। खै के कारण हो बुझ्नै सकिएन।
मसँग कुनै चिनजान नै नभएको जस्तो गरी बोल्न नचाहेपछि मेरो के नै लाग्छ र? मौसम जस्तै परिवर्तन भयो मेरो पहिलो माया। मैले नि बिर्सिने निर्णय लिन बाध्य भएँ।
२०७२ सालमा प्लस-टु उत्तीर्ण गरी उनले चितवनको एक कलेजमा बिएससी एजी अध्ययन सुरु गरिन्। मेरो भने २०७३ सालमा तीन वर्षको सिभिल ओभरसियर अध्ययन पूरा भयो।
पढ्दा लागेको ऋण तिर्न र बा-आमालाई एउटा सानो नयाँ घर बनाएर राख्ने सपना बोकेर म २०७३ साल फागुन २३ गते एउटा राम्रो नाम बनाएको राष्ट्रिय एनजियोमा ओभरसियर पदमा जागिर सुरु गरेँ। मेरो कार्यस्थल थियो धादिङ जिल्लाको उत्तरी भेग रुबि भ्याली गाउँपालिका।
कष्टकर भुगोल भएता पनि प्राकृतिक सुन्दरताले धनी ठाउँ, जहाँ मैले धेरै कुरा सिक्न र भोग्न पाएँ। धादिङ, नुवाकोट, रसुवा, गोर्खा लगायतका जिल्लाहरू घुम्ने मौका पाएँ। अहिले पनि म एकदम सम्झिने गर्छु २०७३ देखि २०७५ सालसम्मको धादिङ बसाइँ र समस्त सहयोगी मनहरूलाई।
मेरी भुपू मायालु पढाइ बीचमै छोडेर डिपेन्डेन्टमा विदेश पलायन भइन् भन्ने खबर सुनेँ। साह्रै नरमाइलो लाग्यो।
धादिङको जागिर सकिएपछि, २०७६ सालमा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गत जिल्ला शिक्षा समन्वय इकाई दैलेखमै करार जागिर सुरु गरेँ। लागेको सबै ऋण तिरेर एउटा सानो घर बनाएँ। अनि सँगै साँझ-बिहान समय निकालेर लोक सेवा तयारी पनि थालेँ।
२०७७ सालमा लोक सेवा आयोग कर्णाली प्रदेशले लिएको राप अनंकित प्रथम श्रेणी र द्वितिय श्रेणीमा लिखितमा नाम आयो तर भाग्यमै नभएपछि कसको के नै लाग्ने रहेछ र? अन्तिम चरण अन्तरवार्तामा दुवैमा फालिदियो।
जीवनमा थप निराशा छायो, केही दिनको बेचैनीपछि मन सम्हालेँ र अब मैले इन्जिनियर पढ्न सुरु गर्नुपर्छ भन्ने सोचेँ। फेरि इन्जिनियर पढ्न ऋण लाग्ने तनाब सुरु भयो। त्यही पनि सुरु गरेँ इन्जिनियरिङ प्रवेश जाँचको तयारी गर्न।
२०७७ सालको चैत १० गते काठमाडौंमा प्रवेश परीक्षा दिए। परीक्षा सोचेभन्दा राम्रो भयो। लोक सेवा आयोगले नपत्ताएको मलाई पूर्वाञ्चल विश्वविद्यालयले छात्रवृत्तिमा बिई सिभिल इन्जिनियर अध्ययन गर्ने मौका दियो। ममा केही खुसी छायो। नयाँ गन्तव्यको सरुआत भयो।
एकदिन फेसबुक चलाउँदै थिएँ, ‘हाई’ भनेर म्यासेज आयो। मैले हेल्लो भनेर कुरा सुरु गरेँ। उनी थिइन् एक वर्षअघि मसँगै लोक सेवा आयोग सुर्खेतमा राप अंकित द्वितिय श्रेणी, चौथो तहमा अन्तरवार्ता दिन गएकी सिमा (नाम परिवर्तन)। जो छ्नोट भई अहिले सरकारी सेवामा छिन्।
मैले धेरै कुरापछि एउटा कुरा सोध्ने विचार गरेँ- ‘सिमा, तिम्रो कसैसँग माया प्रेम छ?’
उनले भनिन्- ‘छैन, किन र?’
मैले भनेँ, ‘हामी धेरै समय अघिदेखि परिचित छौँ। नाता लाग्ने इष्टमित्र पनि हुँ। के घरमा कुरा चलाउँ त हाम्रो बिहेको लागि?’
उनको उत्तर आयो, ‘घरमा त सरकारी इन्जिनियर हात माग्न आए मात्र दिने भन्नुहुन्छ।’
म अक्कमक्क परेँ। हो र मात्रै भनेँ मैले अनि बाई भनी अफलाइन भएँ।
मनमा कुरा खेल्यो, केही वर्षअघि अहिले नै बिहे गरौँ भन्दा पनि राजी हुने व्यवहार देखाउने मान्छे अहिले बिहे गर्नलाई सरकारी इन्जिनियर हुनपर्ने भएछौ!
खुसीका पलहरू एकदिन म पनि ल्याउने प्रयासमा छु। अब छिट्टै इन्जिनियरिङ सकेर संघीय लोक सेवा आयोगको सातौं तह इन्जिनियर अधिकृत भई तिमीलाई मौन उत्तर दिनेछु समयसँगै। त्यतिबेला तिम्रो लायकको सरकारी इन्जिनियर त हुने नै छु तर तिम्रो चाहिँ हुने छैन।
सिमालाई देखाउनु छ, दुई-चार हजार ऋण नपत्ताउने छिमेकीलाई देखाउनु छ, एक कुशल इन्जिनियर भएर देखाउनु छ। म जति ठूलो मान्छे भए पनि मेरो भाउ बढ्ने छैन, सबैको साथ, सहयोग र माया भुल्ने छैन।
मेरा बा-आमाले मलाई ऋण गरेर हवाईजहाज चढाएको बिर्सेको छैन। बा-आमालाई हवाईजहाज चढाएर सपनाको सहर काठमाडौं ल्याई पशुपतिनाथको दर्शन गराउने ठूलो रहर छ।