मेरो घरबाट २ घण्टाभित्र जुम्ला बजार पुग्न सकिन्छ।
कति राम्रो जुम्लाको भूगोल, कति राम्रो सडक, जुम्ली मार्सीको मनमोहक फाँट! वारिपारि बस्तीको बीचमा बगेको स्वच्छ तिला नदी।
जुम्लास्थित आफन्त भेट्न कान्छो मामासँग असोज ५ गते पहिलो पटक जुम्ला यात्रा गरेँ।
मलाई हाम्रो कुलदेवता बाबिरा मष्टोबारे थप अध्ययन गर्नु पनि थियो। बेलुकी दानसाँघुमा दाजुको ससुरालीमा बास बस्यौं। ससुरासँग धेरै विषयमा कुरा भयो।
'घटस्थापनाको दिन चन्दननाथ मन्दिरमा विशेष पूजा हुन्छ, आएको मौकामा हेरेर जानुहोला' भन्ने सल्लाहले ६ गते बिहान घटस्थापनाको दिन चन्दननाथ भैरवनाथ मन्दिरको दर्शन र पूजा हेर्यौं।
दिउँसो नवीन भाइ र म बाबिरा मष्टोको थान दर्शन गर्न बाबिरा गाउँ गयौं तर चन्दननाथ मन्दिरको पूजाको दिन भएकाले धामी, डाँङ्ग्री, चासो राख्ने ज्येष्ठ सदस्यलाई भेट्न सकिएन।
७ गते बिहान थार्पमष्टाको अवतार हुने चर्चित व्यक्तिसँग केही जानकारी लिन सकिन्छ भन्ने मनसायले सालाजीले मलाई उनै व्यक्तिको घरमा ८ बजेतिर पुर्याइदिए। उनी पूजा गर्दै थिए, करिब १ घण्टा बढीको नित्य पूजा सकाए। त्यो दिन २० जना 'हेराउन' आएका थिए उनीसँग।
पूजा सकिएपछि 'देवता नचढे' सम्म मैले उनलाई केही प्रश्नहरू विश्वासले, केही अविश्वासले, केही शंकाले सोधेर आफ्नो जिज्ञासा मेटाउँदै थिएँ।
जस्तै — मष्टो के हो? तपाईंलाई कहिलेदेखि मष्टो चढेको हो? मष्टो चढ्दा बोलेको कुरा तपाईंलाई याद हुन्छ कि हुँदैन? तपाईंले हेराउन आउने मान्छेलाई केही फरक देख्नुहुन्छ कि? धामी हुन्छन् कि हुँदैनन्? आमाबुबालाई कसरी लिनुहुन्छ? मष्टोसँग मागेको कुरा सबै पुग्छन् त? मष्टोलाई पनि त दुःख होला, कठिन होला नि मागेको जतिलाई पुर्याउन?
उनका जबाफ थिए — मष्टो देवराज इन्द्रको अंश हो। थार्पमष्टो, बाबिरामष्टो, क्वामष्टो…।
थार्पमष्टोको मूल ठाउँ मुगु, बाबिरामष्टोको जुम्ला भन्दै थिए।
अनि म बोलेँ, 'मेरो गाउँ कालिकोटको फोइमहादेवमा बाबिरा आफै उत्पत्ति भएका हुन् रे। त्यहाँ बाबिराको चौर दहचौर छ। पूर्वीया मुहान छ। कोइरे घाट छन् अरे।'
उनी भन्दै गए, 'मलाई थार्पमष्टो अवतार हुन लागेको ४१ वर्ष भयो। म सधै दिनभरि यसरी नै चच्चुमण्या (पलेँटी कसेर बस्नु) हालेर बस्छु अरूको खुसीका लागि, त्यसैले मेरो घुँडादेखि तलको भाग जमेर कडा भएको छ। हान्दा पनि केही थाहा हुँदैन। मष्टो चढिसकेपछि मैले बोलेको केही पनि याद हुँदैन। मसँग हेराउन आउने सबैलाई समान देख्छु, मान्छे नै देख्छु। जो जस्तो छ, प्रस्ट भन्दिन्छु।'
उनले अगाडि भने, 'आमाबुबाको सेवा गरे कुनै देवतासामु जानु पर्दैन। मसँग आउने मान्छे खुसी भएरै आउँछन्। मनोकामना जस्तै मान्छेको कर्म पनि हुनुपर्छ। देवता हुन्छन् तर धामी हुँदैनन्। म धामीमा विश्वास गर्दिनँ, धामीले भ्रम छर्छन्। मलाई धेरै धामीले निशानामा पारेका हुन् तर थार्पमष्टोको शक्तिले केही गर्न सकेका हैनन्।'
केही छिनमा चुरोट खान बाहिर निस्के उनी। हेराउन आउने केहीले मलाई 'अब धेरै नसोध्नुहोला किनकि देवता चढ्न ढिला हुन्छ' भनेपछि म मौन बसेँ। सबैले प्रार्थना गर्यौं। एकछिनपछि उनलाई देवता चढ्यो।
उनको मुखबाट अनौठो आवाज निस्कियो। आफ्नो हात, मुख, कपाल सुमसुमाएर 'पणेली' (देवता चढिसकेपछि बोल्ने भाषा) पढे।
उनी भन्दै थिए, 'मैले मेरो स्वरूप देखाउन सक्छु। मैले सबैलाई नियालेर हेरिरहेको छु, देखिरहेको हुन्छु, यथार्थ कुरा गर्छु। राम्रो–नराम्रो, विश्वास–अविश्वास गर्ने आफ्नो इच्छा हो। मलाई थार्पमष्टोले प्रतिनिधिका रूपमा पठाएका हुन्। यिनले जे भन्नु भन्छन्, मैले यहाँका मान्छेले बुझ्ने भाषामा त्यही भन्ने हो।'
मैले मनमनै सोचेँ, 'यथार्थ रूप देखाए हुन्थ्यो नि!'
फेरि सोचेँ, 'त्यो रूप देख्न सक्ने न मसँग शक्ति छ, न क्षमता छ। ठीकै छ।'
नियमानुसार सबभन्दा टाढाबाट आएकालाई सुरूमा हेराउने गर्ने रहेछन्। त्यो दिन टाढाको म थिएँ तर मलाई सुरूमा पालो दिएनन्।
कारण पछि बुझ्दै गएँ, म त हेराउन गएको होइन, बुझ्न गएको थिएँ। मैले विश्वास–अविश्वासको कुरा गरेको थिएँ।
'म को हुँ, मेरो विश्वास छ कि छैन, मसँग कस्ता मानिस आउँछन्, किन आउँछन् भन्ने कुरा तिमीलाई देखाउनु थियो। त्यसैले तिमीलाई अन्तिमसम्म राखेँ,' उनले भने।
हो, त्यहाँ आउने सबै खुसी भएरै आएका थिए। मैले सबैसँग पनि सोधपुछ गरेँ। सबैसँग अटूट विश्वास थियो, आस्था थियो थार्पमष्टाप्रति।
उनले कुन मान्छे के मनले आएको छ, प्रस्ट थाहा पाउने रहेछन्। त्यो मैले देखेँ। सबैसँग उनले भनेको मिल्यो कि मिलेन भनेर सोधपुछ पनि गरेँ। केही उदाहरण प्रस्तुत गर्छु।
१) १६ वर्षको उमेरमा बिहे गरी एक वर्षको छोरा लिएर आएकी एक जना महिलाको सौतेनी सासूससुरा रहेछन्। घरको बेमेल, छोराको असन्चोपन, महिलाको 'मुखाया' स्वभाव र रोग देखाए। सबै कुरा यथार्थ भएको बताइन्। श्रीमानलाई रोजगारी, छोरा र तिनको रोग 'निर्मूल' गरी स्वभाव असल गरिदिने वाचा गरे, मन्त्रसहित चामल र पानी दिए।
२) सानोमा आमा बितेकी, बुवाले अर्की बिहे गरी वास्ता नगरेका एक जना पुरूषलाई उनको दिदीले आफै पालनपोषण गरेकी रहिछन्। घरमा दुःख भएकाले ती दिदीले सानो भाइको भलाइका लागि थार्पमष्टोको शरणमा परिछन्। अनि थार्पमष्टोले आफ्नो अंशको रूपमा स्वीकार गरेछन्। तिनै पुरूष आफ्नो दिदी, श्रीमती र छोरा लिएर आएका थिए। ती पुरूषलाई बेला बेलामा देवता चढ्ने रहेछ। कामेको, बोलेको देखेँ।
उनकी श्रीमतीलाई थार्पमष्टो अवतार हुने ती व्यक्तिले नमस्कार गरी आँसु छोडेर भने, 'मेरो बच्चालाई तपाईंले दुःखमा पनि स्वीकार गरी आउनुभयो, साथ दिनुभयो। तपाईं धन्य हुनुहुन्छ। म तपाईंको ऋणी छु। सबै पुर्याएको छु, अब बस्ने बासको व्यवस्था मिलाउँछु।'
३) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस पढिरहेकी एक जना केटीको पालो आयो। आमाले धेरै दुःख गरेर पढाएकी रहिछन्। आमाबुबाको सम्बन्ध राम्रो रहेनछ, बुबाले आमालाई दुःख दिइरहने रहेछन्। यस्तै धेरै कुराले उनको पढाइमा असर गरेको, एक पटक आत्महत्याको अन्तिम क्षणमा पनि पुगेकी रहिछन्।
यो सबै कुरा थार्पमष्टो अवतार हुने व्यक्तिले भनिरहेका थिए, हामी सुन्दै थियौं सबै।
उनले भने, 'सामान्य विषयसहित ३ विषय लाग्नेछ। तिम्रो त बिहेको कुरा पनि चलिरहेको छ। तिम्रो केटा तिमीसँगै छ।'
नभन्दै हो रहेछ, केटा पनि त्यहीँ रहेछन्।
केटीले स्वीकार गरिन्, 'मेरो यही केटा हो।'
हामी सबै हास्यौं, सबैले शुभकामना दियौं।
'तिम्रो पेट, टाउको समस्या, आमाको दुःखको समाधान गर्छु। तिमीलाई ३ बाट १ विषय लगाउँछु। त्यो त २०/२५ दिनमा दिन पाइहाल्छौ,' भनी चामल पानी खुवाए।
४) जुम्लाकै केटीलाई लिन अछामबाट केटा र केटाको भतिज आएका रहेछन्। भोलिपल्ट भागेर जानुभन्दा अगाडि आफ्नो देवतासँग अनुमति लिन एउटा केटी आएकी थिइन् हेराउन।
यो कुरा ती थार्पमष्टा अवतार हुने व्यक्तिले भन्दै थिए। वास्तवमा त्यही रहेछ, उनीहरूले स्वीकार गरे।
अनि भने, 'उससँग सम्बन्ध गर्नु ठीक छ कि छैन भनी पहिला सोध्नुपर्थ्यो। आफ्नो मनपरी गरेर अन्तिम समयमा सोधेर मेरो टाउकोमा भारी बोकायौ। तर पनि मेरी कन्या (छोरी) मसँग आएपछि म निराश बनाउँदिनँ।'
उनले केटालाई दियोमा सम्बन्धको कसम खान लगाई भने, 'मेरी कन्या सोझी छ, योसँग धनको योग छैन। छोरीको जीवन निर्वाह सहजताका लागि म तिम्रो वैदेशिक यात्रा सफल गराउँछु।'
उनले चामल र पानी खुवाए।
५) एक जना महिलाले सुरूमै त्यो केटासँग बिहे गर्न हुन्छ कि हुँदैन भनेर सोधेकी रहिछन्।
थार्पमष्टो अवतार हुने व्यक्तिले 'उपयुक्त छैन, सम्बन्ध राम्रो हुँदैन, त्यससँग बिहे नगर' भनेका रहेछन्। केटीले भनेको नमानी उसैसँग बिहे गरिछन्। हाल सम्बन्ध पनि राम्रो रहेनछ।
'मेरी कन्याको दुःख हेर्न सक्दिनँ' भनी छोराको वरदान र असल सम्बन्धको वाचा गरेर चामल र पानी खुवाए।
६) एक जना केटीलाई 'आफूले रोजेको केटासँग बिहे नगर, मैले दिएको दैलेखको केटासँग बिहे गर' भनी ती थार्पमष्टो अवतार हुने व्यक्तिले भनेपछि केटीले पनि भनेको मानिन्। उनी खुसी, शान्त भएरै आएकी थिइन् कोसेली लिएर।
७) एक जना काठमाडौंको थापाथली क्याम्पसमा इन्जिनियर पढेका केटा लोक सेवामा नाम निस्किन्छ कि निस्किँदैन भनेर सोध्न आएका रहेछन्।
ती थार्पमष्टो अवतार हुने व्यक्तिले 'तिमी यो कारणले आएको हौ, यो पटक निस्किँदैन, अर्को पटक निस्किन्छ' भनेर चामल र पानी खुवाए।
८) हाल शाखा अधिकृतको परीक्षा दिएका जुम्लाकै एक जना केटा पनि आएका रहेछन्।
थार्पमष्टो अवतार हुने व्यक्तिले भने, 'तिम्रो निम्ति तिम्रो आमाबुबाको त्याग र दुःख जोसुकैले गर्न सक्दैनन्। स्वयं तिम्रो र तिम्रो आमाबुबाको मन पवित्र रहेछ, कसैलाई असर नगर्ने। धन्य हुन् तिम्रा आमाबुबा, उनलाई मेरो नमस्कार।'
नमस्कार गर्दै उनले अगाडि भने, 'तिम्रो इच्छा पूरा गर्छु। तथास्तु, मेरो इच्छा पनि पूरा गर्नू।'
उनले चामल र पानी खुवाए।
फेरि अर्को कुरा सोध्छु नारायण भने। तर फेरि भने, 'पहिला तिम्रो पहिलो प्राथमिकता पूरा गर्छु, अनि दोस्रो कुरा।'
उल्लिखित केही प्रतिनिधिमूलक दृश्यका साथ विभिन्न खालका हेराउनेहरूको अपेक्षा म पछाडि बसेर हेरिरहेको थिएँ।
मध्य समयमा मलाई ती थार्पमष्टो अवतार हुने व्यक्तिले बोलाएर सोधे, 'तिमीले मलाई देख्यौ? मलाई चिन्यौ? मलाई बुझ्यौ?'
मैले भनेँ, 'हेर्दैछु, बुझ्दैछु, सुन्दैछु तपाईंलाई।'
त्यसपछि उनले नबुझिने भाषा बोलेर चामल खान लगाएर भने, 'एकछिन बसेर मलाई नियाल्नू।'
म फेरि पछाडि बसेँ।
१६ जनालाई हेरिसकेपछि मध्याह्न साढे १२ बजेतिर मलाई फेरि अगाडि बोलाएर भने, 'मलाई चिन्यौ?'
म मौन रहेँ, बोलिनँ त्यति बेला।
फेरि उनले भने, 'मेरो अनुहार र आँखामा सिधा हेर्न सक्छौ?'
मैले 'सक्छु' भनेँ।
त्यसपछि चस्मा निकालेँ। मेरा र उनका आँखा करिब ३ मिनेटजति ठोक्किरहे।
आँखा नझिम्क्याइ उनको अनुहारमा हेरिरहेँ मैले पनि। अरूले हामीलाई हेरिरहेका थिए। वातावरण एकदमै शान्त र सुनसान भयो।
मलाई फेरि सोधे, 'मलाई केही फरक देख्यौ?'
मैले उनको दायाँ हात, आँखा र मुख अगाडिभन्दा अलि फरक देखेको महसुस त गरेँ, तर मेरो भ्रम हो कि सत्य!
तर मेरो आस्था र विश्वास पहिलेभन्दा बढिसकेको पाएँ।
उनी बीच बीचमा प्रसंगवश् वेद, गीताको कर्मयोगलाई प्राथमिकता दिन्थे। रामायण, महाभारतका कथाहरू भन्थे। शिवपुराण, विष्णुपुराण आदिका कथाहरू जोड्थे।
'डाक्टरलाई पनि बुटी (औषधि) चाहिन्छ, त्यो बुटी प्रकृतिले/मैले दिएको हुँ' भनेर प्रकृतिको महत्त्व बुझाउँथे।
हो, उनीसँग आउनेहरू सबै खुसी भएरै आएका थिए।
सबैको अटूट विश्वास थियो।
म पनि अझै रहस्यमय तरिकाले विश्वास गर्ने भएरै घरतिर आएँ। जय थार्पमष्टा!