एसइई पछि धेरै विद्यार्थीहरू द्विविधामा हुन्छन्; कुन विषय पढ्ने? साइन्स कि म्यानेजमेन्ट? नर्सिङ कि एजुकेसन? विकल्प धेरै छन् तर सही छनोट गर्न सक्नु नै सबैभन्दा ठुलो चुनौती हो। यही समयमा गरिने निर्णयले भविष्यको दिशा तय गर्ने भएकाले यस विषयमा गम्भीर सोच आवश्यक हुन्छ।
धेरैजसोले अंक हेरेर, अरूले के पढिरहेका छन् भनेर हेरेर वा परिवारको दबाबमा विषय रोज्छन्। परिवारको चाहना र दबाबमा निर्णय गर्न बाध्य हुन्छन्। तर विषय छनोट गर्नु अरूको दबाबमा परेर निर्णय गर्ने होइन, यो तपाईँहरूको नितान्त व्यक्तिगत यात्राको सुरुवात हो। आफ्नो रुचि, क्षमता, आफ्नो परिवारको आर्थिक हैसियत आदिलाई निकै सोचविचार गरेर छनोट गर्नुपर्छ।
एसइईको नतिजाले तपाईं कति सक्षम हुनुहुन्छ भन्ने संकेत दिन सक्छ तर तपाईंको सम्भावना र पहिचान त्यसमा सीमित हुँदैन। जीवनमा सफल भएका धेरै व्यक्तिहरूले सुरुमा ‘सही’ मानिने बाटो रोजेका थिएनन् तर आफूलाई बुझेर रोजेको बाटोमा निरन्तर मेहनत गरेर सफल भएका छन् भने कति मानिस आफूलाई नचिनेर फरक विषय अर्थात् क्षेत्रतिर लाग्दा सफलताको गन्तव्यमा नपुगेका र बिच बाटोमै अलपत्र परेका प्रशस्त उदाहरणहरू पनि देख्न सकिन्छ।
त्यसैले, सबैभन्दा पहिले आफ्नो रुचि चिन्ने प्रयास गर्नुहोस्। तपाईं कुन विषय पढ्दा थाक्नुहुन्न? कुन क्षेत्रमा काम गर्दा तपाईंलाई आत्मसन्तुष्टि मिल्छ? रुचि भएको विषयमा सिकाइ सजिलो र दिगो हुन्छ। त्यसपछि आफ्नो क्षमता र स्वभाव बुझ्नु आवश्यक छ। सबै विद्यार्थी साइन्स, नर्सिङ वा इन्जिनियरिङका लागि बनेका हुँदैनन्, जस्तै सबै म्यानेजमेन्ट, एजुकेसन वा मानविकीका लागि पनि हुँदैनन्। कुनै पनि विषय सानो वा ठुलो हुँदैन, गलत हुन्छ केवल गलत क्षेत्रको छनोट।
विषय रोज्दा भविष्यका अवसरहरू पनि बुझ्नुपर्छ। तर अवसर खोज्दा केवल आजको ट्रेन्ड हेरेर होइन, आफू त्यस क्षेत्रमा कत्तिको टिक्न र अगाडि बढ्न सकिन्छ भन्ने सोचेर निर्णय लिनुपर्छ। मनदेखि पढिएको विषयमा अवसर आफैँ सिर्जना हुन्छ। आफूले कुन विषय पढ्ने भन्ने बारे पाइला अगाडि सार्नुअघि निम्न कुरालाई ध्यान राख्नुभएमा जीवनको बाटो सहज पक्कै हुनेछ।
१. जिपिएको अर्थ क्षमता होइन, एक अवसर मात्र हो उदाहरण- कसैले ४.० जिपिए ल्यायो भन्दैमा ऊ डाक्टर बन्नैपर्छ, साइन्स नै पढ्नुपर्छ भन्ने छैन। र कम जिपिए ल्याउनेले एजुकेसन र मानविकी पढ्ने भन्ने भ्रम आजैदेखि त्याग्नुहोस्। त्यस्तो सोचले भविष्यको बाटो साँघुरो बनाउँछ। धेरैले मानविकी, एजुकेसनलाई कमजोर मान्छन् तर यताबाटै वकिल, लेखक, पत्रकार, समाजशास्त्री, शिक्षक बन्न पनि सकिन्छ।
२. रुचि बिना पढाइ बोझ बन्छ। उदाहरण- तपाईंलाई व्यापारमा रुचि छ भने म्यानेजमेन्ट रोज्दा सजिलो र सफल हुन सकिन्छ। अरूको देखासिकी गरेर साइन्स पढ्दा तनाव मात्र बढ्छ। त्यसैले आफ्नो रुचि क्षमतालाई राम्ररी चिनेर आफूलाई मनन र सूक्ष्म विश्लेषण गरेर छनोट गर्न सकिन्छ।
३. सोच्नुस् तपाईंको सपना के हो? सबैभन्दा पहिला आफूलाई राम्ररी चिन्ने कोसिस गर्नुहोस्। अनि मात्र आफू के पढ्ने भनेर निर्णय गर्नुहोस्। यदि तपाईंलाई इन्जिनियर बन्न मन छ भने साइन्स लिँदा तपाईँको निर्णय उपयुक्त हुन्छ। तर यदि तपाईं सामाजिक सेवा वा शिक्षा क्षेत्रमा जान चाहनुहुन्छ भने मानविकी वा शिक्षाशास्त्र संकाय रोज्न सकिन्छ। तपाईं सामाजिक अभियन्ता बन्न चाहनुहुन्छ भने ल (कानुन) वा मानविकी रोज्दा उपयुक्त हुन्छ।
४. करियरको सम्भावना हेरेर विषय रोज्नुहोस्, जिपिएअनुसार होइन। एग्रिकल्चर, आइटी, होटल म्यानेजमेन्ट, साइकोलोजी, एनिमेसन अहिलेको समयमा यस्ता क्षेत्रहरूमा राम्रो करियर सम्भावना छ, जुन धेरैले यसबारे नसोचेको पनि हुन सक्छ। आइटी, होटल म्यानेजमेन्ट, एग्रीकल्चर, ल, मनोविज्ञान यी सबैमा राम्रो करियर सम्भावना छ, तर धेरैले यसबारे जानकारी नपाएको वा ध्यान नगएको पनि हुन सक्छ।
५. परिवारको सपना बुझौँ, तर आफ्नो सपनालाई प्राथमिकतामा राख्नुहोस्। उदाहरण: आमा-बुबाले भन्नुभयो ‘तिमी डाक्टर बन।’ तर तपाईंलाई कला र डिजाइनमा रुचि छ भने तपाईँले साइन्सको सट्टा एग्रिकल्चर (कृषि) वा ग्राफिक डिजाइनिङ रोज्न सकिन्छ।
६. करियरको दायरा बुझेर विषय रोजौँ। ए लेभल, जिसिई र आइबी
ए-लेभलमा कुनै निश्चित विषय अनिवार्य हुँदैन। विद्यार्थीहरूले आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्य अनुसार विभिन्न स्ट्रिमका विषयहरू मिश्रण गरेर पढ्न सक्छन्। न्यूनतम ७ क्रेडिट लिनुपर्ने व्यवस्था भए पनि नेपालमा आफ्नो क्षमता र आत्मविश्वास अनुसार त्योभन्दा बढी विषय तथा क्रेडिट लिन पनि सकिन्छ। ए-लेभल: ब्रिटिश प्रणालीको शिक्षा हो, जहाँ तपाईंले ३–४ विषय छनोट गर्न सक्नुहुन्छ। इन्टरनेसनल युनिभर्सिटीमा जान चाहनेका लागि यो एउटा राम्रो विकल्प हुनसक्छ।
आइबी: अन्तर्राष्ट्रियस्तरको होलिस्टिक (समग्र) शिक्षा प्रणाली हो जुन सिर्जनात्मक, तार्किक र ग्लोबल अवेरनेसमा केन्द्रित विदेशमा अध्ययनको लागि आधार बनाउन, परम्परागत, घोक्ने शिक्षाभन्दा फरक यहाँ प्रोजेक्ट, प्रेजेन्टेसन र प्रयोगात्मक रूपमा ध्यान दिन्छ। यदि आफ्नो लागत र पहुँचमा पर्छ भने यो पनि एक विकल्प हुन सक्छ।
७. (सामान्य प्लस-टु) राष्ट्रिय परीक्षा बोर्ड (एनइबी) यो नेपालमै अधिक मान्यताको साथै कम खर्चिलो पनि हुन्छ। यसबाट प्राप्त प्रमाणपत्र नेपालभर र विदेशका विश्वविद्यालयहरूमा मान्य हुन्छ।
८. प्राविधिक शिक्षा पनि सफलताको बाटो हुन सक्छ। सिटिइभिटीबाट इलेक्ट्रोनिक इन्जिनियरिङ डिप्लोमा गरेर पनि धेरैले आफ्नो बिजनेस सुरु गरेका छन्। यदि तपाईं प्रयोगात्मक सिपमूलक विषय मन पराउनुहुन्छ भने टेक्निकल बाटो पनि उज्ज्वल हुन सक्छ तपाईँको लागि।
९. छोटो समयभन्दा दीर्घकालीन कायम हुने हेरेर निर्णय गरौँ। उदाहरण: अहिलेको लागि गाह्रो लाग्न सक्छ तर आफ्नो रुचिअनुसार पढ्दा ५ वर्षपछि त्यो तपाईंको शक्ति बन्छ। अरूले भर्ना गरिसके भनेर हतार नगरी २–३ दिन गहिरो सोचविचार गर्दा सही निर्णयमा पुग्न सकिन्छ।
१०. आत्मविश्वास राखौँ: निरन्तर मेहनत र लगन भएमा जुनसुकै विषयबाट पनि सफलता सम्भव हुन्छ। त्यसैले विषयभन्दा पनि आफूले रोजेको क्षेत्रमा कत्तिको समर्पित हुन्छौँ भन्ने कुरा नै महत्वपूर्ण हुन्छ।
अन्त्यमा भन्नुपर्दा विषय छनोट अरूले गरिदिने निर्णय होइन, आफूले सोचेर र बुझेर लिने जिम्मेवारीपूर्ण निर्णय हो। अभिभावक, शिक्षक र साथीहरूको सल्लाह उपयोगी भए पनि अन्तिम निर्णय आफ्नै विवेकबाट लिनु आवश्यक हुन्छ किनकि पढ्ने, मेहनत गर्ने र सफल हुने व्यक्ति तपाईं नै हो। कुनै पनि विषय रोज्नुअघि आफ्नो क्षमता र कमजोरीको आत्मविश्लेषण गर्नु र आवश्यक परे व्यावसायिक मार्गदर्शन लिनु र खोजी गरी अध्ययन गर्नु उपयुक्त हुन्छ। कुनै पनि विषय कमजोर हुँदैन, कमजोर हुन्छ केवल सोच। त्यसैले अल्पकालीन फाइदाभन्दा दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखी आत्मविश्वासका साथ निर्णय लिनु नै सफल भविष्यतर्फ तपाईंको सही कदम हुनेछ। सबैलाई सफल भविष्यको कामना!
(लेखक अक्षरा स्कुलको शिक्षक हुन्।)