म साना छँदाको यादहरूले बेलाबेलामा झस्काइरहन्छ। बाल्यकालदेखि वयस्क सम्मको यात्रा गाउँघरैमा बिताएको मैले समाजमा भए गरेको गतिविधिहरूमा राम्रैसँग भिजेको हुँदा हिजोका ती दिनहरू आज झैँ लाग्छन्।
समयको परिवर्तनसँगै म पनि रोजगारीको सिलसिलामा देशका विभिन्न स्थानहरूमा पुगेँ। लगभग लगभग गाउँको बसाइँ छाडेको नै १६/१७ वर्ष भइसकेको थियो। एक दिन बिहानै गाउँको दाइबाट कल आयो, ‘भाइ कता छौ? समय मिल्छ भने हामीले सोनम ल्होछार मनाउने योजना गरेका छौँ। आउनु है।’
मैले ‘हस् दाइ’ भनेँ। दाइहरूले निर्धारण गरेको समय माघको ५ गते बिहान साढे ११ बजे थियो। म अफिसको समय मिलाए अनि सबेरै निस्केँ। म ९ बजेतिर तोकिएको स्थानमा पुगेँ। सबैजना बिहानैबाट कार्यक्रम स्थललाई विवाह मण्डप झैँ सिँगारिएको थियो। सबैजनाले एक-एक वटा जिम्मा लिनुभएको रहेछ। सबैजनाले आफूले पाएको जिम्मेवारी पूरा गर्न भ्याइ नभ्याई पसिना पसिना गर्दै खटिरहनु भएको थियो। मैले पनि तोरण बाँध्न, बेलुन बान्न सघाएँ।
कोही टिम ब्यानर मिलाउँदै, कोही टेबल कुर्सी मिलाउँदै, कोही पूजाको सामान मिलाउँदै कुनै खानपिनको तयारीमा, कोही ल्याएका सामानहरू मिलाउन सजाउन लागिपरिरहेका थिए। सबैजना आफ्नै काममा व्यस्त हुनुभएको मैले देखेँ। म आफै अचम्मित परेँ, मै मात्र पो पछि परेको रहेछु। सबैजना मिलेर आफ्नो समाजको वृद्धि विकास र जनचेतनाको लागि यतिका मेहनतका साथ खटिरहनु भएको छ।
वास्तवमै दोलखाको भेड्पु गाविस छुट्टै अस्तित्व र गरिमा बोकेको स्थान हो। सरसरती हेर्दा पनि १८५० सालभन्दा पहिला नै उक्त स्थानमा गोलेको पुर्खाले बसोबास गर्दै आएको देखिन्छ। सुरुमा पुग्नुभएको कर्मघ्याल्चो गोले तामाङको सन्तानहरूले नै अहिले भेड्पु ढाकिएको छ भने कतिपय अन्यत्र पनि छरिएर बस्नु भएको छ। सबै गोलेहरू एउटै जिजुबाजेको सन्तान भएता पनि आफ्नो आफ्नो व्यवसाय र रोजगारीको सिलसिलामा टाढिएका छन्। कतिपय अन्यत्र पनि छरिएर बस्नुभएको छ। हालसम्म हेर्दा दसौँ पुस्तासम्म भएको देख्न सकिन्छ। यही वंशको संरक्षण संवर्द्धनका लागि दाइहरू मिलेर गोले समाज गठन गरी अगाडि बढ्नु भएको रहेछ।
यस मञ्जुश्री वर्ष २८६२औँ ता ल्हो (घोडा वर्ग) को अवसरमा सोनम ल्होछार कार्यक्रम आयोजना गर्नु भएको रहेछ। सबैजनाले आफ्नो-आफ्नो जिम्मेवारी पूरा गरिसकेपछि बिहानको खानपान सुरु गर्यौँ। आमन्त्रित गोले परिवारका मान्यजनहरू दाजुभाइहरू दिदीबहिनीहरू नाताकुटुम्ब आउने क्रम जारी रह्यो। हेर्दाहेर्दै ठाउँ पुरै भरिभराउ हुन पुग्यो
सबैजनाको उपस्थिति भइसकेपछि कार्यक्रमको कार्ययोजना अनुसार औपचारिक कार्यक्रम अगाडि बढाउनुभयो। मञ्चमा गोले समाजका अध्यक्ष मिलनकुमार गोले प्रमुख अतिथि तथा आदरणीय व्यक्तित्व ज्येष्ठ नागरिक रामलाल तामाङ, ताम्बा किशोर गोले, थोकर कुल पूजाको अध्यक्ष आदरणीय पूर्व प्रअ कमल थोकर लगायत मान्यजनहरूको विशेष उपस्थितिमा कार्यक्रम अगाडि बढाउनुभयो।
म नियालिरहेको थिएँ। वास्तवमै एकै व्यक्तिको एकै जिजुबाजेको सन्ततिहरू हामी कति टाढा टाढा छरिएर बस्न पुगेछौँ, यस्तै मौका गोले समाजले प्रदान नगरेको भए कसरी सम्भव थियो, यति मान्यजनहरू एकै साथ एकै ठाउँमा जमघट हुने!
वास्तवमै धन्यवाद ज्ञापन गर्नु पर्ने सराहनीय कार्य गर्नुभएको रहेछ। छोटो समयमा धेरै सामाजिक कार्यहरू गर्नुभएको रहेछ। हालसम्म भए गरेका कार्यहरूको पनि सिलसिलेवार फोटोसहितको कार्यहरू ब्यानरमा सजाएको थियो।
म मनमनै खुसी र हर्षोल्लास भइरहेको थिएँ। कार्यक्रम एक रफ्तारमा अगाडि बढिरहेको थियो। आगन्तुकहरूको स्वागत सत्कार र चियापान समेतको व्यवस्थापन गरिएको रहेछ।
कुनै नाचगान गर्दै थिए, कुनै खानपानमा सरिक हुनुभएको थियो भने सबैमा एक किसिमको खुसीयाली छाएको थियो। सबैजनाले आलोपालो ज्येष्ठ व्यक्तित्वबाट टीका ग्रहण गर्दै आशीर्वाद लिँदै कार्यक्रम सफलता पूर्वक अगाडि बढिरहेको थियो।
कार्यक्रमलाई अझ मनोरञ्जनयुक्त बनाउनका लागि विभिन्न किसिमका सांस्कृतिक नृत्यहरू प्रस्तुत गर्नुको साथै तामाङ सेलो गीतहरू बजाएर सामूहिक नाचगान गरिरहेका थिए। सबैजनाको अनुहारमा छुट्टै किसिमको खुसी हर्षोल्लास देखिन्थ्यो।
कार्यक्रमको निर्धारित समय सीमासँगै कार्यक्रम अन्तिम अन्तिम अवस्थामा पुगेको थियो। सबैजना बिदावादी लिँदै आफ्नो आफ्नो गन्तव्यतर्फ लागे। लगभग कार्यक्रम पनि सकिन लागिएपछि म पनि आफ्नो गन्तव्यतर्फ लाग्न तरखर भएँ र सबैबाट बिदावादी भएर फर्केँ।
वास्तवमै त्यो समय मेरो लागि अविस्मरणीय रह्यो। मानिसले चाहे के नहुँदो रहेछ र वास्तवमै इच्छाशक्ति सबैभन्दा ठुलो कुरा रहेछन्। जे कुरामा पनि लागि पर्नुपर्ने मेहनत गर्नुपर्ने खटिनुपर्ने, निस्वार्थ भावले कार्य गर्नुपर्ने रहेछ।
कसैले पनि आफ्नो व्यक्तिगत सफलता र खुसी भन्दा पनि सामूहिक सफलता र सामूहिक खुसीका लागि समय दिनुपर्ने रहेछ भन्ने मेरो मानसिकतामा पर्न गयो।
भन्ने नै हो भने अहिलेको समयमा आफ्नो लागि मात्रै सबै मरिमेटिएको पाउँछौँ। आफ्नो समाज समुदायको बारेमा चासो र चिन्ता कम हुँदै गएको बेला भाइचाराको व्यवहार र आफ्नो धार्मिक सांस्कृतिक रीतिरिवाजको संरक्षण र संवर्द्धन गर्न अगाडि बढिरहेको यो गोले समाज भेड्पु जस्तै अरू समुदायले पनि आफ्नो आफ्नो समुदायलाई एकताबद्ध गर्दै जाने हो भने हामी सबै एकजुट हुन सक्छौँ, एकताबद्ध हुन सक्छौँ, सबैमा भाइ बन्धुत्वको व्यवहार हुनसक्छ, असल समाज निर्माणको लागि जग बस्न सक्छ, एक आपसमा मित्रता भाइचाराको व्यवहार बढ्न सक्छ।
संसारमा मानिस बाहेक अरू प्राणीमा विवेक कम नै पाइन्छ भने हामी विवेकशील प्राणी भएर पनि किन बिर्सिँदै छौ हाम्रो संस्कृति, परम्परा, भाइचारा? त्यसैले मैले सोचेँ, आज गरेको गोले समाज भेड्पुको कार्यहरूले भविष्यका लागि एउटा कोसे ढुंगा साबित गर्नेछ र भन्ने छन् हाम्रा सन्ततिहरूले पूर्वजले हाम्रो लागि धेरै कुरा सिकाएर, छोडेर जानु भएको रहेछ।
समय परिवर्तनशील छ भनेर समय सँगसँगै हामी परिवर्तन हुन खोज्दा हामीले धेरै कुराहरू गुमाउने रहेछौँ। त्यसैले पूर्वजले छोडेर गएका रीति-थिति संस्कारलाई सधैँ आत्मसाथ गर्दै अगाडि बढ्नु नै बुद्धिमानी हुने रहेछ।