वसन्त ऋतुको आगमनसँगै रुख, बिरुवा र फूलका पालुवाहरू भर्खरै चुलिन्छन्। वसन्त ऋतुको अन्त्यतिर ग्रीष्म ऋतुको सुरुवाती समयमा बिस्का जात्राको प्रवेश हुन्छ। वरिपरिको वातावरणमा वसन्त ऋतुको गुन्जाइस सरसर लाग्ने हावा, वनपाखाको कुहुकुहु आवाज, चराको ‘काफल पाक्यो’ स्वर र वनमा फल्ने काफलले गर्दछ। हिउँद ऋतुको चिसोले नाङ्गिएका खन्जर रुखका नयाँ पातहरूले बिस्तारै आफूमा हरियो रङ्गको काँचुली फेर्दै जान्छन्। वनपाखा डाँडाहरू पनि हरियो यौवनमा प्रवेश गर्छन्। फूलहरू पनि मुस्कुराउँछन्। हृदय पुलकित परिवेशमा अर्थात् वसन्त ऋतुको अन्त्यतिर र ग्रीष्म ऋतुको प्रहरमा भक्तपुर पनि रङ्गमङ्गिन्छ, बिस्का जात्राले।
भक्तपुरको जनजीवनमा बिस्का जात्रा, ‘बिइस्यात’ जात्रा, ‘बिइस्याङ खङ’ जात्राको रूपमा परिचित जात्राको शाब्दिक अर्थ ‘बिइ’ भन्नाले सर्प र ‘स्यात’ भन्नाले मारेको/मरेको अर्थमा बुझिन्छ। अर्थात् भयङ्कर अजङको एक जोडी सर्प मरेको मिथकहरूमा भक्तपुरको बिस्का जात्रा प्रचलित भएको बुझ्न सकिन्छ।
भक्तपुरको तमारी चोकमा काशी भैरवनाथको तीन तल्ले प्यागोडा शैलीको भीमकाय रथ निर्माण जबरजस्त गतिमा सुरु हुन्छ। काठ जोडाइले निर्माण भएको भैरवनाथको रथ ‘भैलद्य: कोह विज्याइगु’ (भैरवनाथ तल सवारी हुने) भएर जात्रा सुरु गरिन्छ। त्यसपछि भक्तपुरवासीहरूको सबैभन्दा ठुलो बिस्का जात्राको शुभारम्भ हुन्छ। यस्तो एकजना भक्तपुरवासी नहोला जोसँग बिस्का जात्राको रौनक, रोमाञ्चकता, साहस, बिस्मात, रोदन, प्रेम, सम्बन्ध या भनौँ नौ रस नै एकैसाथ मिसिएमा त्यो मान्छेको स्वभाव कस्तो होला? सायद यही मिश्रित मनोभाव बिस्काले प्रदत्त बनाइदिन्छ या बनाइरहन्छ।
बिस्का जात्रालाई ऐतिहासिक रूपमा बिसकाट, बिस्क्यात, विश्वजात्रा, वीर ध्वजा जात्रा, विश्वध्वज जात्रा, विश्व यात्रा जात्रा, वैशाख वा मेष सङ्क्रान्ति जात्रा, ख्वप जात्रा, भैरव जात्रा नाउँले पनि कहलिएको छ। वर्ष दिनको अन्तिम साँझ ल्योसिङ्खेलमा ल्योसिं द्य: उभ्याइन्छ। आठ वटा अष्टमात्रिका गणको प्रतीक डोरीहरूले तानातान गरी ल्योसि द्य: थानेगु जात्रा हुन्छ। त्योसि द्य: सँगै २ वटा नाग नागिनीको प्रतीक ‘हलिंपत’ अर्थात् विश्वध्वज/विश्वध्वजा पनि फरफराइन्छ। एक जोडी प्रेमिल अजिङ्गरहरूले यही स्थानमा आत्मदाह गरेको प्रतीक स्वरूपमा होस् या काशी विश्वनाथ भैरवको पताका/ध्वजाको रूपमा होस् या विश्वध्वजको रूपमा या युद्ध/रण विजयको प्रतीकात्मक अर्थमा होस् या मातृसत्ताको अन्त्य भई पितृसत्ता सुरु भएको अर्थमा होस्, भक्तपुरमा ‘च्याचा गुन्हू’ जात्रा (आठ दिन नौ रातको जात्रा) चलिरहन्छ।
यहाँ ऋतु मात्र परिवर्तन हुँदैन, बल्की भक्तपुरको सांगीतिक भाका पनि एकाएक परिवर्तन हुन्छ। यो समय सङ्गीत, लय र दाफा भजनको क्षेत्रमा घाटु लयको स्वरलहरी घन्किन्छ। ‘थो थेङ जागु रस गबलेसं दैमखु राम हा जि गन वने, राम हा’ गुन्जिन्छन्। यही गीतको शब्दहरूले उल्लास, उत्सव, उमङ्ग, भोज भतेर र नयाँ वर्षको खुसीयाली मात्रै जोड्दैन बरु विरह, रोदन, र इतिहासको कालखण्डमा रणजित मल्लको काशी यात्राको वृत्तान्त पनि झल्याँस्स ब्युँताइदिन्छ। बिस्का जात्राको घाटु गीतमार्फत रणजित मल्लको अन्तिम मल्ल राज्यमाथिको छलकपट र कटुता विरहपूर्ण रूपमै घाटु गीतमा गुन्जिन्छ।
भक्तपुरको विश्व प्रसिद्ध बिस्केट जात्रा नयाँ वर्षको स्वागतार्थ आठ दिन नौ रातसम्म भव्य रूपमा सञ्चालन हुन्छ।एकछिन कथाहरूमा भक्तपुरको विश्व प्रसिद्ध बिस्का जात्रालाई नियालौँ।
किम्बदन्ती १
एक समय एउटा दरबारमा प्रतापी राजा थिए। राजाको एक सुन्दर राजकुमारी थिइन्। राजाले आफ्नो छोरीको विवाह गरिदिन धेरै कोसिस गरे। अत्यन्त कामुक राजकुमारीको बिहेको रात राजकुमारको मृत्यु हुन्थ्यो। प्रत्येक दिन राजकुमारीको लागि एक नयाँ राजकुमार विवाह गरिदिनु पर्ने स्थिति भयो। जब राजकुमार र राजकुमार विवाहपश्चात् निदाउन जान्थे, रातमा राजकुमारीको नाकको प्वालबाट दुई वटा अजिङ्गरहरू निस्कने गर्थे र राजकुमारलाई डसेर मारिदिन्थ्यो। अनि फेरि डरलाग्दो सर्पहरू एवम् रितमा नाकको प्वालभित्र अलप हुने गर्थ्यो। बिहान सबेरै उठ्दा राजकुमार मरिसकेको हुन्थ्यो। राजपरिवारका मानिसहरू मुर्दा बोक्ने खत तम्तयार पारी मुर्दा मसानमा लैजान तयारी हुन्थ्यो र मसानघाट लगेर अन्त्येष्टि गरिन्थ्यो। प्रत्येक दिन यही क्रम चलिरह्यो।
एक दिन प्रतापी र साहसी राजकुमार घुम्दै फिर्दै घना जङ्गलको बिचमा आइपुगे। त्यस जङ्गलमा एउटी रुग्ण अवस्थाकी बूढीसँग राजकुमारको भेट भयो। भेटमा राजकुमारलाई नजिकै रहेको देशमा प्रत्येक दिन विवाहका लागि राजकुमार चयन गर्ने र बिहान मृत्यु हुने कथाको बेलिबिस्तार लगाए। बुढीले राजकुमारीको नाकबाट एक जोडा अजिङ्गर निस्किने कुराबारे बताइन्। सोही अनुसार बाटोमा एउटा खड्ग प्राप्त हुने र सो खड्गले राजकुमारीको नाकबाट निस्किने एक जोडा अजिङ्गरलाई टुक्रा-टुक्रा पारेर काटिदिन र राजकुमारीसँग विवाह गरी राजा हुन सुझाई अन्तर्ध्यान भए।
साहसी राजकुमारले खोलाको त्रिवेणीमा खड्ग प्राप्त गरी सहर पसे। सधैँझैँ त्यो देशमा राजकुमारीको विवाह सम्पन्न गर्न राजकुमारको खोजी भयो। नयाँ राजकुमार राजा हुने त्यो देशमा राजकुमार र राजकुमारीको विवाह सम्पन्न भयो। दुलहा-दुलही सुत्न गए। राजकुमारी भुसुक्कै निदाइहालिन्। राजकुमार ननिदाई व्यग्र भएर बसिरहे। नाकको प्वालबाट दुइटा भयङ्कर अजिङ्गरहरू निस्केर डस्न नपाउँदै राजकुमारले हतपत खड्ग झिकेर टुक्रा-टुक्रा पारिदिए।
सधैँझैँ गुठियारहरू मुर्दा लैजान तम्तयार थिए। यतिकैमा जीवित राजकुमार देखेर सबैको होस हवास उड्यो। राजकुमारले रातिको घटनाक्रम बेलिबिस्तार लगाए। कोठामा टुक्रा-टुक्रा अजिङ्गर देखेपछि हरेक दिन राजकुमारको मृत्यु हुनुको कारण बुझे। राजकुमारलाई राजाको तिलक लगाइ नयाँ राजा घोषणा गरे। मृत्युअघि दुइटा अजिङ्गरले आफ्नो अन्तिम इच्छा बमोजिम जात्रा चलाउन अनुनय गरेको हुनाले बिस्का जात्राको थालनी भयो।
किम्बदन्ती २
लिच्छवीकालीन समय भक्तपुरमाथि किराँतीहरूले आक्रमण गर्न आए। राजा शिवदेवले गुरु शेखर आचार्यलाई बज्रयोगिनी देवीले सुझाएको उपायबारे बताए। तान्त्रिक शेखर आचार्य हजारौँ हजार बाघको रूप धारण गरी किराँतीहरूलाई धपाइदिने बचन दिए। त्यसका लागि आचार्यले एक मुठी अक्षता फुकेर राजालाई दिए। किराँतीहरूलाई धपाइसकेर बाघकै स्वरूपमा आफू राजाकहाँ उपस्थित हुने र अक्षताले नडराईकन छर्किनको निम्ति राजालाई आग्रह गरे। यसो गरे आचार्य पुनः मानिसको रूप धारण गर्ने कुरा बताई बाघ बने। आचार्य बाघ भइकन हमलावर किराँतीहरूमाथि जाइलागे। किराँतीहरू भागाभाग भए। देशमा अमनचैन स्थापना भयो। बाघरूपी शेखर आचार्य राजकहाँ पुगे। राजाले अक्षताले हिर्काए। बाघरूपी आचार्यले मानिसको रूप धारण गरे। राजाले आचार्यलाई ठुलो आतिथ्य प्रदान गरे र सिन्दूर जात्रा गरी घर फर्काए।
एक दिनको कुरा हो शेखर आचार्य बाघ भएको देखेर नररूपाले आफ्नो स्वामीलाई अजिङ्गरको रूपमा देख्न चाहेको भनी आफ्नो इच्छा व्यक्त गरे। आचार्यको अर्धाङ्गिनीले अजिङ्गर रूप हेर्न जिद्दी गर्न लागिन्। शेखर आचार्यले नाइनास्ती गरेर धर पाएनन् र आफू अजिङ्गर रूप धारण गर्न मन्जुर भए त्यसको लागि आचार्य शेखरले एक मुठी अक्षतामा मन्त्र गरी आफ्नो अर्धाङ्गिनीको हातमा थमाइदिए र आफू ठुलो अजिङ्गरको रूपमा बदलिन तम्तयार भए। अजिङ्गर देखेर नडराईकन हातमा भएको अक्षता छर्न र आफू पुनः मानिस हुने कुरा सम्झाए। आचार्यले अजिङ्गर रूप धारण गरे।
आफ्नो अगाडि एक्कासि भयङ्कर अजिङ्गर देखेर आचार्यको स्वास्नी नररुपाको मनमा डर उत्पन्न भयो। एकाएक अक्षता छर्नुपर्ने कुरा पनि बिर्सिहाले। अचानक आत्तिएकी नररुपाको आफ्नै मुखमा अक्षता पर्न गयो र आचार्यको बूढी पनि अजिङ्गर बन्न पुगे।
एक युगल जोडीले अजिङ्गर रूप धारण गरेको कसैले पनि सुइँको पाउन सकेन। समय बित्दै गयो। कसैले अक्षताले हानिदेला र मानिसको रूपमा बदलिन पाउला भनेर अजिङ्गर जोडी देवी देवता तथा भक्तजनहरू भएका ठाउँतिर पर्न थाले। राजा शिवदेवको दरबार अगाडि पनि अजिङ्गर जोडी नियाल्न पुगे। तर राजाले पनि अक्षता चढाएनन् र शरण परेकालाई मरण नगर्नू भन्ने उर्दी भयो। केही सिप नलागेपछि अन्तमा निराश अजिङ्गर जोडी भद्रकाली पीठ नजिक हनुमन्ते खोला छेउमा आत्महत्या गरे।
केही समयपछि देशमा अनिकाल आइलाग्यो। देशमा अजिङ्गर मरेको हल्ला देशैभरि फैलियो। एक कान दुई कान हुँदै यो कुरा राजाले पनि थाहा पाए। राजदरबारमा शान्ति स्वस्ति गर्ने सल्लाह भयो। यसको लागि आचार्य शेखरको खोजी भयो। आचार्य शेखरको घरको झ्यालढोका खुल्लै थियो तर आचार्य भने भेटेन। खोजी तलास गर्दा पनि शेखर आचार्य भेटिएनन्। अजिङ्गरको डोब खोजी भयो। खोज्दै जाँदा दरबारदेखि खोला किनारसम्म डोब भेटे। राजाले शेखर आचार्यले रूप धारण गर्न सक्ने कुरा ज्ञात थियो। यही एक जोडी अजिङ्गर नै गुरु आचार्य भएको कुरा राजाले ठम्माए।
राजालाई सबै तान्त्रिकहरू बोलाई आचार्यको सम्झना स्वरूप चैत्र महिनाको अन्तिम दिन काठको लिङ्गोमा दुवै अजिङ्गरलाई उभ्याएर जात्रा चलाए। जसलाई ‘बिस्यात’ जात्रा मानियो अर्थात् ‘बिई’ भन्नाले सर्प वा अजिङ्गर र ‘स्यात’ भन्नाले मरेको अर्थमा बिस्का जात्राको प्रारम्भ भयो।
आज पनि सो घटनाहरूलाई सम्झाउने एक नाटकीय क्रिया हुने गर्दछ। वर्षको अन्तिम दिन ल्यसिंद्य: उभ्याइसकेपछि तमारी टोलमा छोडेको मुर्दा बोक्ने ‘भाजं खःचा’ बोकेर ल्योसिंखेल पुर्याइन्छ। सो खत लग्दा पुरानो मुहाली बाजा पनि बजाइन्छ। तान्त्रिक विधि विधान बमोजिम पूजाआजा चलाउने परम्परा यथावत् चलिआएको छ। सो नाटकीय परिदृश्यले हामीलाई माथिल्लो घटनाक्रम सम्झाइरहेको छ।
-1774353283.jpeg)
-1774353283.jpeg)