आजकल मैले छोराको होमवर्क गराउँदा बारम्बार गुगल सर्च गर्नुपर्ने हुन्छ। कस्तो अचम्म लाग्छ, कहिलेकाहीँ छोरोले सोधेका प्रश्न मलाई पनि थाहा हुँदैन। म आफ्नो स्कुल जीवन सम्झन्छु, जहाँ न त यस्तो जटिल पाठ्यक्रम थियो, न त घरमा पढाइमा साथ दिने कोही हुन्थे। अनि लाग्छ बच्चाको पढाइको आधार त सानैमा तय गर्नुपर्दोरहेछ।
म बाल्यकालमा गाउँको सानो प्राथमिक विद्यालयमा पढ्थेँ। घरदेखि स्कुल धेरै टाढा थिएन, यही सहजताको कारण आमाबाबुले मलाई त्यही स्कुलमा भर्ना गरिदिनुभयो। केटाकेटी हिँड्न सक्दैनन् भनेर टाढाको हाइस्कुलमा पढाउन कोही चाहँदैनथे, स्कुल गए पुग्छ! भन्ने सोच प्रचलित थियो। पढाइको स्तर, शिक्षण पद्धति, सिकाइको प्रभाव यी सबै कुराले खासै मतलब राख्दैनथे।
हामीजस्तो सामान्य परिवारमा शिक्षाको मतलब थियो बच्चा स्कुल गयो कि गएन। किताब किनिदिएपछि अभिभावकको जिम्मेवारी सकिन्थ्यो। स्कुल गएपछि पढ्या त होला नि! भन्ने सोच प्रबल थियो। न त बच्चाले पढेको हेर्ने चलन थियो, न त होमवर्क गरेको जाँच्ने।
पढाइमा बालबालिकाको रूचिले कति ठूलो भूमिका खेल्छ भन्ने कुरा मैले आफ्नै अनुभवबाट बुझेको छु। म सानो छँदा हाम्रो घरमा बच्चाले के पढ्यो? भन्ने कुराभन्दा पनि किताब हेर्यो कि हेरेन? भन्ने चासो बढी हुन्थ्यो। पाठ्यपुस्तक पढेको जस्तो देखिनु नै पर्याप्त मानिन्थ्यो।
तर मलाई भने आफ्नै कक्षाको किताबभन्दा पनि दाइहरूका ठूलो कक्षाका नेपाली किताबहरूमा भएको कथा धेरै रमाइला लाग्थे। विद्यालयको पाठ्यपुस्तकभन्दा बाहिरका ती कथाले मलाई आकर्षण जगाए।
त्यसैको परिणाम होला- म अरू विषयहरूमा खासै अब्बल हुन सकिनँ, तर नेपालीमा भने केही फरक भएँ। दाइहरूको किताबमा भेटिएका ती कथा, अनि आफूले रमाएर पढेका पानाहरूले मलाई नेपाली विषयसँग अलि फरक किसिमको सम्बन्ध गाँसिदिए।
आज म छोराले लेखेको प्रत्येक शब्द ध्यानपूर्वक पढ्छु। उसले के बुझ्यो, के लेख्यो, शिक्षकले के सुधार गरे, कोर्समा के छ, यी सब कुरा नियालेर हेर्छु। किनभने मलाई थाहा छ- सानो उमेरमा बनाइने आधार नै उसले जिन्दगीभर टेक्ने धरातल हो।
म पढ्दा हाम्रो स्कुलमा शिक्षाको अवस्था पनि खासै प्रेरणादायी थिएन। एकै शिक्षकले सबै विषय पढाउनुहुन्थ्यो- गणित, नेपाली, अंग्रेजी सबै। उहाँ पनि सधैं पढाउने मूडमा रहनुहुन्थेन। क्लासवर्क वा होमवर्क देखायो कि देखाएन, खास फरक पर्दैनथ्यो। कापीमा जे लेखे पनि सही ठप्पा लगाइदिनुहुन्थ्यो, हामी त्यसैमा रमाउँथ्यौं।
त्यसैले त अहिले सम्झँदा लाग्छ- हाम्रो त धरातल नै बिग्रेको रहेछ। साथीहरूमध्ये केही विलक्षण प्रतिभा भएका बाहेक अधिकांशले पढाइबाट प्रगति गरेनन्। कसैले पढाइमै रूचि गुमाए, कसैले अवसर गुमाए।
अब समय फेरिएको छ। स्कुलमा अभिभावक मिटिङ हुन्छ, साप्ताहिक प्रगति रिपोर्ट आउँछ। अनलाइन पोर्टलबाट बच्चाको सिकाइ स्थिति हेर्न पाइन्छ। होमवर्क, प्रोजेक्ट, कक्षा मूल्यांकन सबै पारदर्शी भएका छन्। तर अर्कोतर्फ प्रतिस्पर्धा पनि उत्तिकै तीव्र भएको छ।
बच्चाले सामान्य गल्ती गर्यो भने पनि शिक्षकले अभिभावकलाई खबर गर्छन्। कतिपयले त गुनासो गर्छन्- 'अहिलेको स्कुलले बच्चालाई धेरै मानसिक दबाब दिन्छन्।' तर म भने यसलाई सकारात्मक रूपमा हेर्छु। किनकि जब सिकाइमा गम्भीरता आउँछ, तब मात्रै सुधार सम्भव हुन्छ। मैले बच्चाको किताब हेर्दा कहिलेकाहीँ आफैसँग प्रश्न गर्ने गर्छु- 'यति सामान्य कुरा पनि मलाई थाहा रहेनछ?'
एउटा रमाइलो प्रसंग पनि सम्झिन्छु-
एकदिन नर्सरीमा पढ्ने मेरो छोराले भन्यो, 'बाबा, ग्ल्याप्स ल्याइदिनुस् है।'
म अलमलमा परेँ- के भनेको? भनेर सोधेँ।
उसले फेरि भन्यो- 'अंगुल के अंगुल...'
पछि थाहा पाएँ- उसले तोते बोलीमा 'ग्ल्याप्स' भनेर grapes अर्थात् अंगुर भनेको रहेछ! त्यो क्षणमा हाँसो लाग्यो र आफैलाई अलि लाज पनि लाग्यो।
अहिले मेरो छोराले कुनै कुरा बुझ्दैन भने झर्किने सोच ममा छैन। म उसलाई फेरि सिकाउन प्रयास गर्छु। कहिलेकाहीँ थाहा नभएको कुरा गुगल गर्छु, युट्युब भिडिओ हेर्छु, अनि उसलाई बुझाउँछु। उसले मसँग कुरा गर्न सहज महसुस गरोस् भन्ने चाहन्छु। किनकि मलाई थाहा छ, बचपनमा त्यस्तो वातावरण मैले पाइनँ।
म विश्वास गर्छु- शिक्षाको असली सुरूआत घरबाट हुन्छ। स्कुलले आधार दिन्छ, तर त्यो आधार बलियो बनाउन अभिभावकको भूमिकाले निर्णायक असर पार्छ। हाम्रो पुस्ता त्यो आधारबाट बञ्चित रह्यौं, तर अबका पुस्ता रहनु हुँदैन।
त्यसैले, अब हामी सबै सचेत बन्नुपर्छ। बच्चाको पढाइको सुरूआत सानैमा गम्भीरतापूर्वक गरौँ। शिक्षक र अभिभावक दुबै मिलेर बालबालिकाको भविष्य निर्माण गरौँ। हामीले भोगेका कमजोरी दोहोरिन नदिन सक्यौं भने यही हाम्रो सच्चा योगदान हुनेछ।