एसइईको नतिजा भर्खर प्रकाशित भएको छ। हामी धेरैले ए प्लस ल्याउन सफल भएका छौँ। राम्रो अङ्क पाएर हामी पास भएका छौँ। हामीमा आज खुसी छ, उमङ्ग छ। नयाँ जोश र जाँगर छ। भविष्यको नौलो कल्पना छ। सुनौलो सपना छ। अब हामी के लिएर पढ्ने भन्ने एउटा मनमा जिज्ञासा छ। जिज्ञासा हुनुपर्छ अनि मात्र हामी अगाडि बढ्न सक्छौँ। एउटा सफल जीवन जिउन सक्षम हुन्छौँ। सबै भाइबहिनीलाई राम्रो अङ्क ल्याउनु भएकोमा बधाई साथै जो ल्याउन असफल हुनुभएको छ उहाँहरूलाई पनि बधाई दिनुपर्छ। किनकि उहाँहरूको प्रयास, उहाँहरूको परिश्रम त्यसै खेर जाँदैन। अर्को साल पर्खिरहेको हुन्छ। त्यसको लागि पनि हामीले तयार हुनुपर्छ।
अहिले पास हुनु भएका भाइ-बहिनीलाई एउटा सानो सुझाव पनि दिन चाहन्छु कि सफल जीवन यो भौतिक दुनियाँ मात्र होइन। यो दुनियाँभित्र अर्को दुनियाँ पनि छ। त्यसलाई पनि हामीले सँग-सँगै लैजानुपर्छ। अनि हामी सफल पनि हुन्छौँ तर जुन सफलताले हामीलाई दीर्घकालीन खुसी र आनन्द दिँदैन भने त्यो सफलता सफलता होइन। त्यो त केवल एक मृगतृष्णा हो। यसैले हामीभित्र नैतिक शिक्षा हुनु पनि अत्यन्त जरुरी छ।
यसै सन्दर्भमा एउटा सानो उपमा दिन चाहन्छु। विलियम जेम्स नामको एक ठुलो एउटा वैज्ञानिक एकपल्ट पागलखाना गए। पागलखानामा उनले तरह-तरहका पागल देखे। हामी पनि कहिलेकाहीँ पागलखाना गएर हेर्नु पर्छ किनकि पागललाई देखेर हामीलाई आफ्नो मनस्थिति थाहा हुन्छ कि- म यिनीहरूभन्दा कति टाढा छु!
उनको एकजना साथी पनि पागलखानामा थिए। उनी त्यो साथीलाई भेट्न ज्यादै नै उत्सुक थिए। विलियम जेम्स पागलखाना गए। त्यहाँबाट उनी जब फर्के, ज्यादै उदास थिए। जाँदाखेरि धेरै प्रसन्न थिए। पागलहरूलाई हेर्न उनी बडो उत्सुक थिए। तर जब त्यहाँबाट फर्के, धेरै उदास थिए। त्यो रात उनी सुत्न पनि सकेनन्।
भोलिपल्ट मित्रहरूले उनलाई भने- ‘तिमी हिजो फर्केर आएदेखि धेरै उदास छौ। कुरा के हो?’
विलियम जेम्सले भने- ‘अब सायद जीवनमा म कहिले पनि प्रसन्न हुन सक्दिनँ।’
उनको साथीले भने- ‘किन यस्तो? के कुरा भयो? यस्तो के भयो त्यहाँ?’
विलियम जेम्सले भने- ‘ती पागलहरूलाई देखेर एउटा कुरा मनमा आयो कि म भित्र पनि त यी सबै कुरा चलिरहेको छ। म कति दिन यिनीहरूलाई सम्हालेर राख्न सक्छु र? जब मेरो मित्रले आफूलाई सम्हाल्न सकेनन् र भित्रको कुरा बाहिर आयो, उनी पागलखानामा गए। कुनै दिन मलाई पनि त यो घट्न सक्छ नि? जसरी उनलाई घट्यो। म भगवान् त होइन नि?’
एकपल्ट हामी पनि सोचौँ त कहीँ हामी विलियम जेम्स जस्तै त भएका छैनौँ। हामीभित्र पनि त थुप्रै विचारहरू छन्। हामीमा थुप्रै विचारहरू थुप्रिएका छन्। सानैदेखि हामीमा ‘ठुलो मान्छे’ बन्नुपर्छ भन्ने विचार हालिएको छ र मनमा पलाउँदै गएको छ।
आज हामी विद्यालयमा अध्ययन गरिरहेका छौँ। भोलि हामी विश्वविद्यालय पुग्छौँ। ‘ठुलो मान्छे’ बन्ने हाम्रो सपना हामीसँगै पछि लागिरहन्छ। अनि हामी मनभरि त्यो चाहना लिएर ‘ठुलो मान्छे’ बन्ने दौडमा पौडी खेल्न थाल्छौँ। कसरी त्यो हासिल गर्ने भन्ने हरदम हामीलाई चिन्ता भइरहन्छ।
शिक्षाले हामीलाई आनन्द दिनुपर्ने होइन र? यहाँ त ठिक उल्टो भयो। शिक्षाले त हामीलाई चिन्ता दियो।
कसलाई ‘ठुलो मान्छे’ भन्ने त? ठुलो मान्छेको हाम्रो परिभाषामा काठमाडौँमा तथा अन्य ठाउँहरूमा सुविधायुक्त ठुलो घर, धेरै धन-दौलत, जग्गा-जमिन, गाडीको परिधिभित्र हामी बाँधिन्छौँ।
हामी डाक्टर, इन्जिनियर, पाइलट बन्न चाहन्छौँ। सरकारी जागिर खाएर ठुलो अधिकृत बन्न चाहन्छौँ। अनि कमाउने ठाउँमा गएर धेरै पैसा कमाउन चाहन्छौँ। तर हामी कहिले पनि सोच्दैनौं कि कमाउने ठाउँ भनेको के हो? त्यहाँ पैसाको थुप्रो कसरी लाग्छ भनेर।
पद, पैसा र प्रतिष्ठा हाम्रो ‘ठुलो मान्छे’को परिभाषा बन्न गएको छ। तर जब हामी पद, पैसा, प्रतिष्ठाबाट परिपूर्ण हुन्छौँ, तर पनि हामी पूर्ण हुन सक्दैनौँ। हामीभित्र अझ कमाउने चाहना, लालसा बढी नै रहन्छ। जसरी प्यासी मृगले मरुभूमिमा बालुवा टल्केकोलाई पानी देख्छ र प्यास मेटाउन दौडिरहन्छ। तर नजिक पुगेपछि उसले देख्छ त्यो त केवल बालुवा टल्केको रहेछ र पर फेरि हेर्छ तर पानीको प्यास उसलाई मेटिँदैन। किनकि बालुवालाई पानी देख्नु उसको दृष्टिभ्रम हो। बालुवा पानी हुन सक्दैन। पानी बालुवा हुन पनि सक्दैन।
हो, आज हाम्रो हविगत पनि त्यस्तै हुँदै गइरहेको छ। पद, पैसा र प्रतिष्ठाको लागि आज हामीले आफूलाई बेचिरहेका छौँ। हामी अस्वस्थ हुँदै गइरहेका छौँ। शरीर मात्र अस्वस्थ होइन, हाम्रो मानसिकता पनि अस्वस्थ बन्दै गइरहेको छ। आफूलाई गुमाएर हामी पद, पैसा र प्रतिष्ठाको लागि दौडमा सामेल भइरहेका छौँ। शिक्षाले हामीलाई माया, प्रेम, स्नेह, सद्भाव, दया, करुणा सिकाउनुपर्नेमा र हामीले पनि सिक्नुपर्नेमा रिस, राग, द्वेष, अहमता, घृणा, घमण्ड जस्ता जीवनका विकारहरू बोकेर हामी भौतारिरहेका छौँ। मीठो वचन बोल्न हामीले बिर्सेका छौँ आज।
एकपल्ट गम्भीर भएर सोचौँ त, कसको लागि हामीले यी सबै सङ्कलन गरिरहेका छौँ त? यी सङ्कलनबाट हामीलाई के प्राप्ति हुन्छ त? जिन्दगी दाउमा राखेर पद, पैसा र प्रतिष्ठा सङ्कलन गर्दा हामी कति सन्तुष्ट छौँ त?
यसैले म के भन्न चाहन्छु भने हामीले शिक्षा आर्जन त गर्नु नै पर्छ। शिक्षा सँगसँगै हामीमा नैतिक शिक्षा पनि हुनुपर्छ। नैतिकता पक्कै पनि शिक्षाले नै ल्याउँछ। नैतिकताले माया, स्नेह, सद्भाव, आदर, सम्मान तथा जागरुकता ल्याउँछ। यसैले शिक्षा सँगसँगै हाम्रो नैतिक शिक्षा पनि सँगै जानुपर्छ। नैतिकता बिनाको शिक्षा शून्य हुन्छ। बास्ना बिनाको फूल हुन्छ। हामी बास्नासहितको फूल हुनु पर्छ।
पद, पैसा र प्रतिष्ठाको दौडमा मात्र हामी दौडिरह्यौँ भने एकदिन हामी शारीरिक मात्र होइन, मानसिक अवस्थाबाट पनि विचलित भएर विलियम जेम्स जस्तै कतै बन्न सक्दैनौँ भन्न पनि सकिँदैन।
अतः यसको लागि हामीले योगा, प्राणायाम, ध्यान जस्ता जीवनमा नभई नहुने क्रियाहरूलाई पनि शिक्षासँगै लैजानु आजको आवश्यकता भएको छ। योगा, प्राणायाम, ध्यान जस्ता क्रियाहरूको अभ्यासले हामीमा भएका विकारहरूलाई हटाएर सकारात्मक भावनाको सिर्जना गर्छ। सकारात्मक सोच, सकारात्मक भावना जीवनको अपरिहार्य तत्त्वहरू हुन्। यिनीहरूले जीवन जिउने कला सिकाउँछन्। विलियम जेम्स हुनबाट हामीलाई बचाउँछन्। सत्य र असत्यको बाटो चिनाउँछन्। साथै पहिल्याउन पनि सिकाउँछन्। मृगतृष्णाको दौडबाट यिनीहरूले हामीलाई बचाउँछन्।
अन्त्यमा, सफल तथा असफल दुवै भाइबहिनीहरूलाई हृदयदेखि नै हार्दिक बधाई व्यक्त गर्दछु। जीवनमा सफलता र असफलता दुवै सिकाइका सुन्दर पाटा हुन्। आगामी जीवन-यात्रा सुखमय, आनन्दमय र शान्तिमय बनोस् र तपाईंहरूले बाहिरी सफलतासँगै अन्तरमनको साँचो शान्ति पनि प्राप्त गर्न सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।