समय बदलिएको छ।
पहिले कक्षाकोठामा शिक्षकको हातमा चक हुन्थ्यो, विद्यार्थीको हातमा कापी। अहिले शिक्षकको हातमा ल्यापटप, प्रोजेक्टर, स्मार्ट बोर्ड र एआई छन् भने विद्यार्थीको संसार मोबाइल र इन्टरनेटसँग जोडिएको छ। यही परिवर्तनसँगै शिक्षण शैली पनि बदलिँदै गएको छ। र यो परिवर्तनको केन्द्रमा उभिएको छ— जेन्जी शिक्षकहरूको नयाँ पुस्ता।
आजको पुस्तालाई धेरैले ‘मोबाइलमा हराएको पुस्ता’ भनेर आलोचना गर्छन्। तर यही पुस्ताका शिक्षकहरूले शिक्षा क्षेत्रमा ल्याइरहेको परिवर्तनलाई हेर्ने हो भने स्पष्ट हुन्छ— जेन्जी केवल सामाजिक सञ्जाल चलाउने पुस्ता होइन, शिक्षालाई आधुनिक बनाउने पुस्ता पनि हो।
जेन्जी शिक्षकहरू प्रविधिसँगै हुर्किएका छन्। उनीहरूलाई इन्टरनेट, डिजिटल प्लेटफर्म, एआई, स्मार्ट बोर्ड, भिडियो एडिटिङ, अनलाइन सिकाइ र आधुनिक प्रस्तुतीकरणको राम्रो अनुभव हुन्छ। यही कारणले उनीहरूले विद्यार्थीलाई किताबको पानाभन्दा बाहिरको संसार पनि देखाइरहेका छन्।
पहिले शिक्षकले बोर्डमा लेखेको कुरा विद्यार्थीले कापीमा सार्थे। अहिले जेन्जी शिक्षकहरूले भिडियो, एनिमेसन, प्रस्तुति, वास्तविक उदाहरण र प्रविधिको प्रयोग गरेर पढाइलाई जीवन्त बनाइरहेका छन्। विज्ञानको प्रयोग भिडियोबाट देखाइन्छ, इतिहासलाई डकुमेन्ट्रीबाट बुझाइन्छ, गणितलाई डिजिटल अभ्यासबाट सजिलो बनाइन्छ। यसले विद्यार्थीलाई ‘घोक्ने’ होइन, ‘बुझ्ने’ बानी विकास गरिरहेको छ।
आजका विद्यार्थीहरूको ध्यान लामो समय एउटै कुरामा टिक्दैन भन्ने कुरा जेन्जी शिक्षकहरू राम्ररी बुझ्छन्। त्यसैले उनीहरू पढाइलाई रोचक बनाउने प्रयास गर्छन्। कहिले क्विज, कहिले भिडियो, कहिले समूहगत गतिविधि, त कहिले प्रविधिमार्फत प्रस्तुति गराएर सिकाइलाई व्यवहारिक बनाइन्छ। यसले विद्यार्थीलाई कक्षामा बस्न बाध्यता होइन, रुचि बन्न थालेको छ।
अर्को महत्त्वपूर्ण कुरा, जेन्जी शिक्षकहरू विद्यार्थीको मनोविज्ञान बुझ्न सक्छन्। उनीहरू विद्यार्थीमाथि केवल आदेश दिने होइन, संवाद गर्ने प्रयास गर्छन्। अहिले धेरै विद्यार्थी मानसिक तनाव, आत्मविश्वासको कमी र सामाजिक दबाबबाट गुज्रिरहेका हुन्छन्। यस्ता अवस्थामा साथीझैँ व्यवहार गर्ने शिक्षक विद्यार्थीका लागि प्रेरणा बन्न सक्छन्। यही विशेषता जेन्जी शिक्षकहरूमा बढी देखिन्छ।
विशेष गरी कोभिडपछिको समयमा डिजिटल शिक्षाको महत्त्व झन् स्पष्ट भयो। त्यो बेला धेरै शिक्षकहरू प्रविधिसँग संघर्ष गरिरहेका थिए। तर युवा जेन्जी शिक्षकहरूले अनलाइन कक्षा सञ्चालन, डिजिटल नोट्स तयार गर्ने, भिडियोमार्फत पढाउने र विभिन्न एप प्रयोग गरेर सिकाइलाई निरन्तरता दिने काम गरे। यसले प्रमाणित गर्यो कि आधुनिक शिक्षामा प्रविधिमैत्री शिक्षक अब विकल्प होइन, आवश्यकता हुन्।
विश्वभर अहिले शिक्षाको परिभाषा बदलिँदै छ। अब केवल पाठ्यपुस्तक पढाएर पुग्दैन। विद्यार्थीलाई सृजनशील बनाउने, व्यवहारिक सीप सिकाउने, प्रविधिसँग परिचित गराउने र विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने शिक्षा आवश्यक छ। यही क्षेत्रमा जेन्जी शिक्षकहरूको भूमिका महत्त्वपूर्ण बन्दै गएको छ।
नेपालमा अझै कतिपय विद्यालय पुरानो घोकन्ते प्रणालीमै अड्किएका छन्। विद्यार्थीले प्रश्न सोध्न डराउने, शिक्षकले बोल्ने मात्र र विद्यार्थीले सुन्ने मात्र वातावरण अझै कतै-कतै देखिन्छ। तर जेन्जी शिक्षकहरूले बिस्तारै त्यो सोच तोडिरहेका छन्। उनीहरू विद्यार्थीलाई ‘किन?’ भनेर सोच्न सिकाइरहेका छन्। केवल उत्तर याद गर्न होइन, समस्या समाधान गर्न प्रेरित गरिरहेका छन्।
निश्चय पनि अनुभवको आफ्नै महत्त्व हुन्छ। पुराना शिक्षकहरूको योगदान कहिल्यै कम हुँदैन। तर अहिलेको समयले अनुभवसँगै प्रविधिमा दक्षता, नयाँ सोच र परिवर्तन स्वीकार गर्ने क्षमता पनि खोजिरहेको छ। यही कारणले आज धेरै विद्यालयहरूले युवा र प्रविधिमैत्री शिक्षकहरूलाई प्राथमिकता दिन थालेका छन्।
यदि राज्य, विद्यालय र समाजले जेन्जी शिक्षकहरूको क्षमता सही रूपमा प्रयोग गर्न सके, नेपालको शिक्षा प्रणाली धेरै अगाडि जान सक्छ। आधुनिक प्रविधि, सिर्जनात्मक शिक्षण शैली र विद्यार्थीमैत्री वातावरणले भविष्यको शिक्षा अझ प्रभावकारी बन्न सक्छ।
किनकि अब समय फेरिएको छ।
अब केवल चकले मात्र भविष्य लेखिँदैन— आजको डिजिटल युगमा जेन्जी शिक्षकहरूले क्लिक, प्रविधि र नयाँ सोचमार्फत भविष्य निर्माण गरिरहेका छन्।