‘यो वर्ष हाम्रो समय मिलेन, तपाईँ जाजरकोट डोल्पा गएर शैक्षिक सामग्री वितरण गरेर फर्कनुस्’ भनेर नगर प्रमुख मिठाराम अधिकारीले अन्तरपालिका शैक्षिक सहकार्य कार्यक्रमको कार्यान्वयनमा गहन चासो राखेपछि प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला सरसँग मैले सल्लाह गरेँ। उहाँले समेत ‘हिँडिहाल्नुस्। लगन पछिको पोते के काम? शैक्षिक सत्र प्रारम्भ भएपछि शैक्षिक क्यालेन्डर र विद्यार्थी शिक्षक डायरीको खासै प्रयोजन हुँदैन’ भनेर थप चासो दिनु भयो। त्यसपछि अधिकृत मित्र सुरेश चौलागाईं र म जाजरकोटतिर आकस्मिक रूपमा हानियौँ।
काठमाडौंबाट नेपालगञ्जको सस्तो टिकट नमिलेपछि केही घण्टा तनाव हुन गयो। बेलुकीपख एक्कासि इकोनोमी क्लास टिकट आयो। हतारमा बुक गरेर भोलि बिहानको तयारीतिर लागेँ। झोला प्याक गरेँ। त्यो बेलुका भोलि बिहान समयमै उठ्न नसकिए प्लेन छुट्ने डर मनमा आइरह्यो।
अर्कोतिर यही १४ गतेदेखि सानो छोरोको १२ को बोर्ड परीक्षाको चिन्ताले पनि सताउन थाल्यो। किनकि छोरो परीक्षाकै एक हप्ता अघिको समयलाई भर गरेर फिटिक्कै पढेको थिएन। बाबाआमालाई त्यही एक हप्ताको समय पढेर १२ पास राम्ररी गर्छु भन्दै वर्षका बाँकी समय खेलेर गुजारेको अवस्था थियो। यद्यपि परीक्षाको ७ दिन अघिसम्म पनि उसको पढाइ सुरु हुन सकेको थिएन। आफू त्यही क्रिटिकल समयमा बाहिर जाँदा त्यही समय पनि नपढिदिएर बितायो भने उसको १२ कक्षा के होला भन्ने चिन्ताले मलाई खुब सताइरह्यो।
वास्तवमा हरेक बाबाआमाका लागि छोराछोरीको पढाइभन्दा ठुलो कुरा केही लाग्दो रहेनछ। उनीहरू राम्ररी पढिदिए भएभरका दु:ख भुल्न सकिने। नपढिदिए भएभरका विगतका दु:खको पुनरावृत्ति भइदिने र अघिको आशाको किरण पनि बादलभित्र हराएर गएजस्तो हुँदो रहेछ। आज फेरि यो समयमा सानो छोरोको पढाइको चिन्ताले निदाउन सकिरहेको थिइनँ। आफैँलाई पनि लागिरहेको थियो कि म आज फेरि आफ्नो ड्युटी र घर-व्यवहार बिचको सन्तुलनलाई फेरि खलबल्याउँदै छु भन्ने।
हुन त मैले आजपर्यन्त घरव्यवहारको समस्या र चुनौतीभन्दा आफ्नो जागिरसँग सम्बन्धित समस्या र चुनौतीलाई प्राथमिकतामा राखेर काम गरेजस्तो लाग्छ। जागिरको यो अवधिसम्म आउँदा मैले आफ्ना र परिवारका खुसी र सुखका लागि प्राय: उदासीनता देखाइरहेँ भन्दा हुन्छ।
विभिन्न चासो र चिन्ताहरू मस्तिष्कभरि उलरीबिलरी गर्दै आइरहेकाले अलि अबेर निदाए पनि बिहान साढे चारमै उठ्ने बानीले जित्यो त्यो बिहान पनि। अनि एकाबिहानै उठेर एयरपोर्ट जाने तयारीमा लागेँ। हतारमा पठाओ बुक गरेर एयरपोर्ट पुगेँ। प्लेन डिले रहेनछ। अलिकति मात्र ढिला गरेको भए प्लेन नै छुट्ने रहेछ। धन्न छुटेन। खुसी लाग्यो।
प्लेनबाट नेपालगञ्जतर्फ अघि बढ्दै गर्दा पोहोरको वर्ष यही अन्तरपालिका शैक्षिक सहकार्यका लागि जाजरकोट हुँदै डोल्पासम्म जाँदाआउँदाको परिदृश्य स्मृतिपटलमा खुब नाचिरह्यो। त्यो समय नगरप्रमुख र उपप्रमुख सँगै हुँदा म आफैँलाई यात्राको कुनै भार भएजस्तो लागेको थिएन। बिन्दास रूपमा यात्रामा थिएँ। तर यतिखेरको यात्रा चुनौतीपूर्ण महसुस भइरहेको थियो। किनकि पालिकासम्मै पुगेर सरोकारवालाहरूसँग अन्तरक्रिया गर्ने, गत वर्षको समीक्षा गर्ने, यस चालु शैक्षिक वर्षलाई कसरी विद्यार्थी र अभिभावक मात्र नभएर शिक्षकको कोणबाट समेत उपलब्धिमूलक बनाउने र सहकार्यलाई कसरी प्रभावकारी बनाउने जस्ता एजेन्डाहरूमा अन्तरक्रिया चलाउनु थियो। छलफल गराउनु थियो। आफ्ना अनुभव सुनाउनु थियो। उताका अनुभव सुन्नु थियो र अन्तत: सहकार्यमार्फत शैक्षिक सुधारको प्रस्थान बिन्दु पहिल्याउनु थियो। यसको लागि पालिका पालिकामा प्रधानाध्यापकको भेला गर्नु पनि थियो।
उक्त कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुखहरूको उपस्थिति सुनिश्चित गराउनु थियो। अन्तरपालिका शैक्षिक सहकार्य कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाले राखेको पवित्र र कल्याणकारी भावनालाई जरैसम्म पुर्याउन थप प्रयत्न गर्नु थियो। यी सबै कार्यका लागि निकै ठुलो समयको जरुरत थियो तर फेरि पनि हामीसँग थोरै मात्र समय थियो।
पालिकाहरूका मुकामसम्म पुग्न एकातिर सडक सुविधा थिएन। अर्कोतिर आफ्नै गाडी नभएकाले गाडीको प्रबन्ध गर्न समेत कठिन थियो। सामानसहितको गाडीले कहाँनेरको कच्ची बाटो पार गर्न नसकेर अलपत्र पारिदिने हो भन्ने चिन्ता र डर उस्तै थियो। यस्तै चुनौतीका चाङहरूले दिमागमा ओहोरदोहोर गरिरहँदा नेपालगञ्जसम्मको एक घण्टाको प्लेन यात्रा सुरु भएको र सकिएकोसम्म भेउ नपाई नेपालगञ्ज एयरपोर्ट अवतरण भएछु।
यसरी प्लेन यात्रा गन्तव्यमा पुगेको पत्तै पो पाएन। एक्कासि अब हामी नेपालगञ्ज एयरपोर्टमा केही बेरमा अवतरण गर्दैछौँ। नेपालगञ्जको औसत तापक्रम ३७ डिग्री सेल्सियस रहेको छ भन्ने ककपिटको आवाजले झसङ्ग भएँ र नेपालगञ्ज सफल रूपमा अवतरण भएकोमा खुसीको पनि अनुभूति हुन गयो।
नेपालगञ्ज अवतरण गर्नबित्तिकै संयोगले मानबहादुर बिसी दाइले फोन गर्नुभयो- ‘म नेपालगञ्जमै छु, सँगै जाऔँ।’ उहाँको फोन कलले यात्रामा अलिकति भए पनि खुसीको महसुस हुन गयो।
खाना खाइवरी १२–१ बजेतिर धैयाँका लागि प्रस्थान गर्यौँ। दशकौँ हिँडेको बाटो उही भए पनि चिसापानीदेखि चङ्खिलसम्मको यात्रामा अलिक नयाँ अनुभूति हुन गयो। त्यो भूगोलभरि डढेलोले नजलेको एक बित्ता जंगल पनि भेट्न सकिरहेको थिएन। खग्रङ्ग थियो जंगल। शुष्क थियो हावा। कतै चरीबरीको आवाज पनि सुन्न सकिएन। कतै देखिएनन् घोरल, रतुवा मृगहरू त्यो यात्रामा भेटिने जंगल क्षेत्रभरि। सायद डढेलोले उनीहरूलाई कि सिध्यायो होला? कि उनीहरू ज्यान बचाउन भागे होलान्? यो डढेलोले बाटोमा भेटिने बबईदेखि सल्यान, सुर्खेत र जाजरकोटसम्मका जंगलमा एकछत्र राज गरिरहेछ जस्तो लाग्थ्यो। डढेलोको यो राजले हुन सक्छ लाखौँ पन्छी र वन्यजन्तुको बास उजाडिएको हुनुपर्छ। पर्यावरण त कार्बनमय भएको थियो नै।
जाजरकोटसम्मै पुगिरहँदा एउटा प्रश्नले मलाई निकै खेदिरह्यो कि किन उहिलेदेखि अहिलेसम्म यसरी डढेलो हरेक चैत/वैशाख महिनामा अवश्यम्भावी बनेर आइरहन्छ र मासिरहन्छ वनसम्पदा? बिचल्लीमा पारिन्छन् लाखौँ प्राणीको आश्रयस्थल? यो विनाशकारी डढेलो नियन्त्रण गर्ने जिम्मेवारी लिने राज्यको निकाय कुनै नभएकै हो? यदि छ भने किन यो गहन जिम्मेवारी पूरा गर्न उदासीनता देखाइएको छ? यत्रा स्थानीय सरकारहरूको चासो र चिन्ताको विषय डढेलो नियन्त्रण हुनु पर्दथ्यो? किन हुन सकिरहेको छैन? यति बिघ्न संख्यामा रहेका स्थानीय तहदेखि प्रदेश र संघसम्मका जनप्रतिनिधिले मेरो कार्यकालभरिमा मेरो निर्वाचन क्षेत्रको जंगलमा डढेलो लाग्न दिने छैन भन्ने प्रण गरेर प्रतिबद्धता र उच्च इच्छाशक्तिका साथ काम गर्ने हो भने यो नाथे डढेलो कसरी लागिरहन सक्छ? मनमा यस्तै प्रश्नहरूको बाढी नै आइरह्यो। यी प्रश्नहरूले मन र मुटु नै भतभती पोलिरहे पनि।
डढेलो सल्किएर वन दनदनी जलिरहेको दृश्य नियालिरहँदा मलाई मेरो गाउँ गोविन्देवर तिरको ढुंगी फाल्न, ठाडी भीरतिर पनि यसरी नै आगो लागिरहेको होला भन्ने लागिरह्यो। साथै म आफैँ पनि सानो छँदा र युवा अवस्थामा गाउँमा रहिरहँदा अमुक वर्षको चैत/वैशाखमा आफ्नो गाउँ नजिकको जंगलमा आगो लाग्न नदिन गर्ने गरेका अनेकन जुक्तिहरू पनि सम्झिरहेँ। कथमकदाचित आगो लागिहाले सबै गाउँलेले स्याउला लिएर निभाउन कोसिस गरेको दृश्यांकन समेत पुनरावृत्ति भई नै रह्यो मेरो मानसपटलमा।
त्यतिखेर हामी सल्ली पिरोलको व्यवस्थापन समयमै गराएर डढेलोको जोखिम कम गर्ने जुक्ति निकाल्थ्यौँ। तर अहिले खासै यस प्रकारको चासो र चिन्ता राख्ने युवा पुस्ता गाउँमा नभएको हो कि जस्तो लागिरह्यो। किन यो अवस्था आइलाग्यो? किन अलिअलि भएको जंगल पनि डढेलोको आक्रमणमा सिद्धिरहने अवस्था बनिरह्यो? जंगल यसरी किन जलिरह्यो? जलिरहेको जंगललाई बचाउने कोसिस किन कोही गरिरहेको छैन? त्यो यात्राभरि यस्तै प्रश्नहरूको घेराबन्दीमा मेरो मस्तिष्क परिरह्यो। तर उत्तर कुनै र कतै भेट्न सकिनँ।