२०४६ साल आश्विन ३ गते हाम्रो घर, आँगन र मन एकाएक उज्यालो भयो। जब अस्पतालकी नर्सले ‘तपाईंलाई छोरा जन्मियो’ भन्ने खबर सुनाइन्, तब हाम्रो जीवनमा खुसीको नयाँ सञ्चार भयो। हामी निकै उत्साहित र तरङ्गित भयौँ। मेरी श्रीमती पहिलो पटक आमा बन्दै थिइन्। महिलाको जीवनमा पीडा र खुसी मिसिएको दिन भन्छन्, उनको मुहारमा ती दुवै भाव प्रष्ट देखिन्थे। म पनि नयाँ जीवनको स्पर्श र उमङ्गले हर्षित थिएँ।
तर हर्षको त्यो फोहोरा एकाएक स्तब्ध भयो। जब हामीले छोराको मुहार नियाल्यौँ, हाम्रो होसहवास नै उड्यो। उसको नाकमुनिको माथिल्लो ओठको भाग पूरै खुलेको थियो भने मुखभित्र तालुको भाग पनि पूर्ण रूपमा खुला थियो। चिकित्सकहरूले यसलाई ‘क्लेफ्ट लिप एण्ड प्यालेट’ को समस्या रहेको बताए। यो शारीरिक समस्या मात्र थिएन, हाम्रा कलिला भावनाहरूमाथि परेको एउटा ठुलो बज्रपात थियो।
सबैभन्दा ठुलो चुनौती त के थियो भने, बच्चाले सामान्य रूपमा दूध चुस्ने अवस्थै थिएन। एकातिर आमाका आँखाबाट बगेका अविरल आँसु र अर्कोतिर भोकले व्याकुल बालकको त्यो करुण रोदन— त्यो दृश्यले हाम्रो मुटु छियाछिया बनायो।
हामी दुई श्रीमान्-श्रीमती, जेठान रामप्रसाद भट्टराई, भाउजू जयन्ती ज्ञवाली, त्रिवि शिक्षण अस्पतालका वरिष्ठ ईएनटी डाक्टर चोपलाल भुसाल र उहाँकी श्रीमती पुष्पा भुसालबाहेक कसैले पनि बच्चा बाँच्छ भन्ने आशा राखेका थिएनन्। चिकित्सकको सल्लाहले ल्याक्टोजिन ल्याएर मनतातो पानीमा घोलेर खुवाउन थाल्यौँ। यसले बच्चालाई केही सास दिन थाल्यो।
हामी अस्पतालमै 'नाकमुनिको माथिल्लो ओठ मात्र भए पनि अपरेसन गरेर जोडाउन सकिन्छ कि' भनेर कान्ति अस्पतालका डाक्टरहरूसँग पनि सल्लाह गरिरहेका थियौँ। तर सेवाको भावना हुनुपर्ने ठाउँमा टिचिङ अस्पतालकी एक नर्सले ‘अहिलेसम्म डिस्चार्ज नभएर किन बसेको?’ भन्दै हाम्रो दूधे बालकलाई निर्दयीपूर्वक भुइँमा फ्याँकिदिइन्। प्रसूति वार्डमा आमा मात्र भएको अवस्थामा घटेको त्यो अमानवीय दृश्य देख्दा एउटा बुबा र आमाको मनमा कस्तो चोट पर्यो होला? त्यो क्रूरता र अपमानको पीडा म आज यतिका वर्षपछि पनि शब्दमा वर्णन गर्न सक्दिनँ।
त्यो बेला अस्पतालसँग प्रतिवाद गर्ने हामीमा हिम्मत थिएन। एकातिर सन्तानको मोह र अर्कोतिर उपचारको विवशताले हामीलाई बाँधेको थियो। अहिलेको जस्तो उपभोक्ता अधिकारको चेतना त्यतिबेला शून्यप्रायः थियो, त्यसैले अस्पतालसँग गुनासो गर्नुभन्दा पनि आफ्नो सन्तानको प्राण जोगाउनु नै हाम्रो पहिलो र अन्तिम लक्ष्य बन्यो।
अस्पतालले डिस्चार्ज दिए पनि छोराको अवस्थाले हामी अत्यन्तै चिन्तित थियौँ। डाक्टर चोपलाल भुसालले ‘अपरेसन गरेर पछि मिलाउन सकिन्छ, चिन्ता नलिनुस्’ भनेर सम्झाएपछि मात्र हाम्रो मनमा अलि सास आयो। आफूले बनाएर बच्चा जन्मिने होइन, प्रकृतिले दिएको उपहारलाई सहर्ष स्वीकार्दै हामी नवजात छोरालाई लिएर अस्पतालको त्यो नमीठो र अमानवीय व्यवहारको अनुभवका साथ घर फर्कियौँ।
अस्पतालले डिस्चार्ज दिए पनि छोराको अवस्थाले हामी चिन्तित थियौँ। ‘अपरेसन गरेर पछि मिलाउन सकिन्छ, चिन्ता नलिनुस्,’ डाक्टर चोपलाल भुसालले यति भनेपछि मात्र अलि सास आयो।
त्यो समयमा नेपालमा प्लास्टिक सर्जरीका आधुनिक सुविधाहरू अत्यन्तै दुर्लभ थिए। हाम्रो भाग्य, छोरो अरुण ६५ दिनको भएपछि खुसीको खबर आयो— अमेरिकाको इन्टरनेशनल प्लास्टिक सर्जरी टोली टिचिङ अस्पतालमा आउने भएछ। डाक्टर भुसालले अपरेसनका लागि सबै व्यवस्था मिलाइदिनुभयो र आफू पनि टोलीमा सामेल हुनुभयो। यो टोलीमा प्लास्टिक सर्जन डा. शंकरमान राई समेत सामेल हुनुभएको थियो। बाबुको पहिलो अपरेसन सफल भयो र नाकमुनि छुट्टिएको ओठको भाग जोडियो। यसबेला उसको नाक, मुख, ओठ सुन्निएर झन् सकस बनाएको थियो।
त्यो देख्दा मेरा आँखाबाट बर्र आँसु खस्दथे। तर अपरेसनका टाँका काटेपछि ओठको केही भाग जोडिएको देख्दा बाबुआमाको मन खुसीले कति उफ्रियो, म शब्दमा वर्णन गर्न सक्दिनँ। यसको सम्पूर्ण श्रेय डाक्टर चोपलाल भुसाल र जेठान रामप्रसाद भट्टराईलाई जान्छ। विशेष गरी मेरी श्रीमतीको धैर्यताको त झन् बयान गरिसाध्य छैन, जसले दिनरात नभनी अथाह माया खन्याएर छोराको स्याहार गरिन्।
छोराको उपचारको सिलसिला निकै लामो रह्यो। उसको जीवनमा एक-दुई पटक होइन, कुल १७ पटक शल्यक्रियाहरू भए। नेपालमा प्रविधि अभावका कारण हामी अमेरिकी टोलीको प्रतीक्षा गर्थ्यौँ र टोली जहाँ पुग्थ्यो, हामी छोरो लिएर त्यहीँ पुग्थ्यौँ— कहिले बनेपाको शिर मेमोरियल, कहिले महाराजगन्जको टिचिङ त कहिले पाटन अस्पताल।
छोराको यही उपचार र अनिश्चित स्वास्थ्य तालिकाका कारण मैले आफ्नो करियरको एउटा ठुलो अवसरलाई समेत दाउमा राखेँ। मेरा लागि पद र बढुवाभन्दा छोराको स्वास्थ्य ठुलो थियो। ३८ वर्षे जागिरे जीवनमा छोरा जन्मिएपछि म कहिल्यै उपत्यकाबाहिर सरुवा भएर जान सकिनँ। दुर्गम जिल्लामा पदस्थापन भएर छिटो बढुवा हुने अवसरलाई मैले पटक-पटक लत्याएँ किनकि मलाई छोराको भविष्य सुरक्षित गर्नु थियो। मेरो विचारमा कुनै पनि पद वा मान-प्रतिष्ठा सन्तानको जीवनभन्दा ठुलो उपलब्धि हुन सक्दैनथ्यो।
अस्पतालका ती दिनहरू निकै कष्टकर थिए। क्याबिनको पैसा तिर्ने क्षमता नहुँदा हामी राति भुइँमा तन्ना बिछ्याएर सुत्थ्यौँ। बच्चाको अवस्था देखेर हामी श्रीमान्-श्रीमती पालैपालो तड्पिन्थ्यौँ र एकअर्कालाई ढाडस दिन्थ्यौँ। हरेक अपरेसनअघि मेरो मनमा एउटै प्रार्थना हुन्थ्यो, ‘हे भगवान्, मेरो छोरालाई सजिलै खान र बोल्न सक्ने बनाइदिनुहोस्।’ बनेपामा अपरेसन भइरहेका बेला अर्घाखाँचीको खिदिमबाट मेरी जेठीसासू टीका दिदी पनि आउनुभएको थियो। अस्पतालको भुइँमा बसेर रातभर छोराको हेरचाहमा उहाँले दिएको साथ म जीवनभर बिर्सन सक्दिनँ।
सेन्ट जेभियर्स र उपेक्षाको त्यो गहिरो घाउ
विसं २०५२ सालतिरको कुरा हो, जावलाखेलस्थित प्रतिष्ठित सेन्ट जेभियर्स स्कुलले कक्षा १ का लागि खुला प्रतिस्पर्धाबाट भर्ना खोल्यो। हजारौँ विद्यार्थीका बीचमा छोरा अरुणले जब नाम निकाले, हाम्रो खुसीको सीमा रहेन। तर, नियतिको खेल— त्यो खुसीको आयु निकै छोटो रहेछ।
स्कुल जान थालेको केही दिनमै अरुणको कलिलो अनुहारमा उदासी छाउन थाल्यो। एक दिन उनले आँसुले भरिएका आँखा पार्दै मलाई भने, ‘बुवा, म अब स्कुल जान्नँ। सबैले मलाई ओठ काटिएको भनेर जिस्क्याउँछन्। कसैले मलाई सँगै खेलाउँदैनन्, म सधैँ एक्लो हुन्छु।’
हामीले एउटा अभिभावकको निरीहता लुकाउँदै उसलाई सम्झायौँ, ‘बिस्तारै खेलाउँछन् बाबु।’ तर उनको बाल-मनमा लागेको चोट हाम्रो सान्त्वनाले निको हुने खालको थिएन। ‘मलाई धकेल्छन् बुवा! तँ हामीजस्तो छैनस्, उता जा भनेर हेप्छन्,’ भन्दै उनी दिनहुँ विक्षिप्त भएर घर आउन थाले। शारीरिक बनावटका कारण सहपाठीहरूको बीचमा क्रूर उपेक्षा सहनुपरेको देख्दा हाम्रो मुटु छियाछिया हुन्थ्यो। अस्पतालमा भएका १७ पटकका अपरेसनको पीडाभन्दा पनि स्कुलका ती शब्दहरूले उनलाई बढी पीडा दिइरहेका थिए।
हामीले त्यो आँसु र अपमान सहन सकेनौँ। प्रिन्सिपललाई भेट्न गयौँ र भन्यौँ, ‘सर, तपाईंहरूको जस्तो प्रतिष्ठित स्कुलमा पनि अबोध बालकमाथि यस्तो विभेद? के शारीरिक बनावट फरक हुँदैमा उसले आत्मसम्मानका साथ पढ्न नपाउने हो र?’ यति भनेपछि प्रिन्सिपलले शिक्षक र विद्यार्थीहरूलाई सम्झाउनुभयो। वातावरण फेरियो। त्यसपछि यही उपेक्षालाई चिर्दै उनले आफ्नो क्षमता र प्रतिभाले सबैको मन जिते।
असम्भवलाई सम्भव बनाउँदा: राजाका अगाडि त्यो चमत्कार
छोराको बोली फुटाउनु हाम्रा लागि कुनै महायुद्ध जित्नुभन्दा कम थिएन। जन्मेको अढाई वर्षदेखि टिचिङ अस्पतालको 'स्पिच थेरापी' विभागमा धाउन थाल्यौँ। पाँच/छ वर्षको अथक प्रयास, स्पिच थेरापिस्ट एसएल कर्ण र डा. कविराज खनालको आत्मीय र अथक प्रयासले उनको बोली स्पष्ट हुँदै गयो।
शल्यक्रियाका ती दिनहरू अझै सम्झिँदा आङ सिरिङ्ग हुन्छ। अपरेसनपछि ओठको टाँका नखुलोस् भनेर उनका दुवै हात काठमा बाँधिन्थ्यो, जसले गर्दा उनको सानो शरीर ‘क्रस’ जस्तै देखिन्थ्यो। कहिलेकाहीँ त मुख र नाक सुन्निएर चम्चाले दूध खुवाउन पनि मिल्दैनथ्यो र पाइपको सहायता लिनुपर्थ्यो।
यी सबै संघर्षका बीच मेरी जीवनसङ्गिनी भागीरथीले जुन साहस देखाइन्, त्यो अद्भुत छ। अढाई वर्षको छोरालाई डोर्याउँदै र डेढ वर्षकी सानी छोरी मनिषालाई काखमा च्यापेर उनी अस्पतालका चिसा भर्याङहरू ओर्लने-उक्लने गर्थिन्। त्यसबेला घरमा ८ जनाको परिवार, सन्तानकै उपचार र जिम्मेवारीमा समय दिँदा उनको स्नातक पूरा गर्न ११ वर्ष लाग्यो तर उनले हार मानिनन्। पछि दुई विषयमा स्नातकोत्तर (एमए) पूरा गर्दै उनले नेपाल सरकारको सचिव सरहको सेवा सुविधा पाउने विद्युत् नियमन आयोगको सदस्य जस्तो सम्मानित पदमा नियुक्त हुन समेत सफलता हासिल गरिन्।
अरुणको प्रारम्भिक शिक्षा पुरानो बानेश्वरस्थित नीलकण्ठ बोर्डिङ स्कुलबाट सुरु भए पनि जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा भर्ना भएपछि नयाँ मोड आयो। त्यहाँका प्रिन्सिपल फादर लरेन्स र सङ्गीत गुरु सुदेशराज शर्माको प्रेरणाले अरुणको आत्मविश्वास बढायो। उनको क्षमता यस्तो थियो कि, कक्षा ७ देखि १० सम्म उनले लगातार ‘बेस्ट स्टुडेन्ट अवार्ड’ स्वर्ण पदक प्राप्त गरे।
सबैभन्दा अविस्मरणीय क्षण तब आयो, जब सेन्ट जेभियर्सको ५०औँ वार्षिकोत्सवमा तत्कालीन राजा वीरेन्द्रको अगाडि सङ्गीत गुरु सुदेशराज शर्माको निर्देशनमा अरुणले सङ्गीत टोलीको अग्रभागमा रहेर प्रस्तुति दिए। जुन ओठ र तालुको बनावटका कारण उनको बोली फुट्नेमै शङ्का गरिएको थियो, त्यही मुखबाट निस्किएको मधुर स्वरले राजादेखि जनसमुदायसम्मलाई मन्त्रमुग्ध बनायो। त्यो हाम्रा लागि अलौकिक चमत्कार र वर्षौँको पीडामाथि प्राप्त विजयको खुसीको क्षण थियो।
त्यसपछि एमबिबिएस पढ्दै गर्दा काठमाडौँ मेडिकल कलेज (केएमसी) का वार्षिकोत्सव कार्यक्रमहरूमा उनले गाउँदा हलभरि ‘वान्स मोर’ को गुञ्जन सुनिन्थ्यो। छोराको प्रस्तुति सुन्दा ‘उनी कहाँबाट कहाँ पुगिसके’ भन्ने अनुभूति हुँदै आँखामा खुसीका आँसु टिलपिलाए। संघर्षको त्यो बिउले आज सुन्दर फल दिएको छ।
तिहारमा देउसी–भैलो खेल्दा पनि उनको गायनले सबैको ध्यान तान्थ्यो। छोराको प्रशंसा सुन्दा मात्रै पनि आनन्द लाग्ने मेरो मनले एक दिन उनकै गीत प्रत्यक्ष सुन्ने इच्छा राख्यो। एक तिहारमा हामीले उनका देउसी–भैलोसहितको सांगीतिक कार्यक्रममा साथीहरूलाई बोलाएर मेरै घरमा देउसी–भैलो कार्यक्रम गरायौँ। छोराको प्रस्तुति सुन्दा ‘उनी कहाँबाट कहाँ पुगिसके’ भन्ने अनुभूति हुँदै आँखामा खुसीका आँसु टिलपिलाएका थिए।
अभिभावकीय सम्मान र दृढ निर्णय
छोराले आफ्नो अपमानको बदला प्रतिशोधले होइन, प्रगतिले दिए। साथीहरू पनि मलाई सिकाउन अरुण भन्दै आउँछन् भन्ने कुरा सुनेर हामी दङ्ग पर्थ्यौँ। उनले प्राप्त गरेका स्वर्ण पदकहरू ग्रहण गर्न जब हामीलाई पनि मञ्चमा बोलाएर अभिभावकले घरमा दिएको शिक्षाले मात्र यो सफलता मिलेको हो भनेर हामीलाई पनि प्रमाणपत्र र सम्मान दिँदा, हलभरिको तालीको गडगडाहटले हाम्रा आँखा रसाएका थिए। त्यो सम्मान हाम्रो धैर्यको जित थियो।
अरुण अध्ययनमा मात्र होइन, हरेक कुरामा अब्बल साबित भए। सवारी चालक अनुमति पत्रदेखि लिएर चिकित्साका हरेक प्रवेश परीक्षाहरू उनले पहिलो प्रयासमै उत्तीर्ण गरे। नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिने परीक्षा एकै पटकमा पास गरे।
दश कक्षामा पढ्दा उनी बेलायत भ्रमणका लागि समेत छानिएर १५ दिनसम्म बेलायत भ्रमण गर्ने अवसर पाए। एमसीएच अध्ययनको सिलसिलामा फेलोसिप तालिममा सहभागी हुँदा भारत, जर्मनी, फ्रान्स, बेल्जियमसमेत भ्रमण गरे। साथै, व्यक्तिगत भ्रमणका क्रममा उनले दक्षिण कोरियाको पनि यात्रा गरेका छन्।
एक पटक अरुणको अपरेसन गर्दा डा. ईश्वर लोहनीले छात्रवृत्तिका लागि सिफारिस गरिदिने प्रस्ताव राख्नुभएको थियो। तर मैले छोराको नाजुक अवस्थालाई अवसर बनाउन चाहिनँ। मैले भनेँ, ‘मेरो छोरा सक्षम छ, म आफ्नै खर्चमा पढाउँछु।’ तब उहाँले सरी भन्नुभयो। मेरो त्यो निर्णय सही ठहरियो। उनले काठमाडौँ मेडिकल कलेजबाट एमबिबिएस, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एमएस र धुलिखेल अस्पतालबाट एमसिएच उत्तीर्ण गरे।
एमसीएचको नतिजा आएपछि भरतपुरको एउटा अस्पतालले मासिक पाँच लाख रुपैयाँ तलबको प्रस्ताव गरेको थियो। तर मैले भनेँ, ‘बाबु, पैसा मात्र लक्ष्य होइन, जहाँ तिम्रो सीप निखारिन्छ त्यहीँ जाऊ।’ मेरो सल्लाह मान्दै उनी कम तलब भए पनि सिक्ने अवसर धेरै भएको धुलिखेल अस्पतालमा गए। आज उनी त्यहाँ विशेषज्ञ शल्य चिकित्सकका रूपमा समर्पित भएर दैनिक सेवा दिइरहेका छन्।
छोराको विवाह: संघर्षपछिको एउटा महा-उत्सव
समय आफ्नै गतिमा बग्दै गयो। अरुण बाल्यकालदेखि नै दृढ निश्चयका धनी थिए। जब विवाहका प्रस्तावहरू आउन थाले र हामीले घरमा कुरा उठायौँ, उनले स्पष्टसँग भने— ‘म एमसिएच नसकी विवाह गर्दिनँ।’ छोराको अध्ययनप्रतिको यो लगाव र निष्ठा देख्दा हामीलाई गर्व लाग्यो। बुवाआमाका रूपमा यो हाम्रा लागि एकातिर खुसीको क्षण थियो भने अर्कातिर धैर्यको कठोर परीक्षा पनि। मैले श्रीमती भागीरथीलाई सान्त्वना दिँदै भन्ने गर्थेँ— ‘धैर्य राखौँ, उसले आफ्ना जीवनका सबै निर्णयहरू सही समय र सही ढङ्गले लिनेछ।’
नभन्दै, उनले शल्यचिकित्साको सर्वोच्च शैक्षिक उपाधि एमसिएचमा भर्ना भएपछि विवाहका लागि सहमति दिए। उनको विवाह ललितपुर महानगरपालिका-११ निवासी गुणेन्द्र सुवेदीका नातिनी तथा विनोद सुवेदी र सरस्वती अधिकारी सुवेदीकी कान्छी सुपुत्री डा. पल्लवी सुवेदीसँग तय भयो। मिति २०८० साल असार १ गते गल्फुटारस्थित ताज प्यालेसमा उनीहरूको टीकाटालो सम्पन्न भयो र असार ११ गते शुभ-विवाह। भोलिपल्ट होटल ‘याक एण्ड यति’ मा भव्य विवाह भोजको आयोजना गरियो।
हाम्री बुहारी डा. पल्लवी एनेस्थेसिया विषयमा 'मेरिट' का आधारमा छात्रवृत्ति प्राप्त गरी वीर अस्पतालमा एमडी अध्ययनरत छिन्। छोरीसरह बुहारी पनि उच्च शिक्षा र पेसागत यात्रामा आत्मविश्वासका साथ अघि बढेको देख्दा हाम्रो परिवारको गौरव थपिएको छ।
यो विवाह मेरा लागि केवल एउटा सामाजिक संस्कार मात्र थिएन, यो त एउटा लामो र कठिन संघर्षको सुखद विसर्जन थियो। विवाह समारोहमा उपस्थित आफन्त, सहकर्मी र शुभेच्छुकहरूको विशाल उपस्थितिलाई नियाल्दा मलाई लाग्यो— यो मेरो ४०-४५ वर्ष लामो सेवा अवधिको सबैभन्दा ठुलो प्रतिफल हो।
त्यो भीडमा मेरा ती अनन्य मित्र र आफन्तहरू हुनुहुन्थ्यो, जसले छोराको १७ पटकको अपरेसनका दौरान कहिले रगत दिएर सहयोग गर्नुभयो, कहिले आवश्यक पर्दा ऋण दिएर आर्थिक भार थामिदिनुभयो त कहिले म र छोरालाई सान्त्वना दिएर टुट्न लाग्दा आड दिनुभयो। मेरो जीवनका विभिन्न कालखण्डका उतारचढाव र संघर्षमा म र मेरो परिवारलाई माया गरी साथ दिने तिनै सहकर्मी र आत्मीय शुभेच्छुकहरूलाई निमन्त्रणा गर्न पाउँदा मलाई असीम सन्तोष मिल्यो।
विवाहको मण्डपमा बसिरहेको छोरालाई देख्दा मेरो आँखामा ती विगतका कष्टकर दिनहरू झल्झली आए। जुन ओठ र मुस्कानका लागि हामीले दशकौँ युद्ध लड्यौँ, आज त्यही मुस्कानले नयाँ जीवनको सुरुवात गरिरहेको देख्दा मेरो मन कृतज्ञताले भरिएर आयो। शून्यबाट सुरु भएको मेरो जीवनयात्रामा आज सन्तानको यो सुख र शुभेच्छुकहरूको यो साथ देख्दा लाग्छ— हो, पदभन्दा पौरख ठुलो हुँदो रहेछ, र संघर्षभन्दा ठुलो सफलता अरू केही हुँदैन रहेछ।
(लेखक नेपाल सरकारका पूर्व उपसचिव हुन्। उनको प्रकाशोन्मुख आत्मकथा ‘पदभन्दा पौरख ठुलो’ बाट यस लेख लिइएको हो।)