गर्मीको चर्को घाममा एक टुक्रा चिसो तरबुजा मुखमा हाल्नेबित्तिकै आउने ताजगी सायद त्यसको विकल्प अरू कुनै फलमा भेटिँदैन। हरियो बाहिरी आवरणभित्र रातो रसिलो संसार बोकेको तरबुजा केवल स्वादका लागि मात्र होइन, स्वास्थ्यका लागि पनि अत्यन्त उपयोगी फल हो।
तरबुजा ‘कुकुर्बिटेसी’ परिवारअन्तर्गत पर्ने फल हो, जसको वैज्ञानिक नाम सिट्रुलस लेनटुस हो। यसको उत्पत्ति अफ्रिकाबाट भएको मानिन्छ भने आज विश्वमै यसको सबैभन्दा ठुलो उत्पादक देश चीन हो, जहाँ करिब ६० प्रतिशत उत्पादन केन्द्रित छ।
नेपालमा पनि तरबुजा खेती क्रमशः लोकप्रिय बन्दै गएको छ। छोटो समयमा राम्रो आम्दानी दिन सक्ने बालीका रूपमा यसलाई लिइन्छ। पानी नजम्ने बलौटे दोमट माटो यसको लागि उपयुक्त हुन्छ। बालीको अवधि सामान्यतया ७५–९० दिनको हुन्छ, जसले यसलाई छोटो अवधिमा आम्दानी दिने बाली बनाउँछ। २५–३५°C तापक्रम र प्रशस्त घाम यसको वृद्धि र मिठास (सुगर एकुमुलेसन) का लागि आवश्यक हुन्छ।
विशेषगरी तराईका जिल्लाहरूमा पुस–माघदेखि यसको खेती सुरु गरिन्छ। दाङ, बर्दिया, कैलाली, धनुषा, सिराहा र महोत्तरी जिल्लाहरू तरबुजा उत्पादनका प्रमुख क्षेत्र हुन्। पछिल्ला वर्षहरूमा चितवन, नुवाकोटजस्ता मध्य पहाडी जिल्लामा पनि प्लास्टिक मल्च र टनेल प्रविधिबाट यसको खेती विस्तार हुँदै गएको छ। सरस्वती, आहाना, रातोलाली, आरोही, लक्ष्मी ७४७ जस्ता जातहरू नेपालमा प्रचलित छन्।
पोषणको दृष्टिले हेर्दा तरबुजामा करिब ९०–९२ प्रतिशत पानी हुन्छ, जसले शरीरलाई हाइड्रेट राख्न महत्त्वपूर्ण भूमिका खेल्छ। गर्मी मौसममा शरीरमा पानीको कमी हुन नदिन यसको नियमित सेवन लाभदायक हुन्छ। यसमा भिटामिन ए (बेटा-क्यारोटिन), सी र बी६ पाइन्छन्, जसले क्रमशः आँखाको स्वास्थ्य सुधार, रोग प्रतिरोधात्मक क्षमता वृद्धि र मस्तिष्कको कार्यक्षमता सुदृढ बनाउन मद्दत गर्छन्। साथै, ‘सिट्रुलिन’ नामक अमिनो एसिड पनि पाइन्छ, जसले रक्तसञ्चार सुधार गर्न र मांसपेशीको थकान कम गर्न सहयोग पुर्याउँछ।
तरबुजामा पाइने ‘लाइकोपिन’ नामक शक्तिशाली एन्टिअक्सिडेन्टले मुटु रोग तथा केही प्रकारका क्यान्सरको जोखिम घटाउन सहयोग पुर्याउँछ। साथै, यसले छालालाई स्वस्थ र चम्किलो बनाउन पनि मद्दत गर्दछ।
धेरैजसोले बेवास्ता गर्ने तरबुजाको बियाँ पनि पोषणले भरिपूर्ण हुन्छ। बियाँ भएको (सिडेड) तरबुजामा बियाँ नभएकोमा भन्दा बढी पोषण पाइन्छ। बियाँमा म्याग्नेसियम, आइरन तथा मोनोस्याचुरेटेड र पोलिस्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ, जुन मुटुको स्वास्थ्यका लागि लाभदायक हुन्छ। अमेरिकन हर्ट एसोसिएसन (एएचए) का अनुसार यस्ता पोषक तत्त्वहरूले हार्ट अट्याक र स्ट्रोकको जोखिम कम गर्न सहयोग पुर्याउन सक्छन्।
यसमा केही मात्रामा फाइबर पनि पाइने भएकाले पाचन प्रणालीलाई सुधार गर्न मद्दत गर्छ। सामान्यतया गर्मी मौसममा एक व्यक्तिले दैनिक ३०० देखि ५०० ग्रामसम्म तरबुजा सेवन गर्नु उपयुक्त मानिन्छ।
तरबुजा खेतीमा केही रोग र कीराहरूले उत्पादनमा असर पार्न सक्छन्। विशेषगरी फ्युजेरियम विल्ट, डाउनी मिल्ड्यु र पाउडरी मिल्ड्यु प्रमुख रोगहरू हुन्। यस्ता रोगबाट बच्न रोगप्रतिरोधी जात छनोट, बाली चक्र अपनाउने र खेत सफा राख्ने उपायहरू प्रभावकारी हुन्छन्।
कीरातर्फ एफिड, थ्रिप्स, रातो खपटे र औँसा प्रमुख समस्या हुन्। जैविक उपायहरू जस्तै नीम आधारित विषादी प्रयोग, ट्र्याप राख्ने र समयमै निगरानी गर्ने प्रभावकारी मानिन्छन्। बाँदरले फल खाने र मुसाले लहरा काटिदिने समस्या पनि किसानले भोग्नु परेको छ। नेपालमा अहिले विषादी कम प्रयोग गरी एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) विधिबाट खेती गर्ने पद्धतिको विकास हुँदैछ। यस विधिबाट खेती गर्दा विषादीको प्रयोग कम हुने भएकाले विषादीरहित अर्गानिक तरबुजाको उत्पादन हुन्छ। रोग र किराले धेरै क्षति गरेको खण्डमा हरियो लोगो भएको कीटनाशक सावधानीपूर्वक प्रयोग गर्नुपर्छ।
तरबुजा केवल खेतसम्म सीमित बाली होइन, यसको भ्यालु चेन पनि महत्त्वपूर्ण छ। उत्पादनपछि संकलन, ग्रेडिङ, प्याकेजिङ र बजारसम्म पुर्याउने प्रक्रियाले यसको मूल्य निर्धारण गर्छ। नेपालमा तरबुजा मुख्यतया ताजा फलका रूपमा उपभोग गरिन्छ तर यसबाट जुस, सलाद र डेजर्टजस्ता मूल्य अभिवृद्धि (भ्यालु याडेड) उत्पादनहरू बनाउन सकिन्छ।
सही भण्डारण र ढुवानी व्यवस्थापनले किसानलाई राम्रो मूल्य दिलाउन मद्दत गर्छ। बजारमा माग बढ्दो भएकाले तरबुजा खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने राम्रो सम्भावना देखिन्छ।
तरबुजा केवल गर्मीमा खाने स्वादिलो फल मात्र नभई स्वास्थ्य, पोषण र आम्दानीको उत्कृष्ट स्रोत हो। उचित खेती प्रविधि, रोग व्यवस्थापन र बजार व्यवस्थापन अपनाउन सके यो बाली किसानका लागि लाभदायक विकल्प बन्न सक्छ। त्यसैले, यस गर्मीमा तरबुजालाई आफ्नो आहारमा समावेश गर्नुका साथै यसको व्यावसायिक सम्भावनालाई पनि बुझ्न आवश्यक छ।
(लेखक कृषि तथा वनविज्ञान विश्वविद्यालयमा बिएस्सी एजी आठौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन्। हाल उनी नुवाकोटस्थित बागवानी विकास केन्द्रमा तरबुजामा अनुसन्धानरत छन्।)