नेपालका सहरी क्षेत्र र मुख्य राजमार्गहरूमा आज एउटा गम्भीर विरोधाभास देखिन्छ।
एकातिर, सुरक्षित आवागमनका लागि राज्यले करोडौंको लगानीमा ओभरहेड ब्रिज, जेब्रा क्रसिङ, फलामका बार (डिभाइडर) र पेलिकन लाइटजस्ता आधुनिक संरचनाहरू निर्माण गरिरहेको छ।
अर्कोतिर, तिनै संरचनाको उपहास गर्दै जोखिमपूर्ण यात्रा गर्ने नागरिकको प्रवृत्ति बढ्दो छ।
यी संरचनाको उचित प्रयोग अधिकांश नागरिक स्वयंले गर्न चाहँदैनन्। हालै सामाजिक सञ्जालमा डोल बहादुर खत्रीज्यूले सार्वजनिक गर्नुभएको एउटा तस्बिरले यही वास्तविकतालाई अनावृत गरिदिएको छ।
तस्बिरमा बाहिरी रूपमा शिक्षित र सुसंस्कृत देखिने युवाहरू सडकको बीचमा लगाइएको फलामको बार नाघेर जथाभावी बाटो काटिरहेका देखिन्छन्। यो केवल एउटा व्यक्तिगत लापरबाही मात्र होइन, बरू हाम्रो समग्र 'सडक संस्कृति' मा गडेको अनुशासन हीनताको पराकाष्ठा हो।
उक्त तस्बिरमा आएको एउटा टिप्पणी– 'यस्तै शिक्षित भेँडाहरूले गर्दा हो हामी चालकहरूले १० लाख तिर्नुपर्ने' निकै मर्मस्पर्शी र यथार्थपरक छ। यो केवल एक चालकको आक्रोश मात्र होइन, यसले हाम्रो कानुनी र सामाजिक संरचनामा रहेको असन्तुलित जिम्मेवारीको पाटोलाई समेत संकेत गर्छ। सडकमा सवारी दुर्घटना हुनासाथ प्रारम्भिक दोषको भार प्रायः चालककै थाप्लोमा थोपरिने कानुनी अभ्यासले गर्दा पैदलयात्रीको अविवेकी क्रियाकलाप सधैं छायामा पर्ने गरेको तीतो यथार्थ हामीसँग छ। यही पक्षले समस्यालाई अझ जटिल बनाइदिएको छ।
सडकमा 'सर्टकट' खोज्ने हाम्रो मानसिकताले केही सेकेन्ड त बचाउँला, तर यसले चालकलाई मनोवैज्ञानिक दबाबमा पार्नुका साथै आफ्नो र अरूको जीवनलाई समेत मृत्युको मुखमा पुर्याउँछ। सडकमा पैदलयात्रीलाई सुरक्षित पार गर्न बनाइएको डिभाइडर नाघ्नु कुनै अपरिहार्य कारणले होइन, केवल 'सर्टकट' मानसिकताले प्रेरित हुन्छ। केही सेकन्ड बचाउन गरिएको यस्तो कदमले आफ्नो मात्र होइन, चालक तथा अन्य सडक प्रयोगकर्ताको जीवन समेत जोखिममा पार्छ। नेपालका सहरी सडकहरूलाई नियाल्ने हो भने जेब्राक्रसिङ, ओभरहेड ब्रिज, फुटपाथ, पेलिकन लाइट र ट्राफिक संकेतजस्ता पूर्वाधारहरू यथासम्भव उपलब्ध छन्। तर, यी संरचनाको सही प्रयोग र महत्त्वबारे नागरिक स्तरमा अझै गम्भीरताको कमी देखिन्छ। प्राप्त शिक्षा व्यवहारमा नभई कागजमा मात्र सीमित हुँदा यस्तो विडम्बनापूर्ण अवस्था सिर्जना भएको हो। यही कारणले गर्दा सामाजिक सञ्जालमा प्रयोग गरिएको ‘शिक्षित भेँडा' भन्ने उपमा सामान्यभन्दा बढी प्रासंगिक र सान्दर्भिक देखिन्छ।
सडक सुरक्षा संरचनाले होइन, प्रयोगकर्ताको संस्कारले सुनिश्चित हुने विषय हो। जबसम्म हामी 'मलाई केही हुँदैन' भन्ने दम्भ त्याग्दैनौं, तबसम्म सडक असुरक्षित नै रहिरहनेछ। सवारी दुर्घटनाको विश्लेषण गर्दा चालक वा सवारीको मात्र गल्ती नहुने धेरै प्रमाण उपलब्ध छन्। पैदलयात्रीले जथाभाबी बाटो काट्ने, मोबाइल फोनमा व्यस्त रहने, मोबाइल चलाउँदै र कानमा इयरफोन लगाएर सडकमा हिँड्ने, डिभाइडर वा रेलिङ नाघ्ने, रातको समयमा मधुरो प्रकाशमा नदेखिने (दृश्यता कमजोर हुने) कपडा प्रयोग गर्ने, शाखा सडकबाट मुख्य सडकमा प्रवेश गर्दा सावधानी नअपनाउने र ट्राफिक प्रहरी नभएको मौका छोपेर नियम मिच्ने लगायतका प्रवृत्तिले दुर्घटनालाई निमन्त्रणा दिइरहेका छन्।
यस्ता क्रियाकलाप रोक्न कानुनी प्रावधान, भौतिक संरचना र निगरानी प्रणाली सक्रिय देखिएता पनि व्यावहारिक तहमा नागरिक लापरबाही भने घट्न सकेको छैन। विडम्बना! दुर्घटना हुनासाथ हाम्रो कानुनी र सामाजिक दृष्टिकोणले चालकलाई नै प्रारम्भिक दोषी ठहर्याइदिन्छ। जिम्मेवारीको यो एक पक्षीय भारले चालक समुदायलाई मनोवैज्ञानिक रूपमा विक्षिप्त बनाउँदै लगेको छ। कतिपय चालकले आफ्नो नियन्त्रणभन्दा बाहिरको परिस्थितिका कारण ठूलो आर्थिक र कानुनी संकट व्यहोर्नु परेका अनेकौँ दृष्टान्तहरू हाम्रासामु छन्। यही यथार्थले नै सामाजिक सञ्जालमा गरिएका तीतो व्यङ्ग्यलाई सत्यको नजिक पुर्याउँछ।
सडक सुरक्षाको मुख्य आधार संरचना होइन, प्रयोगकर्ता हुन्। हाम्रो समाजमा ‘मलाई के हुन्छ र!' भन्ने सोच अत्यन्त बलियो देखिन्छ। जब राज्यले बनाएको ओभरहेड ब्रिज प्रयोग गर्न केही मिनेट लाग्छ भनेर जीवनकै जोखिम मोलेर बार नाघ्ने प्रवृत्ति सामान्यजस्तै भएको छ। ट्राफिक प्रहरी नदेखिने ठाउँमा नियम नमान्ने बानीले दुर्घटनालाई लगभग अनिवार्य बनाइदिन्छ। समस्या नियमको अभाव होइन, नियम तोडेर सर्टकट खोज्ने मानसिकता हो। यसरी नियमको मूल्य बुझ्नेभन्दा नियम तोडेर सर्टकट खोज्ने मानसिकता नै मूल समस्या हो। अरूलाई अनुशासनको संस्कार सिकाउनुपर्ने शिक्षित वर्ग स्वयंले नै त्यसको विपरीत व्यवहार गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन सक्दैन। त्यसैले सडक सुरक्षा कुनै एक पक्षको मात्र जिम्मेवारी हुन सक्दैन; यो साझा उत्तरदायित्व हो।
सडक सुरक्षा केवल चालकको वा सरकारको जिम्मेवारी होइन। यसका लागि तीन तहको समान भूमिका अपरिहार्य छ -
क) नागरिक/पैदलयात्रीको जिम्मेवारी
• जेब्रा क्रसिङ तथा आकासे पुल (ओभरहेड ब्रिज) अनिवार्य प्रयोग
• मोबाइल तथा इयरफोन प्रयोग गर्दै सडक पार नगर्नु
• ट्राफिक संकेत, इसारा तथा नियमको पूर्ण पालना
• अनावश्यक जोखिमपूर्ण गतिविधि रोक्न स्वानुशासन
• बालबालिका, वृद्ध तथा अशक्त व्यक्तिलाई सुरक्षित पार गराउन सहयोग
ख) राज्य र स्थानीय तहको भूमिका
• बढी भीड हुने स्थानमा थप व्यवस्थित क्रसिङ संरचना
• नियम उल्लङ्घनमा कडा कारबाही, जरिवाना तथा अनिवार्य सचेतना कक्षा
• विद्यालय तथा कलेजमा सडक सुरक्षा शिक्षा अनिवार्य रूपले समावेश
• सिसिटिभी र डिजिटल निगरानी प्रणाली विस्तार
• सडक सुरक्षा अभियानलाई दीर्घकालीन रूपले सञ्चालन
ग) चालक तथा सवारी क्षेत्रको भूमिका
• गति नियन्त्रण र सुरक्षित दूरीको पालना
• पैदलयात्री चाप भएको क्षेत्रमा विशेष सावधानी
• सवारी सञ्चालनमा अनुशासन र संयम
• अनावश्यक जोखिमबाट टाढा रहन निरन्तर सिकाइ
डोल बहादुर खत्रीज्यूले सार्वजनिक गर्नुभएको त्यो दृष्य केबल एक क्षणिक लापरवाहीको मात्र अभिलेख होइन; बरू यो हाम्रो सडक - संस्कृतिमा गडेर रहेको दीर्घकालीन रोगको संकेत हो। भौतिक संरचनाले मात्र जीवन जोगाउन सक्दैन, जबसम्म प्रयोगकर्ताको चेतनामा नियमप्रतिको सम्मान जाग्दैन। सडक प्रयोगकर्ता हरेक व्यक्तिले समान जिम्मेवारी बोक्ने हो भने मात्र दुर्घटनाको जोखिम घट्छ। सडकमा गुड्ने पाङ्ग्रा र हिँड्ने पाइला दुवै उत्तिकै जिम्मेवार हुनुपर्छ।
अब दुर्घटनाको सारा दोष चालकको थाप्लोमा मात्र थोपर्ने परम्परागत भाष्य बदल्नुपर्छ। सडक सुरक्षा सरकारले बनाउने संरचनामा होइन, नागरिकले देखाउने स्वअनुशासनमा अडिएको हुन्छ। किनकि अनुशासनहीन नागरिकका अगाडि संसारकै उत्कृष्ट संरचना पनि निरर्थक हुन्छन्। सुरक्षा संरचना बनाउने काम राज्यको हो, तर त्यसलाई प्रभावकारी बनाउन सबै नागरिकको जिम्मेवारी अपरिहार्य छ। जब सचेत नागरिक, उत्तरदायी चालक र दृढ राज्य संयन्त्रको त्रिकोणात्मक मिलन हुन्छ, तब मात्र 'हामी चालकले १० लाख तिर्नुपर्ने' जस्ता पीडादायी व्यङ्ग्यहरू इतिहास तथा अप्रासंगिक बन्न सक्नेछ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि।
(लेखक जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोका प्रमुख हुन्।)