घर त्यसैलाई मानिन्छ जहाँ मन बस्छ। तर त्यही मन बसाउनको लागि बनाउनुपर्ने र खानुपर्ने घर उच्चारणको लागि मात्र दुई अक्षरको हुनाले सजिलो भए पनि केहीलाई धेरै वटा भएकोले व्यवस्थापन गर्न, कसैलाई बासको लागि जोड्न र धेरैलाई भने खान निकै गाह्रो हुने गर्दछ।
अङ्ग्रेजीमा ‘हाउस’ र ‘होम’ को अर्थ फरक फरक बताइएको भए पनि नेपालीमा भने एउटै घर भन्ने शब्दले दुवै अर्थलाई समेटेको पाइन्छ। बास जोड्नु पर्ने जिम्मेवारी पाएको पुरुष र बिना तलब, कुनै क्षण फुर्सद र छुट्टी नमिल्ने गरी व्यवहारको जिम्मा लिएर खानु पर्ने बाध्यता भएकी नारी दुवैलाई सायद यो घरले साह्रै पिरोलेको हुन्छ।
एउटा सक्षम पुरुष जसले मेहनत गरी चार वटा घर नै किन बनाएको नहोस्, तर उसको घर भावनात्मक रूपमा सम्हालिदिने नारी छैन भने सो चार वटा घर हुने पुरुष पनि बेघर भइदिन्छ भने एउटा पनि घर नै नभएर डेरामा बसेको पुरुषको पनि घर रिझाएर खाने क्षमता भएकी नारी साथमा छ भने उसको घर बलियो भएको ठहर्छ। एउटा बास जोड्न नसक्ने पुरुष र घर गरेर खान नसक्ने महिला काम लाग्दैनन् भन्ने मान्यता समाजको पाइन्छ तर आजभोलिका नारीका लागि घर खाने काम निकै जटिल बन्दै गएको कुरा पनि यही समाज नै बताउन थालेको छ हिजोआज।
एउटा पुरुषले निर्माण गर्ने ढुंगा, माटो, इँटा, रोडा र सिमेन्टले बनेको घर र नारीले माया, इमानदारिता, सहनशीलता, कर्तव्य परायणताका साथ सम्हाल्ने भावनात्मक घरबिच निकै अन्तर देखिन्छ। कमाएर घर चलाउन गर्नु पर्ने जिम्मेवारीका पछाडि पुरुषका सङ्घर्षका कहानी पनि नहोलान् भन्न सकिन्न तर ऊ आफ्नाहरूको माझ माया र साथमा रहेको हुन्छ। अनि एउटी महिलालाई भने आफ्नाहरूको माया र साथ छोडेर पराई घर आफ्नो बनाउन रात दिन तल्लीन रहँदा पनि आफ्नोपनको महसुस गर्न नसकिने परिस्थितिहरू बेला बखत खडा भइरहन्छन्। त्यसैले त पीडा भोग्ने हरेक नारीका मनमा हर दिनका घटनाहरू पाना-पाना बनेर किताब बनिरहेका हुन्छन् जुन कसैका प्रकाशित हुन्छन् त कसैका हुन सक्दैनन्।
मात्र शारीरिक बनावट फरक भएर, रहर अनि मन पुरुष र नारीका उस्तै हुने भए पनि पुरुषलाई कुनै कुरामा बन्देज नलगाउने समाज नारीलाई भने छोरी मान्छे भएर, बुहारी भएपछि, यति सन्तानकी आमा भइसकेपछि, यो उमेरमा जस्ता शब्दहरूले हरेक मोडहरूमा रोकिरहेको हुन्छ र उस्का सपनाको महल भत्काइरहेको हुन्छ।
जतिसुकै बुझेर र हेरेर गाँसिएको सम्बन्ध भए पनि अर्काको घरको चलन र मानिसहरूका व्यवहारहरू आफूसँग मिल्दो हुनु त्यति सजिलो छैन।
छोरी भएर जन्मेकै कारण माइतीमा लक्ष्मी वा महारानीका नामले बोलाइँदै अत्यन्त मायामा हुर्केकी चेली एउटा उमेर पार गरेपछि अपरिचित पराई घरमा संस्कार धान्नका लागि जान ढिला गरी वा जान चाहिन भने ऊमाथि थुप्रै प्रश्नहरू बर्सिन थाल्छन्। तसर्थ यसबाट जोगिन र चलन धान्न भनेर ठुलै चुनौती मोलेर पराई घरमा प्रवेश गरेकी नारीले घर-परिवार शिक्षित, संवेदनशील, सरल र बुज्झकी भइदिए त केही राहत पाउँदी हो। तर सकारात्मक सोचको दरिद्रता, पक्षपातपूर्ण व्यवहार, मानवीय मन बुझ्न नसक्ने परिवार परिदियो भने सृष्टिको सुन्दर रचना नारीको जीवन नर्क बन्न पुग्छ भन्ने कुरा एउटी नारीलाई बताइरहनु पर्दैन भने पुरुषलाई बताउनुको कुनै अर्थ हुँदैन।
जन्मघरमा सबैको मायामा हुर्केकी ऊ कर्मघरमा सबैलाई माया दिएर स्याहार गरी घरका सम्पूर्ण सदस्यहरूको मन जित्न र व्यवहार धान्ने जिम्मा लिन बाध्य हुन्छे। माइतीमा आफ्ना बुबाआमाका लागि सबै व्यवहार र काम जानेकी बुज्झकी छोरी भनेर चिनिएकी ऊ, विवाह गरेर अर्काको घरमा पुगेपछि केही काम आमाले नसिकाएकी, नजान्ने र सिन्को नभाँच्ने हुन पुग्छे। माइतीमा मिठो बचन भएकी छोरी घर गएपछि कहाँ के बोल्नु पर्छ भनेर नजान्ने, बोल्ने ढंग नभएकी हुन पुग्छे। माइतीमा मिठो खाना बनाउने र सबै काम तरिका मिलाएर गर्न सक्ने, विवेकी र बुवाकी सल्लाहकार बनेकी छोरी घरमा कुन खाना कसरी खाने भनेर थाहा नभएकी, विवेकहीन र घर व्यवहारका कुरामा एक शब्द पनि बोल्न नहुने व्यक्ति बन्न पुग्छे भने आफ्ना सीप र अनुभव बताउन खोज्दा जान्ने सुन्ने भएकी, नबोल्दा घमन्डी जस्ता आरोपहरू पनि खेप्न पुग्छे।
माइतीको अर्कै चलनमा निपुण भएकी ऊ घरका नौला चलनहरूमा अनविज्ञ हुन पुग्दा बुहारी भएपछि सबै कुरा जान्नै पर्ने, गर्नै पर्ने, छिटो उठ्नै पर्ने, गल्ती गर्न नपाइने वा घरभित्र बिग्रेका सबै काम कुराहरूको कारण बन्दै घरमा ठुला काम परेका बेलामा बिरामी हुन नपाउने, महिनावारी हुन् नहुने, अफिसमा छुट्टी नमिल्दा कसैले नखाएको जागिर हुने तथा आफ्नाहरूले जिम्मा लगाएर पठाएको मान्छेसँग नजिक हुँदा परिवारबाट खोसेको भन्ने दोष समेत बोकेर आफ्ना रहर, चाहना, खुसी, उमेर तथा क्षमता लुकाउँदै घर खानु पर्ने बाध्यतामा हराउन पुग्छे।
जन्मँदै पराई घर जानुपर्ने र खानुपर्ने लाइसन पाएकी नारीले आफ्नो क्षमताको उपयोग गर्दै घुम्ने, रमाउने अनि कमाउने गरेर पनि आफ्नो घरलाई सजाउन, सम्हाल्न र बचाउन सक्छे। केही स्वतन्त्रता, सहयोग र उचित सल्लाह घर-परिवारले उसलाई दिँदा परिवारको केही बिग्रने देखिँदैन।
कसैका छोरी नै कसैका बुहारी हुने भएपछि उसका इच्छा, जवानी अनि मन सबै मर्ने गरी छुट्टै नियम बनाउँदा पुण्य मिल्छ भन्ने कुरा कुनै शास्त्रमा लेखिएको पनि त छैन होला?
अझै घर-परिवार र श्रीमतीबिच तालमेल मिलाउन नजान्ने र कुनै कुराको आँट गर्न नसक्ने, नशाको लत लागेर हर रात ढिलो घर आउने अनि फेरि ठुलै पुरुषार्थ गरे झैँ कुरा वा झगडा गरेर दिनभर गरेका कामको थकान पनि मेट्न नदिने जस्ता जीवनसाथी भोग्न बाध्य नारीका गुनासाहरू पनि कति हुन् कति! साथै उमेर पुगेसँगै साथको जरुरत महसुस गरेर आफैँले रोजेर वा बाबुआमाले इष्टमित्र, आफन्त वा साथीभाइहरूलाई गुहारेर मिलाइदिएको साथी, कामको सिलसिलामा बिदेसिँदा वा बाहिरिँदा श्रीमान् बिनाको उसको घर, उसको नामको सिन्दूर लगाएर र उस्का आफन्तको मन राखेर, उसैका बालबच्चाहरूको स्याहारमा रम्न पर्नुको पीडा पनि कम कहाँ हुन्छन् र!
यसरी बुहारी, श्रीमती, जेठानी, देवरानी र आमा भएर अनेकौँ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्दै आएकी नारी बढ्दो उमेर र समयसँगै कमजोर बन्दै जाँदा कुनै कारणवश आफ्नो प्रिय मान्छे गुमाउन पुगी भने अझै धेरै मर्माहत हुन पुग्छे। आफ्नो दुःख-सुख बाँड्ने र कहिलेकाहीँ मन दुख्दा घुर्की लगाउन पाइने मान्छे नै नभएपछि उसको याद लिएर उसैको शून्य घरमा दिन बिताउन पर्नुको व्यथा लिएर बाँच्नु पर्ने अवस्थाको सिर्जना त झन् आजभोलि कम उमेरका महिलाहरूमा पनि निकै देख्न थालिएको छ, जसले देख्ने र सुन्ने हरूलाई नै दुःखी बनाएको हुन्छ भने भोग्नेका पीडा अवर्णित हुने नै भए।
यी र यस्ता अन्य भोगाइहरूसँग आफूले छातीमा टाँसेर दिएको न्यानोपन सँगै हुर्कँदै गएका सन्तानहरूसँगको दूरी, चिसिँदै गएको सम्बन्ध र कमजोरीपन भित्र लुकाउनु परेको आफ्नो अस्वस्थता, अन्तिम इच्छा अनि आफूले अनेक गरी बचाएको वा सम्हालेको घरबाटै टाढिनु पर्ने पो हो कि भन्ने आशंकामा मृत्यु कुर्नु पर्दाको व्यथा पनि कम दुःख लाग्दो हुँदैन।
यसरी जीवनको हरेक उमेरदेखि अन्तिम घडीसम्म पनि एउटी नारीलाई आफूले जीवन सुम्पेको घरले विभिन्न बहानामा तड्पाइरहेको हुन्छ।