अटल, चट्टानी पहरो माझ प्रकृतिले बिछ्याएको हिउँको बिस्कुन अनि त्यसमाथि एउटा सानो हिउँ छाप्रो। त्यही छाप्रोमा दिन बित्छ। रात बित्छ अनि चल्छ गृहस्थी कविता दिदीको।
मर्दी हिमालको भ्यू पोइन्ट, ४२ सय मिटरको उचाइमा कविता दिदीको मात्र होइन अरू चिया पसल पनि छन्। अरू पसले राति हाइ क्याम्प (३५५० मिटर) झर्छन् बिहान फेरि भ्यु पोइन्ट उक्लिन्छन् व्यापार गर्न। तर कविता दिदी त्यही हिमाल जस्तै अडिग बसिरहन्छिन् आफ्नै छाप्रोमा।
हिउँको संसार चुम्न पुग्ने पर्यटकलाई मुसुक्क हाँस्दै स्वागत गर्छिन् कविता। अङ्ग्रेजी खासै जान्दिनन्। तर पनि उनको बोलीमा दंग हुन्छन् सबै पर्यटकहरू। मोहित हुन्छन् उनको आत्मीयतामा।
‘समथिंग, टी ? –यत्ति मात्रै जान्या छु अरू आउँदैन,’ हाँस्दै भन्छिन् उनी।
अनि पर्यटकहरू हाँस्दै टाउको हल्लाउँछन्।
उनी भन्छिन्, ‘यहाँ जिन्जर, हनी, लेमन, टी, ब्ल्याक कफी, मसला टी पाइन्छ।’
यी अंग्रेजी लवज पनि उनलाई पहिले थाहा थिएन। श्रीमानले सिकाएका शब्दहरू अहिले जीवनको अंग बनेका छन्।
चार वर्ष अघि, यो ठाउँ उनको लागि अपरिचित थियो। श्रीमानले भने, ‘म भ्याउँदिनँ। अब तिमी बस।’
आज्ञा शिरोपर सरकार भन्दै हिउँको सेतो तन्नालाई कविताले मूलओछ्यान बनाइन्। हाइ अल्टिच्युडमा उनी एक्लै हिमाललाई स्याहार्दै बसेकी छिन्। सुरूका केही रात उनलाई निद्रा लागेन। घडीको सुइँसँगै बिस्तारै घिस्रिरहन्थ्यो समय। कहिले उज्यालो होला...? भनेरै बित्थे रातहरू। हिमालबाट आएर ठोकिने चिसो हावाको झोँकाले फिटिक्कै निदाउन सकिनन्।
‘आँखा चिम्म गर्न खोज्दा पनि निद्रा कहाँ आउँथ्यो र? डरले पिरोल्थ्यो, एक्लोपनले मन भारी हुन्थ्यो। तर, बिस्तारै, दिन बित्दै गए, रातहरू छिचोलिँदै गए।’
∘∘∘
कविता हिउँको सहरको एक्लो मझेरीमा बस्छिन्। हिमालको काखमा, कठ्याङ्ग्रिने चिसो र एकान्तलाई आफूसँगै बोकेर जीवनलाई अँगाल्दै, उनले नयाँ अर्थ दिएकी छिन्।
हिमालको सुन्दरता, त्यो मौसम, कठोर वातावरण र एक्लोपनसँग जुध्दै उनले आफ्नो दिनचर्या सुरू गर्छिन्। जहाँ उनका लागि समयको गणना हिउँ, हिमाल र जंगली प्राणी भएका छन्। त्यसैले त उनलाई हिमाल जस्तै अडिग बनाएको छ।
उनको भित्री मनको सुन्दरता बाहिरी सौन्दर्यमा पनि झल्किन्छ। पर्यटकको मन जित्ने मुस्कान मात्र होइन उनका आँखा जीवनका हरेका चुनौतीलाई सहज रूपमा सम्हाल्ने विश्वासले भरिएका छन्।

उनको मुहारमा हिमालको शीतलता र उचाइको गम्भीरता दुवै स्पष्ट देखिन्छ, जसले उनलाई झनै आकर्षक बनाउँछ। अनकन्टार हिमालको पाखामा उनले आफ्नो न्यानोपन र सुन्दरता दुवैलाई सम्हालेर राखेकी छिन्।
साँच्चै, हिमालको जीवन अरूभन्दा फरक छ। यहाँको चिसोले शरीर मात्र होइन, मनलाई पनि कठ्याङ्ग्राउँछ। धेरै समयसम्म यो चिसोसँग पैंठेजोरी खेल्न कठिन हुन्छ। हिउँको काखमा बसेर पानी पिउने, हिउँ पगालेर पानी बनाउने, अनि दिनभर तातोपानी खुवाएर पाहुनालाई पठाउने काम गर्दा उनको मनमा छुट्टै सन्तुष्टि छ। पानी बनाउने स्रोत नै हिउँ। पानी मात्र होइन, बाँच्ने उपाय पनि बनेको छ। ‘धर्म भनेकै पानी खुवाउनु हो,’ उनी गर्वसाथ भन्छिन्।
पाहुनाहरू हिमाल हेरेर खुसी हुन आउँछन्। तर हिमाल नखुल्दा कवितालाई लाग्छ, ‘यो हिमाललाई म आफैले हल्लाएर सपनाहरूमा खुसी भरिदिन पाए हुन्थ्यो’।
चिसोले उनको घुँडा दुख्छन्। छातीमा उस्तै चिसो पस्छ। अनि दुख्छ आत्मविश्वासले भरिएका ती आँखाहरू। तर पनि गलाउन सकेको छैन उनको साहसलाई हिमालको चिसो सिरेटोले।
‘सकिन्जेल बस्छु, तर शरीरले धेरै साथ दिँदैन कि जस्तो लाग्छ,’ उनी भावुक हुन्छिन्।
पर्यटकहरू दिनहुँ आइरहन्छन्, फर्किन्छन्। तर, उनी त्यही टहरामा छिन्। मर्दी हिमाल भ्यू पोइन्टमा। ४२ सय मिटरको उचाइमा। कफी र चियाको सुगन्धले भरिएको उनको सानो टहरोमा। धेरै यादहरू, सम्झनाहरू अनि सम्भवतः सुरूआतहरूको साक्षी बनेर। उनले हिमाल अँगालेर जीवनलाई एउटा बिम्ब बनाएकी छिन्, एउटा कविता बनेको छ कविता दिदीको जीवन ।
∘∘∘
कविता वि.सं. २०४४ सालमा जन्मेकी हुन्, अहिले ३७ वर्ष पुगिसकिन्। जीवनले उनलाई धेरै कुरा सिकाएको छ। अनुभव दिएको छ। सानैमा बिहे भयो, छोरा छोरी ठूला भइसके। जेठो छोरो २१ वर्षको, माइली छोरी १७ वर्षकी र सानो छोरो १३ वर्षको। बच्चाहरू पोखरामा बसेर पढ्छन्। बच्चाहरूको सपना पूरा गर्न उनी भने हिमालसँग पैंठेजोरी खेलिरहेकी छन्।
यो ठाउँ एक्लो छ, तर रमाइलो पनि। साँझ पर्नु अघि डाँफेहरू दैलोमै आइपुग्छन्, हिम चरीहरू वरिपरि फन्को मार्छन्। भालु कहिलेकाहीँ डर देखाउँछ।
उनी भन्छिन्, ‘पोहोरको हिउँ बेस्सरी परेको थियो। एक दिन भालु आयो, र सबै लठबद्र बनायो।’
उनलाई डर लाग्यो, तर आँट गरेर सोलर बालिन्, कराइन्, अनि भालु भाग्यो। यसरी बाँच्न सिकिन् उनले। भालुसँगको भिडन्तले उनलाई फेरि सिकायो—हिमालमा जिउने कला। त्यसैले त कविता जीवनलाई सरल रूपमा लिन्छिन्।
बिस्तारै, यो ठाउँ उनको आफ्नै जस्तो बन्दै गयो । पोखराको खेतीपाती छोडेर हिमालको चिसो हावासँगै बसेर जीवन जिउनु चानचुने कुरा होइन। पहिला खेती गर्थिन्, छोराछोरीलाई स्कुल पठाउँथिन्, तर यहाँ आइपुग्दा उनले फेरि नयाँ जीवन सिक्नुपर्यो।
पोखराको हेम्जामा खेतीपाती गर्ने कवितालाई जिम्मेवारीको बोझले हिमालको काखमा हुत्त्यायो। छोराछोरीको पढाइ, घर खर्च, सबैको जिम्मेवारी बोकेर उनी त्यहाँ बसेकी छन् । साना हातले बनाएका हिउँको छाप्रोमा दिनभर चियाको बाफसँगै उड्दै, साँझमा हिमालको मनोरम दृश्यसँग कफीको कलरमा मिसिँदै— यस्तै यस्तै बन्दै गएको छ उनको जिन्दगी।
सिजन सुरू हुन्छ, नेपाली र विदेशी पर्यटकहरूको ओइरो लाग्छ । हिमाल हेर्न, ट्रेकिङ गर्न आउँछन्। तर, हिमालले कहिलेकाहीँ आफ्नो रूप लुकाउँछ, कहिले कुहिरोभित्र त कहिले बादलभित्र। त्यति बेला पाहुनाहरू अलिकति निराश हुन्छन्। कविता ढाडस दिँदै भन्छिन्, ‘हिमाल फेरि खुल्छ, फेरि मुस्कुराउँछ।’
उनको गर्जो पनि राम्रै चलिरहेको छ। सानो छाप्रोमा चिया र चाउचाउको व्यापार।
उनी भन्छिन्, ‘जाडो ठाउँमा चिया नै धेरै बिक्छ ।’ पर्यटकहरू चिसोमा कठ्याङ्ग्रिँदै आउँछन्, अनि तातो चिया, कफी पाउँदै न्यानोपनमा रमाउँछन्। त्यो तातो चिया, त्यो न्यानोपन, कविताकै हातबाट बनेको हुन्छ। भ्यू पोइन्टको चिसो मौसममा एक प्रकारको जीवन रेखा।
त्यो हिउँको टहरो, आत्मीयताले भरिएको छ। हरेक पर्यटकका लागि, उनीसँग जीवनको मिठास छ। चिया र कफीसँगै जीवनको मिठास बाँडिरहेकी छिन् कविता।
‘मर्न लेखेको छ भने यही मरम्ला,’ उनी हाँस्दै भन्छिन्–जब आफन्तहरूले उनलाई एक्लै बसेको भनेर जिद्दी भन्दै वचन लाउँछन्।
‘सबै दंग खान्छन्, यो ठाउँमा कसरी एक्लै बस्न सक्छे भनेर। तर म यहीँ बसेर पनि जीवनको मज्जा लिइरहेकी छु।’
मान्छेहरू उनलाई सोध्छन्, ‘छोराछोरी, उनीहरूका बाबु पनि नबस्ने ठाउँमा तिमी कसरी बस्छौ?,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘बस्दा बस्दा बानी भयो।’
तर, जीवन सधैं सजिलो कहाँ हुन्छ र? भालुसँग मितेरी गाँस्न बाँकी छ। कहिलेकाहीँ ढोकामा आउने खुट्टाको आवाज चिन्नु छ। त्यो अँध्यारो, चिसो रातमा, हिम बतासले ल्याउने सन्देशहरू आफै एक्लै पढ्नु छ। तर, उनी एक्लो भएकी छैनन् बलियो भएकी छन्।
बाध्यताका बीच त्यहाँ पुगेकी कविताको मन उतै बस्छ अचेल। हिमालसँग विशेष सम्बन्ध गाँसिएको छ कविता दिदीको। दसैं–तिहार एवं अलि लामो छुट्टीमा बच्चाबच्ची पोखराबाट आउँछन्। त्यतिखेर उनको हिम छाप्रोमा रमाइलो माहौल बन्छ। तर बाँकी समय उनी एक्लै दिन बिताउँछिन्। हिमालसँगै साउती मार्छिन्। कहिलेकाहीँ हेम्जा झर्छिन्, खेतबारी पनि सम्हाल्छिन्।
आफूलाई चाहिने सामान उनी जिपमा अर्डर गर्छिन्। पोर्टहरूले माथिसम्म ल्याइदिन्छन्। कविताले आफ्नो जीवन हिमालको शिरमा सजाएर राखेकी छन्। हिउँमा पाइला राख्दा, उनलाई जीवनका पाइलाहरू याद आउँछन्। सधैं ठिक बाटो पाउनु भनेको सजिलो छैन। तर, हिमालको यो जीवनले हरेक दिन नयाँ पाठ सिकाउँछ, आत्मीयता दिन्छ। हिउँसँगै मुस्कुराउँदै बाँच्दै गरेकी कवितालाई प्रत्येक दिन, त्यो सेतो संसारले सुकिला सपनाहरू देखाउँछ।

जति उचाइ चुलिन्छ, त्यहाँ मौसमसँगै जंगली जनावरहरूको डर हुन्छ, त्यहाँ महिलाहरूको उपस्थिति दुर्लभ हुन्छ। तर कविताले त्यो दुर्लभतालाई चुनौती दिएकी छिन्। पर्यटकहरू उनलाई देख्दा अचम्म मान्छन्। धेरैजसो महिला पर्यटकहरूले भन्छन्, ‘तपाईं जस्तो साहसी महिला यो हिमालको उचाइमा देख्दा गर्व लाग्छ,’ उनी भन्छिन्, ‘महिलाको बल भनेकै उसको आँट हो। यो हिमालको कठोरतामा, मैले आफ्नो बल देखाइसकेँ।’
कविता दिदीको जिन्दगी चिसोले कठ्याङ्ग्रिए पनि, उनको आत्मबल र मुस्कानले संसारको जाडोलाई जितेको छ।
हिउँसँग लडेर, भालुसँग भिडेर, आफ्नो सन्तानको भविष्य सुनिश्चित गर्न उनी दिनरात मेहनत गरिरहेकी छन्। हिमालसँगको उनको गहिरो सम्बन्ध, हिम चरी र डाँफेसँगको मित्रता, अनि पाहुनाहरूको खुसी—यी सबैले उनलाई यो संसारको सबैभन्दा धनी बनाएको छ।
हिमाल हेर्न पुग्ने पर्यटकलाई तातो चिया मात्र नभई विशेष सन्देश पनि दिन्छिन् कविता—‘हिमालले जीवन देखाउँछ, कठिनाइहरूले हामीलाई बलियो बनाउँछ।’
आज, कविता हिउँको छायामा पनि न्यानो छिन्।