ढोकै बाहिर बडेमानको हिमाल छ। दायाँपट्टि छ, बायाँपट्टि छ। अलि अगाडि छ। अलि पछाडि छ। जति अघि बढ्दै गयो, उति उति अनेक आकार र प्रकारका हिमाल जताततै छन्।
लगभग हरेक घर अगाडि वा पछाडि सानोतिनो हिमाल छ। हरेक चोक–चोकमा अझ ठुला हिमाल छन्। कतै–कतै निकै चाक्ला र निकै अग्ला हिमाल छन्।
यी हिमाल समुद्रको सतहबाट केवल केही मिटर उचाइमै छन्। यति बेला समुद्रकै छेउछाउमा पनि यस्ता अनगिन्ती हिमाल छन्।
यी कुनै पहाड वा चट्टानमाथि हिउँ जमेर बनेका हिमाल होइनन्। यी त सतहदेखि नै हिउँमाथि हिउँ थुप्रिएर बनेका हिमाल हुन्। सडक, पार्क, घर, आँगन, सपिङ कम्प्लेक्स वरपरका हिउँ पन्छाएर थुपारिएका कारण जताततै यस्ता हिमाल बनेका हुन्। हिउँ परेर मात्रै यति अग्ला हिमाल बनेका चाहिँ होइनन् है।
कहिल्यै हिमालको नजिक नपुगेका वा हिमाल नदेख्नेहरूका लागि, वर्षौँदेखि हिमाली क्षेत्रबाट टाढा रहनेहरूका लागि, सिजनमा थुप्रिएको हिउँलाई नै हिमाल मानेर मनोरञ्जन लिने तथा फोटो खिच्नेहरूका लागि यी हिमाल हुन् भन्दा फरक पर्दैन।
वरपर कतै पहाड तथा थुम्को समेत नभएको ठाउँमा घर र घरभन्दा पनि अग्ला हिउँको डंगुरलाई हिमाल भनिदिँदैमा के फरक पर्छ र?
बरु यी हिमाललाई नाम पो के दिने हो? नाम जे नाम दिए पनि हुन्छ, धवलागिरि, निलगिरी, अन्नपूर्ण, गणेश, माछापुच्छ्रे वा अन्य कुनै। होइन, माछापुच्छ्रे चाहिँ भन्न अलि नमिल्ला किनकि माछाको पुच्छरजस्तो चुच्चो छैन कि। अरू लगभग जे नाम दिए पनि फरक पर्दैन।
केटाकेटीहरू सोध्छन्- कुन हिमाल हो यो? म जवाफ दिन्छु, ‘माउन्ट एभरेस्ट।’ अरू नाम खासै नसुने पनि यतै जन्मेका वा नेपालमा जन्मेर यता आई हुर्किएकाहरूले ‘माउन्ट एभरेस्ट’ त सुनेकै छन् नि। संसारकै अग्लो शिखर हुनुको नाताले यसको नाम विश्वव्यापी छँदै छ।
मेरो जवाफ सुनेर भुराहरू उत्साही बन्छन् र मुखभरिको बाफ बाहिर हुत्त्याउँदै जोसले हिमाल चढ्छन्, ‘वाउ माउन्ट एभरेस्ट’ भन्दै।
केही बेरमा उनीहरू माउन्ट एभरेस्टको शिखरमा पुगे झैँ गद्गद् हुन्छन्। त्यहाँ केही बेर सफल आरोहणको शैलीमा हात हल्लाउँछन् अनि फोटो खिचाउँछन् र फर्किँदा चिप्लेटी खेल्दै तल झर्छन्। यो क्रम नथाकुन्जेल जारी रहन्छ वा जाडोले सताउन थालेपछि बल्ल रोकिन्छ। यी हिमाल केटाकेटीका मनोरञ्जनका साधन हुन् यति बेला।
गत साता अमेरिकाका झन्डै तीन दर्शन राज्यलाई ठुलो हिमपातले छपक्कै ढाक्यो। २१ करोड हाराहारीका मानिस प्रत्यक्ष हिमपातबाट प्रभावित भए। हजारौँ हवाई यात्रा अवरुद्ध भए। केही समय मानिसको दैनिक आवतजावत रोकियो।
कैयन् राज्यमा स्कुल, कलेज, निजी र सार्वजनिक अफिस र बन्द–व्यापार समेत कम्तीमा एक वा दुई दिन ठप्प भयो।
यो सिजनमा हिउँ पर्नु नौलो कुरो होइन। तर कत्रो हिउँ पर्यो? पग्लियो कि पग्लिएन? भन्ने हो।
अहँ, हिउँ पग्लिएन। फिटिक्कै पग्लिएन। जस्ताको त्यस्तै बसिरह्यो। हिउँ परेको दोस्रो दिनदेखि दैनिक रूपमा आकाश खुलेर चम्किलो घाम लागेकै छ, केवल चिसो घाम। कुनै ताप बिनाको घाम। ताप नभई घामको चमकले मात्र हिउँ नपग्लिने रहेछ। हिउँको अगाडि घामको तापक्रम आफैँ कता हराउँदो रहेछ कता। चिसो घाम जतिसुकै चम्किलो भए पनि हिउँसँग पराजित हुने रहेछ। जसरी हिमालमा घाम लागे पनि हिमाल त हिमाल नै रहिरहन्छ। हिउँ पग्लँदैन। त्यसै गरी यहाँका कुनै हिमाल पग्लिएनन्।
हिमाल मात्र होइन, जमिनमा दुई फिटसम्म परेको हिउँ जस्ताको उस्तै छ। बरु दैनिक रूपमा तापक्रम घट्ने क्रमले जाडोमाथि जाडो बढ्दो छ। शुक्रवार र शनिवार त तापक्रम शून्य डिग्री फरेनहाइटमै झर्यो। यो भनेको सेन्टिग्रेडमा माइनस १८ देखि २० हाराहारी हो।
अधिकतम तापक्रम पनि शून्य डिग्री सेन्टिग्रेडभन्दा माथि जान सकेन, बरु अझै तल बस्यो। यसले गर्दा एकातिर लगातार जाडो बढिरह्यो, अर्कोतिर हिउँ फिटिक्कै पग्लिएन। तालहरू पुरै जमेका छन्। नदी जमेको छ। समुद्र पनि जमेर एक ढिक्का भएको छ। सडक किनारामा पार्क गरिएका गाडीहरू हिउँले पुरिएका छन्।
सिजनको यो चौथो हिमपात हो। अझै केही साता र महिनाहरू हिमपात हुन बाँकी नै छ। डिसेम्बर वा जनवरीमा हिमपात हुनु केवल सुरुवात हो। फेब्रुअरी, मार्च र अप्रिल हिमपात हुने महिना हुन्। कुनै वर्षमा त मे महिनामा समेत बाक्लै हिमपात भएका छन्।
हुन सक्छ, योभन्दा ठुलो हिमपात आउनै बाँकी छ वा योभन्दा केही कम वा लगभग यस्तै। तर हिमपात अझै बाँकी छ, यो पक्का हो।
केही साताअघि आधा फिट बाक्लो हिउँ परे पनि यसपालि दुई फिट हिमपात भयो। जुन इतिहासमै सर्वाधिक दश हिमपातमध्ये एक हो भनिएको छ।
यसअघि सन् २०१५ मा अमेरिकाको पूर्वी क्षेत्रमा इतिहास नै रच्ने गरी हिमकाय हिमपात भएको थियो। त्यस बेला बोस्टन क्षेत्रमा एकपछि अर्को दिन र हप्ता गर्दै लगातार हिमपात भई १०८ इन्चसम्म हिउँ थुप्रिएको थियो।
त्यसपछि एकैपल्ट यति ठुलो हिमपात भएको र शून्यभन्दा तलको तापक्रम धेरै दिन कायम रही हिउँ पग्लिन नपाएको सायद यो पहिलोपल्ट हुनुपर्छ।
अझै आगामी केही हप्ताहरू न्यानो हुने सम्भावना देखिएको छैन। यसको मतलब हिउँ अझै पग्लिने छैन र जाडो भइरहनेछ। बरु हिउँ थपिन सक्ने मौसमविद्हरूको भनाई छ।
चिसो घामले कैयन् दिन र हप्तासम्म हिउँ पगाल्न नसक्दा सुरुमा कपासजस्तो सेतो अनि नरम हिउँ बिस्तारै मैलो र कालो हुँदै जान्छ। सडक छेउछाउ हिउँका डिलहरू सवारीको नदेखिने धुवाँले कसो–कसो कालो बन्न थाल्छन्, जुन रमाइलो पटक्कै देखिँदैन।
हिउँको सुन्दरता यसको सेतोपनामा मात्रै हुने रहेछ। कालो हिउँले सारै विरक्त र दिक्दारी लगाउँछ। त्यसैले हिउँ कालो बन्नु अघि कि पानी परेर सर्लक्कै पगाल्नु ठिक। कि तातो घाम लागेर पग्लिनु वा बाफिनु ठिक।
-1770116738.jpeg)
-1770116737.jpeg)
-1770116736.jpeg)
-1770116735.jpeg)
-1770116735.jpeg)
-1770116735.jpeg)