मैले दन्त चिकित्सा पेसा सुरू गरेको करिब ३३ वर्ष भएछ। मेरो यो लामो व्यावसायिक यात्रामा आफ्ना बिरामीहरूबाट जीवन समाज व्यक्तिगत स्वतन्त्रताबारे बुझ्ने निकै राम्रो मौका मिल्यो।
एकै परिवारका तर विभिन्न जेनेरेसन (साइलेन्ट पुस्तादेखि अल्फासम्म) हरूलाई लामो समय उपचार गर्दा बिस्तारै उनीहरूको मानसिकता, प्राथमिकता र अरूलाई गर्ने व्यवहारमा भइरहेका परिवर्तन नजिकैबाट नियालेर हेर्ने मौका एउटा दन्त चिकित्सकलाई प्राप्त हुने रहेछ।
यसरी आफ्ना बिरामीको सोचमा आउने परिवर्तनलाई आज विचार गर्दा मलाई लाग्छ — यी परिवर्तनहरू केबल पुस्तान्तरको मात्र होइन, समाज र त्यो समाजलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव पार्ने आधुनिकीकरण, खुलापन र प्रविधिको असर हो।
एउटा साधारण दन्त चिकित्सकको हैसियतले मैले सबै पुस्तासँग काम गर्ने अवसर पाएको छु। तर मेरो मन जेनजीप्रति बढी आकर्षित हुन थालेको पाँच–सात वर्ष जति भयो। र, यसको कारण मेरा जुम्ल्याहा छोराहरू पनि त्यही पुस्ताका भएकाले हो।
हाल हङकङमा पढिरहेका मेरा छोराहरूलाई हाम्रो परिवारले सकेसम्म चिकित्सक नै बनून् भनेर प्रयास गरेको हो। व्यक्तिगत स्वतन्त्रता र इच्छा कदर गर्नुपर्छ भनी वकलत गर्दै हिँड्ने भए पनि आफूलाई पर्दा, आफ्नै स्वतन्त्रता, इच्छा र आकांक्षा ठूलो लाग्दो रहेछ। परिवारको इच्छा र चाहना नभए पनि, आफ्नो इच्छा, चाहना र भविष्य प्रस्ट देखेका उनीहरूले आफूले रूचाएको विषय छाने र पढ्दैछन्।
मेरो क्लिनिकमा आउने बिरामीहरू मलाई कहिलेकाहीँ सुनाउँछन्, 'मेरी छोरीलाई पनि डाक्टरी पढ् भनेको, पढाइ पनि राम्रो थियो, ए प्लस ग्रेड थियो तर मानिन। खै के हो त्यो मनोविज्ञान पढ्छु भनेर अमेरिका गएकी छ।'
विदेश पढ्न जाने भिसा लाग्नेबित्तिकै दाँत बनाउन आउने वा अभिभावकद्वारा ल्याइने जेनजी पुस्ताका केटाकेटीको कुरा सुन्दा म छक्क पर्थेँ। उनीहरूमा आत्मविश्वास र पारदर्शिता छ, प्रत्येक प्रश्नको जबाफ छ तर सिधा र छोटो।
आफूलाई चित्त नबुझ्ने कुराको जबाफ हाँसेर दिन्छन् र भन्छन्, 'हजुरले बुझ्नु हुन्न हाम्रो कुरा!'
यस्तो जबाफले हाम्रो पुस्तालाई घोच्छ र आन्तरिक चुनौती पनि हुन्छ।
सायद हाम्रो र हामीभन्दा अगाडिका पुस्ताले हाम्रा जेनजीहरूलाई निकै नजरअन्दाज गर्यौं। उनीहरूलाई केही थाहा छैन, व्यवहार बुझेका छैनन्, बिस्तारै घर, परिवार, समाज र परिवेश आफै ठक्कर खाँदै बुझ्नेछन् भनी हमीले त्यति ध्यान नै दिएनौं। जेनजीभित्र आफ्नो भविष्यप्रति कस्तो चिन्ता छ र समाज र हाम्रो चालचलनप्रति कस्तो वितृष्णा छ भनेर प्रायः जेनजीका अभिभावकले थाहै पाएनन्।
त्यसैले मलाई लाग्छ, जेनजीको हालैको आन्दोलन केबल वर्तमान बेथितिको आक्रोश मात्र विस्फोट भएको होइन।
जेनजीहरू विगतदेखिकै भ्रष्टाचार, बेथिति, कानुनी राजप्रतिको खुला खेलवाड आदि जनप्रतिनिधिमार्फत देखे। इतिहास क्लिकमै पढ्न सक्ने भए। अरूको मनगढन्ते कथामा होइन, तथ्य, प्रमाण र आँकडाहरू विश्लेषण गर्न सक्ने भए।
र, अब अति भयो, हाम्रा दाइ, काका वा आमाहरूले केही गर्न सक्दैनन्, अब हामीले नगरे हाम्रो भविष्य छैन भन्ने सोचमा पुगे। प्रविधि प्रयोग गरे, भावना, विचारबाट एकजुट भए। आन्दोलन गरे।
यी सबै कुरा कुनै पनि जेनजीका अभिभावकले कल्पनासम्म गरेका थिएनन्।
त्यसैले नेपालको जेनजी आन्दोलनको वास्तविक अर्थ बुझ्न तीन मुख्य कोणबाट बुझ्नुपर्छ।
ती हुन् पुस्तान्तर, प्रविधि र सुख तथा समृद्धिको नयाँ परिभाषा।
पुस्तान्तरः
हामीलाई लाग्छ, पुस्तान्तर र त्यसको प्रभाव प्रायः घरभित्र मात्र देखिन्छ।
जस्तै, हाम्रो घरमा हामी तीन पुस्ता एकै साथ छौं। ८०–८५ वर्ष उमेरका हजुरबुबा, हजुरआमा पुस्ता, ५५–६० का आमाबुबा पुस्ता, अनि २०–२५ का नाति, नातिना पुस्ता।
सबभन्दा पेलिएको पुस्ता, वास्तवमा भन्ने हो भने (नेपाली समाजमा भन्न खोजेको हो) बुबाआमाको पुस्ता हो, अर्थात् हाम्रो पुस्ता। यो पुस्ताले 'नो' भन्न सक्दैन। व्यवहारले यो पुस्ताको समय अघिल्लो, आफ्नो र छोराछोरी पुस्तालाई खुसी राख्नमै जान्छ।
यो पुस्ता वास्तवमा धेरै क्षेत्रमा 'कम्प्रमाइज' गरेर जीवन गुजार्दै आएको पुस्ता हो। त्यसैले उसमा सधैं धैर्य गर, बिस्तारै सब ठीक हुन्छ भन्ने सोचले जरा गाडेको छ। र, ऊ त्यही आदेश वा मान्यता आफ्ना जेनजीलाई लाद्न खोज्छ।
म आफ्नै छोराहरूको व्यवहार र दृष्टिकोणबाट प्रस्ट छु कि, उनीहरू तत्काल परिणाम खोज्छन्। स्पष्ट र छोटो जबाफ चाहन्छन्। कुनै पनि कुरामा आश देखाएर झुलाएको सहन सक्दैनन्।
प्रश्नप्रति प्रश्न गर्ने उनीहरूको चलन छ। उनीहरू बिना प्रमाण, तथ्यांक प्रायः बहस नै गर्दैनन्। आफ्नो गल्ती भए 'आई एम सरी' भन्न ढिला गर्दैनन्। सरी भनिसकेपछि पनि गाली गरिरहे वा माफी नदिए साह्रै चित्त दुखाउँछन्।
जेनजीहरूको यो बानी, आचरण, सोच घरभित्र मात्र होइन, विद्यालय वा जेनजीलाई काममा लगाएका कार्यालय लगायत ठाउँमा पनि हुन्छ भनेर बुझ्न सकिएको छैन।
मेरै अस्पतालमा विभिन्न जेनेरेसनका कर्मचारी र चिकित्सकहरू छन्। अस्पतालको अध्यक्ष र सहकर्मी चिकित्सकको हैसियतले म सबै समूहमा काम गरिरहेको हुन्छु। त्यसबाट पनि प्रस्ट थाहा हुन्छ, जेनजी पुस्ता निकै फरक छ।
मेरा पुराना कर्मचारीहरू अझै कागजी र म्यानुअल फाइल प्रणालीमा रमाउँछन्। जेनजी कर्मचारीहरू भने काम ढिलो भएकोबारे ठूलो गुनासो गर्छन्। र, सम्पूर्ण व्यवस्थापन डिजिटल चाहिन्छ भनी बैठकहरूमा राम्रैसँग आवाज उठाउँछन्।
नेपाली बहुसंख्यक विद्यालयमा शिक्षकहरू अझै रटन्ते विधि अपनाउँछन्। तर विद्यार्थीहरू डिजिटल प्रविधिमा स–साना प्रोजेक्ट–आधारित शिक्षा र अनलाइन व्यावहारिक अनुसन्धान मार्फत ज्ञान प्राप्त गर्न उत्साहित छन्।
प्रविधि प्रतिको यस्तो लगाव र सोचको अन्तरले केबल घर वा विद्यालयमा मात्र नभई, समाजको समग्र दृष्टिकोण र भविष्य निर्माणमा महत्त्वपूर्ण प्रभाव पार्छ।
सामाजिक विज्ञानमा विभिन्न अनुसन्धानहरूले स्पष्ट देखाइसकेका छन् — हरेक पुस्ताले आफ्नो निजी अनुभव र सामाजिक परिस्थिति अनुसार आफ्ना मूल्य, मान्यता र प्राथमिकता निर्माण गर्छ।
उदाहरणका लागि, बेबी बूमर पुस्ता विश्व युद्धपछि भएको पुनर्निर्माणको समयमा हुर्किएको थियो। त्यसैले उनीहरूमा संगठित संस्थाप्रतिको निष्ठा र त्यसलाई कदर गर्ने बानी र व्यवहार विकास भयो।
जेन एक्स कम्प्युटर युगसँगै हुर्किएकाले स्वतन्त्रता र व्यावहारिकता उनीहरूका प्रमुख मूल्यमान्यता बने।
मिलेनियल्स इन्टरनेट र डिजिटल प्रविधिसँगै हुर्किए तर आर्थिक अस्थिरताले उनीहरूलाई चुनौतीपूर्ण परिस्थितिमा राख्यो।
जेनजी भने सानै उमेरदेखि सामाजिक सञ्जालको नजिक रहे। सूचनामा सहज पहुँच पाए। सामाजिक असमानता, बेरोजगारी, व्यक्तिगत तथा राजनैतिक भ्रष्टाचारको नतिजा उनीहरूले प्रविधिमार्फत् सजिलै बुझ्न सके। र, सूचनाको रफ्तार र पहुँचबारे उनीहरू निकै जागरूक भएर हुर्किए।
त्यसैले समाजका प्रत्येक अभिभावक, शिक्षक, नीतिनिर्माता, पेसाकर्मी र राजनैतिक नेताहरूले पुस्तैपिच्छेको अन्तर बुझ्न अति आवश्यक छ।
अब पुरानो सोच, आदेश पालना गर वा 'मेरो गोरूको बाह्रै टक्का' ले काम गर्दैन। नयाँ पुस्ता तथ्य, प्रमाण र पारदर्शितामा विश्वास गर्छ। त्यसैले उनीहरूको दृष्टिकोण नबुझी हामीले अनावश्यक दबाब दिएर उनीहरूको ऊर्जा गुमायौं भने, त्यो व्यक्तिगत विवादको विषय मात्र हुँदैन, सम्पूर्ण समाज र राष्ट्रकै लागि घाटा हुनेछ।
प्रविधिः
जेनजी जीवनको आधार भनेकै प्रविधि हो। प्रविधि बिनाको जीवन जेनजीले कल्पना पनि गर्न सक्दैनन्। यो हाम्रै घरपरिवारमा स्पस्ट देख्न पाइन्छ।
हाम्रा किशोरकिशोरी कुरा कम, टेक्स्ट म्यासेज बढी गर्छन्। आफ्नो भाव वा उत्तर छोटो तर सशक्त माध्यमबाट गर्छन्। जस्तै, विभिन्न इमोजी प्रयोग गरेर।
घरमै पनि एउटा कोठाबाट अर्को कोठामा रहेका दाइदिदी वा भाइबहिनीसँग टेक्स्टमै कुरा गर्छन्। ठूलो स्वरले बोल्ने वा लामो तरिकाले सम्झाउने होइन, सही र तथ्यपरक सूचना वा तथ्यबाट समस्या सुल्झाउन चाहन्छन्।
उनीहरूलाई बाह्य विश्व बजारमा प्रविधिले ल्याएको परिवर्तन, सुशासन राम्ररी थाहा छ। जस्तै एस्टोनियाले सम्पूर्ण सरकारी सेवा अनलाइन बनाएको छ। सिंगापुर स्मार्ट सिटीका लागि उत्कृष्ट नमूना बनेको छ। दक्षिण कोरियाले शिक्षा र स्वास्थ्य क्षेत्रमा डिजिटल प्रविधिमार्फत् ठूलो प्रगति गरेको छ।
त्यस्ता धेरै उदाहरणहरूबाट सूचित नेपाली जेनजी पुस्ता आफ्नो देशमा त्यही सरलता र सहजता नपाउँदा आजित र आक्रोशित छ। त्यसो त नेपालमा पनि केही हुँदैन नभएको होइन। डिजिटल पासपोर्ट, अनलाइन कर भुक्तानी, डिजिटल वालेट आदि भुक्तानी, अनलाइन शपिङ इत्यादि प्रविधिजन्य सुविधा भएका छन्।
तर यस्ता सेवा भरपर्दा भइसकेका छैनन्। अति सुस्त, बेला बेला सटडाउन हुने, नचल्ने, सरकारी वेबसाइट खुल्दै नखुल्ने लगायत समस्या छन्।
त्यसैले उनीहरूलाई नेपालमा प्रविधि सही र सजिलो छैन भन्ने भान परेको छ।
जेनजी पुस्तालाई राम्ररी थाहा छ, डिजिटल प्रविधि अब विलासिता होइन। यो जीवनको आधार हो। देशको शासन व्यवस्थामा पारदर्शिता र भ्रष्टाचार मुक्त गर्न प्रविधिको प्रयोग अपरिहार्य छ।
त्यसैले नयाँ पुस्ताको सोच र दक्षता स्वीकार गरेर प्रविधिमैत्री शासन व्यवस्था स्थापना गर्न सके समाजमा सामाजिक न्याय, समानता र पारदर्शिता ल्याउन सकिनेछ।
सुख र सफलताको जेनजी परिभाषाः
जेनजीको सुख र सफलताको परिभाषा अघिल्ला पुस्ताहरूभन्दा भिन्न छ। भौतिक सम्पत्ति र त्यसले दिने आनन्द वा खुसीमा भन्दा जेनजीहरू मानसिक स्वास्थ्य, सामाजिक न्याय, समान अवसर, स्वच्छ वातावरणलाई प्राथमिकता दिन्छन्।
बोलिचालीमा कठोर देखिए पनि उनीहरूमा करूणाको मात्रा अधिक छ। भ्रष्टाचारले ग्रसित असमान र अन्यायपूर्ण समाजमा सुख सम्भव छैन भन्ने उनीहरूको अटल मान्यता छ। त्यसैले उनीहरू आफ्नो सुख र सफलता दिगो होस् भन्ने चाहना चाहन्छन्। जुन उनीहरूले उठाउँदै आएका मागहरूबाट प्रस्ट हुन्छ।
उनीहरूका माग हुन् — शिक्षा समयानुकूल हुनुपर्छ। रटन्ते होइन सिर्जनशील र व्यावहारिक हुनुपर्छ। प्रविधि बिनाको शिक्षा अब काम छैन। स्वास्थ्य सेवा सस्तो र सुलभ हुनुपर्छ। रोजगारी र उद्यमशिलताको अवसरमा सबैको पहुँच हुनुपर्छ। युवाले आफ्नै देशमा भविष्य देख्न पाउनुपर्छ। सामाजिक न्याय सुनिश्चित हुनुपर्छ। जात, लिंग, वर्ग वा विशेषाधिकारका आधारमा विभाजन अब स्वीकार्य हुन सक्दैन।
जेनजीहरूको ध्यान परम्परागत पेसाभन्दा स्वावलम्बी स्टार्टअप, आधुनिक प्रविधि युक्त कृषि, डिजिटल सेवातर्फ मडिएको छ। उनीहरू त्यसैमा आफ्नो सुख र समृद्धि चाहन्छन्।
त्यसैले अब अभिभावक, शिक्षक र प्रत्येक अघिल्ला पुस्ताका नागरिकले जेनजीलाई आलाकाँचा केटाकेटी होइन, राष्ट्र निर्माणका सहयात्रीका रूपमा स्वीकार गर्नुपर्ने समय आएको छ।
जेनजी क्रान्ति र हाम्रो जिम्मेवारी
जेनजी क्रान्तिले एउटा स्पष्ट सन्देश दिएको छ — अब आधा अधुरा सुधारले काम गर्दैन। पारदर्शिता र जबाफदेहिता हरेक तह र तप्कामा अनिवार्य छ। र, प्रविधि नै आधुनिक राष्ट्र निर्माणको बलियो आधार हो।
समाजमा खुसी र समृद्धि ल्याउन त्यही समाजमा रहने प्रत्येक व्यक्तिको मानसिक स्वास्थ्य, उसले प्राप्त गर्ने सामाजिक न्याय, समान अवसर र समाजको वातावरणीय स्थायित्वले मात्र सम्भव बनाउँछ।
आगामी फागुन २१ गते हुने निर्वाचन यसका लागि ऐतिहासिक अवसर हो। आशा छ, यसले प्रत्येक नागरिकलाई आफ्नो भूमिका, अधिकार र दायित्व प्रयोग गरेर हाम्रो जेनजीको माग राष्ट्र निर्माणमा समाहित गर्ने मौका प्रदान गर्नेछ।
यही बेला हामी सबै नेपालीहरूले सचेत, जिम्मेवार, दुर्दर्शी भई विगतमा भ्रष्टाचारमा संलग्न व्यक्ति, समूह, दललाई हटाउन सक्यौं भने मात्र आउने निर्वाचनले नेपालको उज्जवल भविष्य निर्माणमा सहयोग गर्नेछ।
आशा गरौं, जेनजी पुस्ताको सपना साकार हुनेछ।
(डाक्टर सुशील कोइराला 'असल डाक्टर' अभियानका संयोजक हुन्।)