भर्खरै सकिएको मेरो नेपाल यात्रा जीवनकै अविस्मरणीय अनुभव जस्तो लाग्यो। यो यात्रा केवल मेरो व्यक्तिगत भ्रमण मात्र थिएन। यो त मित्रता र सद्भावको जीवन्त उदाहरण थियो। मेरो भित्री मनले महसुस गर्यो, कसरी असल मित्रता र सद्भावले जीवनमा मिठास र गहिरो अर्थ थप्दछ।
यी ऐतिहासिक क्षणहरू भन्न मन लाग्यो, लेख्न मन लाग्यो। खुसीका अनुभूतिहरू बाँड्न मन लाग्यो। नलेखी बस्न मनले मानेन। साथी खोज्न सामाजिक सञ्जालका भित्ता-भित्तामा भौँतारिरहनु पर्ने अहिलेको नरमाइलो परिवेशमा, मेरो यो लेखन अनुभूतिले तपाईंहरूलाई एउटा सानो हौसला र प्रेरणा मिले म खुसी हुनेछु।
हालै मनाइएको अन्तर्राष्ट्रिय मित्रता दिवसलाई सम्झँदै यो लेख म मेरा सम्पूर्ण आत्मीय साथीहरूलाई समर्पण गर्दछु, जसले साँचो मित्रताको मिठो सौन्दर्य मेरो जीवनभर सदैव देखाइरहेका छन्।
‘साँचो मित्रता धन होइन, जीवनको सर्वोत्तम सम्पत्ति हो।’
पक्कै हो। मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति केवल धन वा भौतिक सुविधा होइन, मित्रता र सद्भाव हो। मित्रता केवल रमाइला पल सँगै बिताउने कुरा मात्र होइन; यो आत्माको गहिरो सम्बन्ध हो जसले भाषा, संस्कृति, छाला, रङ सबै सीमाना पार गरेर हृदयसँग हृदय जोडिदिन्छ।
मानिस सामाजिक प्राणी हो। ऊ एक्लै बस्न सक्दैन। फरक भाषा, संस्कृति र रहनसहनले हाम्रो जीवनमा गहिरो सकारात्मक वा नकारात्मक दुवै थरिका प्रभाव पर्न सक्दछ। यही कारणले साँचो मित्रता केवल आधुनिक सुविधा वा भौतिक आधारमा होइन, मुटु र हृदयसँग जोडिएको सम्बन्धमा हुन्छ।
विदेशका चम्किला सहरहरूले तानेर लगेका हाम्रा धेरै साथीहरू धन-दौलत पुगिसरी भए पनि मित्रताको बिछोड र आत्मीयताको अभावका कारण अनेकौँ मानसिक पीडा भोग्न बाध्य छन्। अनि सद्भाव भनेको अरूको खुसी, सम्मान र भलाइमा आफ्नो आनन्द भेट्ने स्वच्छ भावना हो।
गौतम बुद्धले यसो भनेका थिए- ‘सच्चा मित्रता अहिंसा, करुणा र सद्भावमा आधारित हुन्छ। सुख र दुःख सँगै बाँड्ने साथी नै वास्तविक मित्र हो। यो मित्रता केवल मानिसबीचको सम्बन्ध नभई सबै प्राणीहरूसँग दया, सद्भाव र करुणा फैलाउने अभ्यास हो।’
सच्चा मित्रता झिनो मनमुटावमा टुङ्गिने कमजोर सम्बन्ध भने होइन। सानो झगडा वा सामान्य बुझाइको कमीले जुगौँको मित्रता र पारिवारिक सम्बन्ध नै टुटाउनु मित्रताको अभिशाप हो। मित्रताको शक्ति त्यस्तो अद्भुत हुन्छ, जसले वैमनस्य मेटाएर ठूल-ठूला युद्धसम्म रोक्ने सामर्थ्य राख्छ। अमर मित्रता वर-पीपलको मिलनको छहारीमा भेटिन्छ, कृष्ण र सुदामाको कथामा भेटिन्छ।
साँचो मित्रता धैर्य, विश्वास र आत्मीयताको मिठो सङ्गम हो। धन बाँडे सकिन्छ तर मित्रता र सद्भाव जति बाँड्यो उति बढ्दै जान्छ। साँचो मित्रता जीवनभरको साथी र आत्मीयतामा सधैँ नै रहिरहन्छ, कहिल्यै मर्दैन। जब जीवनको आधार मित्रता र सद्भावमा हुन्छ, त्यहाँ साँच्चिकै सुख, शान्ति र करुणाको अनुभूति हुन्छ।
यही सत्य म र मेरा अस्ट्रेलियाली स्काउट साथीहरूले नेपालको पर्वत जिल्ला, देउपुर गाउँमा प्रत्यक्ष अनुभव गर्यौँ।
मेरो जन्मभूमि पर्वतै-पर्वतहरूले सिँगारिएको पर्वतको देउपुर गाउँ, मलाई सधैँ विशेष लाग्छ। यो पटक मेरो साथमा मेरा अस्ट्रेलियाली स्काउट बालबालिका साथीहरू थिए। उनीहरूलाई मेरो प्यारो गाउँ, भीर, पाखा, आँगन, हिमाल र संस्कृतिको अनुभव गराउने अवसर पाएकोमा मुटु गर्वले भरियो। मेरी छोरी पनि यो क्षणमा निरन्तर साथ दिँदै उभिएकी थिइन्।
काठमाडौँदेखि पोखरा हुँदै बस यात्रा गर्दा, पहिले झन्डै तीन दिन लाग्ने बाटो आज एकै दिनमा पार भयो।
श्री जननेत्र माध्यमिक विद्यालय प्रवेशद्वारमा पङ्क्तिबद्ध रूपमा सुकिला पोशाकमा सजिएर फूलमालासहित हामीलाई स्वागत गर्न दुई लहरमा उभिरहेका स्काउटका भाई-बहिनीहरू। हातमा सयपत्री र मखमलीका रङ्गीन माला, अनुहारमा मुस्कान, आँखामा उत्साह, ओठहरूमा मिठो मुस्कान। अतिथि देवो भव: हाम्रो संस्कृतिको अद्वितीय सत्कार, अमूल्य पहिचान। अति अविस्मरणीय दृश्य, अनुपम अनुभूति।
सिरसिर बगिरहेको बतास, स्वच्छ आकाश, अन्नपूर्ण हिमाल अनि टलमलाउँदै गरेको सूर्यको सुमधुर किरण। आहा! कति सुन्दर, कति शान्त, कति स्वच्छ- मेरो प्यारो गाउँ देउपुर।
अस्ट्रेलियाली बालबालिकाहरूको अनुहारमा आश्चर्य, खुसी र भावुकता मिसिएको मुस्कान झल्किएको। स्थानीय बालबालिकाहरूका लागि पहिलो पटक ‘सेतो छाला, सुनौलो कपाल, निलो आँखा’ भएका साथीहरू बीच पहिलो भेट रहेछ। केहीले हात मिलाए, आश्चर्यका साथ केहीले गोरो छाला, सुनौलो कपालमा हल्का छमछमाए, केहीले लाज मान्दै ती नीला आँखाहरू टाढाबाट टोलाएर नियालिरहे।
केही मिनेटमै त्यो जिज्ञासा हाँसो र आत्मीयतामा बदलियो। हात मिलाएर, आँखामा कौतुहलता ल्याएर सुरु भएको मित्रता केही घण्टामै दाजुभाइ, दिदी-बहिनी जस्तो आत्मीयतामा परिणत भयो।
अस्ट्रेलियाली साथीहरू केवल पाहुना थिएनन्, उनीहरू गाउँको जीवनशैली भित्रै पसे। हामीले गाउँको विश्वकर्माका आरनमा परम्परागत तरिकाले हतौडा र हँसिया बनाउँदै गरेको देख्यौँ। किसानका भकारीमा अन्न भण्डारण, महिलाहरूसँग जाँतोमा कोदो पिँध्ने, मही पार्दै दहीबाट घ्यू निकाल्ने अनुभव बटुले। तरकारी र अन्न खुला आँगनमा सुकाउँदै राखिएको देखे।
साथीहरू गाउँलेहरूको सरल जीवनशैली देखेर अचम्मित भए। फ्रिज, टिभी, हिटर, ग्याजेट थिएन तर जीवन सरल, शान्त र आत्मनिर्भर। उनीहरूले भन्न थाले, ‘हामीसँग सबै आधुनिक सुविधा छन् तर यति सरल र आत्मनिर्भर जीवनशैली छैन।’
साँच्चिकै सत्य। सहरले भौतिक सुविधा दिन्छ तर आत्मीयताको धड्कन गाउँघरको आँगन-आँगनमा पाइन्छ।
यी केही क्षणहरूले केवल एउटा कार्यक्रम मात्र दिएनन्, जीवनभरको बिर्सिन नसकिने स्मृति पनि बनाइदियो। अस्ट्रेलियाली साथीहरू फर्किँदा आँखामा आँसु र अनुहारमा मुस्कान थियो। स्थानीय स्काउटहरूले हात हल्लाउँदै बिदाइ गरे। सन्देश स्पष्ट थियो- फरक भाषा, संस्कृति, रङ र छालाका भए पनि मुटुको धड्कन एउटै हुँदोरहेछ।
हामीले दुई देशबीचको मित्रता र सद्भावको प्रतीक मितेरी–चौतारीको स्थापना गर्यौँ। एउटै चौतारोमा रूख रोप्यौँ, लालीगुराँस वृक्षारोपण अभियान सुरु गर्यौँ, मन्दिरदेखि गाउँसम्म फोहोर सफा गर्यौँ, एउटै थालीमा खाना खायौँ, एउटै गीतमा नाच्यौँ। साथै माथि २,२०० मिटरको उचाइसम्म हाइकिङ गरी लाल-रूपा भ्यू टावरबाट सुन्दर धौलागिरि, अन्नपूर्ण, मनासलु हिमशृङ्खलामा बिहानीको सुनौलो सनराइज हेर्यौँ।
ती बिर्सनै नसकिने क्षणहरूको अनुभवले सिकायो, जीवन साँचो मित्रता र सद्भावमा नै परिपूरक हुनेरहेछ।
यो मित्रता केवल सामाजिक सञ्जालको ‘लाइक’मा आधारित थिएन, मोबाइलका स्क्रिनभित्रको संसारमा थिएन। वास्तविक मित्रता कसरी बन्छ भन्ने देखाउने जीवन्त उदाहरण थियो। आजको डिजिटल युगमा धेरैले हजारौँ ‘अनलाइन मित्र’ राख्छन् तर तीमध्ये कतिजना तपाईं बिरामी हुँदा अस्पतालसम्म आइपुग्छन् भन्ने कुरा भन्न कठिन छ? यहाँ हामीले देख्यौँ, साँचो मित्रता हृदयदेखि हृदयसम्म पुग्ने रहेछ।
यस्तै अनुभवहरूले हाम्रो राष्ट्रका नयाँ पुस्तालाई गहिरो शिक्षा दिन्छ जस्तो लाग्यो। यस्ता कार्यक्रम र सहकार्यले देश-विदेशका नयाँ पुस्ताहरूबीच मित्रता निर्माण गर्ने शुभ अवसर दिन्छ। भिन्न भाषा, संस्कृति र परम्परालाई सम्मान गर्दै एउटै हृदयमा जोड्ने शक्तिको विकास गर्दछ। असल मित्रताको सम्बन्धले एउटा राष्ट्रलाई विश्व समुदायमाझ मान, इज्जत, सत्कार र उच्च ओहदामा पुर्याउँछ। मित्रता केवल व्यक्तिगत खुसीका लागि होइन, सामाजिक सद्भाव र सहकार्यको आधार पनि बनिँदो रहेछ।
सच्चा मित्रता र सद्भावको प्रभावले एक असल र सभ्य नागरिक जन्माउँछ।
साँचो खुसी पैसा वा भौतिक सुविधा होइन। साँचो खुसी भनेको आत्मीयतामा, मित्रतामा, सद्भावमा पाइने आनन्द हो। गाउँको सरल जीवनशैलीले हामीलाई आत्मनिर्भरता, सम्मान र सहानुभूतिको राम्रो पाठ सिकाउँछ। नेपाली समाजलाई समृद्ध र सभ्य बनाउने मूल आधार नै मित्रता र सद्भाव हो।
गाउँघरमा भेट हुँदा ‘नमस्ते’ भन्नु, बाटोमा भेटिएका अपरिचितलाई पनि ‘कहाँ जाँदै हुनुहुन्छ?’ भनेर सोध्नु। चौतारीमा बस्दा पानी वा फलफूल बाँडीचुँडी खानु। यी सबै हाम्रो संस्कृतिका सुन्दर अभिव्यक्तिहरू हुन्। एक असल संस्कार र सभ्यताका पहिचान हुन्। जहाँ मित्रता हुन्छ, त्यहाँ सहयोग हुन्छ, करुणा हुन्छ, अनि समाज स्वतः बलियो हुन्छ।
साँचो मित्रता आँखा-आँखामा, हृदय-हृदयमा र व्यवहार-व्यवहारमा जन्मिन्छ। त्यसैले मित्रता र सद्भाव हाम्रो नेपाली समाजको सुन्दर गहना मात्र होइन, यो हाम्रो एक अमूल्य पहिचान पनि हो। यही असल संस्कारले हामीलाई एकताबद्ध बन्न सिकाउँछ।
यस यात्राले मलाई अझ प्रस्ट देखायो- मित्रता र सद्भाव केवल शब्द, सीमाना वा सम्झौतामा सीमित हुँदैनन्। यी जीवन्त अनुभव, अनुभूति र कर्मले मात्र दिगो रहन्छन्। जहाँ साँचो मित्रता र सद्भाव हुन्छ, त्यहाँ समाज बलियो, संस्कृति समृद्ध र मानवता उज्ज्वल हुन्छ।
यस्तै भावनाहरूले हरेक नयनमा मुस्कान, हरेक हृदयमा आनन्द र हरेक आत्मामा सुखका अनुभूतिहरू ल्याउँछन्।
डिजिटल संसारले कहिलेकाहीँ मानवता हराएको जस्तो देखाए तापनि वास्तविक जीवनका अनुभव र अनुभूतिहरूले देखाउँछन्- साँचो मित्रता र सद्भाव अझै जीवित छन् र यी नै मानव जीवनका सबैभन्दा ठूला सम्पत्ति हुन्।
-1756796946.jpg)
-1756796946.jpg)
-1756796947.PNG)
-1756796947.jpg)
-1756796946.jpg)