नेपाल आज इतिहासकै एक महत्त्वपूर्ण मोडमा उभिएको छ— जहाँ परिवर्तनको गति, सम्भावनाको विस्तार र विकासको मार्ग युवाको काँधमा निर्भर छ। विश्वव्यापी प्रतिस्पर्धा, प्रविधिको तीव्र विकास र सामाजिक–आर्थिक परिवर्तनका बिच नेपालले अब स्पष्ट रूपमा युवामैत्री सोच, नीति र कार्यक्रममार्फत आफ्नो भविष्य निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ। हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन– २०८२ बाट धेरै संख्यामा युवाहरूको प्रतिनिधित्व सुनिश्चित भएको छ। यो हाम्रो जस्तो देशको लागि निकै ठुलो अवसर पनि हो।
युवा केवल उमेरको समूह मात्र होइनन्, उनीहरू ऊर्जा, सृजनशीलता, नवप्रवर्तन र परिवर्तनका संवाहक हुन्। विश्वका विभिन्न देशहरूले युवाको उमेर समूह फरक–फरक रूपमा परिभाषित गरे पनि अधिकांशले १५ देखि ३५ वर्षलाई युवा मान्ने गरेका छन्। संयुक्त राष्ट्रसंघले १५–२४ वर्षलाई युवा मानेको छ। आज नेपालको कुल जनसंख्याको करिब ४२.५६ प्रतिशत हिस्सा युवाले ओगटेको छ। यो अवस्था आफैँमा ‘जनसांख्यिक लाभ’ (dhographic dividend म्झयनचबउजष्अ म्ष्खष्मभलम) को सुनौलो अवसर हो। यदि यो ऊर्जा, सीप र क्षमतालाई सही दिशामा परिचालन गर्न सकियो भने नेपालले छोटो समयमै विकासको नयाँ उचाइ हासिल गर्न सक्छ।
नेपालमा ‘राष्ट्रिय युवा परिषद् ऐन, २०७२’ तथा राष्ट्रिय युवा नीति अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मानिएको छ। हालै ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा भनी परिभाषित गरेको पाइन्छ। जसअन्तर्गत करिब ३० प्रतिशत युवाहरू रहेको पाइन्छ। यो केवल तथ्याङ्क मात्र होइन— यो नेपालको सबैभन्दा ठुलो शक्ति, सम्भावना र अवसर हो।
राष्ट्रिय युवा वर्षः औपचारिकता होइन, रूपान्तरणको अभियान
आर्थिक वर्ष २०८३/०८४ लाई ‘राष्ट्रिय युवा वर्ष २०२७’ को रूपमा मनाउने प्रस्ताव नेपालका लागि एउटा दूरदर्शी कदम हुन्छ र आगामी सरकारको लागि यो कार्य एउटाहरू युवाहरूको लागि कोशेढुङ्गा साबित हुनेछ। तर यो केवल कार्यक्रमको शृङ्खला बन्नु हुँदैन; यो परिवर्तनको अभियान बन्नुपर्छ। यसका लागि अधिकार सम्पन्न मूल आयोजक समिति, सक्षम राष्ट्रिय संयोजक र संघ–प्रदेश–स्थानीय तहबिच समन्वय अत्यावश्यक छ। ७ प्रदेश र ७७ जिल्लामा सञ्चालन हुने कार्यक्रमहरूले युवालाई सहभागी मात्र होइन, नेतृत्वदायी भूमिकामा स्थापित गर्न सक्नेछ।
सीप र प्रविधिमा लगानीः युवाको भविष्य सुरक्षित गर्ने आधार
आजको युग डिजिटलको युग हो। सूचना प्रविधि, ‘आर्टिफिसियल इन्टेलिजेन्स’, ‘डेटा विज्ञान’, साइबर सुरक्षा जस्ता क्षेत्रमा दक्षता बिना प्रतिस्पर्धा सम्भव छैन। हरेक प्रदेशमा ‘युवा सूचना प्रविधि केन्द्र’ स्थापना गरी निःशुल्क वा सहुलियतमा तालिम उपलब्ध गराउनु आजको आवश्यक हो। यस्तो पहलले हजारौँ युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर प्रदान गर्न सक्छ र आफ्नै देशका स्वरोजगार भई आयआर्जनमा समेत सफल हुन सक्नेछ। साथै, वित्तीय साक्षरता कार्यक्रममार्फत युवालाई व्यवसाय सञ्चालन, लगानी र आर्थिक व्यवस्थापनमा दक्ष बनाउनु आजको मुख्य आवश्यकता हो।
युवा सहभागिता बिना नीति अधूरो
नीति निर्माणमा युवाको सहभागिता सुनिश्चित गर्नु लोकतन्त्रको आधार हो। त्यसैअनुरूप भर्खरै सम्पन्न निर्वाचनमा अत्यधिक संख्यामा युवाहरू निर्वाचित भएका छन्। अब युवा नेतृत्वभन्दा पनि युवा नीति अत्यावश्यक रहेको छ। प्रत्येक प्रदेशमा ‘प्रादेशिक युवा सम्मेलन’ आयोजना गरी युवाका मुद्दा, आवश्यकता र सम्भावनालाई नीति तथा कार्यक्रममा समेटी युवाले आफैँ बनाएको कार्ययोजनाले सरकारलाई यथार्थपरक निर्णय लिन सहयोग पुग्ने गुरुयोजना निर्माण गरी सरकार अगाडि जान सकेमा भाद्र २३ र २४ मा भएको जेन्जी आन्दोलनले पनि सार्थकता पाउनेछ।
नवप्रवर्तन र विज्ञानः समृद्धिको इन्जिन
नेपालले अब परम्परागत सोचबाट बाहिर निस्केर नवप्रवर्तन र अनुसन्धानमा लगानी गर्नुपर्छ। युवा वैज्ञानिक सम्मेलन, नवप्रवर्तन केन्द्र र स्टार्टअप प्रवर्द्धन कार्यक्रममार्फत युवालाई सिर्जनात्मक सोचमा प्रेरित गर्न सकिन्छ। यस्ता केन्द्रहरूबाट उत्पादन भएका बौद्धिक सम्पत्तिहरू राष्ट्रका लागि महत्त्वपूर्ण हुन्छ र युवाहरूलाई यसै देशमा रहेर विभिन्न नवीनतम प्रविधि सृजना गर्नतर्फ आतुर हुनेछन्।
अन्तर्राष्ट्रिय अनुभव र पर्यटनः सम्भावनाको विस्तार
विश्वका सफल अभ्यासबाट सिक्न अन्तर्राष्ट्रिय अध्ययन भ्रमण आवश्यक छ। विभिन्न देशहरूसँग अध्ययन भ्रमण र अनुभव आदानप्रदान गर्ने खालको कार्यक्रमहरू सञ्चालन गर्न सकेमा नेपाली युवामा विश्व दृष्टिकोण विकास गर्न सक्छ र हाम्रा युवाहरू पनि विश्वमा प्रतिस्पर्धी बन्न सक्नेछ। त्यसै गरी, आन्तरिक पर्यटन प्रवर्द्धन, होमस्टे, रैथाने खाना र स्थानीय संस्कृतिको प्रचारले युवालाई आर्थिक गतिविधिसँग जोड्न सक्छ।
जलवायु परिवर्तनमा युवाको नेतृत्व
जलवायु परिवर्तन आजको विश्वको साझा चुनौती हो। नेपालमा रहेको मनोरम हिमश्रृंखलाहरू दिन प्रतिदिन कालो बन्दै गइरहेको छ। यस्ता समस्याहरूलाई आम युवाहरूले मुख्य एजेन्डा बनाउन आवश्यक छ त्यसको लागि ‘प्रादेशिक जलवायु सम्मेलन’ मार्फत युवालाई वातावरण संरक्षणमा अग्रसर बनाउनु आवश्यक छ। सिड फन्डमार्फत उत्कृष्ट परियोजनालाई कार्यान्वयनमा लैजाँदा युवामा जिम्मेवारी र नवप्रवर्तन दुवै विकास हुनेछ।
विश्व युवा शिखर सम्मेलनः नेपालको पहिचान विश्वमाझ
सन् २०२७ मा नेपालमा ‘विश्व युवा शिखर सम्मेलन’ आयोजना गर्नु ऐतिहासिक अवसर बन्न सक्छ। यसले नेपालको पर्यटन, संस्कृति र सम्भावनालाई विश्वमाझ प्रस्तुत गर्नेछ। साथै, विश्वभरका युवाबिच सहकार्य र अनुभव आदानप्रदानको प्लेटफर्म बन्नेछ। हाम्रा नेपाली युवाहरूले विश्वका अब्बल युवा तथा नेतृत्वसँग विशेष सम्बन्ध बनाउन सक्नेछ र यसले मुलुकलाई भविष्यमा केही न केही कुराबाट फाइदा समेत पुग्नेछ।
रोजगार र उद्यमशीलताः युवालाई देशमै रोक्ने उपाय
युवालाई विदेश जान बाध्य बनाउने होइन— देशमै अवसर दिनु सरकारको जिम्मेवारी हो। युवा स्वरोजगार कोष, सहुलियतपूर्ण कर्जा, स्टार्टअप लगानी र प्रविधिमा आधारित व्यवसाय प्रवर्द्धनमार्फत रोजगारी सिर्जना गर्न सकिन्छ। कृषि, पर्यटन, डिजिटल सेवा र क्रिएटिभ उद्योगमा लगानीले युवालाई आत्मनिर्भर बनाउनेछ।
संस्कृति, खेलकुद र पहिचानः आत्मगौरवको आधार
नेपालको मौलिक संस्कृति, कला र परम्परा युवासँग जोडिनु आवश्यक छ। साहित्य महोत्सव, सांस्कृतिक कार्यक्रम र खाना महोत्सवले पहिचान जोगाउने मात्र होइन, आर्थिक अवसर पनि सिर्जना गर्छ। खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान, सुविधा र नियमित प्रोत्साहन दिइनु आजको आवश्यकता हो। नेपालले कुन खेलमा आफ्नो अब्बलता प्रस्तुत गर्न सक्छ। त्यसको पहिचान गरी त्यस खेल र खेलाडीलाई विशेष तालिम र अवसर दिने गरी कार्यक्रम गर्न सकेमा नेपाली युवाहरूले विश्व सामु नेपालको शान उच्च राख्न सक्नेछ।
डिजिटल नेपाल र डाटा व्यवस्थापन
‘नेपाल डाटा बैंक’ स्थापना गरी देशका सम्पदा, संस्कृति, पर्यटन र आर्थिक गतिविधिको एकीकृत विवरण तयार गर्नु समयको माग हो। यसले नीति निर्माण, अनुसन्धान र विकासमा ठुलो सहयोग पुर्याउनेछ। सरकारी सेवाहरूको भुक्तानी एकद्वार प्रणालीबाट गर्ने गरी पहल लिनुपर्दछ। राष्ट्रिय सुरक्षालाई ध्यानमा राखी नेपाल र नेपालीको सम्पूर्ण ‘डाटा’लाई ‘क्लाउड’मा स्टोर गर्ने र त्यसका लागि नेपाली युवाहरूलाई नै दक्ष र अब्बल बनाउने तर्फ राज्यको विशेष योजना कार्यान्वयन गर्नुपर्दछ।
समावेशिताः सबै युवाका लागि अवसर
समृद्ध नेपाल निर्माणका लागि समावेशिता अनिवार्य छ। हरेक प्रदेश र जिल्लामा भएका अपाङ्गता भएका, पिछडिएका र विशेष समूहका युवालाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्छ। यस्ता कार्यक्रम तथा तालिमहरू प्रविधिमा आधारित बनाउनु पर्छ र त्यसको लागि नेपाली युवाहरूलाई विशिष्ट तालिम दिई नेपालमा नै कार्य गर्न सक्ने गरी योजना बनाउनु पर्दछ। भाषिक विविधतालाई ध्यानमा राख्दै दोभासे तालिम र भाषा सीप विकास पनि आवश्यक छ।
निष्कर्ष
‘राष्ट्रिय युवा वर्ष २०२७’ नेपालका लागि एउटा ऐतिहासिक अवसर हो— जनसांख्यिक लाभलाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्ने अवसर। यदि युवालाई सही दिशा, अवसर, सीप र नेतृत्व प्रदान गरियो भने नेपालले विकासको नयाँ युगमा प्रवेश गर्न सक्छ। युवा केवल भविष्यका उत्तराधिकारी होइनन्— उनीहरू आजकै परिवर्तनका संवाहक हुन्। अब समय आएको छ— युवालाई विश्वास गर्ने, युवालाई नेतृत्व दिने र युवामार्फत समृद्ध नेपाल निर्माण गर्ने।
(लेखक नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष हुन्।)