कसैले मलाई सोध्यो भने— ‘जन्मभूमि रोज्छौ कि कर्मभूमि?’ मसँग उत्तर हुँदैन।
उत्तर नहुनु निर्णयहीनता होइन जस्तो लाग्छ मलाई। सायद त्यो इमानदारी हो। किनकि केही प्रश्नहरू छानिनका लागि होइनन्, बोक्नका लागि हुन्छन्।
म नेपालको एउटा सानो गाउँ–बस्तीबाट आएको मान्छे हुँ। मेरो बाल्यकाल गाउँले परिवेशमै बित्यो। +२ सम्मको अध्ययन टुकी बालेर गरियो। बत्ती निभेपछि किताब बन्द हुन्थ्यो तर सपना बन्द हुँदैनथे। कृषकको छोरो भएकाले गाईबस्तु, ढुङ्गामुढामै जीवनका साना–साना खुसी भेटिन्थे। त्यो जीवन सरल, सहज, सस्तो थियो तर शून्य थिएन। सुविधा थिएन तर अपनत्व थियो। विकल्प कम थिए तर सम्बन्ध गहिरा थिए।
स्कुले जीवन सकिनासाथ अमेरिका पुगियो। यो मेरो कर्मभूमि हो। यहाँ पसिनाले मूल्य पाउँछ, घण्टाको हिसाबले श्रम नापिन्छ र भविष्य वर्तमानसँग स्पष्ट सम्झौतामा हुन्छ। सम्भावना र अवसर यहाँ भाषणमा होइन, दैनिकीमा देखिन्छन्। यहाँ मैले जीवनको अर्कै अनुहार देखेँ— श्रम, पसिना र कदरको। अनुशासन, सम्भावना र अवसरको।
यही क्रममा बुझ्दै गएँ— यी दुई जीवनलाई एउटै तराजुमा जोख्न सकिँदैन।
म जन्मभूमिलाई आमा भन्छु।
कर्मभूमिलाई श्रीमती।
आमा— जहाँ म जन्मिएँ।
श्रीमती— जहाँ म बाँचिरहेको छु।
अब कसैले यदि सोध्यो भने—
‘आमा रोज्छौ कि श्रीमती?’
त्यहाँ सही उत्तर हुँदैन।
त्यहाँ छान्नै पर्ने बाध्यता पनि हुँदैन।
आमा भनेको त्यो भूमि हो जसको कोखमा म जन्मिएँ, जहाँ मेरो जरा छ, जहाँ म केही नभए पनि स्विकारिएँ। आमा सृष्टि हुन्, सृजना हुन्। सन्तानका लागि स्नेह हुन्, प्रेम हुन्, बिना सर्त साथ दिने शक्ति हुन्। आस्था र आशिषको अजर अमर सम्बन्ध। हृदय, प्राण जस्तै— अनुभूतिले मात्र बुझ्न सकिने सम्बन्ध, आमा, जन्मभूमि।
श्रीमती भनेको यात्रा हुन्— सिङ्गो जीवनको यात्रा। समयसँगै बदलिँदै जाने तर साथ नछोड्ने सम्बन्ध। जीवनका संघर्षको साझेदार। सुख–दुःख, सफलता–असफलतामा बराबरी उभिने सारथि। हर्ष–विषादका सहयात्री, जीत–हारका साक्षी। विश्वासको खम्बा र भरोसाको आधार। आँसु–हाँसो दुवै बोक्ने, आफ्नो आधा पाटो जस्तै भएर साथ रहने सम्बन्ध, श्रीमती, कर्मभूमि।
कतिपयले तर्क गर्छन्— आमा जैविक रूपमा बदलिँदैनन्, श्रीमती बदलिन सक्छिन्। तर यो तर्क अधुरो लाग्छ मलाई। जीवनमा श्रीमतीसँगको सम्बन्ध टुट्नु केवल दुई मानिस अलग हुनु होइन, पूरै जीवनको संरचना भत्किनु हो। त्यसको चोट कागजमा देखिँदैन तर दिनदिनै महसुस हुन्छ। आमा र श्रीमती रोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण हो।
त्यसैले म जन्मभूमि र कर्मभूमिबिच तुलना गर्न चाहन्नँ। तुलना त्यहाँ हुन्छ जहाँ एउटा छोड्न सकिन्छ। आमा छोडिँदैन र कर्म पनि सधैँ छोड्न सम्भव हुँदैन। यही दुर्भाग्यपूर्ण द्वन्द्व धेरै बिदेसिएका नेपालीको जीवनमा मौन रूपमा बसेको छ।
विदेशमा बस्नु कसको रहर होला?
घर छोड्नु कसको पहिलो चाहना होला?
घर छोड्ने मान्छे पूरा जान सक्दैन।
ऊ आधा मात्र जान्छ।
आधा परिवारका लागि बाँकी रहन्छ।
बा–आमाका लागि आधा मर्छ।
सन्तानका लागि आधा बाँचिरहन्छ।
कर्मभूमि रोज्नु भनेको जन्मभूमि त्याग्नु होइन।
र जन्मभूमि सम्झनु भनेको कर्मभूमिप्रति बेइमानी गर्नु पनि होइन।
म अमेरिकामा बसेर काम गर्छु, कर तिर्छु, नियम पालना गर्छु। त्यहीँ मेरा सन्तान हुर्किरहेका छन्। तर त्यो जीवनले मलाई मेरो गाउँ बिर्सन सिकाएको छैन। आज पनि कुनै चिसो साँझमा टुकी बालेर पढेको स्मृति आउँछ। ढुङ्गामुढामा चोट बोकेर हाँसेको बाल्यकाल सम्झन्छु। आमा जस्ताको तस्तै देखिन्छिन्।
जन्मभूमि जरा हो।
कर्मभूमि डाली।
जराबिना डाली हुँदैन।
डालीबिना जरा एक्लो हुन्छ।
जरा जमिनमुनि देखिँदैन तर सबै थामेर राखेको हुन्छ। डाली हावासँग खेल्छ, घामसँग बोल्छ, फल दिन्छ। दुवैको भूमिका फरक छ तर बराबर छ।
सायद हाम्रो पुस्ताको पीडा यही हो— हामीसँग उत्तर छैन। हामीसँग केवल सन्तुलन छ। हामीले रोज्ने होइन, मिलाउने प्रयास गर्नुपर्छ। आमा र श्रीमतीलाई एक–अर्काको प्रतिस्पर्धी होइन, अस्तित्वका दुई अलग तर महत्त्वपूर्ण आधार मान्नुपर्छ।
मलाई जन्मभूमि पनि चाहिन्छ।
मलाई कर्मभूमि पनि चाहिन्छ।
र मलाई विश्वास छ—
कहिल्यै रोज्न नपर्ने अवस्था नै सही अवस्था हो।