यात्रामा कहिलेकाहीँ यस्ता क्षण आउँछन्, जहाँ भूगोल अचानक सानो लाग्न थाल्छ।
तपाईं कुनै पराइ देशको रेस्टुरेन्टमा पस्नुहुन्छ। वरिपरि अपरिचित भाषा, भाँडाकुँडाको आवाज, तिलको तेल र ग्रिल गरिएको मासुको गन्ध, पुराना कोरियन गीतहरू हल्का बजिरहेका अनि त्यहीबिच अचानक एउटा अनुहारले तपाईंलाई घर सम्झाइदिन्छ।
पोस्टकार्डको घर होइन।
मनभित्रको घर।
थाकेको तर परिचित अनुहार।
माइग्रेसन बोकेको अनुहार।
नेपाली अनुहार।
दक्षिण कोरियामा त्यो अनुभूति बारम्बार आयो।
एक साँझ हामी एउटा परम्परागत कोरियन रेस्टुरेन्टमा पस्यौँ। काठका टेबुल, न्यानो बत्ती, अनुशासित चहलपहल। अर्डर लिन आएकी युवतीको अनुहार कता कता चिनेजस्तो लाग्यो। मैले सहजै सोधेँ, ‘नेपाली हो?’
उसले एकछिन हेरिन्। मुस्कान पनि पूरा खुलेन।
‘हो’
तर त्यो ‘हो’ भन्दा रोचक उसको केही सेकेन्डको मौनता थियो। हामी टेबुलमा बसेपछि मात्र उनी खुलेर बोलिन्। त्यतिन्जेल उनी केवल काममा थिइन्। त्यसपछि मात्र उनी नेपाली बनिन्।
सायद विदेशले मान्छेलाई यसरी नै बिस्तारै बदल्दो रहेछ। धेरै वर्ष परदेशमा बिताउँदा मानिसहरू आफ्नो पहिचानसमेत नापतौल गरेर प्रस्तुत गर्न सिक्छन्। कतै कार्यस्थलको दबाब होला, कतै ग्राहकको व्यवहारको अनुमान, कतै वर्षौँदेखि दुई संसारबिच बाँचेको भावनात्मक दूरी। माइग्रेसनले सुरुमा भाषा बदल्छ, त्यसपछि बानी, अनि बिस्तारै भावनाको अभिव्यक्ति पनि।
तर संवाद खुलेपछि उही नेपालीपन फर्कियो। कुन जिल्ला? कति वर्ष भयो? घर कहिले जाने? परिवार नेपालमै हो? विदेशमा भेटिएका नेपालीबिच हुने उही पुरानो भावनात्मक नक्सा फेरि खुल्यो।
कोरिया घुम्दै जाँदा एउटा कुरा लगातार महसुस भयो— अब कोरिया नेपालीहरू काम गर्न आएको एउटा देश मात्र रहेन। यो बिस्तारै अर्को समानान्तर नेपाली समाजजस्तो बनिरहेको छ।
कारखाना, कृषि फर्म, रेस्टुरेन्ट, विश्वविद्यालय, गोदाम, निर्माण क्षेत्र, सुविधा स्टोर जता गए पनि नेपाली भेटिने। नेपालका गाउँहरू सानो-सानो टुक्रामा कोरियाभित्र छरिएका जस्ता।
आजको नेपाली युवाका लागि दक्षिण कोरिया कुनै सपनाको विलासी देशभन्दा बढी एउटा स्पष्ट सम्भावना हो। मेहनत गर्दा प्रतिफल देखिने ठाउँ।
नेपालमा एउटा सुरुआती कामदारले महिनाको तीन लाख रुपैयाँ कमाउने कल्पना अझै धेरै युवाका लागि सपनाजस्तै हो। यहाँ डिग्री लिएर पनि बेरोजगार बस्ने, वर्षौँ लोक सेवाको तयारी गर्ने, अस्थायी जागिरमा अल्झिने, अवसर पर्खिँदै उमेर कटाउने युवाहरूको संख्या बढ्दो छ। त्यहीबिच कोरियाले एउटा सिधा प्रस्ताव दिन्छ— काम कठिन छ, तर कामको मूल्य पनि छ।
त्यसैले कोरिया धेरै नेपाली परिवारका लागि केवल विदेश होइन, जीवनको मोड बनेको छ। इपिएस प्रणाली केवल श्रम सम्झौता मात्र रहेन, यो अब नेपाली समाजको सामूहिक आकांक्षाको हिस्सा बनिसकेको छ। गाउँका युवाहरू कोरियन भाषा सिक्न रातदिन लागेका छन्। शब्दहरू कण्ठ पारिरहेका छन्। उच्चारण सुधारिरहेका छन्। किनकि त्यहाँ भाषा केवल भाषा होइन, जीवनको ढोका हो।
नेपाल अहिले दक्षिण कोरियालाई श्रमिक पठाउने प्रमुख पाँच देशमध्ये पर्छ। त्यहाँ नेपालीहरूको संख्या कामदार, विद्यार्थी, परिवार सबै जोड्दा लगभग एक लाख नजिक पुगिरहेको छ। यो केवल तथ्यांक होइन, एउटा सामाजिक रूपान्तरण हो। एउटा पुस्ता नेपालभन्दा बाहिर बसेर आफ्नो युवावस्था निर्माण गरिरहेको छ।
कोरियालीहरू नेपाली कामदारलाई किन रुचाउँछन् भन्ने कुरा पनि बारम्बार सुन्न पाइयो। उनीहरूले धेरै भावुक भएर प्रशंसा गर्दैनन्, तर व्यवहारले देखाउँछन्। ‘नेपालीहरू मेहनती हुन्छन्’, ‘इमानदार हुन्छन्’, ‘चाँडै सिक्छन्’, ‘विश्वास गर्न सकिन्छ’ — यस्ता कुरा धेरै सुनिए। एक पटक नेपाली कामदार राखेका रोजगारदाताले फेरि नेपाली नै खोज्ने प्रवृत्ति बढ्दो छ।
सायद नेपाली समाजले सानैदेखि सिकेको एउटा कुरा हो— सहने क्षमता। अभावमा हुर्किएको समाज छ हाम्रो। मिलाएर चल्न जान्ने। त्यसैले अनुशासित श्रम संस्कृतिमा नेपालीहरू छिट्टै घुलमिल हुन्छन्।
एक दिन अर्को रेस्टुरेन्टमा झन् रोचक अनुभव भयो। हामी नेपाली भएको थाहा पाएपछि मालिक आफैँ उत्साहित भए। उनले केही नेपाली शब्द बोल्ने प्रयास गरे। उच्चारण अलि बिग्रिएको थियो तर आत्मीयता शुद्ध थियो। अनि गर्वका साथ भने, ‘मेरो यहाँ बेलुकी काम गर्ने स्टाफ नेपाली हो।’
त्यसपछि हाँस्दै थपे, ‘नेपालीहरू पोर्क खान्छन्, बिफ होइन!’
साँच्चिकै, संस्कृतिको आदानप्रदान यस्तै साना क्षणहरूमा भइरहेछ। कुनै सरकारी कार्यक्रममा होइन। कुनै सम्मेलनमा होइन। भान्साघरमा, काम गर्ने ठाउँमा, मजाकमा, खाना बाँड्ने टेबुलमा। एकजना कोरियनले दसैँ बुझ्दै छ। एकजना नेपालीले किम्ची बुझ्दै छ। बिस्तारै पराइपन घट्दै छ।
कोरिया अत्यन्त व्यवस्थित देश लाग्छ। रेल समयमै आउँछ। सडक सफा छन्। प्रणाली चलिरहेको छ। तर त्यहाँ एउटा मौन एक्लोपन पनि छ। राति एक्लै खाना खाइरहेका मानिसहरू, बिहान सबेरै बस कुर्दै गरेका श्रमिकहरू, थकित अनुहारहरू अनि त्योबिच नेपालीहरूलाई हेर्दा लाग्छ, उनीहरूले दोहोरो एक्लोपन बोकेका छन्। एउटा आफ्नो देशबाट टाढाको, अर्को आफू बसेको समाजभित्र पूर्ण रूपमा नघुलिएको।
तर जीवन चलिरहेको छ। किनकि अब माइग्रेसन व्यक्तिगत निर्णय मात्र रहेन। परिवारहरू यसमा अडिएका छन्। गाउँहरू यसमा निर्भर छन्। देशको अर्थतन्त्र यसले धानेको छ।
कोरियामा लगभग तीन दशकदेखि बसिरहेका एक नेपाली दाइसँग चिया खाँदै गफ हुँदा उनले एउटा रोचक कुरा भने- ‘अहिलेको जेन–जी नेपाल होस् वा कोरिया, धेरै उस्तै छन्।’
उनको भनाइमा अहिलेका युवाहरू प्रणाली, प्रक्रिया, संस्था भन्दा परिणाममा बढी केन्द्रित छन्। उनीहरूलाई नियमको औपचारिकता भन्दा आफ्नो जीवनमा त्यसको प्रभाव महत्त्वपूर्ण लाग्छ। भावनात्मक निष्ठा कम हुँदैछ। व्यक्तिगत स्वतन्त्रता, मानसिक शान्ति, व्यक्तिगत लाभ प्राथमिकतामा छन्।
त्यो कुरा सुन्दा नेपालको राजनीति सम्झिएँ। संसदमा प्रक्रियाको विवाद, मर्यादाको बहस, आरोप-प्रत्यारोप अनि उता सामान्य नागरिक भने रोजगारी, महँगी, भविष्य र बिदेसिने बाध्यतामा अल्झिएका। सायद नयाँ पुस्ताले अब पुरानो शैलीमा संस्थासँग भावनात्मक सम्बन्ध राख्न छाड्दै छ। उनीहरूको प्रश्न सरल छ— ‘यसले मेरो जीवनमा के फरक पार्छ?’
सायद अब समाजले पनि पुस्ताअनुसार संवाद गर्न सिक्नुपर्ने बेला आएको छ। सबै पुस्तालाई एउटै भाषामा सम्बोधन गरेर हुँदैन।
दक्षिण कोरियामा नेपालीहरूको कथा अब केवल रेमिट्यान्सको कथा मात्र रहेन। यो श्रमको सम्मानको कथा हो। पहिचानको कथा हो। संस्कृतिसँग घुलमिल हुने यात्राको कथा हो। अनि विदेशमा बसेर सामान्य नेपालीहरूले चुपचाप नेपाललाई निर्माण गरिरहेको कथासमेत हो।
पहिले नेपाललाई संसारले हिमाल र बुद्धबाट चिन्दथ्यो। अब बिस्तारै अर्को परिचय पनि बनिरहेको छ- मेहनती नेपाली कामदारको परिचय।
बिहान अँध्यारै उठेर कारखाना पुग्ने कामदार।
बाह्र घण्टा काम गरेर भाषा सिक्ने युवा।
रेस्टुरेन्टमा काम गर्दै घर पैसा पठाउने छोरी।
दुई संस्कृतिबिच बच्चा हुर्काइरहेकी आमा।
यी सबै पनि नेपालको प्रतिनिधित्व गरिरहेका छन्। बिना भाषण। बिना नारा।
सायद त्यसैले कोरियाको नेपाली कथा भावुक लाग्छ। किनकि यो बिदेसिएको श्रमको मात्र कथा होइन, यो एउटा पुस्ताले सम्मान खोज्दै गरेको कथा हो। यस्तो जीवन खोज्दै गरेको कथा हो, जहाँ मेहनत र परिणामबिच अझै सम्बन्ध बाँकी छ।
कोरिया धेरै नेपालीका लागि त्यही ठाउँ बनेको छ।
पूर्ण होइन।
सजिलो पनि होइन।
तर सम्भव भने छ।
र त्यही सम्भावनाबिच, किम्चीको गन्ध, कारखानाको साइरन, चिसो बिहान, भिडियो कल, रेमिटेन्स र घर फर्किने प्रतीक्षाबिच— आधुनिक नेपाली पहिचानको नयाँ अध्याय चुपचाप लेखिँदै छ।
@tweetsudhan