कहिले मधेस प्रदेशको आठ जिल्लाको कसैलाई पर्यटक के हो सोध्नु भएको छ?
कल्पना गर्नुहोस् त के उत्तर आउला।
पहिलो कुरा त मधेसका हामी मध्ये धेरैले त्यस शब्दको शाब्दिक अर्थ नै थाहा छैन होला। ठ्याक्कै मधेसी भाषामा त्यसको बराबरको शब्द मुसाफिर हुन सक्छ।
दोस्रो, हामी पर्यटन र पर्यटकसँग अभ्यस्त पनि छैनौँ।
सप्तरी जिल्लाको बासिन्दा भएर मैले देखेको पर्यटक कि त कोशी ब्यारेजमा आफ्नो गाडी या सार्वजनिक यातायातबाट ओर्लेर यसो फोटो खिच्ने, त्यहाँको माछा खाने या बढीमा नौका बिहार गर्ने, आक्कलझुक्कल १-२ घण्टाको लागि कोही-कोही कोशी टप्पु वन्यजन्तु आरक्ष छिर्ने। अर्को तरिकाको पर्यटक भने सप्तरीको कन्कालिनी, छिन्नमस्ता मन्दिर घुम्न आउने, भाकल पूरा गर्न आउने, छोराछोरीको मुण्डन, उपनयन, विवाह गर्ने आउनेहरू हुन्।
पर्यटकबाट स्थानीयबासी तब मात्रै लाभान्वित हुन्छन् जब उनीहरूले स्थानीय चीजवस्तु र सेवाहरूको उपयोग नै गर्छन्। तर माथि उल्लेख गरिएका पर्यटकहरू न त पर्याप्त समय नै बिताउँछन् न त स्थानीय स्रोतसाधनको प्रयोग गर्छन्।
यो कहानी मधेसको आठै जिल्लाको हो। त्यसैले त होला मधेसमा पर्यटन सम्भावनातर्फ स्थानीय, प्रदेश या संघीय सरकार कसैको उचित ध्यान पुग्न नसकेको।
हालै नेपाल सरकारले सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धता दस्ताबेजमा पर्यटनलाई आर्थिक विकासको प्रमुख आधारको रूपमा प्रस्तुत गरिएको छ। पर्यटनको विविधीकरण, सांस्कृतिक सम्पदाको प्रवर्द्धन र नयाँ ‘इकोसिस्टम’ निर्माणको कुरा गरिएको छ।
तर त्यो दस्ताबेजलाई ध्यानपूर्वक हेर्दा एउटा स्पष्ट कमजोरी देखिन्छ। त्यो हो पर्यटनको यो समग्र दृष्टिकोणमा मधेसको स्थान अझै अस्पष्ट हुन नसक्नु। जनकपुरलाई धार्मिक–सांस्कृतिक केन्द्रको रूपमा उल्लेख गरिए पनि मधेसका अन्य सम्भावनाहरू र विशेष गरी कृषि र ग्रामीण जीवनसँग जोडिएको पर्यटन, नीतिगत सोचमा अझै प्रवेश गर्न सकेको देखिँदैन।
यो अवस्था संयोग होइन, बरु लामो समयदेखि कायम रहेको सोचको परिणाम हो। संघीय र प्रदेश सरकारहरू ‘मधेसले देशलाई खुवाउँछ’ भन्ने नारा त दिन्छन्, तर त्योभन्दा पहिले मधेस आफैँ कसरी टिकिरहेको छ, कसरी आफ्नो अर्थतन्त्र चलाइरहेको छ भन्ने गम्भीर प्रश्नको उत्तर खोज्दैनन्। उत्पादनको भूमिकामा सीमित पारिएको मधेसलाई मूल्य सिर्जना गर्ने प्रणालीसँग कहिल्यै जोडिएन वा जोड्न चाहेनन्।
देशको विकासको एक आधार स्तम्भ पर्यटन हो भन्नेमा अहिलेसम्म बनेका सबैजसो सरकारको स्वीकारोक्ति रहँदै आएको छ। तर सीमित धार्मिक पर्यटन बाहेक मधेसमा अन्य पर्यटन सम्भावनाबारे न त ठोस नीति बनेको छ, न त यसबारे गहिरो बहस भएको देखिन्छ। जसरी नेपालमा पर्यापर्यटनको सम्भावना उच्च छ, त्यसरी नै त्यसको एउटा महत्त्वपूर्ण रूप ‘कृषि पर्यापर्यटन’ मधेसका लागि अत्यन्त सम्भावनायुक्त क्षेत्र हो।
मधेसलाई नजिकबाट हेर्ने, यहाँको खेतबारी, बस्ती, किसानको दैनिकी र संघर्ष बुझ्ने जो–कोहीले एउटा कुरा सहजै महसुस गर्छन् कि यहाँ सम्भावनाको अभाव छैन। यदि अभाव छ भने त्यो हो त्यसलाई सम्भावनालाई रूपान्तरण गर्ने दृष्टिकोणको। धान रोपाइँदेखि गहुँ कटाइसम्म, तरकारी उत्पादनदेखि उखु प्रशोधनसम्म, माछा मार्नेदेखि गाई-भैँसी दुहुनुसम्म मधेसको कृषि प्रणाली आफैँमा जीवन्त अनुभव हो।
तर यो अनुभव दशकौँदेखि केवल उत्पादनमा मात्र सीमित छ। यसले अन्य कुनै मूल्य सिर्जना गर्न सकेको छैन। अर्को तर्फ, किसानले पसिना बगाउँछन् तर उसको उत्पादनको लाभ ठुलो हिस्सा बजारको बिचमा हराउँछ। यस सन्दर्भमा कृषि पर्यापर्यटनको हस्तक्षेपले उत्पादनलाई अनुभवको रुपा रूपान्तरण गरेर किसानको लागि अर्थोपार्जनको एउटा खुड्किला थप्न सकिन्छ।
मधेसमा पर्यापर्यटन किन सीमित छ भन्ने प्रश्नलाई यथार्थपरक रूपमा बुझ्नुपर्छ। नेपालका अन्य प्रदेशहरूसँग तुलना गर्दा मधेसमा विशाल राष्ट्रिय निकुञ्ज, उच्च हिमाली पदमार्ग वा विश्वप्रसिद्ध संरक्षित क्षेत्रहरू छैनन्, जसले प्रकृति–केन्द्रित पर्यटनलाई स्वतः आकर्षित गर्छ। चितवन, सगरमाथा वा अन्नपूर्ण क्षेत्रजस्तो ‘डेस्टिनेसन–ड्रिभन’ पर्यावरणीय पर्यटन मोडल यहाँ प्रत्यक्ष रूपमा लागू गर्न सकिँदैन। त्यसैले केवल वन्यजन्तु अवलोकन, ट्रेकिङ वा हिमाली दृश्य हेर्न आउने पर्यटकलाई लक्षित गरेर बनाइएको परम्परागत पर्यापर्यटन रणनीतिले मधेसमा दीर्घकालीन प्रभाव दिन सक्दैन।
यससँगै अर्को यथार्थ पनि जोडिएको छ। मधेसको भूगोल खुला, घना बस्ती भएको र कृषि–आधारित छ, जहाँ ‘प्रकृति’ र ‘मानव जीवन’ छुट्टाछुट्टै होइनन्, बरु एकअर्कासँग गाँसिएका छन्। यस्तो सन्दर्भमा प्रकृतिलाई केवल हेर्ने वस्तुका रूपमा प्रस्तुत गर्ने पर्यटन मोडलको उपयोगिता मधेसमा सीमित हुन जान्छ।
तर यसको अर्थ मधेसमा सम्भावना नै छैन भन्ने कदापि होइन। बरु यसको अर्थ के हो भने, मधेसले आफ्नो वास्तविकता र विशेषतामा आधारित फरक मोडल विकास गर्नुपर्छ। जहाँ खेत, बस्ती, संस्कृति र दैनिक जीवन नै आकर्षणका केन्द्र बनाइन्छ। यहाँ पर्यटकले ‘भर्जिन फरेस्ट’ होइन, मानव र प्रकृतिको जीवन्त अन्तर्घुलन् अनुभव गर्न सक्छन्। जसमा खेतीपाती, स्थानीय खानपान, सांस्कृतिक अभ्यास र सामाजिक जीवन एकैसाथ प्रस्तुत गर्न सकिन्छ।
मधेसमा एउटा महत्त्वपूर्ण सम्भावना देखिन्छ जहाँ धार्मिक, सांस्कृतिक र कृषि पर्यापर्यटनलाई एउटै समग्र ‘पर्यटन उत्पादन’ या पर्यटकीय भाषामा ‘टुरिजम प्रडक्ट’ को रूपमा विकास गर्न सकिन्छ। जनकपुरधाममा आउने हजारौँ तीर्थयात्रीहरू केवल मन्दिर दर्शन गरेर फर्किन्छन्। तर यदि त्यही यात्रालाई गाउँसम्म विस्तार गर्न सकियो भने? यदि पर्यटकले बिहान जनकपुरमा पूजा गर्छ, दिउँसो नजिकैको गाउँमा धान रोपाइँमा सहभागी हुन्छ, साँझ मिथिला परिकार खान्छ र राति गाउँमै बसाउन सकिन्छ।
यसरी नै सप्तरीमा कोशी ब्यारेज, कन्कालिनी र छिन्नमस्ता मन्दिर घुम्न आउने पर्यटकलाई कोशी नदी र अन्य मानव निर्मित पोखरी र तालहरूमा माछा मार्ने अनुभव दिन सकिन्छ, आँप फल्ने र पाक्ने महिना मा सप्तरीका विशाल नयाँ र पूराना आँप का बगैँचाहरूमा आँप टिप्ने र बगैँचा घुम्ने लगायत गतिविधिमा सहभागी गराउन सकिन्छ।
यी लगायत यस्ता अन्य अनुभवलाई यसरी धार्मिक मात्र होइन, सांस्कृतिक र कृषि जीवनसँग जोड्न सकिन्छ। यो र यस्तो प्रकारको एकीकृत मोडलले मधेसलाई छुट्टै पहिचान दिन सक्छ।
यसको सुरुवात कहाँबाट गर्न त? अध्ययनहरूले भन्छन् कि सुरुमै ठुला-ठुला योजनाभन्दा साना, व्यवहारिक पाइलाहरू प्रभावकारी हुन्छन्। केही निश्चित स्थानहरू छनोट गरेर ‘कृषि–पर्यटन गाउँ’ को रूपमा विकास गर्न सकिन्छ। जनकपुर वरपरका गाउँहरू, सर्लाहीका तरकारी उत्पादन क्षेत्र, बारा–पर्साका वन–कृषि मिश्रित क्षेत्र, सप्तरी का जल-विहार र कृषि मिश्रित क्षेत्र, लगायत अरू सबै प्रारम्भिक पाइलट बन्न सक्छन्। किसानलाई सामान्य तालिम, सानो पूर्वाधार सहयोग र बजारसँग जोड्ने प्रणाली उपलब्ध गराउने हो भने उनीहरू आफैँ उद्यमी बन्न सक्छन्।
तर यस यात्रामा चुनौतीहरू पनि कम छैनन्। पूर्वाधारको अभाव, संस्थागत समन्वयको कमी, नीति स्पष्ट नहुनु र सबैभन्दा ठुलो त प्रणाली माथिको विश्वासको अभाव। किसानलाई अझै पनि लाग्छ कि पर्यटन ‘उनीहरूको क्षेत्र’ होइन। त्यसैले सरकारले केवल योजना ल्याएर मात्र पुग्दैन, अहिलेको दूरदर्शी सरकारले विश्वास निर्माण गर्नुपर्छ, सहकार्यको वातावरण बनाउनुपर्छ।
मधेसको विकासबारे बहस गर्दा हामीले एउटा कुरामा स्पष्ट हुनुपर्छ कि उत्पादन मात्र विकास होइन। जबसम्म उत्पादनले स्थानीय स्तरमै मूल्य सिर्जना गर्दैन, तबसम्म त्यो विकास दिगो हुँदैन। कृषि पर्यापर्यटनले यही मूल्य स्थानीय स्तरमै रोक्न सक्छ। यसले किसानलाई केवल उत्पादक होइन, होस्ट, मार्गदर्शक र उद्यमी बनाउँछ।
यदि हामी सधैँ ‘मधेसले देशलाई खुवाउँछ’ भन्ने नारामा मात्र सीमित भयौँ भने, मधेस सधैँ उत्पादनको भूमिकामै सीमित रहनेछ। तर यदि हामीले मधेसलाई आफ्नै अर्थतन्त्र सम्हाल्ने, आफ्नै पहिचान बनाउने र आफ्नै स्रोतसाधनबाट समृद्ध हुने दिशामा अघि बढायौँ भने कृषि पर्यापर्यटन त्यो परिवर्तनको एक बलियो माध्यम बन्न सक्छ।
अन्ततः यदि नीति अझै पनि मधेसलाई केवल उत्पादन गर्ने क्षेत्रका रूपमा हेर्ने हो भने, ‘मधेसले देशलाई खुवाउँछ’ भन्ने नारा कागजमै सीमित रहनेछ। तर यदि सरकारले मधेसलाई आफ्नै स्रोतसाधनमार्फत मूल्य सिर्जना गर्ने, आफ्नै अर्थतन्त्र सुदृढ गर्ने र आफ्नै पहिचान निर्माण गर्ने क्षेत्रका रूपमा पुनः परिभाषित गर्न सक्छ भने कृषि पर्यापर्यटन त्यस परिवर्तनको एक बलियो आधार बन्न सक्छ।