मानिस यस्तरी किन कमाइरहेछ
पैसै गनेर रमाइरहेछ
सुपथ हो कि पापको धन
सोध्दै नसोधी समाइरहेछ।
पुग्दैन उसलाई जति भए पनि
होडबाजी कस्तो बन्नलाई धनी
गरिब दुःखीको छिनी आफै थुपार्छ
धनैको घमन्डले सोझालाई झपार्छ।
भोकाको वास्तै नगरी ऊ खाइरहेछ
चाहिँदै नचाहिने महँगा लगाइरहेछ
एक दिन त सबैले जानै पर्छ
सारा कमाएको धन छोड्नै पर्छ।
चाहिनेभन्दा बेसी कमाएर
के फाइदा भो र?
मेरो कमाइ भनी भन्ठानौला
तर के त्यो तिम्रो हो र?
त्यही पनि पैसामाथि पैसाले जमाइरहेछ
पैसा खर्च गरी गरी नाम कमाइरहेछ
त्यो नाम पनि कतिन्जेल रहने हो र
वर्षौँ वर्षपछि त त्यो पनि जान्छ खेर।
रोकिँदैन आइहाल्छ अन्तिम घडी
जति जम्मा गरे नि काम लाग्ने भो त
आखिर एक पैसा लान नसकेपछि
ज्यादा कमाउनु मूर्खता हो त!