मध्यपूर्वको द्वन्द्वका कारण ग्यास अभावमा केही दिन खानाको सहजता नहुँदाको साधारण दुख नै हाम्रो लागी जीवन संकट कसरी बनेको हो ख्याल गर्ने बेला आइपुगेछ। कम्प्युटरबाट हातको औँलामा आइपुगेको विश्व सभ्यता आधारभूत कुराको दीर्घकालीन सञ्चितिको लागि युद्ध गर्दै गर्दा त्यही युद्धको छायामुनि निरीह भएर कसैले आगो देला र खाना पकाएर खाउँला भन्ने सम्मको निरीहता कसरी बन्यो तपाईं हाम्रो?
सम्झिनुस् त यत्रो विधि प्रविधि, ज्ञान, संकलन तथा भण्डारणका विधि तथा औजारहरू, रोजाइका स्वाद, गुणस्तरीयता पूर्ण पोषण आदि यत्रो व्यवस्था भएको खाद्य सभ्यताको सुरुवाती दिन कस्तो हुँदो हो? ओडारमा बसेर घाम, पानी र हावाहुरीबाट जोगिएको मानव सभ्यताले पहिलो पटक माटोमुनि छर्ने बिउको छनोट कसरी गरे होला? प्रकृतिले जीव तथा वनस्पति निरन्तरताको अभ्यास जीव तथा वनस्पतिमै निर्भर छोडेको कुरा बुझेर या नबुझेर होला मान्छेले खेती प्रणालीको अभ्यास गरेको? तपाईं हामीले खाने प्रत्येक अन्न प्राकृतिक तवरले बिउ हुन्, जुन त्यही चिजको निरन्तरताको लागि प्रकृतिले निर्माण गरेको हो।
आदिम सभ्यताले हजारौँ पटकको अभ्यासपछि स्थापित गरेका जीवन पद्धति हुन् खेती र थिति पद्धति। यहाँनेर थिति भन्नाले पारिस्थितिक पद्धति र संस्कृतिलाई बुझ्नु होला। जब मानिसले माटो र पानीको प्रयोगद्वारा आफूले खाने अन्न उत्पादन र भण्डारण गर्न जान्यो त्यसपछि ऊ बिस्तारै काँचो मासु वा जीविकाको लागि सिकार गर्ने बाध्यताबाट बाहिर आयो। त्यसपछि सुसंगत जीवनयापनको लागि विभिन्न थितिहरूको समर्थन गर्यो। त्यो एउटा अभ्यास थियो। डार्विनको छनोट र अनुकूलतालाई याद गर्ने हो भने मान्छेले पछि आफू र आफ्ना जीवनशैलीलाई छनोट र अनुकूलता अनुरूप अभिशप्त गराउँदै लग्यो।
यसरी बिउ खाएर बिउ जोगाउँदै आएको मान्छेले बिस्तारै उपकरण र प्रविधिको विकासपछि खेती तर्फको आकर्षक कम गर्दै लग्यो। यहाँनेर आइपुग्दा अब खेती मान्छेले गर्ने जीविकाको माध्यमलाई ठान्न थालियो। अर्थात् आफूसँग भएको सिप, जुन सिप अरूको भन्दा भिन्न छ। सोही सीपको सहायताले उसले जीविकोपार्जन गर्न थाल्यो। सो नै खेती बन्यो। अर्थात् अब खेती केवल अनाज र वनस्पतिसँग मात्रै सम्बन्धित रहेन।
यसरी फरक-फरक सन्दर्भमा स्थापित भएर परम्परादेखि चलिआएको सीप, ज्ञान र अभ्यासमा विकसित प्रणालीमा बिस्तारै सूचना प्रणाली तथा प्रविधिमा आएको परिवर्तनले परम्पराप्रति उस्तो चाख नबस्ने गरी नयाँ अवसरहरू सृजना भए जसले परम्परागत सिपलाई विस्थापित गर्न थाल्यो। भौतिक स्वरूप हुने चिजहरूको भन्दा नहुने चिजहरूले राष्ट्रहरूका कुल ग्राहस्थ उत्पादनमा ठुलो योगदान दिन थाले। अर्थशास्त्रले तय गरेका विविध आर्थिक सूचकमा सेवा क्षेत्र मानिने अभौतिक कुराहरूको उल्लेख्य वृद्धि हुन थाल्यो। अब यस्ता कुराहरूमा कृत्रिम बुद्धिमत्ताले नराम्रोसँग हस्तक्षेप गर्दैछ।
डिजिटल बैंकिङपछि बैंकहरूले संकुचन गरेका शाखाहरू यसको उदाहरण हुन्। अर्थात् अब हामी हाम्रो पहिचान जोगाउनकै लागि भए पनि खेती जोगाउनै पर्ने अवस्थामा आइपुगेका छौँ। अचेल हामीले, हाम्रो जीवनशैलीलाई एउटा थिति भित्र रहेर सञ्चालन गर्दै आएकोमा थिति भित्र विचलन आएका छन्। थिति भन्नाले यहाँ संस्कृति र पर्यावरणीय अभ्यासहरूलाई बुझ्न जरुरी छ। हामीले हाम्रो जीवनमैत्री हुनेगरी स्थापना गरेका रीति रिवाजहरू, मौसम अनुकूलका खानाहरू, मानसिक शारीरिक र सामाजिक स्वास्थ्यलाई तन्दुरुस्त राख्नका लागि परम्परादेखि मनाउँदै आएका चाडपर्व जात्रा तथा उत्सवहरूमा विचलन देखिन थालेको धेरै भइसकेको छ।
सामाजिक आदर्श, त्याग समर्पण तथा सत्य परायणका कीर्तिहरू दिगो राख्नका लागि बसालिएका यस्ता महत्त्वपूर्ण र अनिवार्य कुराहरूलाई अब जस्ताको तस्तै जोगाउन नसके पनि समय अनुरूपको रूपान्तरणसहित मूल मर्म नबिग्रिने गरी जोगाइरहनु आजको हाम्रो कर्तव्य बन्न पुगेको छ। स्थापित सबै मान्यताहरू मानिसको सहज जीविका र सरल जीविकोपार्जनसँग जोडिन्छन्। पछिल्लो समय समाजभित्र मडारिएको मानसिक स्वास्थ्यको डरलाग्दो अवस्थाले हामी हाम्रो थिति विहीन बन्दै जाँदाको दुःखद अवस्था हो भन्ने जनाउँछ। मानिस-मानिसमा समान व्यवहार, सामाजिक न्याय, एकअर्काप्रतिको सम्मान र आवश्यकताको बोध समाजमा कमजोर बन्दै जाँदा बढेको नैराश्य, एकांकीपना तथा छटपटाहटले राम्रो लाउनु र मिठो खानुले मात्र मान्छे सुखी र समृद्ध नबन्दो रहेछ भन्ने स्पष्ट पार्दै ल्याएको छ।
गाउँघर तिर हुने सामाजिक तथा धार्मिक रिवाजका कार्यहरू विवाह, व्रतबन्ध काज-किरिया जस्ता संस्कृतिसँग जोडिएका कार्यक्रमहरू समाज भित्रकै स्रोत र मानवीय साधनहरूको माध्यमबाट पूरा गरेमा सामाजिक एकता र आलोपालो प्रणाली कायम रहँदो हो। तर अचेल क्याटरिन जस्ता नाफा उन्मुख क्रियाकलापले त्यस्ता क्षेत्र तथा कार्यहरू विस्थापित गर्दै लगेका छन्। यसले एकातर्फ अनावश्यक व्ययभार सृजना गरेको छ भने अर्कोतर्फ जीवनको रमाइलो खोसेर लगेको छ।
सफा दौरा सुरुवाल लगाएर खेतको आलीमा उभिँदै अह्राइ सिकाइ गर्ने जिम्वाल बाहरू अब हाम्रो खेती जोगाउन आउँदैनन्। अब हाम्रा सभ्यतासँग जोडिएका, जीविका र जीवन आश्रित यस्ता बिउ बिजनमा र सिपहरू हामी आफैले जोगाउनु पर्ने बेला आएको छ। खेती केबल कृषि मात्रै होइन अथवा माटो र पानीको प्रयोगद्वारा अन्न उत्पादन गर्नु मात्र रहेन। जीवन पद्धतिसँग जोडिएका सबै प्राकृतिक तथा मानवीय अभ्यासहरू खेती मानौँ।
हामीलाई विश्वव्यापीकरणले हाम्रा सिप विस्थापित गरी बिस्तारै परनिर्भरताको तल्लो तहसम्म पुर्याउँदै लगेको छ। पहिला औसत ७ जनाको परिवार हुँदा हाँसीखुसी साथ यही भूमिमा बाँचेकोमा आज घटेर औसत ४ जनाको परिवार हुँदा पनि साधारण जीविकाको लागिँ भागिरहेका छौँ, बिदेसिएका छौँ। समयले हामीलाई हल गोरु पालेर हली बाउसे तथा खेतालाको सहायताले उब्जाउने भित्र्याउने परम्परागत अन्न प्रणालीको साँघुरो घेराभित्र मात्र रहन अब दिँदैन। त्यसैले हामीले चराचर जगतको स्वरूप र हाम्रा आवश्यकता बिचको सन्तुलन पूर्ण अभ्यास गरिनुपर्ने समय आएको छ।
हामी निकै नै आत्मकेन्द्रीत बन्दै गएका छौँ। आफू सुकिलो भई अघाएर उभिँदा सँगै उभिएका मैला र भोका मान्छेहरू बिर्सेका छौँ। सबैभन्दा ख्याल गर्नुपर्ने कुरा हामी आफूले सफा राखेको घर रहने घर (पर्यावरण) लाई बिर्सेका छौँ। साधारण जीविकाको लागि हामीले गरेका साना-साना त्रुटिहरूले हाम्रा थितिहरूमा असाधारण असर पर्न गएको छ। जसले जगतको पानी चक्र तथा प्राणवायु चक्रमा असर पार्दै लगेको छ।
जीविका सहजताको लागि हामीले निर्माण गर्दै गरेका विकासे आयोजनाहरूले वातावरणमा गरेको असर देखेर पनि नदेखे जस्तो गर्दैछौँ। खोलानाला आफैले तय गरेका जलमार्गहरूमा हाम्रा ठाडो हस्तक्षेपले वर्षैपिच्छे मच्चाउने वितण्डा वर्षाको भेल कम भएसँगै हामीले बिर्सिदिन्छौँ। हामी मानवीय पुर्खा शृङ्खलाको लाखौँ पुस्ता हौँ भने अझै लाखौँ पुस्ताले हामीले जस्तै यस धर्तीमा बाँच्न पाउनुपर्छ भन्ने कुरा हामीले भुलेका छौँ।
अतः यसरी आदिम सभ्यताबाट आएका हामी तथा हामीले सृजना गरेका खेतीका विभिन्न आयाम एवं हामीले तय गरेका थितिहरूलाई समृद्धताको नयाँ मानकमा जसरी पनि ठिक हुनै पर्ने गरी नउभ्याऔँ। खेती र थितिमा मौलिकता कायम गरौँ।