नेपाललाई प्रायः प्राकृतिक सौन्दर्यको देशका रूपमा चिनिन्छ। हिमाल, पहाड र तराईको अनुपम संगम भएको यो मुलुकभित्र पनि सुदूरपश्चिम प्रदेश एउटा यस्तो भूभाग हो, जसले नेपालकै सौन्दर्य र सम्भावनालाई अझ गहिरो अर्थ दिन्छ।
‘नेपाल स्वर्गको एक टुक्रा हो’ भन्ने भनाइलाई आत्मसात् गर्ने हो भने सुदूरपश्चिम त्यस स्वर्गको पनि स्वर्ग हो भन्नु अत्युक्ति हुँदैन।
लामो समयसम्म राज्यको विकास प्रक्रियामा अपेक्षाकृत पछाडि पारिएको अनुभूति भए पनि, आज सुदूरपश्चिम प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनाले भरिएको प्रदेशका रूपमा अगाडि बढ्ने आधार तयार गर्दैछ।
सुदूरपश्चिमको भौगोलिक बनावट नै यसको सबभन्दा ठूलो पुँजी हो। हिमाली भेगदेखि तराईसम्म फैलिएको यस प्रदेशमा जैविक विविधताको अद्भुत सङ्गम देख्न सकिन्छ।
अपी–नम्पा संरक्षण क्षेत्रका हिमाल र हिमनदी, खप्तड राष्ट्रिय निकुञ्जका हरिया पाटन र शीतल मौसम, घना वनजंगल र स्वच्छ नदीहरूले यहाँको प्राकृतिक सौन्दर्यलाई अनुपम बनाएका छन्।
महाकाली, कर्णाली, सेती र चौधारा जस्ता नदीहरूको निरन्तर बहावले मात्र होइन, तिनले बोकेको सभ्यता र जीवनशैलीले पनि सुदूरपश्चिमलाई विशेष बनाएको छ। यी नदी किनारमा विकसित बस्ती, कृषि प्रणाली र सांस्कृतिक अभ्यासहरू आज पनि मौलिक रूपमा जीवित छन्।
खप्तड क्षेत्र सुदूरपश्चिमको पर्यटन नक्सामा सबभन्दा महत्वपूर्ण गन्तव्य मानिन्छ। चार जिल्लामा फैलिएको यो क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता र आध्यात्मिक शान्तिको केन्द्र हो। समथर हरिया पाटन, मौसमी फल, जडीबुटी र स्वच्छ वातावरणले खप्तडलाई आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक बनाएको छ। यदि यहाँसम्म पुग्ने पूर्वाधार, सूचना केन्द्र र पर्यटकमैत्री सेवा विस्तार गर्न सकियो भने खप्तड सुदूरपश्चिमको पर्यटन विकासको मेरुदण्ड बन्न सक्ने छ।
प्राकृतिक सौन्दर्यसँगै सुदूरपश्चिम धार्मिक र सांस्कृतिक दृष्टिले पनि अत्यन्त समृद्ध छ। परशुराम धाम, बडिमालिका, उग्रतारा, निग्लाशैनी, डिलाशैनी भगवती, मालिकार्जुन धाम, बेहेडाबाबा, बन्तोली लटिनाथ मन्दिर, बैजनाथ धामजस्ता धार्मिक स्थलहरू आस्थाका केन्द्र मात्र होइनन्, हजारौँ वर्ष पुरानो सभ्यता र संस्कृतिका प्रतीक हुन्। यी स्थलहरूमा हरेक वर्ष लाग्ने मेला, पूजा–पाठ र धार्मिक यात्राले स्थानीय अर्थतन्त्रमा पनि योगदान पुर्याइरहेका छन्। कैलाश–मानसरोवर मार्गसँग सांस्कृतिक र धार्मिक रूपमा जोडिएको सुदूरपश्चिमले अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको सम्भावना पनि बोकेको छ।
त्यस्तै हिमाल आरोही र साहसी यात्रुका लागी दार्चुलामा रहेको अपी हिमाल, बझाङमा रहेको साईपाल हिमाल, दार्चुला र बझाङमा रहेको जेठी बहुरानी हिमाल, दार्चुला र बझाङमै रहेको बोबये चुली, दार्चुलामै रहेको नाम्पा हिमाल र दार्चुलाकै ओम पर्वत प्रमुख गन्तव्य छन्।
सुदूरपश्चिमको सांस्कृतिक पहिचान देउडा गीत–संगीत, गौरा पर्व, चैत–बैशाखी, स्थानीय वेशभूषा र परम्परामा यहाँको संस्कृति प्रदर्शनका लागि होइन, जीवन पद्धतिका रूपमा बाँचिरहेको छ भनेर स्पष्ट देखिन्छ। यही मौलिकता आज विश्व पर्यटनको बजारमा ठूलो आकर्षण बन्न सक्छ।
ग्रामीण जीवन, परम्परागत कृषि प्रणाली, स्थानीय खानपान र सामुदायिक सम्बन्धलाई समेटेर विकास गरिने होमस्टे पर्यटनले स्थानीय समुदायलाई प्रत्यक्ष लाभ दिन सक्छ।
पर्यटनका दृष्टिले सुदूरपश्चिम अझै ‘कम चिनिएको गन्तव्य’ हो। यही नै यसको सबभन्दा ठूलो अवसर पनि हो। भिडभाड, कोलाहल र अत्यधिक व्यावसायिक रणबाट टाढा शान्त, सुरक्षित र वास्तविक अनुभव खोज्ने पर्यटकका लागि सुदूरपश्चिम उपयुक्त गन्तव्य बन्न सक्छ। ट्रेकिङ, क्याम्पिङ, वर्ड–वाचिङ, धार्मिक यात्रा, साहसिक पर्यटन र ग्रामीण पर्यटनलाई योजनाबद्ध रूपमा विकास गर्न सकिए यस प्रदेशले पर्यटनमार्फत ठूलो आर्थिक लाभ लिन सक्छन्।
पर्यटनसँगै कृषि सुदूरपश्चिमको अर्को प्रमुख सम्भावना हो। तराईका उर्वर भूमि, पहाडका परम्परागत खेती प्रणाली र हिमाली क्षेत्रका जडीबुटीले यहाँको कृषि अर्थतन्त्रलाई बलियो बनाउन सक्छन्। अग्र्यानिक कृषि, फलफूल खेती, पशुपालन र जडीबुटी प्रशोधन उद्योगलाई प्रवर्द्धन गर्न सकिए स्थानीय रोजगारी सिर्जना हुनुका साथै निर्यातको सम्भावना पनि बढ्न सक्छ।
जलस्रोतको दृष्टिले पनि सुदूरपश्चिम धनी छ। महाकाली र कर्णाली नदी प्रणाली जलविद्युत् उत्पादनका लागि अत्यन्त महत्वपूर्ण मानिन्छन्। ठूला परियोजनासँगै साना तथा मध्यम जलविद्युत आयोजना सञ्चालन गर्न सकिए ऊर्जा आत्मनिर्भरता मात्र होइन, स्थानीय विकासमा पनि ठूलो योगदान पुग्न सक्छ। यसका साथै सीमा–व्यापार, विशेष गरी भारत र चीनसँगको व्यापारिक सम्भावनालाई व्यवस्थित रूपमा उपयोग गर्न सके सुदूरपश्चिमको आर्थिक गतिविधि तीव्र हुन सक्नेछ।
तर यति धेरै सम्भावनाका बाबजुद सुदूरपश्चिमले अनेक चुनौती सामना गरिरहेको छ। भौगोलिक विकटता, कमजोर पूर्वाधार, सीमित लगानी, रोजगारीको अभाव र प्रचार–प्रसारको कमी यहाँका मुख्य समस्या छन्। सडक सञ्जाल, हवाई पहुँच, स्वास्थ्य र शिक्षा सेवा अझै पर्याप्त रहेका छन् र भएका समेत सञ्चालनमा आउन सकेका छैनन्। यसले गर्दा यहाँका युवा रोजगारीका लागि अन्य प्रदेश वा विदेश पलायन हुन बाध्य छन्।
यी चुनौती समाधानका लागि दीर्घकालीन र समन्वित नीति आवश्यक छ। केन्द्र, प्रदेश र स्थानीय तहबीचको सहकार्य, सार्वजनिक–निजी साझेदारी, स्थानीय समुदायको सक्रिय सहभागिता र डिजिटल प्रवर्द्धन सुदूरपश्चिम विकासका मुख्य आधार हुन सक्छन्। विकासका हरेक चरणमा प्रकृति र संस्कृतिको संरक्षणलाई केन्द्रमा राख्नु अत्यन्त जरूरी छ, ताकि विकास दिगो र समावेशी बन्न सकोस्।
अन्ततः सुदूरपश्चिम केवल भौगोलिक रूपमा टाढा रहेको प्रदेश होइन, यो सम्भावनाले भरिएको भविष्य हो। नेपाल स्वर्गको एक टुक्रा हो भने सुदूरपश्चिम त्यस स्वर्गको पनि स्वर्ग हो जहाँ प्रकृति अझै शुद्ध छ, संस्कृति अझै जीवन्त छ र विकासले सही दिशा पाए देशकै आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा निर्णायक भूमिका खेल्न सक्छ। अब आवश्यक छ, सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्ने र यसको वास्तविक मूल्यलाई राष्ट्रिय विकासको केन्द्रमा ल्याउने दृढ इच्छाशक्ति। जय सुदूरपश्चिम !