‘डाक्टर साब, मेरो त घुँडा कटकट खाएर हिँड्नै सकिनँ, सुत्न नै गाह्रो भयो, मलाई बाथ त भएको होइन नि?’ आजकल अस्पतालको ओपिडीमा आउने हरेक १० मध्ये आधा जसो बिरामीको प्रश्न यही हुन्छ।
धेरैलाई लाग्छ, घुँडा दुख्नु भनेको बाथ हुनु मात्र हो। घुँडा दुख्नु बाथकै एउटा प्रकार भए पनि बाथका कारण मात्र घुँडा दुख्दैन भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। आज हामी यसै विषय अर्थात् घुँडा दुख्ने र खिइने समस्याका बारेमा कुरा गर्छौँ। घुँडा खिइने समस्याको बारेमा, जसलाई धेरैले बुढ्यौलीको उपहार मान्छन्, अर्थात् शरीर बुढो हुँदै गएपछि घुँडा दुख्ने समस्या आफैँ आइलाग्छ भन्ने सोच्छन् तर यो अलि जिद्दी स्वभावको हुन्छ। पहिला बुझौँ घुँडा के कारणले खिइन्छ भनेर।
के हो त यो घुँडा खिइने रहस्य?
हाम्रो घुँडालाई एउटा चिल्लो ‘ग्रिज’ र नरम ‘कुसन’ ले घेरेको हुन्छ, जसलाई कार्टिलेज भनिन्छ। त्यही कुसनका कारणले गर्दा हामी उफ्रिँदा वा हिँड्दा हड्डीहरू एकआपसमा ठोकिँदैनन्।
तर सोच्नुहोस् त, त्यो कुसनले काम गर्न छोड्यो वा कुसन नै भएन भने के हुन्छ? उदाहरणका लागि गाडी, साइकल वा मोटरसाइकलको एउटा टायर धेरै गुड्यो भने के हुन्छ? पक्कै पनि त्यो खिइन्छ। हाम्रो घुँडा पनि त्यस्तै हो। उमेर, तौल र कामको चापले गर्दा त्यो नरम कुसन बिस्तारै पातलो हुँदै जान्छ। अनि जब कुसनहरू हराउँदै वा पातलिनुहुँदै जान्छन् तब एकतिरको हड्डीले अर्कोतिरको हड्डी भेट्छ र एकआपसमा ठोकिन थाल्छ। हड्डीहरू एकआपसमा ठोकिन थालेपछि सुरु हुन्छ— असह्य दुखाइ, सुन्निने र कक्रक्क हुने सास्ती। अनि यहाँबाट सुरु हुन्छ घुँडाको हड्डी खिइने समस्या।
महिलाहरू किन बढी निशानामा?
तपाईंले याद गर्नुभएको छ, यो समस्या पुरुषको तुलनामा महिलाहरूमा धेरै देखिन्छ। यसका केही रोचक तर गम्भीर कारणहरू छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्ने हो भने ६० वर्षभन्दा माथिका लगभग १० देखि १३ प्रतिशत पुरुष र १८ देखि २० प्रतिशत महिलामा यो समस्या देखिने गरेको छ। पुरुषमा भन्दा महिलामा यस्तो समस्या ४० देखि ५० प्रतिशत बढी हुने सम्भावना विभिन्न तथ्यांकहरूले देखाएका छन्। नेपालमा पनि पुरुषको तुलनामा ४० देखि ५० प्रतिशतको हाराहारीमा महिलाहरूमा यो समस्या बढी देखिने गरेको तथ्यांक छ।
यसका कारणहरूमा महिलाहरू खेतबारीमा टुक्रुक्क बसेर लामो समयसम्म काम गर्ने, चुल्हो चौकोमा टुक्रुक्क बसेर काम गर्ने, आफ्नो शरीरले धान्ने भन्दा बढी घाँस दाउराको भारी बोकेर उकालो ओरालो गर्ने, पिर्कामा बसेर खाना खाने लगायतका कारण शरीरको भार घुँडामा पर्न गई घुँडा खिइने समस्या धेरैजसो महिलामा हुने गरेको हो। त्यस्तै मेनोपज (महिनावारी रोकिएपछि) शरीरमा एस्ट्रोजेन नामक हर्मोन घट्दै जान्छ, जसले हड्डी र कुसन अर्थात् घुँडामा भएको कार्टिलेजलाई कमजोर बनाउन सुरु गर्छ, जसका कारण एकआपसमा हड्डी ठोकिन पुग्छ। अर्को कारणमा महिलाको जाँघको मांसपेशी पुरुषको तुलनामा कमजोर हुन्छ, जसले गर्दा पनि घुँडाले शरीरको पूरै भार थाम्नुपर्ने हुँदा पनि महिलामा यो समस्या बढी मात्रामा हुन्छ।
कतै तपाईं खतराको सूचीमा त हुनुहुन्न?
यदि तपाईं ४० वर्ष काट्नुभएको छ र निम्नमध्ये कुनै एक कुरा भएको छ भने अहिले नै सावधान हुनुहोस्:
ओभरवेट (मोटोपन): सामान्यभन्दा ५ केजी तौल बढेको छ भने बुझ्नुहोस् तपाईंको घुँडामा २० केजी अतिरिक्त भार थपिएको छ।
त्यस्तै तपाईं युवा हुँदा लडेर वा खेलेर चोट लागेको भए सो चोटले बुढेसकालमा बदला लिन सक्छ।
४० वर्ष कटेपछि पनि तपाईं दिनहुँ जसो खेतबारीमा टुक्रुक्क बसेर काम गर्ने, गह्रौँ भारी बोक्ने वा दिनभर उभिने काम गरिरहनुभएको छ भने तपाईंलाई घुँडा खिइने समस्या आउन सक्छ।
के यो पूर्ण रूपमा निको हुँदैन?
धेरैको मनमा प्रश्न उठ्छ— के यो पूर्ण रूपमा निको हुन्छ? ‘साँचो कुरा के हो भने, खिइसकेको हड्डीलाई औषधिले फेरि पहिलेको जस्तो कलिलो बनाउन त सक्दैन, तर यसलाई कन्ट्रोल भने पक्कै गर्न सकिन्छ।’
यसका लागि सबैभन्दा ठुलो औषधि भनेको फिजियोथेरापी नै हो। व्यायाम नगर्ने हो भने घुँडा खिया लागेको ताल्चा जस्तै जाम हुन्छ। त्यसैले हिँड्ने, साइकल चलाउने र जाँघका मांसपेशी बलियो बनाउने कसरत अनिवार्य छ। यो सँगै खानपानमा पनि अत्यन्तै ध्यान दिनुपर्छ। दूध, दही, माछा, ओखर र भिटामिन–सी युक्त फलफूलको मात्रा बढाउने, चिल्लो र बजारिया खाना खाँदै नखाने गर्नाले यो समस्याबाट छुटकारा पाउन मद्दत गर्छ।
पिआरपी अर्थात् (प्लेटलेट-रिच-प्लाज्मा) इन्जेक्सन (आफ्नै रगतबाट निकालिएको तत्त्व) घुँडामा हालेर उपचारका गर्ने प्रविधि सामान्यतया सुरक्षित छ। यसले प्रारम्भिक अवस्थामा केही मद्दत गर्न सक्छ।
शल्यक्रिया (सर्जिकल) विकल्पहरू
घुँडा दुख्ने समस्यामा माथि भनेबमोजिम औषधि र फिजियोथेरापीले पनि काम नगरेको अवस्थामा भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। शल्यक्रिया पनि अवस्थाअनुसार फरक-फरक तरिकाले गर्न सकिन्छ।
आर्थ्रोस्कोपी: यो घुँडामा सानो प्वाल पारेर गरिने शल्यक्रिया हो। हड्डी खिइएको (ओए) उपचारमा यसको भूमिका सीमित भए तापनि, यदि घुँडाभित्र लुज बडी (हड्डीका टुक्रा) वा मेनिस्कस (गद्दी) च्यातिएको कारणले दुखाइ भएको छ भने यसले बिरामीलाई निकै राहत दिन्छ।
ओस्टियोटोमी: घुँडाको भार सन्तुलन गर्न हड्डीलाई सिधा पार्ने शल्यक्रिया। यो विशेष गरी युवा अवस्थाका बिरामीहरूका लागि उपयुक्त हुन्छ, जसको घुँडाको एक भाग मात्र खिइएको छ।
पार्सियल वा टोटल नी रिप्लेसमेन्ट: घुँडा धेरै नै गम्भीर रूपमा खिइएको, खुट्टा बाङ्गो भएको र दुखाइले दैनिक जीवन नै कष्टकर भएको अवस्थामा गरिने अन्तिम र प्रभावकारी विकल्प हो।
घुँडा खिइने समस्यालाई पहिला जस्तो पूर्ण रूपमा स्वस्थ त बनाउन सकिने प्रविधि छैन तर शरीरको तौल सन्तुलित राख्ने, नियमित व्यायाम गर्ने, खानपानमा ध्यान दिने, घुँडालाई चाप पर्ने काम नगर्ने तथा समयमै चिकित्सकको सल्लाह लिई उचित उपचार गर्ने हो भने तपाईंको हिँडाइ फेरि जुझारु र तन्दुरुस्त हुन्छ।
यति कुरा याद गर्नुहोस्, तपाईंको घुँडाको रफ्तारमा कमी आयो भने तपाईंको जीवन र प्रगतिको रफ्तारमा पनि कमी आउँछ, त्यही भएर घुँडाको रफ्तार बढाउन यसको स्वच्छतामा आजैबाट ध्यान दिनुहोस्।
(लेखक सिभिल अस्पताल, बानेश्वरमा अर्थोपेडिक सर्जनका रूपमा कार्यरत छन्।)