PLAYERS TO WATCH
फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे पछिल्ला दुई संस्करणको विश्वकपमा ‘हट केक’ थिए।
सन् २०१८ मा रसियामा भएको विश्वकप उनले १९ वर्षको कलिलो उमेर जित्ने मौका पाए।
एमबाप्पेका लागि सन् २०२२ को विश्वकप पनि उस्तै रह्यो। फाइनलसम्मको यात्रा तय गरे। अर्जेन्टिनाविरूद्धको फाइनलमा ह्याट्रिक गर्दै आफ्नो क्षमता प्रमाणित गरे। तर दुर्भाग्य उनको लगातार दुई संस्करण विश्वपको उपाधि जित्ने धोको भने पूरा हुन सकेन।
सन् २०२६ को विश्वकप पनि एमबाप्पेका लागि अर्को अवसर बनेर आएको छ। समकालीन उत्कृष्ट स्ट्राइकर एमबाप्पेका लागि लगातार तेस्रो फाइनल खेलेर इतिहास बनाउने अवसर छ।
किशोर अवस्थामै विश्वकप जितेर कीर्तिमान बनाइसकेका एमबाप्पेले तेस्रो फाइलन खेलेर उपाधि नै जित्न सके भने त सर्वकालीन महान् खेलाडी बन्नेछन्।
कागजमा निकै बलियो मानिएको फ्रान्सेली टोलीको साथ उनलाई छ। एमबाप्पे केवल एक सुपरस्टार फरवार्ड मात्र होइनन्, उनी एक यस्ता खेलाडी हुन् जसले विगत एक दशकदेखि फुटबलको तथ्याङ्कलाई नयाँ तरिकाले परिभाषित गरिरहेका छन्।
पछिल्ला दुई सिजनमा उनले ८५ गोल गरिसकेका छन्। यद्यपि स्पेनिस रियल मड्रिडमा उनको सुरुवात सोचेजस्तो उत्साहजनक रहेन। घुँडाको चोटका कारण उनले केही खेलहरू गुमाउनु पर्यो। तैपनि उनको गोल गर्ने क्षमतामा शंका छैन।
प्रति खेल २.१८ सट्स अन टार्गेट प्रहार गर्दै उनी युरोपमा ह्यारी केनपछि दोस्रो स्थानमा छन्।
एमबाप्पेसँग गोल निकाल्ने अद्भुत क्षमता छ। उनी उच्चस्तरमा 'ड्रिब्लिङ' गर्न सक्छन्।
परम्परागत स्ट्राइकरहरू भन्दा फरक उनी १८-यार्ड बक्स बाहिरको क्षेत्रमा बसेर खेल्न रुचाउँछन्। उनी प्रायः मैदानको बायाँ 'हाफ-स्पेस' बाट भित्र छिर्छन्, जहाँबाट उनले साथीहरूसँग तालमेल मिलाउन सक्छन्, बक्स बाहिरबाट प्रहार गर्न सक्छन् वा विङ्समा बल दिएर पुनः गोल गर्ने पोजिसनमा आउन सक्छन्।
तर उनको यही शक्ति कहिलेकाहीँ कमजोरी पनि बन्न पुग्छ। रियल मड्रिडमा उनलाई 'टारगेट म्यान' को रूपमा चाहिएको थियो, जुन उनी होइनन्। त्यसमाथि भिनिसियस जुनियरसँग खेल्दा समस्या अझ बढ्छ। किनकि दुवै उस्तै क्षेत्रमा खेल्न रुचाउँछन्।
फ्रान्सेली टोलीमा भने उनलाई ओलिभर जिरुडको साथ हुँदा सजिलो हुन्थ्यो। यसपटकको विश्वकपमा ह्युगो एकिटिके जस्ता खेलाडी घाइते भएर बाहिरिए पनि ओस्मान डेम्बेले र माइकल ओलिसे जस्ता खेलाडीको उपस्थितिमा फ्रान्सको आक्रमण निकै धारिलो देखिन्छ।
एमबाप्पेको विश्वकप इतिहास उत्कृष्ट छ। तीन विश्वकप खेल्दै १२ गोल गरिसकेका छन्।
विश्वकपमा उनीभन्दा बढी गोल गर्नेमा केवल पाँच जना छन्। मिरोस्लाभ क्लोज, रोनाल्डो (ब्राजिल), गर्ड मुलर, जस्ट फन्टेन र लियोनेल मेसी मात्र छन्।
मिरोस्लाभ क्लोजको १६ गोलको सर्वकालीन कीर्तिमान भेट्टाउन उनलाई मात्र ४ गोल आवश्यक छ। फ्रान्सको टोली लयमा रहेको र एमबाप्पेले पेनाल्टी प्रहार गर्ने जिम्मेवारी पाएका कारण यो कीर्तिमान यसै सिजन तोडिने सम्भावना निकै बलियो छ।
उनले २०१८ मा विश्वकप जिते र २०२२ मा फाइनलमा ह्याट्रिक गरेर पनि उपविजेता बने। यदि यसपटक फ्रान्सले उपाधि जित्छ र उनी सर्वाधिक गोलकर्ता बन्छन् भने उनलाई विश्वकपकै महान खेलाडी मान्न कसैले हिचकिचाउने छैनन्।
२०२६ को विश्वकपसम्म आइपुग्दा उनी अनुभवी भइसकेका छन्। अब उनी २०१८ को निडर किशोर रहेनन्। २०१८ मा उनलेअर्जेन्टिना विरुद्धको गति र आत्मविश्वासले विश्वलाई स्तब्ध पारेका थिए।
अर्कोतर्फ अब उनी २०२२ को जस्तो आफूलाई प्रमाणित गर्न खोज्ने सुपरस्टार मात्र पनि रहेनन्।
अहिले उनी फ्रान्सेली टोलीको कप्तान हुन्। टोलीको लिडर हुन्।
ग्रिजम्यान र जिरुड जस्ता अनुभवी खेलाडीहरू अब टोलीको केन्द्रमा छैनन्। ओस्मान डेम्बेले जस्ता बालोन डी'ओर स्तरका खेलाडी टोलीमा भए पनि सबैको आँखा एमबाप्पेमा नै हुनेछ। उनले नेइमार वा क्रिस्टियानो रोनाल्डोले जस्तो 'विश्वकप जित्नै पर्ने' बोझ बोक्नु परेको छैन, किनकि उनले त्यो सफलता पहिले नै चाखिसकेका छन्।
विश्वकप अघिको समय एमबाप्पेका लागि निकै चुनौतीपूर्ण रह्यो। रियल मड्रिडमा बिताएको पछिल्लो सिजन ट्रफीबिहीन रह्यो। सामाजिक सञ्जालमा आलोचना, ड्रेसिङ रुमको तनाव र प्रशिक्षक जाबी अलोन्सोसँगको सम्बन्धका हल्लाहरूले उनलाई निकै थकाएको छ।
भिनिसियस जुनियर र कोचिङ स्टाफबीचको विवाद, फेडरिको भल्भर्डे र अउरेलियन चुआमेनीबीचको भनाभन जस्ता घटनाले मड्रिडको वातावरण अशान्त बनायो। एमबाप्पे आफैँले पनि आल्भारो अर्बेलोवाका बारेमा गरेका टिप्पणीले विवाद निम्त्यायो। यति हुँदाहुँदै पनि उनले ४३ खेलमा ४१ गोल गरेर आफ्नो व्यक्तिगत उत्कृष्टता भने कायमै राखेका छन्।
एमबाप्पेको विश्वकप यात्राको चर्चा गर्दा २०१८ को रुस विश्वकपलाई बिर्सन सकिँदैन। १९ वर्षको उमेरमा उनले जुन जादु देखाए, त्यो पेलेको जमानापछि देखिएको थिएन। उनले पेलेका दुईवटा ठूला कीर्तिमान बराबरी गरेका थिए। पेलेपछि विश्वकप फाइनलमा गोल गर्ने र एउटै नकआउट खेलमा दुई गोल गर्ने उनी दोस्रो युवा खेलाडी बनेका थिए।
त्यो बेला पेलेले उनलाई ट्वीटरमार्फत बधाई दिँदै भनेका थिए, ‘यसरी नै मेरा कीर्तिमानहरू बराबरी गर्दै जाने हो भने मैले फेरि बुट लगाउनुपर्ने हुन्छ।’
एमबाप्पेले पेलेको यो तारिफलाई निकै विनम्रताका साथ स्वीकार्दै भनेका थिए, ‘पेले अर्कै तहको खेलाडी हुनुहुन्छ, तर उहाँ जस्तो नामसँग मेरो तुलना हुनु नै ठूलो कुरा हो।’
२०१८ मा फ्रान्सको सुरुवात खासै उत्साहजनक थिएन। तर पेरु विरुद्धको खेलमा एमबाप्पेले गोल गरेपछि उनी फ्रान्सका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बने। तर उनको वास्तविक क्षमता त अर्जेन्टिना विरुद्धको अन्तिम १६ को खेलमा देखियो। लियोनेल मेसीको टोली विरुद्ध एमबाप्पेले आफ्नै हाफबाट जुन गतिमा दौडिएर पेनाल्टी जिते, त्यो विश्व फुटबलकै एक यादगार क्षण बन्यो। उनले सो खेलमा दुई गोल गर्दै अर्जेन्टिनालाई घर पठाए र विश्वलाई एउटा नयाँ युगको सुरुवात भएको सन्देश दिए।
फाइनलमा क्रोएसिया विरुद्ध २५ मिटर टाढाबाट उनले गरेको त्यो शक्तिशाली गोलले फ्रान्सको जित सुनिश्चित गर्यो। उनी विश्वकप जितेर मैदानमा कागतीका टुक्राहरू उडिरहँदा पनि निकै शान्त र परिपक्व देखिएका थिए।
अहिले २६ वर्षको उमेरमा एमबाप्पे एक विश्वकप आइकन बनिसकेका छन्। २०२६ को विश्वकप उनको विरासतलाई सुनौलो अक्षरले लेख्ने मौका हो। उनीसँग गति छ, अनुभव छ, र सबैभन्दा महत्वपूर्ण कुरा— उनीसँग इतिहास रच्ने भोक छ।
२०२६ विश्वकपमा फ्रान्सका खेल
फ्रान्स विरुद्ध सेनेगल: जुन १६
फ्रान्स विरुद्ध इराक: जुन २२
फ्रान्स विरुद्ध नर्वे: जुन २६