बिहान आँखा नखुल्दै फोनको घण्टी बज्यो।
बिहान बिहान मोबाइल हेर्न आजकाल दिक्क लाग्छ मलाई।
मङ्सिर महिना कटेपछि लामो श्वास फेरेको आभास भएको थियो। फेरि माघ महिनाले छोपिसकेको थियो, विवाहको महिना बनेर।
आजकाल विवाह देखाउनको लागि गरे झैँ लाग्छ। विश्वास बिनाको सम्बन्ध छन्। बाहिर चिटिक्क भित्र विचित्र छन्।
नेपाली समाजमा विवाहलाई एउटा पवित्र संस्कारका रूपमा लिइन्छ। तर समयसँगै यो संस्कार सामाजिक प्रतिस्पर्धा, देखासिकी र आर्थिक बोझको रूपमा परिणत हुँदै गएको देखिन्छ।
विशेष गरी विवाहमा सुन (गर-गहना) अनिवार्य जस्तै मानिने प्रवृत्तिले धेरै परिवारलाई मानसिक र आर्थिक दबाबमा पारेको छ। तर वास्तविकता के हो भने, विवाह सुनबिना पनि पूर्ण रूपमा सम्पन्न हुन सक्छ।
विवाहको मूल अर्थ दुई आत्माबिचको विश्वास, सम्मान, समझदारी र जीवनभर सँगै अघि बढ्ने प्रतिबद्धता हो। सुनले सम्बन्धको गहिराइ नाप्दैन, न त दाम्पत्य जीवनको सुख–दुःख निर्धारण गर्छ। इतिहास हेर्दा पनि थाहा हुन्छ— पहिलेका सरल विवाहहरूमा न त धेरै सुन हुन्थ्यो, न त ठुला खर्च। तैपनि ती सम्बन्धहरू मजबुत र दीर्घकालीन थिए। अझै अमर छन्। उदाहरण हाम्रा आ-आफ्नै घरमा आमा-बुवा देख्न सक्छौँ। कति दरिलो सम्बन्ध छ।
दिनदिनै सुनको उकालो लाग्दो दर देखिन्छ। युवाहरूमा एक प्रकारको निराशपन बढ्दै छ। एउटा अफिसर लेभलको कर्मचारीले एक महिनामा १५-२० हजार मासिक बचत गर्न सक्छन्। बाँकी दैनिक घर र व्यक्तिगत खर्चमा सकिन्छ।
जीवनभर कमाएको पैसा विवाहमै सकिएको र बाँकी दिन तनावमै बिताइन्छ कि भन्ने पिर बढ्दै गएको देखिन्छ।
आजको समयमा सुनको मूल्य अत्यन्तै महँगो छ। विवाहमा सुन अनिवार्य मानिँदा धेरै अभिभावक ऋणमा डुब्न बाध्य हुन्छन्। कतिपय अवस्थामा यसले विवाहपछि पनि दाम्पत्य जीवनमा तनाव र विवाद सिर्जना गर्छ। आर्थिक रूपमा कमजोर परिवारका छोराछोरीहरू विवाहबाट वञ्चित हुने अवस्था समेत देखिन्छ, जुन अत्यन्तै दुःखद सामाजिक समस्या हो।
विवाहमा सुनभन्दा पनि शिक्षा, सोच, आपसी समझदारी र समानताको भावना बढी महत्त्वपूर्ण हुन्छ। दुवै पक्ष आत्मनिर्भर, जिम्मेवार र एक–अर्कालाई सम्मान गर्ने भए विवाह सफल हुन्छ। आज धेरै युवायुवतीहरू साधारण तर अर्थपूर्ण विवाहतर्फ आकर्षित हुँदै गएका छन्, जुन सकारात्मक परिवर्तन हो।
जब मैले यी सबै कुरा त्यो बिहानीको एउटा फोन कलमा सुनाएँ, तब म नै आधुनिक सोचले मात्तिएको साबित भएँ। मैले फोन राखेर सम्झिएँ, भोलिको हाम्रो भविष्य सोच्न छोडेर यो आधुनिक विवाहमा म सामेल हुन सक्छु त?
म आफ्नो भविष्य चार वर्षपछि धकेल्न सक्छु र?
फेरि सम्झिएँ! यो विवाहको फजुल खर्चले म र मेरो भविष्य सुनिश्चित गर्न सघाउ गर्छ। म आफ्नै सोचमा अडिग रहेँ।
समाजले अब सोच बदल्न आवश्यक छ। विवाहलाई देखासिकीको होइन, मूल्य र संस्कारको रूपमा हेर्नुपर्छ। सुन बिना विवाह गर्नु कुनै कमजोरी होइन, बरु साहसिक र सचेत निर्णय हो। यसले समानता, सरलता र सामाजिक न्यायको सन्देश दिन्छ।
विवाह आफैँमा पवित्र शब्द र सम्बन्ध छ। जुन सम्बन्ध सुनले होइन, मनले बाँधिन्छ। सुन बिना पनि विवाह पूर्ण, सम्मानित र सुखी हुन सक्छ— यदि सोच सही छ भने।
विवाहमा एकले अर्कोलाई सँगै हात समाएर अगाडि बढ्ने साहस दिनु आवश्यक मानिन्छ।