म एक मक्किएको शान भिरेको किसान
मेरो जीवनी भन्नु
मैले जीवन रोपेका ती बीजहरूमा अनि
मैले श्वास भरेका ती पाठा र बाच्छाहरूमा निहित छ
म जीवन रोप्दछु, सपार्छु र स्याहार गर्छु तर
स्वयं मेरो जीवनको जोहोको भर छैन
जीवन जगेर्ना गर्न जानेको छु
जीवन मलजल गर्न मन पराउँछु
जीवन उकास्नु मेरो दैनिकी नै हो तर
स्वयंको जीवन उकासिन नसक्नु विवशता बाँचिरहेछु।
म मेरो शानको सिमाना मिचिएको किसान
मेरो भगवान् भन्नु नै श्रम हो
म पूजा गर्दछु माटोको, कोदालो अनि गाई र गोरुको
म समानता देख्दछु ढिकी, जाँतो, घट्ट अनि मन्दिरमा स्थापित शिलाहरूमा
अनि अवमूल्यन खेप्दछु मेरा श्रमको ती कथित विवेकीहरूबाट
जो हलो कि गाई, रुख कि सूर्य, अनि हथौडा कि घण्टीहरूमै विभाजित छन्।
म मल भर्दछु, जल खन्याउँछु धर्तीमा
अनि रंगाउँछु बेसी र खेतहरूमा हरियाली
तर सादा नै छन् मेरा उमङ्गका रङहरू
मेरो पसिनाको मूल्यले मेरो सपनाको ऋण उतार्दैनन्
कमाउँछु त म एक भारी थकान, एक मुरी अनिश्चितता
तर म बढी नै रहनेछु अघि
एक थोपा पसिनाले एक कण धर्ती सिञ्चित पार्दै
एक मुठी आशा बोकी प्राण रूपी अन्न फलाउँदै
एक निश्चल थोपा बनी धमिलो समाज संग्ल्याउन
किनकि मुरी फलाउने सुरुवात म एक मानाबाटै गर्छु
म हुँ एक किसान।