धेरै जनाले मलाई सोध्नुहुन्छ, मानसिक रोग पनि निको हुन्छ र? यो लेखमा आज यही प्रश्नको जबाफ पर्गेल्ने प्रयास गरेको छु।
कुनै पनि रोग लाग्यो भन्ने थाहा पाएपछि हाम्रो मनमा स्वाभाविक रूपमा उठ्ने प्रश्न हो, यो रोग निको होला त? तथापि यो प्रश्नको जबाफ त्यति सजिलो भने छैन, र साह्रै गाह्रो पनि छैन। हामीले हाम्रो रोग, शारीरिक अवस्था र आफैलाई कसरी बुझ्दछौं भन्ने मात्र हो।
मोटामोटी रूपमा रोगहरूलाई दुई प्रकारमा विभाजन गर्न सकिन्छ।
शारीरिक रोग र मानसिक रोग।
रोग वर्गीकरणका धेरै तरिकाहरू छन्, तर बुझ्न सजिलोका लागि यसलाई यी
दुई प्रकारबाट हेरौँ।
साधारणतया जति सजिलै हामीले शारीरिक रोग लागेको थाहा पाउँछौं र त्यसबारे अरूसँग कुराकानी गर्छौं, मानसिक रोग वा मनोरोग लागेको थाहा पाउन, रोग लागेको भनेर विश्वास गर्न र त्यसबारे अरूसँग खुलेर कुरा त्यति सहज हुँदैन। असहज हुनुपर्ने कारण केही पनि छैन। तर हामी यसरी हुर्के बढेका हुन्छौँ कि हामीलाई यसबारे खुलेर कुरा गर्न सहज लाग्दैन।
हामीलाई हाम्रो वरपरको समाज र वातावरणले त्यसरी सोच्न र व्यवहार गर्न सिकाएको हुन्छ। र यस्तो प्राय: संसारभरि नै हुन्छ। संसारभरमा मानसिक रोगका बारेमा कमै मात्र कुरा गरिएको पाइन्छ। तर अचेल यसमा विस्तारै परिवर्तन भएको पाइन्छ। हाम्रो समाजमा पनि मानसिक रोग बारेको चेतनामा विस्तार भएको छ। यो विस्तारको गति भने अत्यन्तै सुस्त छ।
कुनै पनि मानिस स्वस्थ छ वा छैन भन्रका लागि विभिन्न आयामहरूबाट हेर्नुपर्ने हुन्छ।
विश्व स्वास्थ्य संगठनले परिभाषित गरे अनुसार 'कुनै पनि मानिसलाई स्वस्थ मानिस भनेर तब मात्र भन्न सकिन्छ जब मानिस शारीरिक, मानसिक र सामाजिक कल्याणको अवस्था समेतबाट पूर्ण रूपमा स्वस्थ हुन्छ। केवल रोग वा अशक्तताको अनुपस्थितिको आधारमा मात्र कसैलाई स्वस्थ मानिस भन्न सकिँदैन।' त्यसकारण शारीरिक रूपमा स्वस्थ भए पनि मानसिक रूपमा कोही व्यक्ति अस्वस्थ हुँदा पूर्ण स्वास्थ्यको अवस्थामा नहुने हुनाले त्यो व्यक्तिलाई स्वस्थ व्यक्ति भन्न सकिँदैन।
जसरी कुनै पनि शारीरिक रोग लागेको शंका लागेमा, रोग लागेको हो वा होइन भनेर लक्षणहरूका आधारमा तथा प्रयोगशालामा गरिने परीक्षणका आधारमा मात्र किटान गर्न सकिन्छ, त्यसरी नै मानसिक रोगलाई पनि रोग हो वा होइन भनेर व्यक्तिको सोचाइ, व्यवहारजन्य लक्षण र प्रयोगशाला परीक्षण लगायतका विविध परीक्षणहरूका आधारमा मात्र भन्न सकिन्छ। दुवै अवस्थामा रोगको निदान वा यकिन तालिम प्राप्त स्वास्थ्यकर्मीले मात्र गर्न सक्छन्।
फेरि पनि, प्रारम्भिक प्रश्न बाँकी नै छ। मनोरोग वा मानसिक रोग लागेपछि निको हुन्छ त?
कुनै पनि रोग लागेको यकिन भैसकेपछि, रोग निको हुन्छ वा हुँदैन भन्ने कुरा विभिन्न तत्वहरूमा भर पर्छ। पहिलो कुरा त रोगको कारण नै हो। कारण पत्ता लागेपछि मात्र रोगको उपचारको योजना बनाउन र उपचारको बाटोमा अगाडि बढ्न सजिलो हुन्छ। त्यतिले मात्र पनि हुँदैन, व्यक्तिको उमेर, अन्य शारीरिक अवस्था, अरू रोगहरूको उपस्थिति वा अनुपस्थिति, रोग प्रतिरोधात्मक क्षमता, भावनात्मक अवस्था, परिवार र आफन्तले गर्ने सहयोग, व्यक्तिले रोगलाई र आफैलाई हेर्ने दृष्टिकोण आदि लगायतका धेरै कुराहरूले कुनै पनि रोग निको हुने सम्भावना, समय र गतिमा प्रभाव पार्दछन्।
सामान्य रूघाखोकी निको हुन पनि कसैलाई एक हप्ता, कसैलाई दश दिन, कसैलाई दुई हप्ता लाग्छ भने कसैलाई त्योभन्दा लामो समयसम्म पनि रोगले सताउन सक्छ। कुनै पनि रोगको कारण थाहा पाएर उपचार सुरू गर्दा पनि निको हुने सम्भावना, समय र गति फरक हुन सक्छ। एउटै कारणले लाग्ने रोगको उही वा उस्तै उपचारलाई पनि फरक फरक शरीरले फरक तरिकाले ग्रहण गर्दछन्। मानसिक रोगको उपचारमा पनि यही कुरा लागू हुन्छ। हरेक मानिस फरक हुन्छ। तर पनि आजको विश्वमा धेरै रोगहरूका उपचार उपलब्ध र सम्भव छन्। रोग लागेपछि धेरै रोगहरू पूर्ण रूपमा निको हुन सम्भव छन्। तर पनि कुनै पनि रोग एकपटक निको भैसकेपछि, सामान्यतया, फेरि त्यही रोग लाग्दैन भन्ने चाहिँ हुँदैन।
जसरी शरीरमा लाग्ने धेरै रोगहरूको कारण थाहा पाउन सकिएको छ, त्यसैगरी मनमा लाग्ने रोगहरू (मनोरोगहरू) को कारण यही हो भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन। कोही मानिस मानसिक रूपमा अस्वस्थ हो वा होइन भनेर भन्न सकिने आधारहरू छन्, तर मानसिक अस्वस्थताको कारण ठ्याक्कै यही हो भनेर भन्न चाहिँ सकिँदैन। किनभने कुनै एउटा मात्र कारणले मन अस्वस्थ हुने भन्ने नहुने रहेछ। कुनै एउटा कारणले मात्रले पनि मानसिक रोग लाग्न सक्छ, कारण यही मात्र हो भन्ने आधारहरू प्रष्ट नहुन सक्छन्। किनभने, मानिस रिक्त स्थानमा (भ्याक्युममा) बाँचेको हुँदैन। मानिसलाई उसका वरपरका धेरै कुराहरूले निरन्तर प्रभाव पारिरहेका हुन्छन्।
हालको समयमा मनोचिकित्सक र मनोविदहरूले मानसिक रोगको निदानका लागि बहुआयामिक मोडेल प्रयोग गर्ने गर्दछन्।
‘बायो साइकोसोसल’ अथवा जैविक, मानसिक, र सामाजिक आयामहरूमा मानसिक र व्यवहारजन्य अवस्थाहरूलाई जाँचेर गहन रूपमा हेरिन्छ। यो प्रक्रिया मानसिक स्वास्थ्यकर्मीहरूसँगको निरन्तरका सत्रहरूमा चलिरहन सक्छ। अनि मात्र सम्भावित कारणहरूलाई सम्बोधन गर्दै अघि बढ्न सकिन्छ। मानसिक रोगको उपचार र यसको नतिजा पनि रोगको प्रकार, प्रकृति, व्यक्तिको भावनात्मक अवस्था, परिवार र निकट व्यक्तिहरूको सहयोग र हौसला आदिमा भर पर्दछ। त्यसैले नै कुनै पनि रोग निको हुने सम्भावना, समय र गति निर्धारण गर्दछ।
अब यसलाई यसरी बुझौँ। जसरी सामान्यतया कुनै शारीरिक रोग लागेपछि उपयुक्त निदान र उपचारपछि शारीरिक रोग पूर्ण रूपमा निको हुन्छ, त्यसरी नै मानसिक रोग पनि पूर्ण रूपमा निको हुन सक्छ। शरीरमा लाग्ने केही दीर्घ रोगहरू पनि छन्। जस्तै मधुमेह, उच्च रक्तचाप आदि। यिनलाई दीर्घ रोग भन्नुको कारण के हो भने, यी रोगहरू हाम्रो शरीरमा लामो समयसम्म वा जीवनपर्यन्त रहन सक्छन्। केही शारीरिक रोगहरू पूर्ण रूपमा निको हुँदैनन् तर तिनलाई निरन्तरको उपचार, सन्तुलित खानपान, र व्यायामले व्यवस्थापन गर्न सकिन्छ। दीर्घ रोगलाई उचित रूपमा व्यवस्थापन गरेर तिनबाट हुन सक्ने दीर्घकालिन क्षतिलाई निकै हदसम्म कम गर्न वा ढिलो गर्न सकिन्छ। मानसिक रोगहरू पनि यस्तै हुन्। केही मानसिक रोगहरू पूर्ण रूपमा निको हुन सक्छन्। केही पूर्ण रूपमा निको नहुन पनि सक्छन्। तिनलाई जीवनभरको उपचार र व्यवस्थापन आवश्यक पर्न सक्छ।
केही रोग एक पटक निको भैसकेपछि फेरि फेरि देखिन पनि सक्छन्। शारीरिक र मानसिक रोग दुवैमा यो कुरा लागू हुन्छ।
जसरी कुनै कुनै शारीरिक रोगलाई व्यवस्थापन गर्नका लागि उपचारको एउटा सानो अंश जीवनभर चलिरहन्छ, त्यसरी नै कुनै कुनै मनोरोग वा मानसिक रोगका लागि पनि निरन्तरको उपचार आवश्यक पर्न सक्छ। शारीरिक होस् वा मानसिक, कुनै पनि रोग असामान्य नै भए पनि, त्यसको निदान र उपचारलाई सही तरिकाले ग्रहण गरी स्वास्थ्यकर्मीको निर्देशनलाई सही रूपमा पालना गर्न सकेको खण्डमा लामो समयसम्म स्वस्थ जीवन यापन गर्न सकिन्छ।
(सफर पोखरेल मनोविद् हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट मनोविज्ञानमा स्नातकोत्तर र टेक ग्लोबल युनिभर्सिटी एण्डोराबाट सिबिटीमा स्नातकोत्तर गरेका छन्।)