एक समय डोटीको सदरमुकाम सिलगढी पुरानो प्रशासनिक, व्यापारिक तथा सांस्कृतिक शहरका नामले चिरपरिचित ठाउँ मानिन्थ्यो। खासगरी बाइसे चौबिसे राजकाजको समयमा पश्चिम नेपालको डोटी राज्य बाइसे राज्यमध्येको एक अब्बल र शक्तिशाली राज्य थियो। त्यो समयमा भौतिक पूर्वाधारका आधारभूत संरचनाहरू पर्याप्त नभएता पनि फरक-फरक ठाउँका मानिसहरूको चहलपहल व्यापक हुन्थ्यो। अड्डा, अदालत, प्रशासनिक सेवा केन्द्र, व्यापार र सांस्कृतिक अनुष्ठान, स्थानीय रहनसहनले भिन्नै पहिचान बनाएको सिलगढी डोटी आज भने शून्यप्रायः छ।
पहाडी इलाकाको जिल्ला सदरमुकाममध्ये सिलगढी मलाई औधी मन पर्ने ठाउँ हो। सिलगढीसँग मेरो एकतर्फी असीम र गहिरो प्रेम छ। श्रद्धा, कृतज्ञता र करुणा पनि उत्तिकै अक्षुण्ण छ। पहिलो पटक होला सायद २०६८ साल असारको तेस्रो सप्ताहान्तमा मैले सिलगढी टेकेको थिएँ। त्यो समय फरक परिवेशको थियो। म एसएलसीको पूरक परीक्षाको तयारीका लागि सिलगढी पुगेको थिएँ।
मनमा एक खालको उत्साह, डर र भय एकैसाथ बेजोड सक्रिय थिए। मनमा एक किसिमको अन्योलता र हृदयमा अनिश्चितता उस्तै थियो। मनको एउटा क्यानभासमा पूरक परीक्षालाई दृढतापूर्वक पार लगाउनु पर्छ भन्ने संकल्प थियो भने अर्को कुनामा यदि सफल भइनँ भने के गर्ने कसो गर्ने भन्ने अनिश्चितता थियो त्यो समयमा। सिलगढीमा करिब ५० दिनको बसाइँ बिट मारेर घर फर्किएँ र पूरक परीक्षामा उत्तीर्ण पनि भएँ। खैर यो एउटा स्मृतिको ताजा स्मरण हो जुन केवल पृष्ठभूमिमा मात्र समेट्न खोजेको।
त्यसपछिका दिनमा उच्च शिक्षा अध्ययनका निम्ति सुदूरपूर्व काठमाडौँ हानिनुपर्ने अवस्था आयो। हुन त त्यो परिस्थिति म सिलगढी पुग्नु पहिले नै निश्चित भइसकेको थियो, मेरा कारण रोकिने वाला पनि थिएन। तर पास भइएन भने चाहिँ केही समय ब्रेक अवश्य लाग्थ्यो वा भनौँ फरक अवस्था जरूर भोग्नु पर्थ्यो जस्तो लाग्छ। सुरुको एक/दुई वर्ष त काठमाडौँ घर ओहोरदोहोर गर्दा सिलगढीको बाटो हिँडियो। त्यसपछि भने फर्केर सिलगढी पुग्ने मेसो मैले मिलाउन सकिनँ।
सिलगढी जान म जहिल्यै पनि उही ऊर्जामा उत्साही भइरहन्छु। त्यही रहरले पनि होला सायद सिलगढीप्रति अगाध माया अविरल रहिरह्यो र छ। जहाँ मैले आफ्नो गन्तव्य बेगरको यात्रालाई एउटा दरिलो आधार, आशा र अपेक्षाको तृणमूलसँग जोड्न कोसिस रह्यो। त्यसैले त्यस ठाउँप्रति म अनुश्रीत भावले कृतज्ञ र अनुग्रहित छु। त्यसै बेलादेखि हो सिलगढी त्यही छुट्यो म भने समयको रेलको डब्बामा अर्कै सपनाको शहर राजधानी काठमाडौँमा हानिएँ। र वर्षौँसम्म सिलगढीबाट टाढिन पुगेँ।
यसपालि वसन्त अघिको उराँवलाग्दो शिशिर याममा करिब १४ वर्षपछि सिलगढी पुग्ने मौका मिल्यो। म जति पहिले सिलगढी पुग्न उत्साही हुन्थेँ उस्तै गरी उत्साही अहिले पनि हुन्छु। सिलगढी उही रह्यो कि समयअनुसार बदलियो होला भन्ने सन्देह मनमा अडेर बसिरहेको हुन्थ्यो। अहिले कर्मथलो सुर्खेत भएकाले यसपालि कर्णालीको किनार दैलेख अछाम हुँदै सिलगढी जान मन लाग्यो। ०८२ फागुन तेस्रो सप्ताहान्तको चुनावले यो साइत जुराइदियो मलाई। हुन त यो एउटा फगत फसाद बहाना हुन सक्ला। तर साँच्चै मेरा निम्ति यो चुनाव र घरजाने मनसुवाले एकैपटक यस्तो परिस्थिति जुराइदियो। फाल्गुन १८ गते सुर्खेतदेखि अछाम मंगलसैनसम्मको टिकट काटेर हुइँकिएँ फोर्स गाडीमा। बिहान करिब ८ बजेको हुँदो हो म त्यो दिनको गन्तव्य सिलगढीलाई मानेर सुर्खेत, दैलेख, अछाम हुँदै रातिको करिब साढे आठ बजे सिलगढी पुगेँ।
शिशिर यामका उराठलाग्दा दिनहरू यसै पनि बोझिला हुन्छन्। आम निर्वाचनले मानिसहरूमा बेग्लै किसिमको उमङ्ग र उत्साह थपिदिएको थियो। मौन अवधि त्यसमाथि शहरका मतदाता घर गएकाले पनि होला सिलगढी मलाई त्यसै शून्यप्रायः लाग्यो। पुग्नेबित्तिकै हत्तपत्त खाना खाएलगत्तै शैलेश्वरी मन्दिर परिसर एक फन्को लगाएँ। सायद त्यो बेला रातिको ९ बजिसकेको थियो। मन त्यसै आनन्दित भयो।
पहाडको शहर शान्त छ, रमणीय छ र उत्तिकै सुन्दर पनि छ। हुन त प्रायः पहाडका जिल्ला सदरमुकामहरू सुन्दर नै छन्। त्यसमध्ये पनि आफू बसेको, हुर्केको र सिकेको शहर हुनाले थप प्रेम रहने नै भयो। आजकाल त्यो शहर एक्लै उदासीनपनमा उन्मत्त भएको देख्दा मन भने अमिलो भएको आभास भयो। समय पनि कस्तो हुँदो रहेछ भने वसन्त आउन चैत–वैशाख पर्खनु पर्दोरहेछ। समयको आफ्नै चाल छँदैछ, समाजको पनि चाल हुँदोरहेछ, उसैगरी राजनीतिका पनि चालहरू फरक हुने नै भए। भनिन्छ कसैले सम्झाउन नसक्ने मान्छेलाई समयले समयसँगै सम्झाउँछ।
भनिन्छ मान्छेको जिन्दगी र नदी उस्तै लाग्छन्। सरल रेखामा न नदी बग्छ, न मान्छेको जीवन। मृत्युमा पुगेर टुङ्गिने मान्छेको जीवन र समुद्रमा टुङ्गिने नदीको यात्रा उस्तै हो। तर नदी र मान्छेमा एउटा फरकपना छ। त्यो हो हजारौँ माइल बग्दा पनि नदी ‘मैलो’ हुँदैन तर मान्छे भने विरलै सङ्लो रहन सक्छ। धेरैका जीवनमा धेरै कुराहरू बदलिरहन्छन्। गाउँ बदलियो, सहर बदलियो, घरहरू बदलिए, म आफैँ पनि केही बदलिएँ। तर एउटा कुरा कहिल्यै बदलिएन, त्यो हो आफू जन्मेहुर्केको ठाउँको प्रेम, आत्मीयता र सम्मान। त्यस्तै समयले सिलगढीबाट दूर पुर्यायो तर पनि त्यो ठाउँ मनभित्र नमेटिने गरी बसेको छ।
लाग्छ, जीवन हरफहरूको त्रिवेणी त्रिधाम हो। कुनै हरफमा दुखको व्यथा छ, कुनैमा संघर्षको कथा छ भने कुनैमा प्राप्तिको सन्तोष पनि छ। यस्ता यस्तै सुस्केराहरू, ऐंठनहरू, संघर्ष र अनेकन हरफहरूले लेखिएको कोलाज हो जीवन। बितिसकेकोलाई बिर्सेर कसैका लागि पनि आउने समयका लागि सोच्न सहज हुँदैन। पूर्वीय दर्शनअनुसार नै पनि समय सिधा रेखामा मात्र हिँड्ने नभई चक्रीय चरित्र पनि बोकेको हुन्छ– जे भयो, त्यसले वर्तमान निर्माण गरेको छ र जे भइरहेछ, त्यसले भविष्य निर्धारण गर्नेछ।
यो संसारमा हरेकका कामहरू आफ्नै जीवनको समयक्रमसँग भइरहेका हुन्छन्। केहीका लागि यो ढिला हुन्छ भने केहीका लागि छिटो। वरिपरिका केही मान्छेले तपाईंलाई अघि देख्छन् भने केहीले पछि देख्छन्। तर यथार्थ के हो भने सबै ना आफ्नै समयमा आफ्नै गतिमा कुदिरहेका हुन्छन्। हुन त वसन्तले पनि अनेक दुःखकष्ट सहँदै नयाँ नौलो सिर्जना र आशा जोगाउँछ। वसन्त यामले हुन्डरी, खडेरी, आगलागीजस्ता कैयौँ प्राकृतिक अवरोधहरू छिचोल्दै नयाँ उमङ्ग, अनुराग र आशाहरू सिर्जित गर्छ। त्यसरी नै जीवनमा पनि अनेकौँ अवरोध, बाधाहरू आउँछन् तिनलाई धैर्यतासँग सामना गर्दै अघि बढ्ने हो।
त्यो एक रातको सिलगढी बसाइँले पनि मलाई पुनः जोडिन र सम्बन्ध नवीकरण गर्न भरपुर सहयोग गर्यो। सिलगढी टिक्न पाएकोमा मनमा एक किसिमको सन्तोष पनि मिल्यो। म तिनलाई धन्यवादसहित आदर र सम्मान गर्छु जसले पहाडका रित्तिन लागेका बस्तीहरूलाई संरक्षण र संवर्द्धन गरिरहेका छन्। म तिनीहरूप्रति अनुग्रहित छु जसले हाम्रो संस्कार, संस्कृति, रहनसहन र भेषभूषालाई जोगाइ राख्न प्रयत्नशील छन्। म तिनीहरूप्रति जहिल्यै नतमस्तक छु जसले ग्रामीण अर्थतन्त्र निर्माणमा थोरै भए पनि चलायमान बनाउन त्यही ठाउँमा श्रम, पुँजी, उत्पादन र लगानीका क्रियाकलापहरू सञ्चालन र व्यवस्थापन गर्दै आइरहेका छन्।
मलाई सिलगढी स्मृतिको बिट मार्दै गर्दा संघदेखि स्थानीय तहसम्म नेतृत्वमा रहेका सबैलाई भन्न मन छ, सुनाउन मन छ कि शहरमुखी, असन्तुलित र केन्द्रीकृत विकासले हाम्रो जस्तो उपभोगमुखी अर्थतन्त्रलाई दिगो र स्थायित्व दिन सक्दैनन्। विकासका विकल्प र प्राथमिकताहरू गाउँमुखी हुनैपर्छ र त्यसले मात्रै हाम्रो समग्र अर्थतन्त्र आत्मनिर्भर, स्वतन्त्र, दिगो बन्ने आधार बन्न सक्छ।