झोला भन्ने बित्तिकै हामी कपी-किताब, सपना र भविष्य बोक्ने एक सामान्य वस्तु सम्झन्छौँ। तर मेरो बाल्यकालमा झोलाले अर्कै कथा बोकेको थियो- झोलाले केवल पढाइको भार मात्र बोकेको थिएन, फोहोरप्रतिको जिम्मेवारी पनि बोकेको थियो।
स्कुलका दिनहरूमा साथीहरूले जथाभावी फोहोर नफालुन् भनेर झोलाले हरेक दिन फोहोर बोकेर घरसम्म ल्याउँथ्यो, मेरो कलिलो चेतना पनि सँगसँगै लिएर।
हामी सानैदेखि सरसफाइको महत्त्व पढ्छौँ, सुन्छौँ। तर के त्यो ज्ञान केवल शरीर र व्यक्तिगत सरसफाइमै सीमित भएको हो? किनकि हामी आफ्नै शरीर सफा राख्न त सचेत हुन्छौँ तर आफूले सिर्जना गरेको फोहोर भने जथाभावी फाल्न एक पटक पनि हिचकिचाउँदैनौँ। कसैको आँखा झिमिक्क फोहोर गायब।
यसलाई म चेतनाको कमी भएको भनौँ या के भनौँ?
उत्तर तपाईँ आफैले आफैलाई दिनुस्।
केही समयअघि सार्वजनिक बसमा एक जना काकाले मेरो ब्याग हेरेर भन्नुभयो- ‘नानी, यस्तो फोहोर बोकेर पनि हिँड्ने हो? झोलाको छेउछाउमा त फोहोरको छ त। लु गाडी रोकेको बेला झ्यालबाट बाहिर फ्याल्दिहाल।’
म छक्क पर्दै पछाडि फर्केर भनेँ, ‘फोहोर बाहिर फाल्ने चीज त होइन होला नि काका। म घर लगेर फाल्नको लागि नै झोलामा बोकेर हिँडेकी हुँ।’
मेरो कुरा सुनेर त्यो क्षण उहाँ चुप लाग्नुभयो। सायद पहिलो पटक कसैले उहाँलाई देखाइदिएको थियो- फोहोर बोक्नु गलत होइन, फोहोर जथाभावी फाल्नु गलत हो।
मलाई अझै सम्झना छ—हाम्रो घर नजिकैको सानो पोखरी। त्यो पोखरीमा पानीको भन्दा फोहोरको थुप्रो जस्तो लाग्थ्यो। वर्षौँसम्म घर-घरका फोहोर त्यहीँ जम्मा हुन्थे, मानौँ फोहोरको घर त्यही सानो पोखरी थियो, जुन सबै तिरबाट घुमेर अन्तिममा त्यही पुग्ने गर्थ्यो। तर पोखरी फोहोर हुनुमा कसैले पनि जिम्मेवारी लिँदैन थियो। मानौँ, त्यो फोहोर कसैले होइन- पोखरी आफैले जन्माएको हो।
घटनावश कोही त्यहाँ खस्दा सबै घिनाउँथे तर त्यो घिनलाग्दो अवस्था बनाउने हातहरू हाम्रो आफ्नै थिए भन्ने नैतिक जिम्मेवारी कसैले लिन चाहँदैन थियो। लिन्थ्यो भने यतिका वर्षसम्म पनि त्यो पोखरी अझै किन फोहोरमै लतपत देखिन्थ्यो?
सायद समय जति बिते पनि पोखरीको वरिपरि आउँदा नाक थुन्ने मानिसहरूको मानसिकता पनि अझै उस्तै हुँदो हो।
खोलानाला मात्र होइन जंगलहरू पनि फोहोरले भरिएका छन्, सडक किनाराहरू प्लास्टिकले ढाकिएका छन्, नदीहरू मौन छन् तर बगिरहेको छ त केवल फोहोर मात्र।
यात्रा गर्दै गर्दा अझै पनि मानिसलाई लाग्छ कति बेला जङ्गल र खोलानाला आउँछ र फोहोर बाहिर हुत्त्याइहालूँ। लाग्दछ- हामीले प्रकृतिलाई माया गर्नु भन्दा प्रयोग मात्र गर्ने चिज ठान्दै छौँ, जसको उत्तर वर्तमान अनि भविष्यमा आइपर्ने विपतले जनाउने नै छ।
आज काठमाडौँ लगायत देशका धेरै ठाउँमा फोहोरका थुप्रा देखिँदै गर्दा हामी त्यसको गन्ध र व्यवस्थापनप्रति गुनासो गर्छौँ, सरकारलाई दोष दिन्छौँ। तर के हामीले एक पटक पनि आफूलाई सोधेका छौँ- वातावरण दुर्गन्धित बन्नुमा हामी प्रत्येक व्यक्तिको कति भूमिका रहेको छ?
यदि हामी साँच्चिकै सफा र स्वच्छ वातावरणमा बस्न चाहन्छौँ भने कृपया आफूले गरेको फोहोर जथाभावी फाल्नु अघि एक पटक अवश्य सोचौँ- यी आफ्नै हातले म मेरो प्रकृति र आफ्नो पनि भविष्य कोर्दैछु।
सत्य के हो भने फोहोर केवल सडकमा छैन- हाम्रो सोचमा छ, हाम्रो बानीमा छ, हाम्रो बेवास्तामा छ। परिवर्तन सरकारबाट सुरु हुँदैन, यो सुरु हुन्छ हामी आफैबाट। भोलि होइन आजबाट।।
आफू जिम्मेवार बनौँ र अरूलाई पनि जिम्मेवारी बोध गराऊँ।