सधैँझैँ नियमित रूपमा अफिसतर्फ जाँदै गर्दा शिन्जुकु स्टेशन पुग्न केही समय मात्रै बाँकी थियो। बिहानको व्यस्त समय भएकाले ट्रेनभित्र मानिसहरूको निकै भीड थियो। सबै आ–आफ्नै गन्तव्यतर्फ हतारिइरहेका थिए। त्यही क्रममा अचानक एक जना अधबैँसे जापानी पुरुष ट्रेनभित्रै ढले।
घटना यति अप्रत्याशित थियो कि केही क्षणका लागि वरपरका यात्रुहरू आत्तिएजस्ता देखिए। तर त्यो अवस्था लामो समय टिकेन। तुरुन्तै केही यात्रुहरूले स्थिति बुझ्ने प्रयास गरे र कसैले तत्काल ट्रेन चालकलाई जानकारी गराए। केही क्षणमै ट्रेन रोकियो र आवश्यक सावधानी अपनाइयो।
त्यसैबीच अलि पर उभिएकी एक जना महिलाले अघि बढेर ती व्यक्तिको अवस्था जाँच्न थालिन्। उहाँको व्यवहार र आत्मविश्वास हेर्दा उहाँ स्वास्थ्यकर्मी, सम्भवतः नर्स हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्थ्यो। उहाँले ती व्यक्तिको सास, चेतना तथा शारीरिक अवस्थाबारे ध्यानपूर्वक जाँच गरिसकेपछि ट्रेन चालकलाई ‘उहाँको सास चलिरहेको छ, होस पनि छ, सकेसम्म छिटो शिन्जुकुसम्म पुर्याएर अस्पताल लैजानुहोस्’ भन्ने जानकारी दिनुभयो।
त्यसपछि ट्रेनलाई छिट्टै शिन्जुकु स्टेशनसम्म पुर्याइयो। स्टेशन पुगेपछि ट्रेनका कर्मचारीहरू तयार अवस्थामा आए र ती बिरामी व्यक्तिलाई सावधानीपूर्वक बाहिर निकालेर आवश्यक उपचारका लागि लिएर गए। सम्पूर्ण घटनाक्रम हेर्दा जापानमा आपत्कालीन अवस्थालाई कसरी व्यवस्थित, जिम्मेवार र मानवतापूर्ण ढंगले सामना गरिन्छ भन्ने कुरा स्पष्ट महसुस भयो।
यो घटना मेरो मनमा गहिरो रूपमा बसेको छ। घर फर्किएपछि पनि धेरै समयसम्म त्यही दृश्य मेरो मनमा घुमिरह्यो। मैले बारम्बार सोचिरहेँ— यदि त्यो व्यक्तिको स्थानमा म भएको भए के हुन्थ्यो होला? के मैले पनि त्यस्तै सहयोग र संवेदनशील व्यवहार पाउँथेँ होला? मेरो परिवारसम्म समयमै खबर पुग्थ्यो होला? परदेशमा रहेका हामीजस्ता मानिसहरूको जीवन कति असुरक्षित र अनिश्चित रहेछ भन्ने अनुभूति यस घटनाले अझ गहिरो बनाइदियो।
हामी धेरैजना आफ्नो परिवारको भविष्य राम्रो बनाउने सपना बोकेर परदेश आएका हुन्छौँ। राम्रो कमाइ गर्ने, परिवारलाई सुख दिने र भविष्य सुरक्षित गर्ने चाहनामा दिनरात मेहनत गरिरहेका हुन्छौँ। तर कहिलेकाहीँ यही दौडधूपका बीच हामी आफ्नो स्वास्थ्यलाई बेवास्ता गरिरहेका हुन्छौँ। शरीर स्वस्थ नभएसम्म कमाइ, सफलता वा सपना कुनै पनि कुराले पूर्ण अर्थ राख्दैन भन्ने कुरा हामीले बुझ्न आवश्यक छ।
विशेष गरी विदेशमा बस्ने र काम गर्ने हामी नेपालीहरूका लागि स्वास्थ्यप्रति सचेत हुनु अत्यन्त आवश्यक छ। नियमित स्वास्थ्य परीक्षण गर्ने, पर्याप्त आराम गर्ने, समयमै खाना खाने, मानसिक तनावलाई नियन्त्रणमा राख्ने र आपत्कालीन अवस्थाका लागि आवश्यक जानकारी तथा सम्पर्कहरू सुरक्षित राख्ने जस्ता कुराहरूलाई हल्का रूपमा लिनु हुँदैन।
यसरी परदेशमा संघर्ष गर्दै गर्दा अकालमै यहीँ अस्ताउन नपरोस् भन्ने चाहना मेरो मात्र होइन, सायद हरेक प्रवासी नेपालीको मनभित्र लुकेको साझा चाहना हो। त्यसैले पैसा कमाउने लक्ष्यसँगै आफ्नो स्वास्थ्य र सुरक्षाप्रति पनि समान रूपमा ध्यान दिन सबैमा हार्दिक अनुरोध गर्न चाहन्छु।
यो सानो घटनाले मलाई जीवन, स्वास्थ्य र मानवताको महत्त्वबारे धेरै ठूलो पाठ सिकाएको छ। यही अनुभवबाट अरू कसैले पनि केही सन्देश लिन सकून् भन्ने उद्देश्यले यो कुरा साझा गरेको हुँ।