फेब्रुअरीको मधुरो घाम झुल्किँदै गर्दा सहरभरी गुलाबका बोटहरू जस्तै भावनाहरू पलाइरहेका हुन्छन्।
रेष्टुरेन्ट र डिपार्टमेन्ट स्टोर्सहरूमा रातो तथा सेतो रिवन र बेलुनहरू टाँसिएका छन्। क्याफेहरूमा हँसिला प्रेमिल जोडीहरूका लागि अग्रिम बुकिङ भैसकेका छन्। त्यही दिन भने एउटा बैंकरको लागि माया र जिम्मेवारीको सन्तुलन मिलाउने – ब्याज, किस्ता र प्रेम सन्तुलन गर्ने दिन बन्न पुग्छ।
भ्यालेन्टाइन डे केबल आधुनिक फेसनको उत्सव होइन, बरू प्रेमिल इतिहास बोकेको गर्विलो शब्द हो। यसको जरा खोज्न प्राचीन रोमन साम्राज्यतिर घोत्लिनुपर्छ। रोमन सम्राट क्लाउडियस द्वितीयको शासनकालमा सैनिकहरूलाई विवाह गर्न निषेध गरिएको भन्ने पाइन्छ। किनकि अविवाहित सैनिकहरू बढी शक्तिशाली हुन्छन् भन्ने मान्यता थियो।
तर सन्त भ्यालेन्टाइन नामका धर्मगुरूले प्रेम र विवाहलाई पवित्र मानेर गोप्य रूपमा विवाह गराइरहे। यो काम राजाको आदेश बर्खिलाप थियो। यस विषयमा उनलाई पक्राउ गरी मृत्युदण्ड दिइयो। त्यो दिन थियो, फेब्रुअरी १४।
त्यसै दिनको त्यो प्रेम निष्ठा र साहसको प्रतीक र सम्झना स्वरूप हरेक अंग्रेजी वर्षको त्यस दिनलाई उत्सवको रूपमा प्रेम दिवस मनाउन थालियो।
मध्यकालीन युगमा कवि र साहित्यकारहरूले यसलाई पवित्र कार्यका रूपमा चित्रण गर्न थाले। १८ औं र १९ औं शताब्दीतिर कार्ड, फुल र सन्देश आदानप्रदान हुन थाल्यो।
औद्योगिक क्रान्ति पछिको दशकमा समाजमा गुलाव, चकलेट, तथा रेष्टुरेष्ट कल्चरले ठाउँ पाउँदै आएको छ। आज यो दिन विश्वव्यापी मनाउने पर्वको रूपमा रूपान्तरण भएको छ। खासगरी जेनजी पुस्ता बढी सक्रिय छ यो पर्वमा।
नेपाली समाजमा पनि यो दिन युवापुस्ता माझ लोकप्रिय छ। साथ साथै यहाँ बहस पनि चलिरहेको छ यो पश्चिमा संस्कृतिको प्रभाव कि साँचो प्रेम गर्नेको उत्सव, यसलाई निरूत्साहित गर्ने कि दुरूत्साहित एउटा छलफलको विषय बन्न सक्ला तर एउटा कुरा स्पष्ट छ कि प्रेम केबल उपहार र देखावटी रोमान्स मात्र होइन, यो त निष्ठा, सम्मान, समर्पण, जिम्मेवारी र कर्तव्यबोधको अनुपम आस्था हो।
बैंकरको बिहान अलार्मले होइन, दायित्वले उठाउँछ। मोबाइलमा क्यालेण्डर हेर्दा फेब्रुअरी १४ को घेरा देखिन्छ। भ्यालेन्टाइन उसले बिर्सेको हुँदैन तर उसले मनाउने शैली फरक हुन्छ। क्याल्कुलेटरमा मुटु राखेर, ब्याजमै माया गन्छ ऊ, ब्यालेन्स सोध्दा मुस्काउँदै भनिदिन्छ–‘माया पर्याप्त छ, नगद कम छ।’
बैंकको ढोका खुल्ने बित्तिकै लाइन सुरू हुन्छ। कसैले चेक साट्न, कसैले डिपोजिट गर्न, कसैले ऋण लिन, त कसैले डिजिटल बैंकिङका समस्याको समाधान खोज्न लामबद्ध भएको देख्छ ऊ।
यी सबै केबल काम होइनन्, यी त मानिसका सपना हुन्, कसैले छोरीको पढाइको लागि बचत गर्दैछ, कसैले घर बनाउने आशामा ऋण लिएको छ, कसैले वृद्धावस्थाको सुरक्षाको लागि साना साना रकम संकलन गरी जम्मा गरिरहेको छ।
भ्यालेन्टाइन डेमा जब अरूले गुलाब साट्छन्, बैंकरले विश्वास साट्छ, एउटा सानो कागजमा ‘सही छ’ भनेर गरिएको दस्तखतले नै कसैको जीवनमा आशाको ढोका खुल्छ प्रेम त्यहीँनेर अडिक हुन्छ। यही उसको प्रेमको रूप हो– कसैको मन/भविष्य सुरक्षित बनाउन सक्नु, विश्वासिलो गर्विलो आश दिन सक्नु वा भनौं कसैको भविष्य सुरक्षित बनाउन सक्नु।
तर यसको अर्थ उसको व्यक्तिगत जीवन बिर्सेको भन्ने होइन। दिउँसोको टिफिन ब्रेकमा उसले फोन गर्छ ‘आज अलि ढिला हुन्छ, धेरै माया छ कालु’।
यो वाक्यमा माया र जिम्मेवारी दुवै मिसिएको हुन्छ।
बैंकरको प्रेम व्यावहारिक हुन्छ। उसले थाहा पाएको हुन्छ। माया पनि बचत जस्तै हो। नियमित गर्नुपर्छ ध्यान दिएर। विश्वास भने फिक्स्स डिपोजिट जस्तै हो समय सँगै बढ्छ। सम्बन्धहरू लोन जस्तै हो, जिम्मेवारीपूर्वक दायित्व पूरा गर्नुपर्छ। अनि मात्र असल भइन्छ। टिकिन्छ, जुनी जुनी।
त्यसदिन बैंकको काउन्टरको अगाडि उभिने व्यक्ति पनि प्रेमको अर्को रूप हो। उसले देखाउने माया गुलाबमा होइन, जिम्मेवारीमा हुन्छ। चकलेटमा होइन, भरोसामा हुन्छ।
जब साँझ बैंकको ढोका बन्द हुन्छ, सिस्टम क्लोज हुन्छ र कम्प्युटर स्क्रिन अँध्यारो हुन्छ। तब ऊ घरतर्फ लाग्छ। हातमा सायद सानो गुलाब हुन्छ तर मनमा ठूलो कृतज्ञता।
उसले महसुस गर्छ – कि ब्याज, ब्यालेन्स र मायाबीच सन्तुलन। काम र प्रेमबीच सन्तुलन। जिम्मेवारीको काउन्टरमा उभिएर पनि मुटुमा गुलाब राख्ने कला।
(लेखक राष्ट्रिय वाणिज्य बैंक भैरहवा शाखामा कार्यरत छन्)