गाउँको एकजना दाइको कोरिया जाने पक्कापक्की भयो। पटकपटक कोरियन भाषा परीक्षामा सम्मिलित भइरहेको कुरासँग अन्जान थिइनँ म। दाइको खुसीमा म खुसी नभई रहन सकिनँ। फोन गरेर बधाई दिएँ। दाइले भावुक हुँदै भन्नुभयो, ‘कान्छा, अब मेरो फ्लाइट चाँडै छ, जसरी पनि एक पटक भेट्नुपर्छ है।’ हुन्छ दाइ भनेँ।
जिन्दगीका अनगिन्ती आरोहअवरोहहरूमा दाइसँग काँध मिलाएर हिँडेको थिएँ। परदेशिन लागेको कुराले मनमा कता-कता असहज महसुस भयो। सँगै हिँडेको गाउँको गोरेटो शून्य लाग्नेछ। चियाका चुस्की तान्दै नारायण गोपाल बन्न अब मसँग साथी छैन। एकपटक फेरि कोही प्यारो मान्छे टाढा जाँदैछ। हुन त आआफ्नै कथा छ, परिस्थिति छ, बाध्यता छ। सुनौलो भविष्यको खोजीमा परदेशिने मध्ये दाइ पहिलो पनि त होइन। जिन्दगीको गन्तव्य सबैको एकै हुँदो हो त आधुनिक मानव सभ्यताको सन्तुलन पनि त बिग्रँदो हो। फर्केर आइहाल्नुहुन्छ नि एकदिन त! चित्त बुझाएँ।
चैत महिनाको १९ गते फ्लाइट रहेछ दाइको। काठमाडौँ सँगै गयौँ। एयरपोर्ट नजिकै होटल बुक गरेर अलिअलि बाँकी रहेको दाइको काम सक्यौँ। बेलुकीपख बाहिर निस्कने कुरा भयो। ‘ठमेल जाने हो त!’ मैले हाँस्दै भनेँ। दाइले हाँसेर सहमति जनाउनुभयो।
उसो त ठमेल सुन्नेबित्तिकै नाक खुम्च्याउने जमात ठुलै छ अझै। तर आधुनिक युवा पुस्ताले खोजेको नाइट लाइफको डिमान्ड ठमेलले पूरा गरिरहेको कुरामा दुईमत छैन। आधुनिकतासँगै भित्रिएको नाइट क्लब, डान्सबार, दोहोरी साँझ आदिले विकृतिको पोको मात्रै बोकेको छ भन्ने मान्यता राख्नेहरूसँग जुनसुकै तर्कले पनि जित्न सकिँदैन। समयको मागसँगै परिवर्तित, आयातित कुराहरूलाई स्वीकार्नुको विकल्प देख्दिनँ म।
रातको १० बजेतिर ट्याक्सी बुक गरेर ठमेल पुग्यौँ। भर्खर रमझम सुरु हुँदै थियो। वरपर सबै ठिटाठिटीको जमात। प्रहरी चेकिङ चोकचोकमा। एकअर्कालाई कसैको वास्ता छैन। सबै आफ्नै धुनमा। वाह! दिनभर फलाना ढिस्कानाको गुणगान गरेर नथाक्ने सभ्य संस्कारी भनाउँदो हाम्रो समाजभन्दा कता हो कता उत्कृष्ट लाग्ने कथित दुर्गन्धित ठमेल। आफ्नो मान्छेको हात समाएर, अङ्गालो हालेर हिँड्नमा उनीहरू असमञ्जस्यताको एक धर्सो पनि देखाउँदैनन् यहाँ। यस्तै यस्तै दृश्यहरू छिचोल्दै एउटा डान्सबारभित्र छिर्यौँ।
मेनगेटमा शिरबाट पाउसम्मै कालो वस्त्र धारण गरेका बहादुर पाखुरा बोकेका केही थान बाउन्सरहरूले चेकजाँच गरे। कुरो के रहेछ भने बाहिरी खाद्यान्नका सामग्री, कुनै हातहतियार, क्यामेरा आदि इत्यादि भित्र लैजाने अनुमति नहुँदो रहेछ। सबै प्रक्रिया पूरा गरेपछि बल्ल हामी भित्र प्रवेशका लागि अनुमति प्राप्त गर्यौँ।
बाहिरबाट हेर्दा त्यो ठाउँ कुनै सपनाको दुनियाँ जस्तै थियो। झिलिमिली बत्तीहरू छतबाट झुण्डिएका, रङ्गीबिरङ्गी उज्यालोले पूरै कोठा नुहाएको जस्तो, महँगा सोफाहरू मखमली कपडाले मोडिएका, अगाडिपट्टि एउटा सानो स्टेज जहाँ सङ्गीत र शरीर दुवै बिकिरहेका थिए। ग्राहक आकर्षित गर्न लस्करै सजिएर बसेका केटीहरू, उनीहरूको पहिरन बनावटी थियो, हाँसो बनावटी थियो, तर त्यो बनावटीपन पनि यति सफाइसाथ ओढिएको थियो कि झट्ट हेर्दा सत्य जस्तै लाग्थ्यो।
हामी भित्र पस्यौँ।
केही मिनेट नबित्दै हातमा डायरी बोकेका दुईजना केटीहरू हाम्रो टेबलतिर आए। हिँड्नुमा अभ्यास थियो, मुस्कानमा तालिम।
‘सर, के राखौँ?’
हामीले एकअर्काको अनुहार हेर्यौँ। त्यो हेराइमा धेरै कुरा थिए— अलमल, अचम्म र एक किसिमको मौन हाँसो पनि।
‘एकैछिन है, हामी आफैँ अर्डर गर्छौँ।’
‘हवस्,’ भन्दै ती केटीहरू अर्को टेबलतिर लागे। उनीहरूका खुट्टाले भुइँ छोएको आवाज पनि त्यो डिजेको गर्जनमा हराइ गयो।
दाइले मेनु उठाउनुभयो। पाना पल्टाउँदै जानुभयो— अङ्ग्रेजी नाम, विदेशी ब्रान्ड, मूल्य देखेरै टाउको घुम्ने। अधिकांश मदिरा मात्र। दाइका आँखाहरू खोज्दै थिए आफ्नो लागि होइन, आफ्नो मान्छेलाई सुहाउने कुनै सानो कुरो।
अनि लास्टतिर एउटा परिचित नाम।
कोका-कोला...
दाइको अनुहारमा एक किसिमको शान्ति आयो। जसले अपरिचित भीडमा एउटा चिनेको अनुहार भेट्टाउँदा हुने राहत हुन्छ, त्यस्तै।
फेरि ती केटीहरू आए।
‘के राखौँ सर?’
दाइले मुसुमुसु हाँस्दै भन्नुभयो, ‘अ:… यो कोकाकोला ल्याइदिनु न्।’
ती केटीहरू एकछिन रोकिए। हामीतिर हेरे। आफूआफूमा सानो नजर साटे। त्यो नजरमा अचम्म थियो, सायद थोरै हाँसो पनि र सायद थोरै कुरा जुन उनीहरूले मनभित्रै राखे।
‘अरू केही सर?’
‘यति भए हुन्छ।’
केही बेरमा दुई वटा कोकाकोलाका बोतल आए। त्यो झिलिमिली संसारको बीचमा, महँगा मदिराहरूले भरिएका टेबलहरूका बीचमा, दुई वटा साधारण सिसाका बोतल।
वरिपरि हेर्यौँ।
डिजेको आवाज छातीभित्र घुसिरहेको थियो। रङ्गीन उज्यालोहरू हावामा नाचिरहेका थिए, हरेक टेबलमा मानिसहरू— कोही ठुलो स्वरले हाँसिरहेका, कोही गिलास ठोकाइरहेका, कोही सङ्गीतमा हराइरहेका। कसैलाई कसैसँग मतलब थिएन। कसैको आँखामा भोलिको चिन्ता थिएन। त्यो कोठाभित्र समय रोकिएको थियो, दुनियाँ साँघुरिएको थियो— बस् यही क्षण, यही रात, यही नशा।
तर हाम्रो टेबलमा दुई वटा कोकाकोलाका बोतल र दुईजना मान्छे जो त्यो सबैको बीचमा बसेर पनि त्यो सबैबाट अलग थिए।
दाइले बोतल उठाउनुभयो। मैले पनि।
त्यो एकछिनमा कुनै शब्द थिएन, कुनै दर्शन थिएन— बस् एउटा सानो सत्य थियो।
संसार जति चम्किलो भए पनि आफ्नो मान्छेसँग बसेर खाएको एउटा साधारण घुट्को नै कहिलेकाहीँ सबभन्दा मिठो हुन्छ।
हामीले टेबलमा कोकाकोलाको बोतल राखेको देखेर हो कि गाउँले पहिरन देखेर हो के हो, वरिपरिका मानिसहरू हामीतिर हेर्दै खिसिट्युरी गरिरहेका जस्तो भान भयो। हामी पनि छिटोछिटो गरेर घटघटी कोकाकोला सकाएर निस्कन लाग्यौँ। बिल काउन्टरमा बिल तिर्न गयौँ। अगाडिबाटै बिल तयारी रहेछ— टेबल नम्बर ११। मैले सोधेँ, ‘कति रुपैयाँ भयो?’
एकछिन बिल हेरेर काउन्टरका दाइले भन्नुभयो, ‘१०००/- एक हजार मात्र भयो।’
हामी छक्क पर्यौँ। हतारहतार मैले, ‘होइन होला, हामीले त कोकाकोला पो खाएको हो’ भनेर भन्न के खोजेको थिएँ, उतैबाट ‘सर, त्यही भएर १ हजार मात्र हो’ भन्ने जवाफ आयो।
हामीले अलिकति होहल्ला गर्न लाग्यौँ। त्यत्तिकैमा ती पहिला चेक गर्न बस्नुभएका बाउन्सरहरू आउनुभयो र ‘के भयो?’ भन्दै हामीतिरै आक्रमण गर्न लाग्नुभयो। हामी लाजवाफ भयौँ। त्यहाँ कोही हाम्रो कुरा सुन्ने, बुझ्ने जमात थिएन।
अन्ततः दाइले पर्सको कुनामा हात हाल्नुभयो। एकहजारको नोट निकाल्नुभयो— आमाले टीका लगाएर दिनुभएको, विदेश जाने बेलाको आशीर्वाद बोकेको नोट। त्यो नोट काउन्टरमा राख्दा दाइको हात अलिकति काँपेको मैले देखेँ। वा मलाई मात्रै त्यस्तो लाग्यो।
बाहिर निस्कँदा ठमेलको भीड उस्तै थियो— रमझम, हाँसो, सङ्गीत। तर हामी दुवैजना चुप थियौँ। भोलि दाइ उड्नुहुन्थ्यो। आमाको टीकाको पैसा एउटा डान्सबारको कोकाकोलामा सकियो। जिन्दगी कहिलेकाहीँ यस्तै हुँदो रहेछ— बिदाइको रात पनि आफ्नै ढङ्गले मज्जाक गर्छ।