भाइ आयुष बेलायत गएपछि तीन वर्षदेखि खल्लो मेरो तिहार काठमाडौंमा मनाउनै मन लागेन। झोलामा केही थान लुगा र ल्यापटप बोकेर म पोखरा उडेँ।
पोखरा पुगेपछि भने ध्यान अन्यत्रै केन्द्रित भयो।
लाग्यो— भाइले मलाई छोडेर बेलायत होइन, म नै भाइलाई छोडेर काम विशेषले पोखरा पुगेकी हुँ। मन बुझाउने अनेक उपाय।
केही अन्तर्वार्ता गर्नु थियो, केही कहानी खोतल्नु थियो, केही सुन्नु थियो, केही सुनाउनु थियो पोखरालाई।
गएकै साँझ एक जना साइकल यात्रीसँग भेट्ने कुरा भएको थियो। उनी त्यति बेला साइकल लिएर तिलिचो पुगेका थिए, जब तिलिचो ट्रेक जाने बाटो समेत गतिलो थिएन। त्यसैले उनलाई सुन्ने हतारोको त कुरै नगरौँ।
तर फ्लाइट डिले हुँदै गएपछि त्यो मिटिङ भोलिपल्ट बिहान सार्नुको विकल्प रहेन।
सञ्जीवजीले मेरो खबर लिइरहनुभएको थियो, पोखरा नओर्लिउन्जेल।
उहाँलाई भोलिपल्ट बिहान भेट्ने टुंगो लगाएर म होटलतिर हिँडेँ। मलाई साँझ कतै निस्कन मन भएन।
बरन्डामा ल्यापटप बोकेर सुरू गरेँ अक्षर केलाउन।
झिलिमिली बत्ती, देउसीभैलोको मिठास, पौवाको बरन्डा, म अनि मेरा अक्षरहरू। कसैले ध्यान भंग नगरिदिए हुन्थ्यो जस्तो लागिरहेको थियो।
खाना माथि नै अर्डर गरेर म मेरै तानाबानामा लागि रहेँ। खै, अबेर रात कुन बेला निदाएँ।
भोलिपल्ट बिहान ८ बजेलाई हामीले समय निर्धारण गरेकाले त्यसै अनुरूप भेट्ने निधो भयो। सञ्जीवजी मलाई पर्खिरहनुभएको थियो।
पञ्चासेका सञ्जीवजीको सादगी र वातावरणप्रतिको लगावले मलाई नतमस्तक बनाइरह्यो। करिब साढे दुई घण्टाको बसाइपछि हामी छुट्टियौं।
उहाँसँग अझै गफ गर्न मन थियो तर १३ वर्षको उमेरमा दिवंगत आफ्नी बहिनीको नाममा सञ्जीवजीले पूजा राख्नुभएको रहेछ।
उहाँको हतारो पनि त मैले बुझ्नुपर्यो। छोडेर जानेलाई के थाहा, बस्नेलाई हुने पीडाको बोध।
सञ्जीवजीसँग छुट्टिएपछि म ताल वाराहीतिर टहलिन गएँ। कति धेरै पर्यटक, कति धेरै उत्साह। कति धेरै खुसीयाली थियो त्यता।
अरूलाई खुसी देखेरै रमाइरहेकी थिएँ म पनि। साँझ एक जना ट्रेकिङ गाइडसँग भलाकुसारी गर्ने निधो भयो। उनको उकाली–ओरालीको ३५ वर्ष केलाउनु थियो।
३५ वर्षको परिपक्व त्यो समयका कुरा तीन घण्टा बस्दैमा कहाँ सकिन्थ्यो र! मलाई धित मरेकै थिएन उहाँका कुरा सुनेर।
समयले साथ छोड्दै गएपछि कि त उहाँ काठमाडौं आउँदा, कि म फेरि पोखरा मिलाउँदालाई थाती राखेर म निस्किएँ।
दिनभर बरालिँदै थाकेको मलाई छिट्टै निन्द्रा पर्यो। अनि छिट्टै निदाएकाले होला, फेरि राति करिब ३ बजे नै मेरो निन्द्रा खुल्यो। बिउँझिएपछि फिटिक्कै निद्रा परेन।
ल्यापटप खोलेँ र बसेँ साइकल यात्रीको यात्राबारे लेख्न।
सञ्जीवजीसँग बिहान भएको भेट र उहाँका कुराहरू मानसपटलमा खेलिरहेका थिए।
शब्दमा उतार्न उचित मानेँ मैले, मोबाइल चलाएर सामाजिक सञ्जालमा समय कटाउनेभन्दा। अचेल जताततै ल्यापटप बोकेर जान मन लाग्छ। फुर्सद भएपछिको रमाइलो खेल हुन्छ शब्दहरूसँग।
ल्यापटपसँग साउती मार्दामार्दै पाँच बजिसकेछ। अचानक फोनको घण्टी बजेर झसंग भएपछि मात्रै थाहा भयो— समयले भोरको संकेत गरेको।
यति सबेरै कसले गर्यो होला भन्ने लाग्यो। हट एअर बलुनको मर्निङ फ्लाइटका लागि लिन आउने टोली रहेछ, बलुन नेपाल प्रा. लि. को पिकअप सेवा।
म हतारहतार तयार भएर तल झरेँ। तस्बिरमा देखेको, चलचित्रमा देखेको, आँखै अगाडि कहिल्यै नदेखेको, कस्तो होला? कत्रो हुन्छ होला?
दंग पर्दै गाडी चढेर पामे हुइँकिएँ म। बाटैबाट अन्य यात्रुहरू समेट्दै अघि बढ्यो त्यो माइक्रो। बलुन पाइलट पनि हामीसँगै हिँडे।
मेरो उत्साहले लेकसाइडबाट पामे पुगुन्जेल पनि काठमाडौंबाट बस चढेर पोखरा पुग्न लागे जस्तो लामो लाग्यो समय।
छोरी आयराले खेलाउने सानो बलुन सम्झिएँ — उसले खेल्ने त्यो रंगीबिरंगी बलुनहरूको कलेक्सन। अनि उसैलाई सम्झिएँ। ममी एक्लै पोखरा गएको भनेर ऊ रिसाएकी थिई।
घुम्न भनेपछि हुरुक्कै हुन्छ मेरी आयरा। भर्खरै दस वर्ष लागेकी छोरी अचेल मेरो साथी जस्तै छे।
रमाइला कुरा हुन्छन् हामी आमा छोरीबीच। उसलाई पनि बिदामा लिएर आउँछु भनेर आफैलाई बाचा गरेँ।
पामे त पुगियो, तर पोखराको मौसम सधैं अनपेक्षित। कुहिरोले डाँडा नै ड्याम्म ढाकेको।
स्पेनी मूलका पाइलट क्लेटो भन्दै थिए, 'कम्तीमा दुई किलोमिटर भिजिबिलिटी हुनपर्छ, मैले त यही वरिपरि पनि देखिरहेको छैन। आज त क्यान्सिल नै हुन्छ कि के हो।'
उनी हाम्रो मन चोर्दै थिए।
करिब डेढ घण्टा कुरेपछि साढे सात बजे बल्ल उड्ने पालो आयो।
पाइलट बाहेक हामी पाँच जना; दुई जना अष्ट्रेलियाका, एक जना बेलायती, हामी दुई जना नेपाली। पाइलट स्पेनका। त्यो बलुन उडाउने उनको कुशलताको पनि हामीले निकै बेर चर्चा गरेका थियौं।
नखुलेको मौसमको मौका छोपेर हामी यात्रु र पाइलटले मज्जैले बात मारेका थियौं। सबैका केही न केही कुरा। अष्ट्रेलियाबाट आएका दुई जना मौन प्रायः थिए, मुसुक्क हाँस्थे मात्र। बेलायती नागरिक याब्सोलेम भने डिमेन्सिया भएकी आफ्नी आमालाई छोडेर १० दिने नेपाल भ्रमणमा आएका रहेछन्। उनको मन बेला बेला बेलायततिर बरालिन्थ्यो।
मसँगको भलाकुसारीमा उनले दिवंगत आफ्ना बुबादेखि हजुरबुवा सबै सम्झिए। उनी आफै पनि निकै पाको उमेरका थिए। उनको साथी थिए नेपाली भाइ आनन्द। उनी डराउँदै थिए बलुन फ्लाइटअघि। तर उति नै खुसी थिए ती बेलायती बुवाले टिकट किनिदिएकोमा।
अर्को लट फ्लाइट गर्ने टोलीमा भारतबाट आएको एउटा परिवार थियो। उनीहरूले अल्ट्रा लाइट गरिसकेका रहेछन्, बलुन चढ्न उत्साही। गत डिसेम्बरमा भएको बलुन फेस्टिभलको कुराले माहोल तताएको थियो। झन्डै ३० व्यावसायिक कम्पनीले उडान भरेका थिए त्यो बेला। करिब ५०० बलुनलाई एकैपटक पोखराको आकाशमा देख्दाको त्यो पल नेपाली मात्रले होइन, ती भारतीय पर्यटकले पनि मिठो याद सँगालेका रहेछन्।
बिस्तारै तुवाँलो हट्दै गयो। बलुन उड्ने तयारी भयो। हामी तलै हामीलाई कुर्ने टोलीसँग बिदा भयौं। बिस्तारै बलुन उड्दै गयो।
झन्डै हिमाल नलुकेको तुवाँलोभित्र, बल्लबल्ल बादलुको घुम्टो उघारेर चिहायौं माछापुच्छ्रे र अन्नपूर्णलाई। सास त्यही रोकिएला जस्तो गरी रोमाञ्चित भयो मन। हिजोको ट्रेकिङको कुरा अनि प्रकृतिको कुरा उसैगरी आए मानसपटलमा।
बलुनबाट झर्नेबित्तिकै झोला बोकेर उकालो लाग्न भन्दै थियो माछापुच्छ्रेले।
'मलाई भेट्न कहिले आउने?' भन्दै थियो अन्नपूर्ण। उत्साही म, नाजबाफ मुस्कुराउँदै ती प्रश्नहरू तस्बिरमा कैद गर्दै थिएँ।
पाइलट रेडियो टावरसँग संवाद गरिरहेका थिए। त्यो उचाइमा त्यो संवादको आवश्यकता बोध गर्दै पाइलटको हरेक 'मूभ' नियाल्दै थिएँ म।
म हरेक क्षणमा कथा खोज्दै थिएँ, हरेक मुस्कानमा, हरेक तस्बिरमा, हरेक डरमा अनि हरेक उत्साहमा।
जिन्दगी कथा जस्तै त हुन्छ आखिर — कहिले सुख, कहिले दुःख। उसैगरी आउँछन् खुसी र पीडाहरू पनि।
म पनि त भाइ घर नहुनुको पीडा बिर्सन पोखरा पुगेकी थिएँ। त्यही बलुनभित्र बसेर भाइसँग हरेक दिन हुने लडाइँझगडा सम्झिएँ।
अब मलाई एक्लै बलुनमा उडेको फोटो उसैलाई पठाएर चिढ्याउनु थियो।
उसको प्रतिक्रियामा रमाउनु थियो— अनि बल्ल मलाई तिहार आउँथ्यो।
बलुनबाट झरेपछि गाडीले होटल ल्याएर छोडिदियो।
क्यामरा बोकेर फेरि कथा खोज्न निस्किएँ— यसपालाको देउसीको कथा अनि भैलोको कथा।
विभिन्न वेशभूषामा सजिएका युवाको टोली, दमदार तयारी, माहोल मिठो थियो। साँच्चै सहरमा छपक्क तिहार आएको थियो। चोकचोकमा मादल घन्किएका, कतै पञ्चेबाजा त कतै लाउडस्पिकरमा बजेको गीतमा नाचिरहेका।
हामी दिदीभाइ पनि रात रातभर खेल्न हिँडेको हिजैजस्तो लाग्छ।
तर समयले उसलाई विदेश पुर्याउँदा मैले बाटो हेर्नुको विकल्प कहाँ पाउँछु र!