केही समय अगाडि मैरै जिल्ला नवलपुरको बौदीकाली गाउँपालिकामा एउटा कार्यक्रमको सिलसिलामा पुगेको थिएँ। कार्यक्रम सकिन अझै केही घण्टा बाँकी थियो। कागज–कलम समेटेर बसेको मनले एक्कासि भन्यो— ‘आज त ती बुढा भइसकेका हजुरबा–हजुरआमालाई भेटेर जाऊँ।’
कानुन पढेको, अदालत धाइरहने, कसैको पीडा शब्दमा उतार्ने बानी भएको म— त्यो दिन शब्द खोज्नै नसक्ने अवस्थामा पुगेँ। डाँडाको काखमा पुगेको गाउँ कुनै समय चहलपहलले भरिएको हुन्थ्यो। तर आज त्यहाँ शान्ति थिएन, शून्यता थियो। डाँडाको काखमा उभिएका ती पुराना रुखहरू कुनै समय छाया मात्र थिएनन्, ती साक्षी थिए। यही चौतारीमुनि गाउँभरिका केटा–केटीहरू भेला हुन्थे। कसैले भाका हाल्थे, कसैले मादल ठोक्थे, बुढा–बुढी हाँस्दै भन्थे— ‘हामीले देखेको गाउँ त फेरि फर्किएछ।’
आज ती रुखहरू उभिएका छन् तर पात झरेका छन्, हाँगा सुकेका छन्। ठिक त्यस्तै, गाउँ पनि उभिएको छ तर आत्मा सुकेको छ। गोठभित्र बाँधिएको कालो गाई अझै पनि बिहान–साँझ टोलाउँछे। ऊ बुझ्दिन— दूध किन बाल्टीभरि भएर पनि घरमा खुसी किन छैन? ऊ दूध दिन्छे तर दूध बोकेर कसैको ढोकामा जाने कोही छैन। पहिले दूधसँगै हाँसो बस्थ्यो,आज दूध मात्र छ, हाँसो छैन।
गोठमा गाई छ तर गोठ कुरेर बस्ने युवा छैन। बारी जोत्न हात छैन, सपना बाँड्न साथ छैन। माटोको भित्तामा टेकेर बसेका ती आमा र बुवा केही बोलिरहेका छैनन् तर सबै कुरा बोलिरहेको छ। आमाको आँखामा हरेक दिन एउटै दृश्य आउँछ— ‘आज त फोन आउला कि? आज त फर्किने खबर आउला कि?’
बुवाको मौनता शब्दभन्दा भारी छ। उहाँको हात काँप्छ तर आँसु झार्न पनि बिर्सनु भएको छ। बिचमा बसेको छोरो केही समयको लागि फर्किएको छ तर मन अझै विदेशमै अड्किएको छ। शरीर गाउँमा भए पनि आत्मा अस्ट्रेलिया–अमेरिकाको टाइम जोनमै छ।
यो गाउँमा आज चिल्लो बाटो छ, गाडी गुड्छ, इन्टरनेट चल्छ तर छोराछोरीको पाइला गुड्दैन। बारीमा सुन्तला पाकेका छन्, जुनार पहेँलै भएका छन् तर टिप्ने हात छैन। फलहरू भुइँमा झर्छन्, जस्तै आमाबुवाको भरोसा दिनदिनै झर्दै जान्छ। टाढाबाट छोराछोरी भन्छन्— ‘गाउँ बिग्रियो।’ तर गाउँ बिग्रिएको होइन, गाउँ छाडिएको हो। देशमा बस्ने वातावरण छैन भन्छन् तर देश त यही गाउँबाट बनेको थियो। गाउँ खाली भएपछि देश कसरी भरिन्थ्यो?
आज यो एउटा गाउँको कथा मात्र होइन, यो सम्पूर्ण देशको पीडा हो। घर रित्तिँदै छन्,आँगन सुनसान हुँदै छन् र सबैभन्दा दुःखद आमाबुवाको काख खाली हुँदै छ। प्रश्न- हामी कहाँ जाँदै छौँ? हामी फर्किने कुनै दिन यो गाउँले हामीलाई चिन्छ कि चिन्दैन?
रुखहरू अझै उभिएका छन्, आमाबुवा अझै कुर्दै छन्, गाई अझै दूध दिइरहेकी छ। तर प्रश्न एउटै छ— के हामी फर्किन्छौँ? कि यो गाउँ तस्बिरमै सीमित भएर इतिहास बन्दै जान्छ?
हजुरबा–हजुरआमासँग केही बेर भलाकुसारी गरेँ। पुराना कुरा आए, पुराना दिन सम्झिएँ, कहिलेकाहीँ मुस्कान र मौन एक–अर्कासँग ठोक्किए। तर समय कसैका लागि पनि रोकिन्न रहेछ। मलाई साँझ पर्नु अघि सदरमुकाम फर्किनै थियो। भोलिपल्ट साक्षी बन्नुपर्ने थियो ती नियमित दिनचर्या कागज, फाइल र अदालतका ढोका अनि न्याय पाउने आसमा अदालत दौडिँदै म सामु आइपुगेका पाइलाहरू मेरो प्रतीक्षामा थिए।
यत्तिकैमा मसँगै गाउँ गएको मेरो साथी आइपुग्यो। उसले भन्यो- ‘दाइ, आज फर्किने होइन र?’
मेरो मनले मानेको थिएन। घाँटी अलि भारी भयो। आवाज मिठो बनाउने प्रयास गरेँ सदा झैँ तर भित्र अमिलो थियो। मैले भनेँ— ‘बस न, हजुरआमाको हातले बनाएको खाजा त खाएर जाऔँ।’
हजुरआमाले केही भन्नुभएन तर भान्सातिर लाग्नुभयो। सायद म जाँदै छु भन्ने कुरा उहाँले पहिल्यै बुझिसक्नु भएको थियो। खाजाको स्वाद साधारण थियो तर त्यो स्वादमा बचपन थियो, माया थियो र छुट्टिने पीडा मिसिएको थियो।
हजुरबाले बिस्तारै भन्नुभयो— ‘छिट्टै आउनू है।’
त्यो वाक्य बिदाइ थिएन, प्रतीक्षा थियो। ढोकाबाट निस्कँदा पछाडि फर्केर हेरेँ उहाँहरू उही ठाउँमा उभिनुभएको थियो; हजुरआमा आँखा टल्काउँदै, हजुरबा मौनतामा अडेसिँदै। हामी फर्कियौँ। बाटो उस्तै थियो, गाडी गुडिरहेको थियो तर मन गाउँमै छुट्यो। सदरमुकाम पुग्दा अदालत, कानुन, लडाइँ सबै आफ्नै गतिमा चलिरहे। तर गाउँमा हजुरबा–हजुरआमा अझै ढोकातिर हेरेर कुनै दिन फर्किने आशा कुर्दै बसेका छन्। र मलाई थाहा छ— यो कथा यहाँ टुङ्गिँदैन। यो कथा हरेक दिन त्यही घरको आँगनमा फेरि–फेरि सुरु हुन्छ।