कक्षा ११ मा भर्नाका क्रममा एक अभिभावकले आफ्ना सन्तानलाई व्यवस्थापन संकाय नै पढाउन निरन्तर दबाब दिइरहनुभएको थियो, जबकि विद्यार्थीको चाहना मानविकी पढ्ने थियो।
प्रत्येक विषयको आ-आफ्नै महत्त्व र विशेषता बुझाउँदा पनि अभिभावक आफ्नो अडानमा कायमै हुनुहुन्थ्यो। तर जब कलेजका प्राचार्य र सह-प्राचार्यले आफूहरूले पनि मानविकी संकाय नै पढेको जानकारी दिनुभयो, तब मात्र अभिभावक विश्वस्त भएर सन्तानको इच्छालाई स्वीकार्न तयार हुनुभयो।
यो त एक उदाहरण मात्र हो।
अहिले पनि कतिपय अभिभावकहरूमा 'यो विषय राम्रो' र 'त्यो विषय कमसल' भन्ने भ्रम छ। अरूका छोराछोरीले कुनै विषय पढेर प्रगति गरेको आधारमा आफ्ना सन्तानलाई पनि त्यही विषय पढ्न दबाब दिनु प्रतिकूल अवस्था निम्त्याउनु मात्र हो।
कक्षा ११ र १२ मा पढेको विषयले विश्वविद्यालयको शिक्षाका लागि आधार तय गर्दछ। हाम्रो समाजमा विज्ञान विषयमा गणितसहित पढ्दा भविष्यमा सबै विधामा भर्ना पाइने, तर अन्य विषय छनोट गर्दा कतिपय संकायको ढोका बन्द हुने डरले विद्यार्थीहरू रूचि नहुँदा नहुँदै पनि विज्ञान पढ्न बाध्य भइरहेका छन्। मूलतः विश्वविद्यालयहरूले कक्षा ११ र १२ मा पढेका विषयका आधारमा संकाय छनोटमा रोकतोक लगाउनु हुँदैन र यो अन्तर्राष्ट्रिय चलन पनि होइन।
हिजोको तुलनामा आज विश्वविद्यालयहरू परिमार्जित भइरहेका छन्। कुनै समय स्नातक तहमा पत्रकारिता पढ्न ११ र १२ मा पत्रकारिता नै पढेको हुनुपर्ने बाध्यता थियो। यदि स्नातक तहमा 'इन्टरडिसिप्लिनरी' अर्थात् जुनसुकै संकायबाट आएका विद्यार्थीले पनि आफ्नो रूचि अनुसारको विषय छनोट गर्न पाउने व्यवस्था भएमा विद्यार्थीलाई माध्यमिक तहमा विषय छनोटको तनाव हुने थिएन। समय, परिस्थिति र वातावरण अनुसार विद्यार्थीको चाहना र मनस्थितिमा परिवर्तन आउन सक्ने भएकाले विद्यालयदेखि विश्वविद्यालयसम्म एउटै विधा पढ्नुपर्ने बाध्यतामा परिवर्तन आउनै पर्दछ।
अहिलेको समाजमा राम्रो ग्रेड आउँदा विज्ञान, औसत आउँदा व्यवस्थापन र कम ग्रेड आउँदा मानविकी वा शिक्षा संकाय पढ्नुपर्ने मानसिकता व्याप्त छ, जुन विद्यार्थीको रूचिको विपरीत हुन सक्छ।
विषय छनोट गर्दा ध्यान दिनुपर्ने बुँदाहरू:
१. पर्याप्त सूचना संकलन:
आजको युगमा सूचना प्राप्त गर्न गाह्रो छैन, तर सूचनाको विश्वसनीयता र आधिकारिकता जाँच्नु महत्त्वपूर्ण हुन्छ। विभिन्न स्रोतहरूबाट प्राप्त जानकारीलाई विश्लेषण गरी कलेजहरूसँग प्रत्यक्ष संवाद र अन्तरक्रिया गर्दा निर्णय लिन सजिलो हुन्छ।
२. सामूहिक छलफल:
घरका सदस्यहरूले आफ्ना अनुभव र सल्लाह राख्ने तर अन्तिम निर्णय विद्यार्थीलाई नै लिन दिने वातावरण बनाउनुपर्छ। छलफल गर्दा कुनै पनि विषयलाई 'नराम्रो' भनी प्रस्तुत गर्नु हुँदैन, बरू तथ्य र तथ्याङ्कका आधारमा खुला बहस गर्नुपर्दछ।
३. आफ्नो स्वभावको पहिचान:
प्रत्येक बालबालिकाको स्वभाव र रूचि फरक हुन्छ। अरूको देखासिकीमा भन्दा पनि आफ्नो क्षमता र लगाव कुन क्षेत्रमा छ भन्ने कुराको पहिचानले नै भविष्यमा अब्बल बनाउँछ। केवल एसइईको नतिजालाई मात्र आधार बनाएर विषय छान्दा अपेक्षाकृत प्रतिफल नपाइन सक्छ।
४. उद्देश्य प्राप्तिको खोजी:
विद्यार्थीले आफ्नो जीवनको गन्तव्य तय गर्नै पर्छ। लक्ष्य स्पष्ट भएमा मात्र कक्षा ११ को विषय छनोटले त्यसका लागि आधारशिलाको काम गर्छ।
५. बजारको माग र प्रविधिको प्रभाव:
प्रतिस्पर्धात्मक बजार र आर्टिफिसियल इन्टेलिजेन्स (AI) को युगमा आफूलाई कसरी स्थापित गर्ने भन्ने हेक्का राख्नुपर्छ। अहिलेको बजार स्थानीय मात्र नभई विश्वव्यापी भइसकेकाले विश्व बजारको माग अनुसारको विषय छनोट गर्नु बुद्धिमानी हुन्छ।
६. रैथाने व्यवसायको प्रवर्द्धन:
यदि अभिभावकको व्यवसायलाई अगाडि बढाउने र पुस्तान्तरण गर्ने सोच छ भने सोही व्यवसायलाई नेतृत्व दिन सक्ने गरी छोराछोरीको रूचि अनुसारको विषय रोज्न सकिन्छ।
७. साथीहरूको लहैलहैबाट बच्ने:
धेरै विद्यार्थी साथीसँग छुटिनुपर्ने डरले साथीले जे पढ्यो त्यही विषय रोज्छन्, जुन भविष्यका लागि घातक हुन सक्छ। मित्रता आफ्नो ठाउँमा छ, तर करियर निर्माण नितान्त व्यक्तिगत विषय हो।
८. पूर्वअध्ययनलाई आधार बनाउने:
कक्षा १० सम्मको पढाइले आफ्नो कुन विषयमा बढी रूचि छ भन्ने कुराको संकेत गरिसकेको हुन्छ। आफूले पढेको बोर्ड र आफ्नो झुकावलाई मनन गरेर अघि बढ्नु उत्तम हुन्छ।
नेपालमा हाल राष्ट्रिय परीक्षा बोर्ड (NEB) अन्तर्गतको +२, सिटिइभिटी (CTEVT) का प्राविधिक कार्यक्रमहरू र अन्तर्राष्ट्रिय बोर्डहरू (IB, A-Level, CBSE) उपलब्ध छन्, जसमध्ये विद्यार्थीले आफ्नो लक्ष्य सुहाउँदो मार्ग रोज्न सक्छन्।