बढ्दो तापक्रमका कारण हिन्दुकुश हिमालय क्षेत्रमा हिमपहिरो, हिमताल विस्फोट लगायत नयाँ नयाँ घटना देखा परिरहेको एक अध्ययनले देखाएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले हिन्दुकुश क्षेत्रमा एक दशकयता ०.२८ डिग्री सेल्सियस तापक्रम बढेको तथ्य फेला पारेको हो।
यसले हिन्दुकुश हिमालय क्षेत्रमा हिमपहिरो, हिमताल विस्फोट, थर्मोकार्स्ट (पानीबिहीन हिमतालमा हिउँले अँठ्याएर राखेको माटो, चट्टान अन्य भू–सामग्री बाहिर निस्किएर बाढीको रूप लिनु) लगायत नयाँ नयाँ हिमविचलनका घटना देखिएको अध्ययनको निष्कर्ष छ।
सोलुखुम्बुस्थित थामे गाउँको माथिल्लो भेगमा हिमताल विस्फोट भएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समेतको सहकार्यमा उक्त अध्ययन गरिएको इसिमोडका जोखिम विशेषज्ञ अरूणभक्त श्रेष्ठले जानकारी दिए।
अध्ययन टोलीमा इसिमोडकै जोखिम विशेषज्ञहरू सुदन विकास महर्जन, तेन्जिङ छोग्याल शेर्पा पनि संलग्न थिए।
२०८१ साउन ३२ गते सोलुखुम्बुको उत्तरपश्चिम थामे क्षेत्रमा भीषण हिमबाढी गएको थियो। थामेको शिर क्षेत्रमा रहेका दुइटा ताल विस्फोट भएर भीषण भेलबाढी आएको थियो। यसले तल्लो तटीय क्षेत्र खण्डहर बनाएको थियो।
'थामेको शिर क्षेत्रमा रहेका दुइटा ताल फुटेर विशाल बाढी आएको हाम्रो अध्ययनको निष्कर्ष छ,' श्रेष्ठले भने, 'माथिल्लो ङ्गोले चो र तल्लो ङ्गोले चो फुटेर बाढी आएको अध्ययनबाट देखिएको छ।'
उनका अनुसार यो विस्फोट शृंखलाबद्ध देखिन्छ। सुरूमा ङ्गोल चो तालभन्दा माथि भूस्खलन भएर चट्टानसहित पहिरो झरेको र त्यो पहिरो झर्दा उक्त तालको पानी छचल्किएको प्रतिवेदनमा उल्लेख छ।
त्यही छचल्किएको पानीले तालको ४.५ मिटरको मोरेन (हिमतालको प्राकृतिक बाँध) भत्काएको प्रतिवेदनमा जनाइएको छ।
प्रतिवेदनमा उल्लेख भए अनुसार माथिल्लो ताल फुटेर १२० मिटर ठाडो ओरालोमा रहेको अर्को तालमा उक्त पानी झरेको र त्यसले अर्को हिमताल (जसलाई ङ्गोले चो नामकरण गरिएको छ) को मोरेन (हिमतालको बाँध) कमजोर बनाएको छ।
त्यस्तै माथिल्लो हिमतालको तुलनामा तल्लो विस्फोट निकै घातक देखिएको छ। त्यसले माथिबाट झरेको तालको पानीले तल्लो तालको मोरेनमा करिब २१.६ मिटर गहिराइ र करिब ५१ मिटर चौडाइ भाग क्षय गरेको छ।
यस कारण तीव्र रूपमा पानीको निकास भएको थियो। पानी बग्ने क्रममा उच्च मात्रामा हिमोढ (पर्माफ्रस्ट), सेडिमेन्ट र ठूला ढुंगा समेत बगाएको जोखिमविज्ञ श्रेष्ठले बताए।
अध्ययनले अर्को नयाँ तथ्य पनि उजागर गरेको छ।
तल्लो तालबाट निकास भएको पानी झन्डै ३ किलोमिटर तल पुगेर एक ठाउँमा पोखरी बनेको थियो। त्यहाँ थ्यान्बो भन्ने फराकिलो मैदान थियो। त्यही मैदानमा पोखरीजस्तो बनेर पानी अडिएको थियो।
पानीको तीव्रताले उक्त ताल फुट्यो र त्यसपछि हिमबाढीको वेग अझ बढेको थियो। त्यसरी बग्ने क्रममा भेलबाढीले करिब तीन मिटर ब्यास भएका ठुल्ठूला ढुंगा पनि बगाएर तटीय क्षेत्रमा पुर्याएको थियो।
भू–उपग्रहको तस्बिर विश्लेषणका आधारमा माथिल्लो हिमतालबाट त्यस दिन १ लाख ५६ हजार घनमिट पानी निकास भएको देखिएको छ। तल्लो तालबाट ३ लाख ३ हजार घनमिटर पानी निकास भएको थियो।
यसले पनि तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्यायो। २७ वटा निजी आवास, थामे आधारभूत विद्यालय, एक स्वास्थ्य चौकी र पुलमा क्षति पुग्यो। एक सय ३५ जना मानिसले थातथलो छाडनुपर्यो।
'नदीको भूगर्भिक र भूआकृतिक विशेषहरू; पाराग्लेसियल, भू–आकृति र साँघुरो उपत्यका र आसपास रहेको सेडिमेन्टले बहाब अत्यधिक तीव्र बनाउन महत्त्वपूर्ण भूमिका खेले,' अध्ययनमा भनिएको छ, 'गाउँको तल्लो खण्डमा भने नदीको गहिरो क्षयीकरण, नदी किनारको भासिने क्रम, पहिरो र सय मिटरभन्दा बढी क्षेत्रमा दरारहरू पैदा भए। त्यसले घर र होटलहरूलाई थप जोखिममा पार्यो।'
विस्फोट भएको माथिल्लो हिमताल अहिले पनि मध्यमदेखि उच्च जोखिममा छ। त्यस हिमतालमाथि चट्टान पुनः खस्न सक्ने जोखिम रहेको श्रेष्ठले बताए।
'किनभने यो हिमनदी नजिक छ र भविष्यमा हिउँपहिरो, चट्टानको पहिरो वा चट्टान खस्ने सम्भावना देखिन्छ,' उनले भने।
त्यस्तै नजिकै रहेको रिन्धी चो अझ बढी जोखिममा भएको देखिएको छ। अध्येताहरूले यो ताललाई प्रतिवेदनमा ग्ल्यासियल लेक– १ नामकरण गरेका छन्।
'यो हिमनदीको सतहमै बनेको हो। यसमा मौसमी उतारचढाव, तापक्रम वृद्धिको असर छिटो पर्न सक्छ। यसको स्पष्ट निकास छैन। मोरेन पनि हिमनदीको बरफमा निर्भर छ,' अध्ययनमा उल्लेख छ।
सँगै रहेको होम्यो चो (ग्ल्यासियल लेक–२) मध्यम जोखिममा छ। विस्फोट भएको तल्लो ङ्गोले चो (ग्ल्यासियल लेक–४) पार्चेमुचे चो (ग्ल्यासियल लेक–३) भने अब कम जोखिममा वर्गीकृत गरिएको छ।
यो अध्ययनले पत्ता लगाएको नयाँ तथ्य भनेको थामे विस्फोटको कारण परम्परागत रूपमा जोखिम मानिने हिउँपहिरो नभइ चट्टानको पहिरो थियो। त्यो पहिरो कसरी खस्यो भन्ने यकिन हुन नसकेको इसिमोडका जोखिम विशेषज्ञ श्रेष्ठले सेतोपाटीलाई बताए।
'त्यहाँको पर्माफ्रोस्ट (हिमोढ) पग्लिएर वा कुनै किसिमको कम्पनले भू–स्खलन भएको पनि हुन सक्छ,' उनले भने, 'त्यसका लागि थप अध्ययन आवश्यक छ।
अहिले भएको अध्ययनले स्थलगत अनुसन्धान टोलीले माथिल्लो ङ्गोले चो तालमाथि हिउँपहिरो आएको कुनै प्रमाण फेला नपरेको स्पष्ट पारेको छ। बरू, ताल फुट्नुको प्राथमिक कारण माथिल्लो ङ्गोले चोको बायाँ भागमा आएको चट्टानको पहिरो थियो भनेको छ।
अध्ययनमा उल्लेख छ— यो चट्टानको पहिरो करिब दुई सय मिटर माथिबाट खसेको थियो। यसले तालको पानीमा शक्तिशाली विस्थापन लहर उत्पन्न गरी तालको बाँधमा क्षय गराएको थियो। यसले देखाउँछ कि सगरमाथा क्षेत्रमा हिमताल विस्फोटका घटनाहरूमा बरफ र हिउँसम्बन्धी विचलन मात्र नभई चट्टानी, पहाडी ढलानबाट आउने ठूला चट्टानका पहिरो पनि प्रमुख कारक हुन सक्छन्।
विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश क्षेत्रका हिमनदीहरूको क्षति (ग्ल्यासियर मास लस) ६५ प्रतिशतले वृद्धि भएको अध्ययनमा उल्लेख छ।
तस्बिर सौजन्यः सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)
हिमनदीहरू तीव्र रूपमा घट्दै जाँदा हिन्दुकुश क्षेत्रमा २५ हजारभन्दा बढी हिमतालहरू बढेका छन्। त्यसमा थामेको शिरमा भएका जस्ता ताल पनि पर्छन्। यसअघि उक्त क्षेत्रका हिमताल जोखिमको सूचीमा होइन, गणनामै थिएनन्।
'सगरमाथा क्षेत्र (दूधकोशी नदीको जलाधार क्षेत्र) को तापक्रम वृद्धिको तथ्यांक फेला पार्न नसकिए पनि यसलाई हिन्दुकुश हिमाल क्षेत्रको व्यापक र तीव्र तापक्रम वृद्धि (०.२८ प्रतिदशकले) प्रभावित क्षेत्रको रूपमा हेरिएको छ। यो तीव्र तापक्रम वृद्धिले हिमनदीहरू पग्लिने दर बढाएको छ। हिमताल विस्फोट जस्ता विनाशकारी घटना निम्त्याउने तालको संख्या र जोखिम बढेको छ,' अध्यनको निचोड छ।