कहिलेकाहीँ जीवनका निर्णायक क्षणहरू कुनै ठुलो मोडमा मात्र नभएर, अत्यन्तै सामान्य लाग्ने परिस्थितिमा लुकेका हुन्छन्। मेरो जीवनमा पनि एउटा यस्तै क्षण आयो, जहाँ एउटा सारीको मूल्यले मेरो सोचको मूल्यलाई चुनौती दियो।
करिब दुई वर्ष अगाडि, म प्रदेशको व्यस्त दिनचर्या चोरेर केही समयको लागि नेपाल पुगेकी थिएँ। एकदिन फुपूले तिमीलाई सारी उपहार दिन्छु जाऔँ न्युरोड भन्नुभयो। अब म दोधारमा परेँ, अन्ततः मौन सहमतिमै उहाँसँगै पसलतिर लागेँ। बिहेमा दुलहीलाई सारी रोजाए जसरी पसलेले मेरा अगाडि छरपस्ट रंगिविरंगी सारीहरू फिँजाए। तर विडम्बना! मेरो नजरले एउटा सारीलाई पनि दिलमा ठाउँ दिन सकेन।
त्यसै गरी प्रत्येक पसलमा उही नौरङ्गी सारीहरू रङहरूको भेलको दृश्य दोहोरिइरहन्थ्यो। तर अह! मलाई कुनै पनि सारीले दिलको ढोका ढकढकाउन सकेन। अन्ततः फुपूले अल्लि अधैर्य स्वरमा भन्नुभयो, ‘अब एउटा जर्जेटको सारी किन ८/१० हजारको अनि हिँड घर लागौँ।’
त्यही मौका छोपी पसलेले आँखै तिरमिराउने गरी सरर जर्जेटको सारी फिँजाए। ती मध्ये एक करिब ६००० मूल्यको विशेष सारी अगाडि सारे, जुन सारी बाहिरी आकर्षणले भरिएको थियो।
त्यस क्षण मलाई फ्रेन्च समाजशास्त्री पियर बुर्दिउको ‘टेस्ट’ सम्बन्धी अवधारणा सम्झना आयो। उनका अनुसार, हाम्रो रोजाइ स्वतन्त्र देखिए पनि, त्यो सामाजिक संरचनाबाट निर्देशित हुन्छ। हामीले रोज्ने बस्तुहरू वास्तवमा हाम्रो वर्ग, हाम्रो परिवेश र हाम्रो सामाजिक अवस्थाको प्रतिबिम्ब हुन्छन्।
त्यो विचार दिमागमा खेलेपछि ती सारीहरू झन् पराइझैँ लाग्न थाले। त्यहाँ देखाइएका कुनै पनि बाहिरी सौन्दर्यले मेरो भित्री चाहनालाई पटक्कै छोएन। त्यसपछि म ‘सरी’ भनेर ६००० को जर्जेटको सारी छोडेर सरासर आफ्नो मनको खोजीको बाटो लागेँ।
त्यसपछि असन चोक हुँदै इन्द्रचोकतर्फ मोडिएँ। कोलाहल भीडको चहलपहल बिच एउटा आवाज मेरो कानमा ठोक्कियो। ‘सेल! सेल! मात्र ६५० को सारी छानी छानी’। त्यसपछि म अनायासै त्यसै आवाजको दिशातर्फ तानिएँ। अन्ततः म सोही गल्लीको साँघुरो फुटपाथमा सजाइएको ६५० रुपैयाँको सिफनको सिम्पल सारी रोजेँ।
त्यो समय पनि मलाई जर्मन दार्शनिक एरिक फ्रमले आफ्नो कृतिमा ‘ह्याभिङ’ र ‘बिइङ’ को अवधारणा प्रस्तुत गरेको खुब याद आयो। उनका अनुसार आधुनिक समाज ‘ह्याभिङ’ (सम्पत्ति) मा केन्द्रित छ, जबकि वास्तविक सन्तुष्टि ‘बिइङ’ (अस्तित्व) मा हुन्छ। त्यसैले त्यो दिन मैले ‘ह्याभिङ’ भन्दा ‘बिइङ’ रोजेँ।
सारी साधारण र त्यहाँ कुनै ब्रान्डको छाप लगाएको नभए तापनि मेरो मनसँग गहिरो मेल खाने भेटाएँ। त्यो क्षण मलाई अरूले देखाएको वैभवभन्दा आत्म इच्छाको रोजाइमा आनन्द मिलेको अनुभूति भयो। त्यसपछि हामी सुन्धारा पुगेर माइक्रोबस चढ्यौँ। म सोच्न थालेँ, सायद उहाँलाई अचम्म लाग्यो होला; हैन विदेशमा लाखौँ कमाउने मान्छे त लाखौँ खर्च गर्छन्!
हो, मसँग थुप्रै लाखौँ पर्ने ब्रान्डका लत्ताकपडा पनि थिए। पैसा, सुनचाँदी हिरामोती केही कमी थिएन। सबै प्रयोग गरिसकेको अनुभव सँगालेकी थिए तर त्यहाँ पनि यति शकुनको आभास पाइनँ, जति यो सस्तो सारी किन्दा पाएँ। म ब्रान्डलाई पनि त्यति साह्रो घृणाको नजरले हेर्दिनँ। बस्तु व्यक्ति सबैका आआफ्ना मूल्य र महत्त्व हुन्छन्। यस्तै सोच्दै मौन संवादमै हामी चुपचाप घर पुग्यौँ।
त्यसपछि थाकेको शरीरलाई केहीछिन विश्राम दिएर उत्सुक हुँदै सारी लगाएँ। ऐना अगाडि उभिएर आफ्नै प्रतिबिम्बसँग आँखा जुधाएँ। अनायासै मेरा ओठहरू मुस्कुराए। सर्लक्क परेको मुजा सपक्क बसेको पारी एकैछिन सुमसुम्याएँ। अनि आफैँले आफैलाई भनेँ, कति साधारण सारी! न त कुनै बनावटीपन न त कुनै देखावटी। मात्र सहजता र सुन्दरताको शीतल सम्मिश्रण। त्यही क्षण मनमा प्रश्नहरूको बर्खे भेल चल्यो।
हामी माझ विकल्पका यति सुन्दर कल्पवृक्ष हुँदाहुँदै पनि, आखिर मान्छेहरू किन महँगो तिरै आँखा डुलाउँछन्?
किन मान्छेहरू एक पटक लगाएको सारी अर्को पटक लगाउन हिचकिचाउँछन्?
के हामीले लगाएको सारीको सस्तो र महँगो छुट्टाउने कुनै अदृश्य प्रणाली छ?
के हामीले लगाएको सारीको पटकौँ पटकको लेखाजोखा राख्ने छुट्टै लेखापरीक्षण चलिरहेको छ?
यदि त्यसो केही छैन भने किन हामी देखावटी होडबाजीको प्रतिस्पर्धा निरन्तर दौडिरहेका छौ? तर मलाई त यस्तो लाग्छ सुन्दरता त मूल्य र वस्तुमा निर्भर नरहेर महसुसमा हुने गर्दछ।
त्यस्तै सोच्दै यसो पछाडि के फर्केकी थिएँ, फुपू त सोफामा मौन रहेर बसेको देखेँ। त्यसपछि अलि नजिक गएर दिदी भन्दै उहाँको हात समाएँ। त्यही आत्मीय सम्बोधनको न्यानोपनमा म आफ्ना मनका कुरा खोल्न थालेँ।
‘दिदी, म यो समाजले छुट्टाएको हुनेखाने वर्गमा जन्मिएँ, त्यही परिवेशमा हुर्किएँ। समृद्धि सुखको सुगन्धको सुवास पनि नजिकैबाट महसुस गरिसकेँ। तर मैले त्यो पनि मनन गरिसकेँ कि, त्यही सुगन्धले हुँदा खानेहरू माथि कति नमिठो दुर्गन्धको क्षेप्यास्त्र प्रहार गरेको हुन्छ। त्यसैले दिदी म त्यो दुर्गन्धलाई, त्यो पीडालाई केही परिवर्तनका स-साना बाछिटाले धोइदिन चाहन्छु। यो समाजमा, जहाँ सुख केबल केहीका लागि मात्र नभएर सबैका लागि होस् भन्ने चाहन्छु।’
यति भनिसक्दा नि उहाँबाट कुनै प्रतिक्रिया आएन, म फेरि भन्दै गएँ।
‘दिदी, आज हामी असन चोकबाट इन्द्रचोकसम्म हिँड्दा, तपाईंले डमीमा सजिएका फूलबुट्टे सारीहरू मात्र देख्नु भयो होला। तर मैले सोही बाटोमा कोही फुटपाथको धुलोमा धपक्कै ढाकिएर सेल! सेल! भन्दै सामान बेच्न बसेका पनि देखेँ। कोही एक हातले आफ्नो धोती समाउँदै अर्को हातले भिख माग्दै गरेका पनि देखेँ। ती अनुहारहरू, ती चालढाल, तपाईंले देख्नुभएको डमीजस्ता निर्जीव थिएनन्। ती त सास फेर्ने, पीडा बोकेका, संघर्षले थिचिएका सजीव प्राणहरू थिए।
यति भन्दै गर्दा मेरो स्वर अलि गहिरियो। उहाँ चुपचाप सुनिरहनु भएको थियो।
‘त्यसै गरी दिदी, तपाईँले इन्द्रचोकको मिठो लस्सीको स्वादमा रमाइरहेका मान्छेहरू देख्दा म त्यही साइडमै पानी-पानी भन्दै तड्पिरहेका मानव पनि देखेँ। त्यसैले अब तपाईं आफै भन्नुहोस् न, हाम्रै आँखै अगाडि यस्तो गहिरो असमानताको खाडल छ, जहाँ कसैले लुगासम्म लगाउने अवसर पाएका छैनन्, जहाँ कसैले पानी पिउनसम्म अधिकार पाएका छैनन्। त्यस्तो यथार्थको छेउमै उभिएर म कसरी दस/बिस हजारको साडी लगाएर चार/पाँचतारे होटेलको झिलिमिली हलहरूमा उत्सव मनाउन सक्छु?’
क्षणभर सास रोकिएजस्तो भयो अनि फेरि म बिस्तारै बोलेँ।
‘आजकल त दिदी, मलाई यो भौतिक सुख सुविधाबाट अलग्गै रहेर प्रकृतिको काखमा रमाउन औधी मन लाग्छ। म कति वर्ष भइसक्यो सारी नकिनी, उहीँ पुरानो मम्मीको सारी लगाई तीज मनाएँ। कति पार्टीहरूमा गएँ, गहनाहरूलाई टाढै राखेर, फुटपाथको नाङ्लोमा किनेको ३० रुपैयाँको माला र १० रुपैयाँको टपमै सजिएर रमाएँ। आजकल दिदी मेरो साथीहरू पनि सँगै पार्टीमा जानु छ भने, उनीहरू पनि मेरो सरल पहिरनकै अनुकरण गर्न थालेका छन्। त्यो देख्दा लाग्छ, आहा! मेरा परिवर्तनका पाइला अन्त कतै नपुगे पनि साथीको हृदयसम्म त पुगेछन्।
यसरी दिदी आजकल मलाई महलको झिलिमिली भन्दा प्रकृतिको हरियाली प्रिय लाग्न थालेको छ। बनावटी रङ रोगनले ढाकिएको आडम्बर रङभन्दा फेरिरहने मौसमका स्वाभाविक रङहरू मन पर्न थालेको छ। तडकभडक पहिरनभन्दा साधारण पहिरन मन पर्न थालेको छ। त्यसैले दिदी म अब यस्तो चाहन्न जहाँ म मात्र माथि उक्लीरहुँ र अरू सब तल झरिरहुन्। म मेरो त्यस्तो सफलता र बिलासी जीवन चाहन्न, जहाँ मेरो उचाइ अरूको झुकाइमा अडिएको होस्। म त्यस्तो चाहन्छु जहाँ समाज नामको वर्गीय तुलामा हुनेखाने वर्ग र हुँदा खाने वर्ग दुवै पक्ष सन्तुलित देखिउन्। सके बराबरीमा उभिउन्, नसके कम्तीमा आफ्नो तडकभडकले अन्यको जनजीवनमा असर पार्ने काम नगरुन्। त्यसैले दिदी आजकल मलाई यो समाजमा प्रेरणाका साना-साना बिरुवाको वृक्षारोपण गर्न मन लाग्छ। ताकि जहाँबाट सकारात्मकका अक्सिजन बगेर समग्र समाजलाई सास फेर्न सजिलो वातावरण बनोस्।’
यति सबै भनिसक्दा पनि अह! फुपू अझै बोल्नु भएन तैपनि म एकोहोरो बोलिरहेँ!
‘दिदी, यो सोच मैले केबल किताब पढेर सिकेकी होइन। यो त ती मानिसहरूबाट सिकेकी हुँ, जसले किताब पढाए। वर्षौँ पहिले, एक बौद्धिक प्रोफेसर म्याम, ज्ञानले सगरमाथाको चुचुरो छोए जस्ती तर जीवनशैली अत्यन्त साधारण। उहाँ त्रिविको विशाल कक्षामा हामीमाझ उभिएर ज्ञानलाई धाराप्रवाह शब्दमा बगाइरहनु हुन्थ्यो। त्यो बेला म उहाँले भनेका कुराहरू सुन्ने साथै उहाँको शैली, सादगी र आवरण पनि पढिरहेँ। यसरी मेरो जीवनमा त्रिविका गुरुबा-गुरुआमाहरूको जीवनशैलीले पनि ठुलो प्रभाव पार्यो।
त्यसै गरी त्रिविकै इयाल्टी कार्यशालामा भेटिएका एक वृद्ध पुरुषको सरल जीवनदर्शन र मार्गदर्शनले पनि मलाई गहिरो रूपमा छोयो। जसको कारण जिन्दगीमा साधारण बन्नु सहज हो भन्ने प्रेरणा मिल्यो।
यसरी उहाँहरूले देखाउनु भयो कि महानता बाहिरी आवरणमा मात्र नभएर भित्री गुणमा हुँदो रहेछ। त्यसैले म अरूलाई पनि भन्छु, लाली र पाउडर खरिद गर्ने खर्च पुस्तक र पढाइमा खर्चिनुहोस्! जसले तपाईंको बाह्य र भित्री दुवै आवरण र सोच सुन्दर बनाउँछ। मेकअप र ड्रेसअपले तपाईंलाई क्षणिक सुन्दर बनाउला तर यदि ज्ञान आर्जन गर्नुभयो भने त्यसले तपाईंलाई सदाबहार सुन्दर बनाउँछ।
हेर्नु न दिदी, सोही दिनबाट मनमा यस्तो बोध बस्यो; मान्छे धनको धनी मात्र नबनेर विचारको धनी बन्न सक्नु पर्ने रहेछ। जब मेरो शिक्षाको धरहरामा डिग्रीका सर्टिफिकेटहरूका तला थपिँदै गए, तब सोचाइको गहिराइका तहहरू पनि थप गहिरो बन्दै गए।’
फेरि मैले हल्का हाँस्दै भनेँ, ‘हेर्नु न एउटा सानो सारीको बहसले कति लामो संवाद जन्मायो है?’
मैले थपेँ, ‘तर दिदी साँचो यथार्थ यहीँ हो, आनन्द सादगीमै हुन्छ सरलतामै हुन्छ। भारीपनमा होइन हलुकापनमा हुन्छ। जसरी हामीलाई हाम्रो हत्केलामा कपास राख्दा सहज अनुभूति हुन्छ, त्यति सहज त गिटी राख्दा हुँदैन।
त्यसैले दिदी आज मैले जर्जेटको भारी सारी छोडेर सिफनको साधारण हलुका सारी रोजेँ। त्यो छनोट केबल मेरो कपडाको मात्र थिएन। त्यो छनोट त मेरो परिवर्तित सोचको थियो।’
त्यसपछि एकछिन म चुप लागेँ। केही मिनेटपछि नसोचेको एक्कासि चुपचाप बसेकी दिदीको हात मेरो काँधमा आयो। ‘स्याबास नानी’ भन्दै अन्ततः मेरो काँधमा धाप मार्नुभयो।
त्यसैले आज पनि म उहीँ मम्मीले स्कुल पढाउँदा फेरी-फेरी लगाएका वर्षौँ पुराना साधारण सारीहरू लगाउँछु, जहाँ आमाको आत्मीयताको मिठो सुगन्ध मिसिएको आभास पाउँछु। ती नै सारीहरूले दराजका तखता भर्छु। जब तीज चाडपर्व आउँछ, उही वर्षौँ पुराना सारी लगाउँछु र खुसी हुन्छु।
अन्ततः त्यो सस्तो सारीले मलाई गहिरो सत्य सिकायो। मूल्य पैसाले नभएर अनुभूतिले निर्धारण गर्दो रहेछ। स्वतन्त्रता अरूले दिएको कुरामा नभएर आफैले कमाएकोमा हुँदो रहेछ। त्यसै गरी जीवन पनि त्यही सारीजस्तै हो रहेछ। हामी प्रायः यसको बाहिरी आवरणमा अल्झिन्छौँ तर यसको वास्तविक अर्थ भित्र लुकेको हुँदो रहेछ। जब कोही सचेत मान्छेले आफ्नो सुविधा र विलासिताभन्दा बाहिर निस्केर समाजको वास्तविकता हेर्न थाल्छ, त्यहीबाट परिवर्तनको बीज अंकुरा हाल्न थाल्छ। त्यसैले जीवनले पनि यही सिकाउँछ; महानता बाहिरी आवरणमा होइन, भित्री गुणमा हुनुपर्छ।