अहिलेका छोराछोरीलाई 'घर' वा 'खेल्ने ठाउँ' भन्यो भने उनीहरू सिमेन्टका चार पर्खाल, चिसो एयर कन्डिसन र उच्च गतिको वाइफाई सिग्नल आउने एउटा बन्द कोठा बुझ्छन्। उनीहरूको संसार एउटा स्क्रिनमा सुरु हुन्छ र त्यहीँ टुङ्गिन्छ। तर हाम्रो पालामा घर मात्र होइन, हाम्रो संसार नै अर्कै थियो।
मलाई आज पनि झल्झली याद आउँछ हाम्रो गाउँको घर नजिकैको त्यो ठुलो जङ्गल र त्यहाँको ‘ढाडबारी’ भन्ने एउटा विशेष ठाउँ। दुई गाउँको बीचमा रहेको त्यो ठाउँमा एउटा विशाल ढुङ्गा थियो र त्यसको छेवैमा एउटा ठुलो दूधिलोको रूख। त्यो ढुङ्गा र रूखको ओत हाम्रो लागि कुनै आधुनिक बङ्गलाभन्दा कम थिएन। त्यहाँ बार्दली, छत, भान्सा र सुत्ने कोठा सबै प्राकृतिक रूपमै छुट्टिएका थिए। स्कुलबाट फर्केपछि ओल्लो गाउँ र पल्लो गाउँका झन्डै १५ देखि १७ जना साथीहरू त्यहीँ भेला हुन्थ्यौँ। हाम्रो त्यो ओडार कुनै महँगो क्लब वा गेमिङ जोनभन्दा हजारौँ गुणा भव्य र जीवन्त थियो।
त्यो ढाडबारीको ओडारभित्र हाम्रो एउटा छुट्टै समानान्तर संसार चल्थ्यो। हामी कहिले ठुलो संयुक्त परिवार बन्थ्यौँ त कहिले एउटा सिङ्गो समाज। त्यहाँ उमेर र क्षमताअनुसार कामको बाँडफाँट निकै वैज्ञानिक ढङ्गले हुन्थ्यो। सिनियर साथीहरू हजुरबा-हजुरआमा र आमा-बुबा बन्थे भने हामी क्रमशः काका-काकी, फुपू, दाइ-भाउजू र छोराछोरीको भूमिकामा हुन्थ्यौँ। भान्सा सम्हाल्नेहरूले माटो र ढुङ्गाका भाँडाकुँडालाई कलात्मक डिजाइन दिन्थे भने पातहरूलाई गाँसेर कचौरा र प्लेट बनाउँथे। जङ्गलमा पाइने चुत्रो, नेवारो, बर-पिपलको दाना, ऐँसेलु, घँगारु, कटुस, मेहेल, आल्चा र नास्पातीजस्ता मौसमी फलफूल नै हाम्रा अर्ग्यानिक खाजा हुन्थे। अझ रमाइलो त, हामीले घरबाट लगेको खाजा पनि जोगाएर एउटा सामूहिक भण्डारमा राख्ने गर्थ्यौँ। त्यो सामूहिक भण्डारले हामीलाई 'साझा सम्पत्ति' र 'भविष्यको योजना' को पहिलो पाठ सिकाएको थियो।
हाम्रो त्यो खेलभित्र एउटा व्यवस्थित आर्थिक र शैक्षिक प्रणाली पनि चल्थ्यो। बिरुवाको पातको साइज र रङ हेरेर त्यसको मूल्य तोकिन्थ्यो र त्यसलाई पैसाको रूपमा प्रयोग गरिन्थ्यो। फाइनान्स सम्हाल्ने साथीले निकै सावधानीपूर्वक हिसाब राख्ने गर्थे। काठको एउटा खुत्रुके बनाएर हामीले आफूसँग भएका १ पैसा, ५ पैसा र २५ पैसा जस्ता वास्तविक सिक्काहरू जम्मा गरेर माटोमुनि गाडेर राखेका थियौँ। कोही शिक्षक बनेर माटोमै अक्षर कोर्दै पढाउँथे त कोही कृषि विज्ञ बनेर खेतीपातीका तरिका सिकाउँथे। विवाह, व्रतबन्ध र जन्म-मरणजस्ता सामाजिक परम्पराहरूलाई हामीले अभिनयमार्फत जस्ताको तस्तै उतार्ने गर्थ्यौँ। कहिले हामी एउटा शान्त छिमेकी हुन्थ्यौँ त कहिले अन्तर्राष्ट्रिय सीमा छुट्ट्याएर अर्कै देशको भूमिकामा हुन्थ्यौँ। यसरी हामीले खेल्दाखेल्दै कूटनीति र सामाजिक सम्बन्धको जग बसालेका थियौँ।
हाम्रो त्यो सानो समूह बिस्तारै हुर्कँदै गयो। जब हामी ५-६ कक्षामा पुग्यौँ र हाम्रा अग्रज साथीहरू ९-१० कक्षामा पुगे, तब हामीले वर्षौँदेखि माटोमुनि गाडेर राखेको त्यो खुत्रुके निकाल्ने निर्णय गर्यौँ। माटोमुनिबाट निकालिएको त्यो पैसाको रास देख्दा हामी आफैँ छक्क पर्यौँ। हामी सबै मिलेर छलफल गर्यौँ र त्यो पैसाले एउटा ‘बाल क्लब’ स्थापना गर्ने निधो गर्यौँ। एउटा केटा र एउटा केटीलाई नेतृत्व सुम्पिएर हामीले थप रकम समेत संकलन गर्यौँ र बाँस, खर र चित्रो प्रयोग गरी आफ्नै भवन निर्माण गर्यौँ। आफ्नै ढङ्गले, आफ्नै विकासका लागि स्थापना गरिएको त्यो सानो संस्थाले हामीलाई जुन पाठ सिकायो, त्यो आजका कुनै पनि महँगा पाठ्यपुस्तकमा भेटिँदैन। नेतृत्व, व्यवस्थापन, समन्वय र द्वन्द्व समाधान जस्ता जटिल विषयहरू त त्यही बेला खेलकै क्रममा हाम्रा रगतमा भिजिसकेका रहेछन्।
तर आजको परिस्थिति हेर्दा परिस्थिति निकै जटिल र फरक देखिन्छ। अहिलेका बच्चाहरूको संसार एउटा कोठाको मोबाइल वा ल्यापटप स्क्रिनमा खुम्चिएको छ। कामका लागि व्यस्त अभिभावकले बच्चालाई शान्त राख्न सजिलो विकल्पको रूपमा ग्याजेट थमाइदिँदा उनीहरूमा सिर्जनशीलता र सामाजिक संवेदना हराउँदै गएको छ। एउटा कोठाबाट अर्कोमा जाँदा पनि गाली खानुपर्ने डरले उनीहरूमा विद्रोह र एकोहोरिने बानी बढेको छ। यो डिजिटल युगको एउटा तितो यथार्थ हो जहाँ सूचनाको बाढी त छ तर वास्तविक अनुभवको खडेरी छ। प्रविधिले गर्दा बच्चाहरू शारीरिक रूपमा निष्क्रिय र मानसिक रूपमा एकोहोरो बन्दै गइरहेका छन्। उनीहरू 'भर्चुअल' संसारमा हजारौँ साथीहरूसँग जोडिएका छन्, तर घरकै मान्छेसँग बोल्न उनीहरूलाई सकस हुन्छ।
यो परिवर्तनले ल्याएको मुख्य जटिलता भनेकै 'इम्प्याथी' अर्थात् अरूको भावना बुझ्ने क्षमताको कमी हो। जब बच्चाले माटोमा खेल्दैन, उसले प्रकृतिको कठोरता र कोमलता बुझ्दैन। जब उसले समूहमा अभिनय गर्दैन, उसले अरूको भूमिका र दुःख महसुस गर्न सक्दैन। आजको पुस्तामा झट्ट रिस उठ्ने, धैर्यता नहुने र हार स्वीकार्न नसक्ने प्रवृत्ति देखिनुको मुख्य कारण उनीहरूले ढाडबारीको ओडारमा जस्तो जीवनको वास्तविक अभ्यास गर्न पाएका छैनन्। कामकाजी आमाबुबाको व्यस्तताले गर्दा बच्चाहरूले पर्याप्त समय पाउँदैनन्, जसले गर्दा उनीहरूमा एक प्रकारको रित्तोपन छ। त्यो रित्तोपनलाई भर्न उनीहरू डिजिटल संसारमा हराउँछन्। हामीले उनीहरूलाई गाली गरेर वा कुटेर अनुशासित बनाउन खोज्छौँ, तर वास्तवमा हामीले उनीहरूको त्यो प्राकृतिक जिज्ञासा र चकचकलाई नै दबाउन खोजिरहेका हुन्छौँ।
आजका बच्चाले स्क्रिनमा सबै कुरा देख्छन्, तर केही पनि अनुभव गर्दैनन्। उनीहरूले परम्परा र संस्कारका भिडियो त हेर्छन् तर वास्तविकतामा छिमेकीसँग बोल्न डराउँछन्। प्रविधिले बच्चाहरूलाई सूचनाको हिसाबले निकै स्मार्ट बनाएको छ, यो सकारात्मक पक्ष हो। तर यो स्मार्टनेसलाई सही दिशा दिन सामाजिक संस्कार र सामूहिक भावनाको खाँचो छ। यदि हामीले उनीहरूको डिजिटल ज्ञानलाई हाम्रो पालाको जस्तो सामाजिक व्यावहारिक ज्ञानसँग जोड्न सकेनौँ भने उनीहरू भविष्यमा भावनात्मक रूपमा निकै कमजोर हुनेछन्। आजको आवश्यकता भनेकै प्रविधि र प्रकृतिबीचको सन्तुलन हो। उनीहरूलाई मोबाइलको स्क्रिनबाट बाहिर निकालेर माटो, रुख र साथीहरूसँग खेल्ने वातावरण बनाइदिनुपर्छ।
निष्कर्षमा, ढाडबारीको त्यो ओडार एउटा ठाउँ मात्र थिएन, त्यो एउटा पाठशाला थियो। हामीले त्यहाँ जीवन बाँच्न मात्र होइन, जीवन निर्माण गर्न सिक्यौँ। आजका अभिभावकले पनि आफ्ना बच्चाहरूलाई त्यस्तै कुनै खुल्ला ठाउँ र 'असंरचित समय' दिन जरुरी छ। गाली र कुटाइले होइन, माया, समय र वास्तविक अनुभवले मात्र उनीहरूको खुम्चिएको बालपनलाई पुनः फक्र्याउन सकिन्छ।
डिजिटल रूपमा स्मार्ट र भावनात्मक रूपमा परिपक्व पुस्ता निर्माण गर्ने जिम्मा अब हाम्रै काँधमा छ। हामीले छोडिदिएको ढाडबारीको ओडारको त्यो सामूहिक भावनालाई नयाँ स्वरूपमा ब्युँताएर मात्र हामीले एउटा भावनात्मक रूपमा परिपक्व र सामाजिक रूपमा जिम्मेवार पुस्ता निर्माण गर्न सक्छौँ। प्रविधिलाई साथी बनाएर सामाजिक संस्कारको जगमा उभिन सिकाउनु नै आजको वास्तविक उपलब्धि हुनेछ।