२०३९ सालको एसएलसी परीक्षा उत्तीर्ण भएपछि कानुन विषय पढ्ने उद्देश्यले रोल्पाबाट २०४० साल भदौ ३ गते हिँडेकोमा तेस्रो दिनमा अर्थात् भदौ ५ मा काठमाडौँ प्रवेश गरेँ पिताजीका साथमा, त्यसै दिन नेपाल ल क्याम्पसमा आइएलको फाराम भर्ने म्याद समाप्त भएपछि लगनखेलमा रहेको निजी क्षेत्रको नमुना मच्छिन्द्र बहुमुखी क्याम्पसमा आइकम अध्ययनका लागि भर्ना भएँ।
२०४० असोज ९ गतेदेखि बिहानी कक्षा सुरु गरियो भने त्यसै दिन दश बजेदेखि पुतलीसडकस्थित एक संस्थानको कार्यालयमा जागिर सुरु गरियो। पहिलो महिनाको तलब भृकुटीमण्डपमा चलेको रमाइलो मेलाले स्वाहा पारिदियो। खेल सञ्चालकहरूले ‘यो खेलेपछि यो जितिन्छ र यो खेलेपछि यो जितिन्छ’ भनेपछि उनीहरूको कुरामा भर पर्दा खल्ती झन्डै रित्तिएको थियो। पुरस्कारमा न साइकल पर्यो न स्टिलका खण्डे थाल पर्यो न त कुनै प्रकारको अरू पुरस्कार हात पर्यो।
तलबबाट गाडी भाडा मात्रै बचेकोले बस चढेर चाकुपाटस्थित डेरा-कोठातिर लागेँ। रमाइलो मेलाको खेलतिर लागेर असोजको तलब झन्डै सखाप भएपछि भोलिपल्ट कार्यालयका स्टाफ साथीसँग सापटी मागेर कात्तिकको महिना गुजारेँ। काठमाडौँ सहर उहिलेदेखि नै महँगो सहर। महिनाको तलबले महिनै गुजार्न धौधौ। तलबले नपुग्ने भएपछि कहिलेकाहीँ साना नानीबाबुहरूलाई ट्युसन पढाउने काम पनि भयो।
२०४० सालमा म कार्यरत रहेको कार्यालय पुतलीसडकस्थित इन्जिनियर नारायण कसजूको घरको माथिल्लो तलामा रहेको थियो। चार कोठा रहेको सो फ्ल्याटका लागि मासिक चौध सय भाडा तिर्ने गरी कार्यालय चलेको थियो। पछि सो कार्यालय २०४१ मा डिल्लीबजारस्थित अनन्तमणि दीक्षितको साढे दुई तले घरमा सर्यो मासिक चार हजार भाडा बुझाउने गरी। कार्यालयले मलाई एउटा कोठा उपलब्ध गराएकोले मेरो कोठा भाडा बचेको थियो।
२०४४ सालमा कार्यालय बालुवाटारस्थित आफ्नै भवनमा सर्यो। म भने साथीसँग नक्सालमा डेरा लिएर बस्न थालेँ मासिक तीन सय भाडा बुझाउने गरी। नक्सालको चारढुंगे र भगवती बहालको बसाइ र बिहेपछि धोबिधारामा सर्यौँ। त्यसपछि भाटभटेनीमा सर्यौँ। मलाई काठमाडौँमा ग्यासको मूल्य प्रतिसिलिन्डर एक सय असी रुपैयाँदेखि सम्झना छ। आफूले प्रयोग नगरेको भए तापनि अरूले प्रयोग गर्ने ग्यासका कुराहरू सुन्दा।
२०५४/५५ सालमा हामीसँग एकजना पेइङ गेस्ट भएका कारण हामीलाई बहालमा बस्न सहज भएको थियो। फ्ल्याटको भाडा पेइङ गेस्टले व्यहोर्ने र हामीले उनका लागि सम्पूर्ण खर्च व्यहोर्ने सम्झौता भएको थियो। भाटभटेनीपछि बालुवाटारस्थित केबी श्रेष्ठको घरको भुइँतलामा मासिक तीन हजार भाडा बुझाउने गरी बस्यौँ। त्यस घरमा पानीको साह्रै समस्या भएका कारण नजिकै रहेको पुष्पराज अधिकारीको घरमा सर्यौँ। उहाँ नेपाल सरकारको लेखा अधिकृत हुनुहुन्थ्यो त्यति बेला। पछि संयोगवश उहाँ र म एउटै कार्यालयमा कार्यरत हुन पुग्यौँ।
दुई वटा कोठाको एक हजार आठ सय भाडा तिर्ने गरी चार वर्ष बिताइयो पुष्पराज दाइको घरमा। त्यहाँ रहँदा २०५३ सालमा किनिएको श्याम/श्वेत टेलिभिजन हटाएर सोह्र हजार रुपैयाँमा चौध इन्चीको रङ्गिन टेलिभिजन किन्यौँ। २०५० सालमा नेपाल टेलिकममा टेलिफोन लाइन जडानका लागि पचास रुपैयाँ दस्तुर तिरेर निवेदन दिएकोमा २०५६ सालमा मात्र टेलिफोन जोड्ने काम भयो। एउटा टेलिफोन लाइन जोड्न वर्षौँ कुर्नुपर्दथ्यो जुन अहिले एकैदिनमा जोड्ने व्यवस्था छ। दरखास्त दिएको छ वर्षपछि जडान गरिएको थियो हाम्रो टेलिफोन लाइन, फोन नम्बर थियो १९४७७।
नेपाल दूरसञ्चार संस्थानले पछि टेलिफोन नम्बर ५ डिजिटलाई ६ डिजिटमा कायम गर्यो। टेलिफोन नम्बरमा काठमाडौँको लाइनलाई ४ बाट, ललितपुरको लाइनलाई ५ बाट र भक्तपुरको लाइनलाई ६ बाट नम्बर सुरु हुने व्यवस्था भयो। पुष्पराज अधिकारीसँग दाइको नाता जोडेर सपरिवारमा त्यही अनुसारको नाता लगाउने काम भयो। चार वर्ष त्यहाँ बिताएपछि २०६० सालमा छोराको साथीको घर चाबहिलको शान्तिगोरेटोमा सर्यौँ।
हामी जहाँ जहाँ बस्यौँ घरबेटीसँग कहिल्यै पनि तीतो व्यवहार भएन। हामी सर्दा बखत-बखतका घरबेटीको अनुहारमा मलिनता छाउँथ्यो। ‘नजानुस्, नसर्नुस्’ भनेर आग्रह गरिरहँदा हामी भावुक बन्ने बाहेक अरू उपाय हुँदैनथ्यो, कारणवश वा बाध्यताले नै डेरा-कोठा सर्ने काम हुन्थ्यो। २९ वर्षको अवधिमा बाह्र ठाउँ डेरा सर्ने काम भएपछि र अन्तिमको डेरा रहेको चाबहिलको शान्तिगोरेटोबाट बुढानीलकण्ठको हात्तिगौँडास्थित आफ्नै सानो घरमा सर्ने काम भयो।
घडेरी खोजीका लागि हन्डरका प्रसङ्गहरू
काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ अनुसार २०६९ वैशाख १ गते काठमाडौँ उपत्यका विकास प्राधिकरणको स्थापना भएको भए तापनि सो स्थापना हुनुअघि नै सरकारी स्तरबाट काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा आवास योजनाहरू सञ्चालनमा ल्याइएको थियो। व्यवस्थित बस्ती विकासका लागि सञ्चालित योजनाहरूमध्ये कुलेश्वर आवास योजना र गोल्फुटार आवास योजना जस्ता योजनाहरूले व्यवस्थित जग्गा प्लटिङ तथा आवास विकासका लागि काम गरेका थिए। गोल्फुटार आवास योजनाले पैँतालीस हजार मूल्यका पाँच आनाका घडेरी पनि बनाएको थियो। त्यहाँ पाँच आनाको घडेरी साथीले पैँतालीस हजारमा किन्दा त्यत्रो रकम नजुटेका कारण हामीले घडेरी किन्ने सम्भावना थिएन। मेरो आर्थिक हैसियत भनेको काठमाडौँको चक्रपथ आसपासमा घडेरी किन्नसक्ने खालको थिएन, काठमाडौँको मुटु भनेर चिनिने स्थानहरूको कुरा त परै जाओस्। सस्तो घडेरी खोज्ने दौरानमा काठमाडौँका कुनाकाप्चासम्म चहार्ने काम भयो कहिले कता त कहिले कता। २०६० देखि २०६२ सालसम्म हामीहरू घडेरी खोज्न धेरै समय खर्चियौँ। भने जस्तो सस्तो घडेरी फेला पार्न निकै मुस्किल पर्यो।
गोदावरीमा रोपनीको दुई लाख
एक दिन घडेरी खोज्ने क्रममा ललितपुरको गोदावरी जाने योजना बन्यो र एकजना आफन्तसँग ललितपुर जानका लागि लगनखेलमा पुगेँ। त्यहाँबाट गोदावरीतर्फ लाग्यौँ एक बसबाट। दूरीको हिसाबले काठमाडौँबाट गोदावरी टाढै मानिन्छ। गोदावरीको मुख्य स्थान नजिकैको विशंखुनारायणमा जम्मा पैँतालीस हजारमा चार आनाको घडेरी हेर्यौँ। त्यससँगै रहेको एक रोपनीको खेत पनि हेर्यौँ, जसको मूल्य थियो दुई लाख रुपैयाँ। रोपनीको दुई लाख भनेको हाम्रो लागि महँगो ठहर्याइयो र हामी फर्कियौँ आआफ्ना डेरा-कोठातर्फ।
धर्मस्थली र काभ्रेस्थलीमा रोपनीको ६ लाख
एक दिन हाम्रो सानो समूहले घडेरीको खोजी गर्ने सिलसिलामा काभ्रेस्थली जाने योजना बनायो र लाग्यौँ त्यतातिर। बालाजुको बाइपास पुगेर त्यहाँबाट स्थानीय बसमा अटसमटस हुँदै अष्टनारायण सिनेमा हल भएर काभ्रेस्थलीतर्फ गयौँ। त्यहाँको ठाउँ निकै सुन्दर लाग्यो, जग्गा प्लटिङका कामहरू भइरहेको थियो। प्लटिङमा घडेरी महँगो हुने हुँदा हामीले प्लटिङ नगरिएको रोपनी जग्गाबाटै कित्ता काट गरेर घडेरी लिने विचार गर्दा रोपनीको छ लाख भनिएपछि त्यो पनि महँगो ठान्दै फर्कियौँ। धर्मस्थलीमा जग्गाको भाउ पनि उस्तै थियो।
धापासीमा आनाको एक लाख पच्चीस हजार
एकजना आफन्तले धापासीमा रुमाल जस्तो चारकुने मिलेको घडेरी छ भन्दै हेर्न बोलाएपछि एक दिन हामी पुग्यौँ धापासीतर्फ। धापासी त्यति बेला गाउँ नै थियो, झिङटी र जस्ता पाताले छाएका पुराना घरहरू मात्र देखिन्थे त्यहाँ। प्लटिङको घडेरी भएकोले महँगो हुनु स्वाभाविकै थियो, आनाको एक लाख पच्चीस हजार पनि हाम्रा लागि निकै महँगो साबित भयो र फर्कियौँ।
मुलपानीमा आनाको पचपन्न हजार
घडेरी खोजीकै दौरानमा एक दिन हामी लाग्यौँ मुलपानीतिर। कुनै बखत काठमाडौँको फोहोर फ्याँक्ने स्थान अर्थात् डम्पिङ साइट क्षेत्र रहेको स्थान गोकर्ण हुँदै मुलपानी पुग्यौँ। जागिर खाँदाका लामिछाने थरका एकजना सहकर्मी साथीसँग घडेरी हेर्ने क्रममा आनाको पचपन्न हजार पर्ने घडेरी पनि हेर्ने काम भयो। पारिवारिक छलफलले मुलपानी टाढा रहेको निष्कर्ष निकाल्दै अन्य ठाउँमा घडेरी खोज्ने निधो गर्यो। मुलपानीमा सानो चिटिक्क परेको तर अरू दुई घरको चेपमा परेको पाँच लाखको घर पनि फेला परेको थियो। हामी तयारी घरभन्दा पनि घडेरी किन्नेमै जोड दिएका थियौँ।
मातातीर्थमा एक तले घरको साढे तीन लाख
घडेरी खोज्ने क्रममै एक दिन कलंकी हुँदै मातातीर्थतिर लागियो। घडेरीहरू हेर्यौँ र चित्त नबुझेपछि फर्कियौँ। फर्किने क्रममा एकजनाले ‘उ त्यो घर साढे तीन लाखमा बिक्रीमा छ’ भनेर बताएपछि सो घर एकछिन हेर्यौँ र फर्कियौँ। घर पुरानो डिजाइनमा बनेको र सो घर वरपर अरू घरहरू नभएका कारण नकिन्ने विचार गर्यौँ।
गोलढुंगामा पाँच आना जग्गाको पैँतीस हजार
गोलढुंगाका सापकोटा थरका एकजनालाई नगदको साह्रै खाँचो परेकोले आफ्नो पाँच आना जग्गा बिक्रीमा राखिएको जानकारी पाएपछि सो जग्गा हेर्न गयौँ। बर्खा मास भएकोले जग्गा मकैको बोटहरूले भरिएको हुँदा राम्ररी हेर्न पाएनौँ। अलिक भिरालो जमिन भएकोले पनि हामीले सो घडेरी किन्न मन गरेनौँ।
भक्तपुरमा एक तले घरको चार लाख
२०५० साल आसपासमा भक्तपुरको ताथलीमा भुइँतलाको एक घर बिक्रीमा रहेको मेरो जानकारीमा आयो। चार लाखमा घर पाउनु भनेको अहिलेको हकमा नपत्याउने कुरा हो।
आखिरमा आनाको ६२ हजार पाँच सयको दरले बुढानीलकण्ठको हात्तिगौँडामा छ आना जग्गा किन्यौँ तीन जनालाई एकैपटक कित्ताकाट गरेर। सो छ आनाको घडेरीका लागि पास गर्दासम्म जम्मा चार लाख खर्च भएको थियो। रकम जुटाउन आफन्त र साथीभाइको सहारा लिनुपरेको थियो। काम नलाग्ने भनिएको सो जग्गामा घर बन्यो सञ्चयकोषको घर कर्जा र सरसापटीले। सो घर बनेपछि मलाई बाह्र वर्षसम्म लाखौँको ऋण बोकेको अनुभव छ। गाउँघरमा बस्नेहरू हाम्रो संघर्ष अनि दुःख-कष्ट बारे अनभिज्ञ छन् र भन्छन्- ‘सहरमा धेरै सुख पाएर बसेका छन्।’