भनिन्छ नि, कुनै पनि कुरा पूरा हुन अथवा कुनै पनि काम हुन भाग्यले नै साथ दिन पर्छ भनेर। आज यो कुरा मैले पनि अनुभव गरिरहेकी छु। मलाई आफू जन्मेको गाउँ पुग्न २० वर्ष लागेछ। विगत ५\६ वर्षदेखि ‘लहान’ जाने सोच मनमा आइरहेको थियो। सोच मात्र होइन, सपनामा पनि समय-समयमा ‘लहान’ देख्न थालेको थिएँ। सायद मलाई मेरो जन्मथलोले बोलाइरहेको थियो
जान मन त असाध्यै लागेको थियो तर पनि काम, यता-उता अनि के-के कुराले मिलिरहेको थिएन। २० वर्ष भएछ ‘लहान’ नगएको पनि। बेलाबेला साथीहरूसँग कुरा हुँदा कति सम्झना आउँथ्यो, कति जान मन लाग्थ्यो तर फेरि सायद समय जुरेको थिएन। सायद मेरो समय आएको थिएन होला।
विगत ३\४ वर्षदेखि त म योजना बनाइरहेको थिएँ तर मात्र योजना भएको थियो। यो पालि छोराको स्कुल बिदा भएपछि ‘विराटनगर’ जाने भइयो। छोरा पनि खासै काठमाडौँ बाहिर तराई तिर जान मान्दैन। त्यही भएर पनि उसलाई गाउँघर देखाउन, घुमाउन रहर लगेर आयो। उसलाई फकाएर विराटनगर जान राजी गराएँ। आफ्नो मन चाहिँ ‘लहान’ मै अड्केको थियो। आखिर यही मौका हो जस्तो लग्यो र यो पालि जाने आँट पनि गरेँ।
विराटनगरमा दिदी हुनहुन्छ, मेरी अत्यन्त प्यारी दिदी। वहाँलाई फकाएँ, एक दिनलाई मिलाएर लहान जाऊँ न भनेँ। दिदी पनि मानिहाल्नु भयो। दिदी-बहिनी मिलेर दार्जिलिङ, सिक्किम, लहान घुम्ने प्लान गर्यौँ। केटाकेटीलाई घरमै छोडेर हामी दिदी-बहिनी ३\४ दिन मज्जाले घुम्ने प्लान निश्चित भयो।
चैतको अन्तिम अन्तिम भएर मौसम राम्रै थियो, खासै गर्मी पनि भएन। विराटनगर पुगेको भोलिपल्ट हामी निस्कियौँ ‘लहान’। अघिल्लै दिन साथीहरूलाई खबर गरेको थिएँ, संयोगले केही पूराना, घनिष्ठ साथीहरू पनि लहान पुगेका रहेछन्। अब त म झनै उत्साहित भएँ। दिदी, म लगायत एकजना ड्राइभर दाइ लिएर हामी लाग्यौँ प्यारो लहान।
बाटोभरि रमाइलो गर्दै, हाँस्दै, हामी पुग्यौँ आफ्नो गन्तव्य। लहान चोकमा खाना के खाँदै थियौँ साथीहरूको लगातार कल आयो। कसैलाई पनि खाना नबनाउनु भनेर आग्रह गरेको थिएँ, के दुख दिनु भनेर, बबाल गाली खाएँ। चोकबाट साथी आसिकाको तिर लाग्यौँ। पुग्न नपाई गाली खाएँ। ‘खाना बनाएर राखेको थिएँ, किन होटेलमा खाएको’ भनेर अंकल-आन्टी, भाउजू सबले चित्त दुखाउनु भयो।
कुरा गर्दा गर्दै अर्की साथी रुबीको कल आयो। अहिले उनी हामी पढेको स्कुलको प्रिन्सिपल भएर लहानमै काम गर्छिन्। आसिका भने आफ्नो माइत आएकी थिइन्। आसिकालाई लिएर हामी स्कुल तिर लाग्यौँ। मेरो जीवनको पहिलो स्कुल, ३५ वर्षको जीवनको सबैभन्दा रमाइलो समय बिताएको जीवन त्यही स्कुले जीवन। स्कुल पुग्दा त मन पुरै भारी भएर आयो। हिजोका दिनमा म त्यही खेलेँ, पढेँ, रमाएँ, जीवनको सबैभन्दा प्यारा साथीहरू बनाएँ।
अनेकौँ कहानी र बाल्यकालको त्यो स्कुल पुरै बदलिएछ। एउटा चिप्लेटी थियो बिचमा, त्यो पनि रहेनछ। आखिर २० वर्ष भनेको लामो समय हो। मेरो छोरा नै ११ वर्ष भइसक्यो। म ११ हुँदा त्यहाँ खेलेको, कुदेको, नाचेको, रामाको सबै याद झलझली मनमा आइरहेको थियो। बाबाको जागिरको कारण मेरो पुरै परिवार काठमाडौँ सरेका थियौँ। १० क्लास हुँदा अन्तिम पटक लहान आएको याद छ, त्यसपछि विराटनगर सर्यौँ अनि फेरि काठमाडौँ।
फेरि पनि रुबीको गाली खाइयो, त्यही कुरा ‘खान किन खाएर आएको? म पर्खिरहेको थिएँ सँगै खानलाई।’ उनी भने खान सँगै खान भनेर भोकै बसेकी रहेछिन्, आफ्नो गल्तीको अनुभव पनि गरियो। यति माया गर्ने साथीहरूको घरमा आउँदा खाएर आउनु मेरो मूर्खता जस्तो पनि लाग्यो।
मेरो स्कुल पुरै घुमेर नियालेर हेरेँ, सबै क्लास-क्लास कुनाकुना पसेर हेरेँ। विगतका दिनका पानाहरू एकपल्ट फेरि पनि खोल्दा मन नै भरिएर आयो। त्यसपछि रुबीलाई पनि सँगै लिएर हामी लाग्यौँ ‘मानिस’ को तिर। मानिसको ओशोआश्रम छ लहानमा। पहिला पहिला साना छँदा हाम्रो घुम्न जाने, पिकनिक जाने ठाउँ नै ओशो थियो।
अहिले पनि उत्तिकै शान्त र आनन्द आउने ओशो। त्यहाँ बसेर कति गफ गरियो, सानोका कुराहरू सम्झेर हाँसियो अनि फेरि पनि गाली खाइयो- ‘खाना किन खाएर आएको, लहानमा आउँदा होटेलमा खाने?’ यस्तो मिठो गाली खानु पनि मजा नै आउँदो रहेछ। मानिस मेरो सबैभन्दा सानोको साथी हो, नर्सरी क्लास देखिको। उसको र मेरो त कति झगडा, कुटाकुट हुन्थ्यो तर मिल्न पनि असाध्यै मिल्थ्यौँ हामी सबैभन्दा पूरानो साथी। अरू सबै साथीहरूको सम्झना आयो, कृति र अबिसेक खास याद आयो। बिकी पनि लहान आएको रहेछ, मैले खबर पनि गरेको थिएँ, भेट चाहिँ भएन।
अब हामी लाग्यौँ मेरो पूरानो घर, यही घर हो जुन बारबार सपनामामा आउँथ्यो, मेरो सपनामा आएर मलाई बोलाउँथ्यो। मसँग पैसा भएको भए यो घर म फेरि पनि किन्थेँ होला। मेरा जिन्दगीका सबसे न्यानो छाहरी, सबसे प्यारो दिनहरू, मेरो बाल्यकाल यही घरमा बितेको हो। मेरो घरलाई ‘पाउरोटी फ्याक्ट्री’ को नामले चिनिन्थ्यो, त्यो बेला हाम्रो ‘पाउरोटी फ्याक्ट्री’ थियो।
एउटी चेलीलाई माइत आउँदा कस्तो अनुभूति हुन्छ? हो, त्यस्तै महसुस गरिरहेको थिएँ। कति न्यानो, कति शीतल मेरो गाउँ, मेरो ठाउँ। लाग्छ सबै बाटोहरूले मलाई नै चिनेको, सबै ठाउँहरूले मलाई सम्झेको, म जति यहाँ आउन उत्सुक, त्यति नै यो ठाउँ पनि मेरो पर्खाइमा उत्सुक। हाम्रो त्यहाँ दुइटा घर थियो, एउटा हाम्रो, एउटा काकाको जहाँ मेरो हजुरबा-हजुरआमा बस्नु हुन्थ्यो। मेरो आफ्नो घर चाहिँ नचिनिने भएछ, पुरै नयाँ तर आमा-बाको घर जस्ताको त्यस्तै।
बा बस्ने बरन्डा पहिलाकै जस्तो, आमाबाको कोठा पनि पहिलाकै जस्तो। दिदी चाहिँ घरबेटीसँग गफ गर्दै हुनुन्थ्यो, म त खुरुखुरु माथि चढेँ सिधैँ आमाबाको कोठामा। अहिले पनि कतै न कतै केही न केही ऊर्जा, शक्ति सायद बाँकी नै थियो, त्यही भएर त मलाई यति हल्का, यति न्यानो महसुस भयो। जीवनमा धेरै यात्रा गरियो, यो यात्रा अत्यन्त विशेष थियो, भावनात्मक र घनिष्ठ थियो। मन तृप्त भएर आयो, आँखा रसायो। जता गयो उतै छ सम्झनाको लहर, हरेक बाटोमा एउटा याद, हरेक मोडमा एउटा सम्झना, हर गल्लीमा एउटा कहानी।
लाग्थ्यो कुनै भाकल पूरा भइरहेको थियो, कुनै संकल्प पूरा हुँदै थियो। खुसीको कुनै सीमा थिएन। समयको अभाव थियो भने जानु पर्ने ठाउँ धेरै नै थियो। हाम्रो पूरानो गाउँ ‘तरेगाना’ जान दिदीलाई मन थियो, म चाहिँ लहानमै समय बिताउने पक्षमा थिएँ। मानिसले भन्यो- ‘दिदीले रहर गर्नु भयो जाम न त, २० मिनटमा पुगिन्छ।’
म, मानिस, उसको छोरी, दिदी, असिका र रुबी सबै जना हाम्रो गाडी मानिसकै रेस्टुरेन्टमा राखेर उसको गाडीमा लाग्यौँ हाम्रो गाउँ तरेगाना। मलाई खासै गाउँको याद त थिएन, बाटोको जंगल, हाम्रो बाको ठुलो फलफूलको बगान र घर अलिअलि याद थियो। बाटो कति राम्रो भएछ, जंगल त झन् कति राम्रो, स्वच्छ हावापानी, न धुवाँ न धुलो, पुरै हरियाली। दिदी चाहिँ बाटोभरि गाउँको कहानी सुनाउँदै हुनुहुन्थ्यो। यहाँ खेलेको, जंगलमा करुणा टिपेर खाएको, खोलामा पौडी खेलेको।
मेरी ममीले भन्नुहुन्थ्यो, मलाई जन्माउने बेला यही जंगल पार गरेर लहान अस्पताल पुग्नु भएको रे। त्यही भर होला जङ्गल पनि नियाल्न मन लग्यो। हामी जंगलमा एकछिन रोकेर विश्राम गर्यौँ, आनन्द लिएर नाच्यौँ अनि फेरि लाग्यौँ गन्तव्य तिर। केही बेरमा तरेगाना पुगियो। हाम्रो बाको घर, मेरो ठुलोबाबा, बाबा, फुपू, काकाको घर, मेरो ममी बिहे गरेर भित्रेको घर। मलाई पनि झझल्को आयो, त्यहाँ पनि दुइटा घर थियो, अहिले एउटा मात्र रहेछ।
दिदीले सुनाउँदै हुनुहुन्थ्यो कति बिगा-बिगा जमिन बाले माओवादी कालमा कौडीको भाउमा बेच्नु भएको रे। दिदी कति रुनु भएको थियो रे। दिदी जन्मेको घर थियो त्यो। सम्झेर कति माया लगेर आयो, पछाडि अझै पनि काकाको जमिन छ, मेरो बाबाको पनि छ रे। हाम्रो घर जुन अहिले अरू कसैको भइसकेको थ्यो, त्यहाँ पूजा लागिरहेको रहेछ। कस्तो राम्रो दिन पुगिएछ।
प्रसाद खानु भन्नुभयो नयाँ घरबेटीले। भुइँमा सबैजना लहरै बसेर प्रसाद ग्रहण गर्यौँ, नाच्यौँ, टिकटक बनायौँ। वरिपरि घुमेर हेर्यौँ। त्यहाँ ट्वाइलेट थियो। दिदीले सुनाउनु भयो, त्यो जमानामा ट्वाइलेट ‘साइला मुखिया’ अर्थात् मेरो बाले मात्र बनाउनु भएको थियो रे। गोबर ग्यास हाम्रो घरमा मात्र थियो रे। मेरो बाको कुरा आउँदा सधैँ एउटा कुरा भन्न मन लाग्छ, कति प्रगतिशील सोच थियो वहाँको।
केही बेर रमाइलो गरेर हामी फर्किने तरखर गर्यौँ। फेरि पनि बाटोभरि रमाइलो गर्दै फर्केऊँ लहान। अब मलाई अझै पनि मेरा पहिलेका शिक्षकहरूलाई भेट्नु थियो। एक-एक गर्दै धेरै शिक्षकलाई पनि भेट्यौँ। अचम्म हुनु भयो सरहरू हामीलाई अचानक देखेर। फेरि पनि पहिलेका दिनहरूको याद ताजा भयो।
भेटघाट गर्दागर्दै साँझ पनि परिसकेको थियो। बिहानदेखि साँझसम्म मसँग घर-घर हिँडेका मेरा प्यारा साथीहरू, जीवनमा मैले मान्छे चाहिँ कमाएको छु भन्ने कुराको अनुभूति फेरि पनि भयो। साथीहरू कति रिसाए, एकदिन पनि नबस्ने गरी आएको भनेर। भिनाजुको गाडी लिएर आएको थियौँ, भोलि भिनाजुलाई गाडी चाहिने थियो। मेरो साथीहरूको आग्रह सुनेर दिदीले त मलाई तँ बस्न त, भोलि आइज पनि भन्नु भयो। तर दिदीलाई पनि एक्लै छोड्न मन लागेन।
साथीहरूलाई अर्को पालि आउँदा सबैजनाकोमा १\१ दिन बस्ने बाचा गरेर हामी फर्कियौँ विराटनगर तिर। मेरा साथीहरू र मेरी दिदीलाई मनमुटुबाट नै धेरै-धेरै धन्यवाद, यो यात्रा यति सुनौलो र यादगार बनाएकोमा। यो यात्रा मेरो जीवनको अमूल्य यात्रामा रहने छ। जीवनमा समय मिलायो भने मात्र मिल्ने हो। मनले चाह्यो र तनले आँट गर्यो भने धेरै कुराहरू सम्भव पनि हुँदा रहेछन्। अब फेरि कुनै दिन अवश्य पनि।