विश्वको कुनै पनि ठाउँ, व्यक्ति, वर्ग, जात, जाति, समाज, राष्ट्र वा ठाउँ वैदिक, पौराणिक ज्ञान, विज्ञान, आधुनिक प्रविधि वा परम्परागत प्रविधि, शिक्षा शालीनता, कुलीनता र विकास निर्माणको क्षेत्रमा कति लम्केको छ? पछि धकेलिएको छ वा पछि परेको छ भनी नाप्ने सूचक भनेकै त्यो ठाउँको बोली, भाषा, चलनचल्ती, रीति, रिवाज, खेती प्रणाली, बौद्धिक स्तर, शैक्षिक स्तर, आर्थिक स्तर, प्राविधिक योग्यता एवं क्षमता तथा वैयक्तिक र पारिवारिक शालीनता एवं कुलीनता नै हो भन्नमा अनुपयुक्त नहोला।
नेपाल अधिराज्यका अरू प्रदेशको तुलनामा कर्णाली प्रदेश प्राकृतिक, भौगोलिक, भौगर्भिक, पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक, जैविक, भाषिक, सामाजिक, आयुर्वेदिक, सामाजिक र वातावरण दृष्टिले धेरै अगाडि छ अथवा प्रकृतिले दिनुपर्ने सम्पन्नतामा कुनै कमी नभएता पनि विज्ञान प्रविधि, यातायात, स्वास्थ्य सञ्चार, विकास निर्माण र मानव संसाधनको विकास र उपयोगको क्षेत्रमा धेरै पछाडि परेको छ भन्नमा लाज मान्नु पर्ने स्थिति छैन।
‘चैत १२ गतेसम्म घर नपुगेको जुम्ली मर्यो भनी जान्नु’ यो लेख पढ्ने जोसुकै पाठकलाई अचम्म लाग्ला, रिस उठ्ला, हाँसो पनि लाग्ला ‘कस्तो खालको शीर्षक हो? भनेर। यो एक शीर्षक मात्र नभएर एक भनाइ हो, कथन हो, यथार्थ हो। यो कथन अरू कसैको होइन जुम्ली किसानको हो। यहाँ जुम्ला शब्दले केवल जुम्ला जिल्ला मात्र नभएर यो एक विशाल शब्द हो। यहाँ जुम्ला भनेको साबिक कर्णाली अञ्चलका जुम्ला, हुम्ला, डोल्पा, मुगु, कालिकोट जिल्ला मात्र नभएर जाजरकोट, दैलेखसम्मका जिल्लालाई समेत जनाउँछ अथवा साबिक विशाल जुम्ला राज्यलाई जनाउँछ। यसबाट यस अञ्चलको परम्परागत खेती प्रविधि, कृषि शिक्षा, खेती प्रणालीलाई कति माया गरिएको छ र महत्त्व दिइएको छ भन्ने कुरा स्पष्ट हुन्छ।
जुम्ला नेपाली भाषा, साहित्य, कला, लोक संस्कृति र सभ्यताको मूल श्रोत हो। यहाँका मानिसले चलनचल्तीमा बोलेका र व्यवहारमा ल्याएका कुराहरू, कथनहरू, उखानहरू, टुक्काहरू भित्रको लोक साहित्य कति दूरदर्शी र वैज्ञानिक हुन्छन् र व्यवहारमा कति प्रभाव पर्छ भन्ने कुरा यसैबाट स्पष्ट हुन्छ। ‘चैत १२ गतेसम्म घर नपुगेको जुम्ली मर्यो भनी जान्नु’ यसको अर्थ हुन्छ घरको मूली अथवा कृषक वर्षभरि जो जहाँ गए पनि वर्षको अन्तिम महिना चैतको १२ गते भित्र अनिवार्य घरमा आउनु पर्छ। फर्कनु पर्छ। यदि नआए त्यो घरको वार्षिक खेती प्रणाली नै बिग्रन्छ भनिएको हो। त्यसैले त्यो मान्छे मर्यो भनी जान्नु पर्छ रे भनिएको हो।
यो उखानबाट अर्को कुरा पनि स्पष्ट हुन्छ, साबिक जुम्ला लगायत कर्णाली प्रदेश सञ्चार क्षेत्रमा कति दुर्गम थियो अथवा पहुँच थिएन भन्ने कुरा पनि थाहा हुन्छ। किनभने मानिसको भौतिक उपस्थिति बाहेक सञ्चारका साधनहरू चिठी, पत्र, फोन, हुलाक लगायत कुनै पनि साधन थिएनन्। आजभोलिका चलनचल्तीका सामाजिक सञ्जालका साधन त त्यतिखेर हुने कुरै भएन। मानिस घर छोडेर गइसकेपछि अथवा आफ्नो दृष्टिभन्दा टाढा गइसकेपछि त्यो मान्छे कहाँ पुग्यो? कहाँ गयो? हाल खबर के छ? सन्चो बिसन्चोको अवस्था के कस्तो छ? घरमा कहिले फर्कने हो? आदि कुरा थाहा पाउने कुनै पनि साधन थिएन। भनौँ सञ्चार नै थिएन। गएको र आएको मात्र थाहा हुने अथवा भौतिक उपस्थितिमा मात्र मानव जीवन चलेको कुरा स्पष्ट हुन्छ। त्यसैले यो उखान लागु भयो होला।
मेरो पिताजी पनि २०३९ सालको मङ्सिर महिनामा भारतका प्रसिद्ध तीर्थस्थल काशी, प्रयागराज, रुद्रप्रयाग, बनारस आदि ठाउँमा तीर्थस्थान गर्न घरबाट जानु भएको र २०३९ साल फागुनको पहिलो हप्ता घरमा फर्केको याद छ। यो बिचमा कुनै पनि सञ्चार सम्पर्क नभएको याद आजसम्म आइरहेको छ।
अर्को कुरा यस उखानबाट वर्षे बालीनालीको खेतीको सुरुवात चैत महिनाबाट सुरु हुन्छ भन्ने हो। चैत महिनालाई चिसो सकिएको र गर्मी महिना सुरु भएको महिनाको रूपमा पनि लिइन्छ। वर्षे बाली मध्ये विशेष गरी धान खेतीलाई पहिलो प्राथमिकता दिइएको हो। धान नेपालको पहिलो खाद्यान्न बाली हुनुका साथै देशको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान गर्ने एकल बाली हो। नेपालको कूल खेती योग्य जमिन मध्ये १५ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ। जुम्लामा भने ३००० हेक्टरमा धान खेती हुन्छ। कर्णालीका १० जिल्ला समेटेर्को कणाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा (कृषि डायरी २०८१ ) खेती हुन्छ।
संसारको उच्च स्थानमा धान खेती हुने स्थान पनि जुम्ला हो। यहाँको पातारासी गाउँपालिकाको वार्ड नम्बर ३ छुमचौर ज्यूलो (धान खेती हुने सिञ्चित खेत फाँट) मा समुद्र सतहदेखि २९०० मिटर उचाइमा धान खेती गरिन्छ। जुम्ला समुद्र सतहभन्दा २१०० (नाग्म बजार) मिटरदेखि ६००० मिटर (पातारासी हिमाल) सम्म फैलिएको छ। समुद्र सतहदेखि २९०० मिटरभन्दा माथि संसारको कुनै पनि स्थानमा धान खेती भएको रेकर्ड भेटिएको छैन। त्यसैले जुम्लाको छुमचौर ज्यूलोलाई नै उच्च स्थानमा धान खेती हुने स्थान मानिएको छ। यो हालसम्मको सर्वमान्य हो।
अर्को कुरा, जुम्लामा चैत महिनाको १२ गतेलाई महत्त्वपूर्ण दिनको रूपमा लिइएको छ। कर्णाली प्रदेश सरकारले २०७९ सालदेखि जुम्लामा चैत १२ गतेलाई धान दिवसको रूपमा लिएको छ र यस दिनमा जुम्लामा सार्वजनिक बिदा हुन्छ। नेपालका अरू ७६ जिल्लामा असार १५ गते २०६२ सालदेखि धान दिवस मनाइरहेको छ।
चैत १२ गतेको दिनमा बिउको लागि छुट्टाएर भण्डार गरी राखेको धानको बिउलाई राम्रोसँग बताइ, केलाइ, सफा गरी बोरामा प्याक गरी नदी, कूवा, इनार, कुला अथवा ठुलो तामाको हुड्डो/गाग्रोमा राखी पानीमा भिजाइन्छ। चैत १६ गते उतारिन्छ र पाडिलो घाममा सुकाइन्छ। धानमा भएको चिस्यानलाई पूरा झारिन्छ। साँझ तातो मैडामा तातो कपडाले ढाकेर राखिन्छ। बिहान बेलुका बिउपानी दिई फेरि ढाकिन्छ। यस्तै क्रममा ४/५ दिनमा धान बिउ अङ्कुरण भई छर्नको लागि तयार हुन्छ र चैत २० गते बेन्नामा (हिले ब्याड) छरिन्छ। यो दिनलाई बिसुआँ भनिन्छ। यो बिसुआँ पनि जुम्लाको धार्मिक चाडपर्वको रूपमा लिइन्छ। यी दिनहरूलाई धान खेतीको लागि धार्मिक मान्यता प्राप्त दिन मानिन्छन्। विक्रम संवतको १४ औँ शताब्दीमा बाबा गुरु चन्दननाथले दिएका दिन हुन् रे। त्यसैले आजसम्म यो दिन प्रख्यात छ, चलनचल्तीमा छ।
जेठको पहिलो हप्तादेखि असारको पहिलो हप्तासम्म रोपाइ हुन्छ। जुम्लामा स्थानीय र उन्नत गरी ६ जातको धान खेती हुन्छ। चन्दननाथ १, चन्दननाथ ३, लेकाली १ र लेकाली ३ उन्नत जात हुन् भने रातो मार्सी र कालो कालिमार्सी स्थानीय जात हुन्। जुम्लाको सिजा उपत्यकामा रातो मार्सी खेती हुन्छ। यसको चामल रातो रङ्गको हुन्छ भने जुम्ला उपत्यकामा खैरो काली मार्सी धानको खेती हुन्छ। यसको चामल सेतोखैरो रङ्गको हुन्छ। यी दुवै स्थानीय जातको चामलको मूल्य नेपालका प्रमुख बजारमा बजारीकरण भइरहेको छ। यसको मूल्य रु २५० देखि २९० सम्म प्रति केजी बजार मूल्य पर्छ। यति महत्त्वपूर्ण भएकोले जुम्लाका किसानले धानलाई अरू बालीभन्दा पहिलो प्राथमिकतामा पारेका छन्।
‘चैत १२ गतेसम्म घर नफर्केको जुम्ली मर्यो भनी जान्नु’ भन्ने यो उखान कसरी सुरु भयो? यस बारे जानौँ।
जुम्लामा धान खेतीको सुरुवात विक्रमको १४ औँ शताब्दीदेखि सुरु भएको मानिन्छ। जेठमा रोपेको धान कात्तिकमा काटिन्छ। कात्तिकमा नै दाइँ हाली पशु बस्तुको लागि परालको ठियो लगाइन्छ। मङ्सिरमा हिउँदे बाली जौ छरिन्छ। जौ छरिसकेपछि चिसो छल्न प्रायः घरको मुली मानिसहरू तराई र भारततिर झर्छन्। यसलाई हाट जाने भनिन्छ र जाने मानिसलाई हटारुको संज्ञा दिइन्छ। कोही व्यापार गर्न त कोही लत्ता कपडा ल्याउन त कोही रोजगारीको लागि। यो चलन आजसम्म चालु छ। तर यो उखान आजभोलि प्रयोगमा नआए पनि बुढापाकाको जनजिब्रोमा आइहाल्छ।
यो उखान चलन चल्तीमा कसरी आयो भन्ने बारे जुम्लाका केही बुढापाका मानिसलाई सोध्ने हो भने जुम्लामा २०४१ सालसम्म यो उखानले भने अनुसार नै हुन्थ्यो र मिल्थ्यो पनि। किनभने सञ्चारका साधन हवाईजहाज बाहेक अरू केही थिएन। हवाईजहाज सर्वसाधारणको पहुँचमा थिएन। जुम्ला-सुर्खेत मोटरबाटोको निर्माण कार्य विसं २०४९ सालबाट सुरु भई २०६३ फागुन महिनामा ट्याक खुल्यो र २०६३ चैत ३० गते उद्घाटन भयो। दूरसञ्चारको फोन सेवामा जुम्लाको पहुँच २०५१ सालदेखि भयो। त्यसैले घरबाट प्रदेश अथवा तराई झरेको मानिस भौतिक उपस्थितिबाट मात्रै सबै कुरा थाहा हुन्थ्यो, जिउँदो छ कि मरेको छ भन्ने कुरा। केही घटना पनि यस उखानअनुसार भए। त्यसैले यो उखान लागु भयो भन्ने उत्तर आउँछ यहाँका बुढापाकाबाट।
त्यसैले यहाँका मानिसको जनजिब्रोमा आइहाल्छ- ‘चैत १२ गतेसम्म घर नपुगेको जुम्ली मर्यो भनी जान्नु।’

नेपाली भाषाको उद्गम स्थान र रातो चामल फल्ने जुम्ला सिजा उपत्यका।

जुम्लामा धान खेतीको सुरुवात भएको (गुरु फोक्टो बेन्नु) जुम्ला तातोपानी लाछु उपत्यका।